June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता
दृष्टिकोण

किन अस्वीकार्य छ हिन्दुहरूलाई अन्तरजातीय विवाह ?

२०८० आश्विन ५

10K

  • कमला हेमचुरी

तातोपानी गाउँपालिका–४ गिडीखोला (जुम्ला) का २१ वर्षीय मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरीसँग दुई वर्षको प्रेम सम्बन्धपछि अन्तरजातीय प्रेम–विवाह गरे । विवाह गरेको चार दिनपछि किशोरीका दाजु हिम्मत गिरीलगायतले मुकुन्दको घरमा आगो लगाए । आगजनीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भई अन्दाजी ६५ लाख बढीको धन सम्पत्तिको क्षति भएको अनुमान छ । घटनाविरुद्ध केटा पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय छुवाछुत तथा भेदभावविरुद्धको उजुरी दर्ता गरेको छ । यसलाई बेहुली पक्षधरका गैर दलित समुदायले बालविवाह बताएको छ ।

बागलुङका २३ वर्षीय प्रभात बस्याल र म्याग्दीकी २२ वर्षीया प्रीति घिमिरेले करिब दुई वर्षअघि प्रेम–विवाह गरे । ‘दलित’ समुदायका युवा र ‘ब्राह्मण’ समुदायकी युवतीबीचको प्रेम विवाह युवतीको माइतीलाई सह्य भएन । प्रीति राजनीतिक रूपमा पहुँचवालाकी छोरी हुन् । उनका बुवा देवेन्द्र घिमिरे म्याग्दीका नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । आफ्नी छोरीलाई दलित युवाबाट छुटाउन उनले राजनीतिक शक्तिको प्रयोग गरे । माइती पक्षको दबाबकै कारण म्याग्दी जिल्ला प्रहरी कार्यालयमा प्रीतिले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी र अपहरणको मुद्दा हालिन् ।

गोरखाका सन्तोष नेपाली र धादिङकी बबिता श्रेष्ठले आफ्नो करिब दुई वर्षको प्रेम सम्बन्धलाई दुई महिनाअघि विवाहमा परिणत गरेपछि नेपालीलाई बलात्कारको मुद्दा हालियो । उनी अहिले नेपाल प्रहरीको हिरासतमा छन् । उमेरले दुवै जना अठार वर्ष मात्रै काटेका थिए । कानुनले अठार वर्षभन्दा कम उमेरमा गरेको विवाहलाई बालविवाह भनेको छ । तर, सन्तोष र बबिताको विवाह कानुनी रूपले अस्वीकृत भएपनि बालविवाहभित्र त्यो विवाह पर्दैन । त्यसका लागि आमाबुवाको असहमति भएको भन्ने कुरा मान्न सकिन्छ । केटा र केटी पक्षको अभिभावकले २० वर्ष नपुगुन्जेल आफ्नो जिम्मेवारीमा छुटाउन सक्ने अवस्था रहन्छ । तर त्यहाँ त्यसो नभई केटालाई जेल हाल्ने षड्यन्त्र गरिएको सरासर बुझ्न सकिन्छ । यसो हुनु जातीय विभेदकै पराकाष्ठा हो ।

समाजमा ब्राह्मण र क्षेत्रीको श्रेष्ठता कायम हुँदै गयो । समाजमा जब ब्राह्मणको हातमा ज्ञानको सत्ता र क्षेत्रीको हातमा शासन सत्ता सीमित गरियो । यिनीहरूको हैसियत समाजमा शक्तिशाली हुँदै गयो ।

सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोजकुमारले अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ की बबिता इसरसँग २०७९ कार्तिकमा प्रेम–विवाह गरेका थिए । केटी पक्षले ‘पानी पनि नचल्ने’ केटा भन्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरे । सोही आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जबकि, कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ । बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक बनाइ छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गरेका थिए । बबिता भने आफ्नो श्रीमानलाई झूटा मुद्दा लगाइएको भन्दै न्यायका लागि लडिरहेकी छिन् । यो घटनालाई विश्लेषण गर्ने हो भने, किर्ते जन्मदर्ता बनाएर कानुनी विवाहलाई बदर गर्न स्थानीय जनप्रतिनिधिदेखि केटीका बुवा नै समेत लागि परेको देखिन्छ ।

