June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

शिक्षालाई वर्ग संघर्षसँग जोडौं

२०८० भाद्र ११

3.2K

  • समशेर

 

शिक्षाको परिभाषा र इतिहास :- नेपाली भाषामा प्रयोग गरिने ‘शिक्षा’ शब्द संस्कृत भाषाको “शिक्ष्” धातुबाट आएको हो, जसको अर्थ “सिकाउनु” हुन्छ । शिक्षाको अङ्ग्रेजी रुपान्तरण “Education” हो, जुन शब्द ल्याटिन भाषाको Edu र Catum मिलेर बनेको हुन्छ । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। “Educatum” बाट Educere, Educare हुँदै Education भ‍‍एको हो । शिक्षा ज्ञान र व्यवहारको समष्टिगत परिणाम हो । मानवीय प्राणीको विकास भए सँगै मानवीय शिक्षा पनि सुरु भयो र, मानव सभ्यताको विकास सँगसँगै मानवीय शिक्षाको पनि विकास भएको मानिन्छ। मानिसले जस्तै शिक्षाले पनि विभिन्न युग, काल र परिस्थिति पार गर्दै आजको विकसित र आधुनिक युगमा प्रवेश गरेको छ । उत्पादन पद्धतिमा भएको परिवर्तन, उत्पादक शक्तिमा भएको विकास, उत्पादन सम्बन्धमा आएको फेरबदल र उत्पादनका लागि मानव समुदायले गरेको सङ्घर्ष यी सबै मानवीय शिक्षाका उत्पत्ति र विकासका कारण हुन् । विज्ञान र प्रविधिको विकासले आजको शिक्षालाई अझै बृहत् र सर्वव्यापी बनाएको छ ।

(उत्पादन पद्धति उत्पादक शक्ति र उत्पादन सम्बन्धको योगफल हो। उत्पादन पद्धति भन्नाले मानवीय आवश्यकताका वस्तु तथा चिजहरूको उत्पादन र त्यसको वितरण र उपभोगको सिङ्गो प्रक्रिया हो । उत्पादनका लागि आवश्यक पर्ने मानवीय श्रम र उत्पादनका साधनहरूले उत्पादक शक्ति जनाउँछ भने उत्पादन,वितरण,विनिमय र उपभोगले निर्माण गर्ने मानवीय सामाजिक परिवेश र संरचनालाई उत्पादन सम्बन्ध भनिन्छ।) प्राचीन कालमा शिक्षा अनौपचारिक (Informal) थियो । स्व –अनुभूतिसँगै आफू भन्दा अघिल्लो पुस्ता र आमाबाबु बाट सिक्ने प्रचलन थियो । अनि, ठिक यसै गरी शिक्षाको पुस्तान्तरण हुन्थ्यो । उत्पादन पद्धतिमा भएको परिवर्तन र विकासले अनौपचारिक शिक्षा अपर्याप्त बन्न पुग्यो । फलतः औपचारिक शिक्षाको सुरुवात र विकास भयो । यसले प्राचीन गुरुकुल शिक्षा हुँदै आजको विद्यालय र विश्वविद्यालय शिक्षाको जन्म गरायो।

वर्तमान शिक्षामा देशको माटो सुहाउँदो मौलिक शिक्षा नीति, संरचना र भौतिक मापदण्डको खडेरी नै छ । शिक्षाको नीति निर्माण तथा कार्यान्वयनको तहमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक हस्तक्षेप र दाता अनुकूलको विदेशमुखी नीति बनाउने परम्परा जस्तै बनेको छ ।

आजको शिक्षा प्रणाली:- आजको विश्व पुँजीवाद र साम्राज्यवादी नीति अन्तर्गतको निजीकरण, नवउदारवाद र भूमण्डलीकरणको दलदलमा फसेको छ । सबै आधारभूत आवश्यकताहरूमा जस्तै शिक्षामा पनि निजीकरण व्याप्त छ । नवउदारवाद र विश्वव्यापीकरणको उदयसँगै राज्यभित्रको शिक्षाका सबै निकाय र सेवा क्षेत्रमा तीव्र निजीकरण गरिएको छ । नेपालको वर्तमान शिक्षा अहिले दलाल पुँजीवादी र नव औपनिवेशिक राजनीतिक सत्ताद्वारा निर्देशित, नियन्त्रित र परिचालित छ। राजनीतिक चरित्र नै दलाल भएकोले शिक्षा विदेशी शक्ति केन्द्रको निर्देशन अनुकूलको जनशक्ति उत्पादन गर्ने अखडा बनिरहेको छ । अतः योजनाबद्ध रूपमा देश बनाउने जनशक्ति उत्पादन र परिचालन गर्ने होइन बाह्य देशलाई आवश्यक पर्ने यान्त्रिक र असचेत जनशक्ति पूर्ति र उत्पादन गर्ने काम नेपालका शिक्षण संस्थाहरूले गरिरहेका छन् । अर्थात् हामी स्पष्ट हुन सक्छौँ कि यस शिक्षा प्रणालीले हाम्रो विद्यालय र विश्वविद्यालयका विद्यार्थी ,शिक्षक र बुद्धिजीवीहरूलाई मौलिक र ग्रामीण वर्गसंघर्षबाट टाढा लैजाने काम गरिरहेको छ ।

नीतिगत र संरचनागत रूपमा नेपालको शिक्षा प्रणाली  वि.सं.२००७ साल देखि वि.सं. २०२७ सम्म बेलायत र भारतको निर्देशनमा र वि.सं. २०२८ सालको कथित नयाँ शिक्षा परियोजना वा नयाँ शिक्षा पद्धति अमेरिकी प्रयोगमा आधारित थियो । जसको वैचारिकी मूलतः आयातित थिए । बेलाबेलामा संशोधन गरिए पनि अहिलेसम्म नेपालको शिक्षा तत्कालीन राजा महेन्द्रले जारी गरेको वि.सं. २०२८ सालको शिक्षा ऐनद्वारा नै निर्देशित छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि दुई दशक पुगिसक्यो तर ल्याउने भनिएको शिक्षा ऐन झन् विवादास्पद बन्दै गइरहेको छ । अझ त्यसको मर्म त संविधानमा इङ्गित गरिएको शैक्षिक दिशालाई समेत नजरअन्दाज गर्ने खालको छ ।

शिक्षा प्रणाली बाह्य लगानीबाट प्रभावित भएसँगै एक मुलुक दुई शिक्षा नीति जस्तै बनेको छ । सामुदायिक, निजी विद्यालय र विश्वविद्यालयहरूको खाडल झन् गहिरो बनिरहेको छ । नेपालको शिक्षा ऐन अन्तर्गत निजी संस्थागत विद्यालयहरू कम्पनी ऐनमा दर्ता भएका र धार्मिक सङ्घसंस्थामा आबद्ध छन् । ल्याउने भनिएको सङ्घीय शिक्षा ऐन अनुसार सबै निजी संस्थागत विद्यालयहरू निजी सार्वजनिक गुठी अन्तर्गत रहने भनिए पनि शैक्षिक दलाल र माफियाहरूले यस्तो ऐन सहजै पारित हुन दिनेवाला छैनन् ।

वर्तमान शिक्षामा देशको माटो सुहाउँदो मौलिक शिक्षा नीति, संरचना र भौतिक मापदण्डको खडेरी नै छ । शिक्षाको नीति निर्माण तथा कार्यान्वयनको तहमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक हस्तक्षेप र दाता अनुकूलको विदेशमुखी नीति बनाउने परम्परा जस्तै बनेको छ । स्वभावैले यस्तो शिक्षा प्रणाली जनता र राष्ट्रहित विपरीत हुने भएकाले यो राष्ट्रियता विरोधी समेत छ। जसका कारण यसले स्वदेशमै आत्मनिर्भर भएर काम गर्ने जनशक्ति हैन विदेश जाने र विदेशीहरूको दासको रूपमा काम गर्ने जनशक्ति मात्र उत्पादन गरिरहेको छ ।