अजित मिजार अन्तरजातीय विवाह गरेकै कारण मारिए । उनको लास अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा न्यायको प्रतीक्षामा चिसो बरफमा फालिरहेको छ । सेते दमाईले पनि छोराले अन्तरजातीय विवाह गरेको कारण मृत्युवरण गरे । नवराज विक लगायत ६ जना रुकुमका होनहार युवाहरूले यही कारण जीवन गुमाउनु पर्‍यो । माथि उल्लेखित यी घटनाहरू केवल प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । यस्ता घटनाहरू दिनहुँ जसो नेपाली समाजमा घटिरहेका छन् । अधिकांश अन्तरजातीय विवाह खास गरी तथाकथित छुत र अछुत बीचको दुर्घटनामा गएर टुङ्गिएका छन् । उपलब्ध तथ्याङ्क अनुसार ३०० भन्दा बढी युवाहरू अन्तरजातीय विवाहकै कारण जेल जीवन बिताइरहेका छन् । बालविवाहको नाममा उनीहरूलाई जेलमा सड्न बाध्य पारिएको तथ्याङ्कले देखाएको छ । हत्यासमेत गर्न कथित छुतहरू उद्वेलित भएको यथार्थ हाम्रो अगाडि दिनको घाम जस्तै छर्लङ्ग छ ।

बालविवाह नेपाली समाजको लागि सामान्य परम्परागत अभ्यास हो । तराई र सुदूरपश्चिमतिर त यसलाई झन सामान्य परम्पराको रुपमा लिइन्छ । यदि यो कथित छुतहरूको बिचमा भएको छ भने । यद्यपि यो कानुनीरुपमा अपराध हो । तथापि यसको विरुद्धमा कमै आवाज उठ्छ । जुन महिलाहरूको बच्चा जन्माउने उमेरको तथ्याङ्कले समेत पुष्टि गर्छ । तर यस्तै घटनामा यदि कथित छुत र अछुतका उमेर पुगेका केटा केटीहरूको बिचमा विवाह भयो भने पनि राज्य संयन्त्रको सहयोगमा केटीको उमेर घटाएको प्रमाणपत्र बनाएर भएपनि विवाहलाई गैर कानुनी ठहर गरी त्यसको अन्त्य गरेर मात्र उनीहरूले चित्त बुझाउँदैनन् । केटालाई जेल पु¥याएर वा हत्या गरेरै भएपनि उनीहरूले विवाहको अन्त्य गरेर सन्तुष्टि प्राप्त गर्छन् ।

राज्यको कानुनले जातको आधारमा गरिने भेदभावलाई फौजदारी अपराध मानेको छ । दण्ड सजायको व्यवस्था गरेको छ । मानव हत्यालाई झनै डरलाग्दो अपराधको रुपमा कानुनले व्याख्या गरेर आजीवन कारावासको सजायको समेत व्यवस्था गरेको छ । तथापि दैनिक जसो जातीय विभेदका घटना भइरहेका छन् । अन्तरजातीय विवाह असफल बनाइएका छन्, युवाहरूको हत्या भइरहेको छ । कथित छुतहरू बरु जेल सजाय भोग्न वा दण्ड जरिवाना तिर्न तयार छन् तर कथित छुत र अछुत बीचको अन्तरसम्बन्ध र अन्तरघुलनलाई कुनै पनि हालतमा उनीहरू स्विकार्न तयार छैनन् । राज्यको कानुनलाई उनीहरूले चुनौती दिईरहेका छन् । बरु मानिस सबै कुरा गुमाउन तयार छ तर कथित छुत र अछुतबीच निर्माण गरिएको मानसिक पर्खाल भत्काउन तयार छैन । कथित छुतको अछुत प्रतिको घृणाको भाव यति धेरै छ कि उसले अछुतलाई आफू सरहको मानवको रुपमा स्विकार्न तयार नै छैन् ।