आज देश भित्र यो जनशक्तिमाथि जुन ह्रास र विनाश देखा परेको छ त्यसको मुख्य दोषी यही शिक्षा प्रणाली र त्यसको सञ्चालक, संरक्षक र निर्देशकको रूपमा रहेको यो दलाल पुँजीवादी राजनीतिक सत्ता हो ।

भर्खरै मात्र माध्यमिक तह कक्षा १२ को परीक्षाफल सार्वजनिक भयो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ४८ हजार ८३७ विद्यार्थी सहभागी थिए । करिब ५१.९१ प्रतिशत मात्र ग्रेड (उत्तीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशतले भने नन ग्रेड ल्याएका छन् । यसरी सहभागी मध्येको करिब आधा हिस्सा मूल्याङ्कनको नजरमा उच्च शिक्षाको लागि अयोग्य र असफल ठहरिन्छन्। दोष कसको हो ? विद्यार्थीको ? होइन, दोष त अहिले चलिरहेको शिक्षा प्रणालीको हो । जुन शिक्षा र डिग्रीको कुनै जीवन व्यवहारिक महत्त्व र औचित्य छैन केवल विदेशजानकै लागि काममा आउँछ । त्यसैले त्यस्तो शिक्षा र डिग्री प्रति विद्यार्थी मोहभङ्ग हुनु स्वाभाविक नै छ ।

पहिलो त ठुलो हिस्साले पढ्ने अवसर र पहुँच प्राप्त गर्न सकेका हुन्नन् । पाएकाहरूले पनि यसको खास उपयोगितालाई भेट्न सक्दैनन् । फलतः उच्च शिक्षाका लागि लाखौँलाख विद्यार्थी विश्वका विभिन्न मुलुकमा प्रस्थान गर्ने क्रम निकै बढिरहेको छ । मुलुकको राष्ट्रिय शिक्षा र राज्य नियम कानुनको नै ठाडो उलङ्घन हुने गरी विदेशी सम्बन्धन लिएर विदेशी बोर्ड र नामबाट सञ्चालित तथा विदेशी पाठ्यक्रम नै पठनपाठन गराउने शिक्षण संस्थाहरू पनि सयौँको सङ्ख्यामा रहेका छन् । भाषिक रूपमा पनि मातृभाषाहरू मार्फत अध्ययन लेखनमा रोक छ भने वैदेशिक भाषाहरू चाहिँ खुल्लम खुल्ला पाठ्यक्रममै समावेश गरी पढाइरहेका छन् । हामी स्पष्ट हुन सक्छौँ कि यो शिक्षा प्रणालीले आन्तरिक रूपमा उत्पीडित राष्ट्र र उत्पीडित वर्ग समुदायलाई उत्पीडनमा पार्ने र बाह्य रूपमा विश्व पुँजीवाद र साम्राज्यवादको गुलामी गर्ने गरिरहेको छ।

गुणस्तरीयताको कुरा गर्ने हो भने आजको सापेक्षतामा यो शिक्षा बिलकुलै अव्यवहारिक र अनुत्पादक बन्न पुगेको छ । शैक्षिक चेतना सामन्तकालीन धार्मिक चेतना र साम्राज्यवादी उपभोक्तावादी संस्कृतिबाट ग्रस्त छ। शिक्षा प्रणालीलाई विज्ञान र प्रविधिसँग जोडिएको छैन, समाज र पर्यावरणसँग जोडिएको छैन, मौलिक सिर्जना र कलासँग जोडिएको छैन । जसले गर्दा यसले समग्र सामाजिक चेतना र सिङ्गो मानव अस्तित्वमाथि जिम्मेवार बन्ने कुरामा नै अवरोध खडा गरिरहेको छ। देशको सचेत र आलोचनात्मक जनशक्तिको भूमिका निर्वाह गर्ने युवा र विद्यार्थी जो सक्रिय जनशक्ति पनि हुन, बिदेसिन बाध्य छन् । ज्ञान-विज्ञान आर्जन गर्न, प्रयोगशाला, पुस्तकालय र समुदायमा भिजेर त्यसलाई बुझ्न र बदल्न व्यस्त हुनुपर्ने युवा तथा विद्यार्थी बिदेसिन बाध्य छन् । बिदेसिएका ठुलो हिस्सा जोखिमपूर्ण रूपमा खाडीमा श्रम बेच्न बाध्य छन् भने अर्को हिस्सा उच्च शिक्षाको नाममा महँगो शुल्क तिरेर विदेशी विश्वविद्यालय धाउन विवश छन् ।