अन्तरजातीय विवाहको पक्षमा, सामाजिक न्यायको पक्षमा र कानुनको कार्यान्वयनको पक्षमा धेरै आवाजहरू उठीरहेका छन् । कयौँ अपराधीहरूले राज्यको कानुनले तोकेको दण्ड जरिवाना अनुसार सजायका भागिदार पनि भएका छन् । तथापि त्यसका बाबजुद अन्तरजातीय विवाह गरे बापत कथित अछुत युवाहरूले भोग्नुपरेको मानसिक र शारिरीक यातनामा भने खासै कमी आउन सकेको छैन । खासगरी हिन्दु समाज अन्तरजातीय विवाह प्रति किन उदार हुन सकेको छैन ? यो बारेमा गम्भीर समीक्षाको आवश्यकता देखिएको छ । केवल कानुनी प्रावधानलाई मात्र विषयवस्तु बनाई यसको समाधान खोजेर मात्र यसलाई सम्बोधन गर्नसक्ने अवस्था देखिएको छैन । किनभने यो केवल कानुनी समस्या मात्र होइन, यो धार्मिक साँस्कृतिक समस्या हो भन्ने कुरा बुझ्न जरुरी छ । जुन पाटोलाई अहिलेसम्मको वैचारिक राजनीतिक बहस र आन्दोलनले छोएकै छैन् ।

प्राचीन हिन्दु समाजको संरचना

हिन्दु भन्ने शब्दको प्रयोग प्राचीन कालमा थिएन । यो शब्द मुस्लिमहरूको भारत प्रवेशसँगै व्यवहारमा आएको थियो । वेदकालीन समयलाई वैदिक युग पनि भनेर भनिन्छ । त्यत्तिबेला अहिले जस्तो वर्ण व्यवस्थाको विकृतरुप थिएन । एक वर्णबाट अर्को वर्णमा प्रवेश सहज र विधिवत् मानिन्थ्या । एउटा परिवारका विभिन्न व्यक्तिहरूले फरक–फरक पेसा अपनाएर जीवन चलाएका उदाहरणहरू ऋग्वेदका श्लोकहरूबाट समेत पाउन सक्छांै । एउटै परिवारभित्रका विभिन्न व्यक्तिहरूले आफ्नो रुचि,गुण अनुसार आफ्नो काम गर्थे भन्ने कुरा ऋग्वेदको विभिन्न मन्त्रमा उल्लेख गरिएको छ ।

ऋग्वेदको मन्त्र १/११/६मा भनिएको छ, ‘कोहीलाई धन प्राप्तिको लागि, कोहीलाई अन्न प्राप्तिको लागि, कोहीलाई महायज्ञको लागि उषाले जगाउँछिन् । उनले विविध जीविकाको र प्रकाशको लागि सारा संसारलाई जगाउँछिन्’ ।
ऋग्वेदको मन्त्र १०/९/८७ मा उल्लेखित ऋष्टिषेण राजाका छोराहरू देवापि र शन्तुनुको कथाले पनि कर्मलाई फरक अर्थात् हेयको दृष्टिले हेरिने चलन थिएन ताकि वर्ण निर्माणार्थ कुल विशेषमा जन्म लिन लालायित हुनुपर्ने स्थिति आओस् । एक वर्णबाट अर्को वर्णमा प्रवेश गर्ने कार्य सहज तथा विधिवत् मानिन्थ्यो । ऐतरेय ऋषि दासी पुत्र हुन्, यिनले ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषद् जस्ता प्रसिद्ध पुस्तकहरूको रचना गरे । कवि ऋषि यिनी पनि दासी पुत्र हुन अरूद्वारा होच्याइए पछि यिनले सम्पूर्ण ऋग्वेद अध्ययन पश्चात् उनलाई आचार्य बनाइयो ।

शौनकको वंशमा गुण कर्म अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र उत्पन्न भएको देखिन्छ । तर हजारौँ वर्षको राजनीतिक, आर्थिक,सामाजिक अभ्यासले ज्ञान आर्जन गर्ने, शासन सत्ता चलाउनेहरू शक्तिशाली बन्दै गए । क्षमता र इच्छा अनुसार गर्ने कर्म वर्णमा परिवर्तन हुँदै जातमा परिवर्तन हुँदै गयो । ऋग्वेदको दसौँ मण्डलको माध्यमबाट यसलाई संस्थागत गरियो । समाजमा ब्राह्मण र क्षेत्रीको श्रेष्ठता कायम हुँदै गयो । समाजमा जब ब्राह्मणको हातमा ज्ञानको सत्ता र क्षेत्रीको हातमा शासन सत्ता सीमित गरियो । यिनीहरूको हैसियत समाजमा शक्तिशाली हुँदै गयो । त्यसमा पनि ब्राह्मणको नियन्त्रणमा ज्ञानको सत्ता गए पछि त झनै उनीहरूले आफ्नो हैसियत सबैभन्दा माथि राख्न सफल भए किनभने हिन्दु धर्मसँग जे जति पनि धर्मशास्त्रहरू छन् त्यसको स्रष्टा उनीहरू नै थिए । उनीहरूले धर्मको नाममा आफ्नो हैसियतलाई माथि राख्न कुनै कसर बाँकी राखेनन् । आफ्नो पक्ष पोषित विशेषाधिकारको उल्लेख उनीहरुद्धारा रचित श्रुति, स्मृति, पुराण, उपनिषद्, ब्राह्मण सबैमा गर्ने वातावरण बनाए । ब्राह्मण जातको विशेष श्रेष्ठता र महत्व स्थापित गर्न सफल भए । ब्राह्मणहरूले अन्य वर्ण क्षेत्री, वैश्य र शूद्रको कर्तव्य निर्धारण गर्नु,उनीहरूको आचार,विचार,व्यवहार वृत्तिको विषयमा आदेश निर्देशन गर्नु उनीहरूले आफ्नो विशेष अधिकारको रुपमा सुरक्षित राखे । मनुस्मृति लगायतका प्राय जसो सबै स्मृतिहरूमा ब्राह्मणहरूको विशेष अधिकारको रुपमा यी सबै कुराहरूको उल्लेख गरेको पाइन्छ । ब्राह्मणहरूले वर्ण व्यवस्थाको जगमा टेकेर नै ब्राह्मण,क्षत्री, वैश्य र शूद्रको कर्तव्य र अधिकारको निर्धारण गरे । विवाहको सन्दर्भमा पनि यिनै आधारहरू लागु हुन्छ । ब्राह्मणहरूले वर्णलाई जात व्यवस्थामा परिणत गरे र आफ्नो हैसियतलाई सर्वश्रेष्ठ बनाए पछि वैवाहिक सम्बन्धमा पनि नियन्त्रण गरेर आफ्नो रक्त शुद्धता कायम राख्नको लागि हरसंम्भव प्रयास गरेको देखिन्छ ।

जातको उत्पत्तिको कारक तत्त्वहरू

प्राचीन समय जुन बेला वर्ण कर्म र नस्लसँग मात्र जोडिएको थियो र कथित आर्यहरू ब्राह्मणमा परिणत हुने अवस्था आईसकेको थिएन त्यत्तिबेला वर्णको आधारमा महिला र पुरुषबिचको संसर्गलाई सामान्य रुपमा लिइन्थ्यो । कथित आर्य र अनार्य बिचको वैवाहिक सम्बन्धलाई सामान्यरुपमा लिइन्थ्यो । अर्थात् आर्य र अनार्यबिचको रक्त सम्मिश्रण सामान्य थियो । हिन्दुुहरुले महान मान्ने ऋषिहरू आर्य र अनार्य बिचको संसर्गबाट जन्मिएका वा अन्य वर्ण र नस्लहरूबाट समेत बनेको देखिन्छ । ऋषि शृङ्ग हरिणीबाट जन्मिएका थिए । कौशिक कुशको झाडीबाट,गौतम खरायोबाट,व्यास केवट(मल्लाह) कन्याबाट पराशर चण्डाल कन्याबाट, वशिष्ट वेश्याबाट, विश्वामित्र क्षेत्रीबाट,अगत्स्य घडाबाट, माण्डव्य माण्डवीबाट आदि । यस्ता उदाहरणको हिन्दुहरूको धेरै धर्म शास्त्रहरूमा पाइन्छन् । यहाँ जे जति पनि जनावर अथवा अन्य चिजहरूको नाम उल्लेख गरिएको छ ती सबै अनार्य गणसँग सम्बन्धित नामहरू हुन । त्यसैले के भन्न सकिन्छ भने जात व्यवस्थाको अस्तित्व नहुँदासम्म ऋृषिमुनीहरु बन्नका लागि कुनै जात वा वर्णसँग सम्बन्धित हुन पर्दैन थियो । उत्तम ज्ञान विशेषको कारणले यी ऋषिहरूको ब्राह्मणत्व स्वीकार गरिन्थ्यो ।