सचेत र शिक्षित जनशक्ति समाज रूपान्तरणका संवाहक हुन् । र, समाजमा यस्तो जनशक्तिको उत्पादन र पूर्ति सम्पूर्ण रूपमा शिक्षाले मात्र गर्दछ । आज देश भित्र यो जनशक्तिमाथि जुन ह्रास र विनाश देखा परेको छ त्यसको मुख्य दोषी यही शिक्षा प्रणाली र त्यसको सञ्चालक, संरक्षक र निर्देशकको रूपमा रहेको यो दलाल पुँजीवादी राजनीतिक सत्ता हो । शिक्षा प्रणालीसँगै राजनीतिक सत्ता पनि दोषी यस कारणले कि शिक्षा लगायत समस्त राज्य प्रणाली, संरचना र प्रशासन यही राजनीतिक सत्ताकै हातमा हुन्छ । हरेक घटना र समस्याको कारण हुन्छ र त्यसको समाधान पनि । त्यसो हो भने आज शिक्षाको क्षेत्रमा देखा परेको समस्याको समाधान के हो त ? यसको समाधान भनेको वैकल्पिक शिक्षा प्रणाली अर्थात् वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना नै हो । यसको स्थापनाका लागि गरिने सङ्घर्ष अर्थात् वर्गसंघर्ष नै हो ।

शिक्षामा भएको खराबी र निरङ्कुशताको विरुद्ध विगतदेखि नै आन्दोलनहरू हुँदै आए । नेपाली शैक्षिक आन्दोलनले आफ्नै ऐतिहासिक विरासत बोकेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो आन्दोलन विभिन्न राजनीतिक सत्ता विरुद्धको आन्दोलन पनि बन्न पुगेको यथार्थ हाम्रो सामु छ । हामी यसमा स्पष्ट हुन सक्छौँ कि नेपाली शैक्षिक आन्दोलन आफैमा पनि वर्गसंघर्षको अभिन्न पाटोको रूपमा इतिहासमा दर्ज भएको छ । तर सङ्घर्षको सवालमा होस या उपलब्धिको सवालमा होस, ती अझै पर्याप्त छैनन् । हामीले अझ धेरै र बृहत् सङ्घर्ष गर्नु छ, अझै धेरै उपलब्धि हासिल गर्नु छ । र, यसका लागि सङ्गठित भएर निरन्तर सचेत प्रयत्न गरिरहनुको विकल्प पनि छैन ।

वैज्ञानिक समाजवादी शिक्षाले उत्पीडित वर्ग, समुदाय र उत्पीडित राष्ट्रको पक्षपोषण गर्दछ । यो जीवन उपयोगी व्यवहारिक र प्रयोगात्मक शिक्षामा आधारित हुन्छ । विद्यार्थीहरू उत्पादन र श्रमसँग जोडिएका हुन्छन् । यो शिक्षाले भौतिकवादी दृष्टिकोणको विकास र वैज्ञानिक संस्कृतिलाई अवलम्बन गर्न सिकाउँदछ।