वर्ण बिस्तारै जातमा परिणत हुँदै गए पछि पनि एउटा जातको स्त्री तथा पुरुष अर्को जातको स्त्री तथा पुरुषबिचको मेल वा संसर्गबाट नयाँ नयाँ जातको उद्भव भएको देखिन्छ । समाजमा देखिएका विभिन्न जातहरू वेदसम्मत चार वर्णबाट मात्रै उत्पत्ति नभएको भई अन्य कारक तत्त्वहरूले पनि भूमिका खेलेको देखिन्छ । किनभने वर्ण र जातको उत्पत्ति र विकासले विभिन्न वर्ण र जातको महिला र पुरुषकोबिचको सम्बन्ध र सन्तान उत्पादनको प्रक्रियालाई निषेध गरिएको थिएन । धर्मशास्त्रहरूमा अनुलोम र प्रतिलोम विवाह र वर्णशंकर सन्तान उत्पादनको प्रक्रियालाई पर्याप्त मात्रामा उल्लेख गरेको पाइन्छ । वर्ण पछि जातको उत्पत्ति र विकास र विस्तार पनि यही कारणले भएको देखिन्छ । वैदिक समाजमा जातको विकास र विस्तार हुनुमा अवैध यौन सम्बन्ध,विवाह,नियोग प्रथा,धर्म परिवर्तन र जात परिवर्तन प्रमुख कारण देखिन्छन् ।

अनुलोम र प्रतिलोम विवाहबाट जे जति पनि सन्तानहरूको उत्पादन भए तिनीहरूलाई एउटै वर्णमा राख्न नमिल्ने भए पछि विभिन्न जात र उपजातहरू जन्मन थाले । एउटा कालखण्डमा जातको उत्थान र पतनले पनि जात र उपजातहरूको जन्म भएको देखिन्छ ।

प्राचीन युगमा यौन सम्बन्ध अवैध थिएन । विभिन्न वर्णको बिचमा यौन स्वच्छन्दता थियो । जब स्त्री र पुरुषबिचको यौन सम्बन्धलाई मर्यादित विधिपूर्वक बनाउने प्रयास गरियो तब यौन सम्बन्धलाई अवैध तथा उत्सृङ्खलता निन्दित मानियो । तथापि यौनको अवैध सम्बन्ध लुकीछिपी भईरह्यो । अवैध यौन सम्बन्ध भनेको धर्मशास्त्रले अनुमोदन नगरेको यौन सम्बन्ध भन्ने बुझ्न जरुरी छ । अवैध यौन सम्बन्ध पनि जातको उत्पत्तिको एउटा प्रमुख कारक बनेको देखिन्छ ।
विवाह एउटा यस्तो संस्था बन्यो जसले यौन सम्बन्धलाई धर्मसम्मत तरिकाले वैधता प्रदान गर्‍यो। प्रथम विवाह सवर्ण र असवर्ण गरी दुई तरिकाले सम्पन्न हुने प्रचलन थियो । हिन्दु धर्ममा प्रचलित सोह्र संस्कार मध्ये विवाह एउटा प्रमुख संस्कारकोरुपमा रहेको छ । गृहस्थ आश्रमलाई प्रमुख र महत्त्वपूर्ण आश्रमकोरुपको लिने गरिन्छ । गृहस्थ आश्रमका समर्थकहरू विवाह र सम्भोग कार्यलाई अपवित्र एवम् तप ध्यानका लागि बाधक मान्दैनन् । गृहस्थ श्रम जीवन सुखमय र सफल बनाउन विवाह अनिवार्य छ । हिन्दु समाजमा विवाहको उद्देश्य धर्म,अर्थ,काम र मोक्ष प्राप्त गर्नु नै हो । सवर्ण विवाह हिन्दुहरूले उत्कृष्ट मानेको विवाह पद्धति हो । यसले जात र उपजातको उत्पत्तिमा खासै असर गरेको  देखिदैन ।
ठिमाहा वा वर्णसंकर जातको उत्पत्ति हुनुमा असवर्ण विवाहको भूमिका प्रमुख रहेको छ ।

असवर्ण विवाहलाई दुई प्रकारमा विभाजन गरिएको छ । माथिल्लो वर्णको पुरुष र तल्लो वर्णकी स्त्रीबिच हुने विवाह अनुलोम हो भने माथिल्लो वर्णकी स्त्री र तल्लो वर्णको पुरुषबिच हुने विवाहलाई प्रतिलोम विवाह भनिन्छ ।एउटै वर्णको पुरुष र महिलाबिचको विवाहलाई सवर्ण विवाह भनिन्छ । मनुले सबै वर्णमा विवाहित सवर्ण र अक्षत योनी पत्नीको गर्भबाट उत्पन्न सन्तान बाबुको वर्णको हुन्छ भनेर प्रशंसा गरेका छन् भने अनुलोम अर्थात् निकृष्ट जातिकी स्त्रीबाट जन्मेको सन्तान बाबुको वर्णको नभएर वर्णसंकर हुन्छ भनेर निन्दा गरेका छन् । अनुलोम विवाहलाई मध्यम श्रेणी र प्रतिलोम विवाहलाई निकृष्ट श्रेणी मानिन्छ । हिन्दु धर्मका स्मृतिकारहरूले असवर्ण विवाहलाई सुरुवाती दिनहरूमा खुकुलो बनाएका थिए । मनुले शूद्रले केवल शुद्रा, वैश्यले वैश्या र शुद्रा, क्षत्रियले क्रिया, वैश्या र शूद्र र ब्राह्मणले ब्राह्मण, क्रिया, वैश्या र शुद्रा स्त्रीसँग विवाह गर्न सक्छ भनेर भनेका छन् । तर जब वर्ण व्यवस्था कठोर बन्दै गयो र शुुद्रलाई धर्मको अभ्यास गर्नबाट वञ्चित गरियो र हेयको दृष्टिकोणले हेर्न थालियो त्यसपछि भने तिनै मनुले शुद्र कन्यासँगको विवाहलाई निन्दा गरे । अनुलोम र प्रतिलोम विवाहबाट जे जति पनि सन्तानहरूको उत्पादन भए तिनीहरूलाई एउटै वर्णमा राख्न नमिल्ने भए पछि विभिन्न जात र उपजातहरू जन्मन थाले । एउटा कालखण्डमा जातको उत्थान र पतनले पनि जात र उपजातहरूको जन्म भएको देखिन्छ । र नियोग प्रथाले पनि स्थान पाएको देखिन्छ । विदेशीहरूको धर्म परिवर्तनले पनि जातको उत्पत्तिमा योगदान पुर्‍याएको देखिन्छ । त्यस्तै जातको परिवर्तन पनि जातको विकास र विस्तारमा योगदान पुर्‍याउने कारक तत्त्व मानिएको छ ।