आजको हाम्रो समाज वर्गीय छ र यस सामाजिक यथार्थबाट नेपाल पनि अलग रहने कुरै भएन । नेपाली समाज पनि मूलतः दुई वर्गमा विभाजित छ। गरिखाने वर्ग र लुटिखाने वर्ग । गरिखाने वर्ग जो दिनभर खटेर श्रम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । लुटिखाने वर्ग जो बहुसंख्यक गरिखाने माथिको लुटतन्त्र सँगै लुटको ऐस आरामको जिन्दगी बाँचिरहेको छ । आज शिक्षामा देखिएको असमान वितरण, शिक्षामा भइरहेको व्यापारीकरण, निजीकरण र विद्यमान विभेद अनि उत्पीडनकारी शैक्षिक चरित्र यही वर्गीय समाजकै उपज हो । यसको एक मात्र समाधान वर्ग संघर्ष नै हो । र, शिक्षालाई वर्ग सङ्घर्षसँग जोड्नु नै हो । यो भनेको समस्त शिक्षा क्षेत्रलाई निजीकरण र राज्य हस्तक्षेपबाट मुक्त गरी तिनको सामुदायिकीकरण गर्नु, विद्यालय र विश्वविद्यालयको जिम्मा समुदायलाई हस्तान्तरण गर्नु, दलाल शिक्षा प्रणालीको विकल्प वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नु र अन्ततः दलाल पुँजीवादी राज्यसत्ताको ध्वंस र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हो । यसले हामीलाई वर्ग विहीन साम्यवादी समाजमा पुर्‍याउने छ जहाँ मान्छेका वर्ग र वर्गीय समस्याहरू विलुप्त हुनेछन् ।

के हो वैज्ञानिक समाजवादी शिक्षा ?

वैज्ञानिक समाजवादी शिक्षा चेतनाको हिसाबले भौतिकवादी, स्वामित्वको हिसाबले सामुदायिक, वितरणको हिसाबले समानता र समतामा आधारित अनि गुणस्तरको हिसाबले वैज्ञानिक र व्यवहारिक पर्यावरण मैत्री शिक्षा हो । यसको उद्देश्य शिक्षामा हुने सबै खाले विभेदको अन्त्य सँगसँगै अन्य सबै सामाजिक विभेदको अन्त्य गर्दै वर्ग विहीन साम्यवादी समाजको निर्माण गर्नु हो । हरेक मानिसलाई स्वतन्त्र बनाउनु हो, पूर्ण मानवको रूपमा विकास गर्नु हो । साम्यवादी समाज त्यो हो जहाँ हाम्रा सबै चिज र स्रोत साधन साझा हुनेछन्, सँगसँगै साझा हुनेछन् हाम्रा दुःख र खुसी पनि ।

वैज्ञानिक समाजवादी शिक्षाले उत्पीडित वर्ग, समुदाय र उत्पीडित राष्ट्रको पक्षपोषण गर्दछ । यो जीवन उपयोगी व्यवहारिक र प्रयोगात्मक शिक्षामा आधारित हुन्छ । विद्यार्थीहरू उत्पादन र श्रमसँग जोडिएका हुन्छन् । यो शिक्षाले भौतिकवादी दृष्टिकोणको विकास र वैज्ञानिक संस्कृतिलाई अवलम्बन गर्न सिकाउँदछ। राष्ट्रियताको सवालमा यो शिक्षा अन्तर्राष्ट्रियतावादले निर्देशित राष्ट्रियताको पक्षपोषण गर्दछ, विश्व साझा घर हामी सबै एकै हौँ भन्ने भावनाको विकास गराउँछ । यसले योजनाबद्वरुपमा आवश्यक सचेत र आलोचनात्मक चेत बोकेको जनशक्तिको निर्माण गर्दछ । वर्गविहीन समाज निर्माणका लागि वर्गसंघर्ष र आत्मनिर्भरताका लागि उत्पादन गर्न सिकाउँछ । अतः उत्पादनका निम्ति सङ्घर्ष र वर्गसंघर्षको द्वन्द्वात्मक सम्बन्धमा नै वैज्ञानिक समाजवादी शिक्षाको सार लुकेको छ ।