शूद्रको अयोग्यता, अछुतपन र कलिवज्र्य
प्राचीन वैदिक समाजमा वर्णको आधार गुण र कर्म भएता पनि उत्तर वैदिक कालसम्म आइपुग्दा यो नस्लको आधारमा हुने विभेदमा परिणत भईसकेको थियो । उत्तर वैदिक कालको आरम्भमा केवल दुई वर्ण मात्र थिए कथित आर्य र तिनीहरूका दुस्मन दस्यु,दास वा अनार्य । त्यतिबेला यो भेद रङ्ग र संस्कृतिसँग मात्र जोडिएको थियो । संहिता काल सुरु हुनुभन्दा अगावै अनार्यहरू आर्यबाट पराजित भएर उनीहरूको अधीनमा आईसकेका थिए । कथित आर्यहरूले उनीहरूलाई आफू भन्दा निम्न कोटीको समुदायको रुपमा गणना गर्न थालिसकेका थिए । कथित आर्यबाट पराजित दास अथवा दस्युहरू कालान्तरमा शूद्रमा परिणत गरिए । उनीहरू त्यत्तिमा मात्र सीमित भएनन् शक्तिशाली आर्यहरूले राज्य विस्तार गर्न लागेसँगै पराजित आर्यहरूलाई समेत दास बनाउन थाले । प्रारम्भमा पढ्ने,पढाउने,पुरोत्याही गर्नेलाई ब्राह्मण, राज्यमा शासन गर्नेलाई क्षत्रिय,व्यापार व्यवसाय गर्नेलाई वैश्य र सबैको सेवा कर्म गर्नेलाई शूद्र भनिएको भएता पनि ब्राह्मणको ज्ञान र राज्यको सत्तामा हैकम स्थापना भएसँगै वर्णको आधारमा गरिएको कामको आधारमा नै वर्णलाई जात मान्ने अवधारणाको विकास गरियो । यति मात्र होइन वर्ण जातमा परिणत भई सके पछि सोही अनुसार मर्यादाक्रम समेत तोकियो । सबैभन्दा माथि ब्राह्मण,त्यसपछि क्षेत्री,क्षेत्री भन्दा मुनी वैश्य र सबैभन्दा मुनी शूद्र । शूद्रमाथि यति धेरै अयोग्यता लादियो कि अरू वर्णका समुदायहरूको अधिकार बढी र दायित्व कम निर्धारण गरियो भने शूद्रहरू माथि केवल अयोग्यता र दायित्व मात्र निर्धारण गरियो अधिकारबाट पूर्णरुपमा वञ्चित गरियो ।

जबसम्म जात व्यवस्थाको संरचना हिन्दु धर्म भित्र रहन्छ र जातको आधारमा असमानताहरू यथावत् रहिरहन्छ तबसम्म अन्तरजातीय विवाहलाई राज्यको कानुनले मात्र संरक्षण गर्न सक्दैन । यो जात व्यवस्थामा आधारित संरचनागत समस्या हो जसको अन्त्य राज्यको कानुनले मात्र गर्न सक्दैन ।

 

जब ब्राह्मणहरूको वर्चस्व र हैकम बढ्दै गयो, उनीहरू शक्तिशाली बन्दै गए । वैदिक कालमा कोरिएको वर्णको आधारमा भएको विभाजनको रेखालाई वंशाणुगत बनाउँदै गए । वर्ण र कर्मको आधारमा निर्माण भएको विभाजनलाई जातमा परिणत गरी ब्राह्मण, क्षत्री, वैश्य र शूद्र जात बनाए । त्यसमा पनि अनुलोम र प्रतिलोम विवाहको नाममा, पेसा व्यवसायको नाममा,अन्य धर्म मान्नेको नाममा,भयङ्कर पाप दुष्कर्म गरेको नाममा, त्यस्ता व्यक्तिहरूसँग खानपान र यौन सम्पर्क गरेको नाममा, जात उकास्ने र झार्ने जातको भ्रष्टिकरण गर्दै जातको र उपजातको निमार्ण गर्दै गए । मनुले ब्रह्म हत्या गर्ने, ब्राह्मणको सुन चोर्ने र सुरापान गर्नेलाई समेत जाति भ्रष्ट गर्नु भनेका छन् । यस्ता व्यक्तिसँग कसैले नखानु,कसैले नछुनु,पुरेत्याइँ नगर्नु र वैवाहिक सम्बन्ध पनि नगर्नु भनेका छन् । त्यस्ता व्यक्तिहरूलाई वैदिक संस्कारबाट पनि वञ्चित गर्नु भनेका छन् । ब्राह्मण पुराणका निर्माताले बौद्ध, पाशुपत, जैन, लोकायत, कपिल अर्थात् सांख्य दर्शनका अनुयायी, धर्मच्युत ब्राह्मण, शैव र नास्तिकहरूलाई पनि अछुतको गणनामा राखेका छन् । गाई खाने सबै उनीहरूको नजरमा अछुत बने । त्यो देखि बाहेक अहिन्दु वा इसाई धर्म मान्ने,इस्लाम धर्म मान्ने र कुनै खास देशको निवासीहरूको समेत संसर्गमा आउनु हुँदैन भन्ने मान्यता रहेको थियो । यी सबैलाई अस्पृश्य घोषणा गरिएको थियो ।

ब्राह्मणकालमा आएर ब्राह्मणहरूले शूद्रलाई यति घृणा गरे कि उनीहरूसँगको सम्बन्धलाई नै पूर्णरुपमा निषेध गरिदिए । त्यही शूद्र जो पहिले ब्राह्मणको घरमा भान्से बन्न सक्थ्यो र उसले पकाएको भोजन उनीहरूले खान्थे क्रमशः त्यही व्यक्ति अछूतको रुपमा परिणत हुँदै गयो । शूद्रसँगको सम्बन्धलाई कलिवज्र्यकोरुपमा निषेध गरियो । कलिवज्र्यको अर्थ हो कलियुगमा बहिष्कार अथवा निषेध गरिएका कर्महरू जुन कर्महरू प्राचीन समयमा अभ्यासमा थिए । हिन्दुहरूले वर्तमान युगलाई कलि युगको रुपमा मान्छन् । हिन्दुहरूले सत्य,द्धापार र त्रेता युगमा जे क्रियाकर्मीलाई ठिक,मनासिब र उपयुक्त धार्मिक अंगको रुपमा स्थापित गरेर अभ्यासमा ल्याएका थिए त्यो कलियुगको लागि उपयुक्त नठानी निषेधको प्रक्रियामा गए । उनीहरूले केही कर्मलाई धर्मकै आडमा पापयुक्त वा अनैतिक भनी घोषणा गरे र त्यसको अभ्यासबाट वञ्चित गराए । त्यस मध्ये शुद्रसंगको अन्तर सम्बन्ध र अन्तरजातीय विवाह पनि हो । शूद्र चाहे त्यो छूत होस् या अछूत उसंगको सम्बन्धलाई पूर्णरुपमा निषेध गरियो । उसको छाँयाबाट समेत पर रहनु पर्ने नियमहरू बनाइयो । उनीहरूले ब्राह्मण लगायत अन्य सवर्णहरूको टाढैबाट नछोईकन सेवा गर्नुपर्ने नियम बनाइयो । त्यस्तै गरी अन्तरजातीय विवाहलाई पनि पूर्णरुपमा निषेध गरेर यसलाई पनि धर्मसम्मत बनाइयो । सवर्णहरुसंगको अन्तरजातीय विवाहलाई केही हदसम्म स्वीकार गरिएको भएता पनि शूद्रहरुसंगको अन्तरजातीय विवाहलाई भने पूर्णरुपमा निषेध गरियो । वर्तमान अवस्थामा पनि खासगरी शूद्रसँगको विवाह कथित सवर्णहरूलाई स्वीकार्य नहुनको मूल कारण विगतमा भएको शूद्रहरुसंगको नकारात्मक सम्बन्धको परिणाम नै हो । शूद्रहरू प्रतिको घृणामा बढी नश्लीय विभेद नै लुकेको छ । त्यसैले नै उनीहरूसँगको सामुदायिक र पारिवारिक सम्बन्ध स्थापित गर्नु भनेको धर्मशास्त्रको हिसाबले पाप कर्म भएकाले हिन्दुहरू त्यो पाप कर्म गर्नबाट आफूलाई जोगाउन चाहन्छन् ।

स्मृति कालमा आएर शूद्र प्रति गरिने व्यवहार यति हिंस्रक र निकृष्ट भयो कि जसले मानवताको परिकल्पना गर्छ उसको लागि त्यो अभ्यास गर्ने त टाढाको कुरा परिकल्पना समेत गर्न सक्दैन । जुन मानव समुदायलाई कथित अछूूत बनाएर उनीहरूलाई मार्दा समेत चरो मुसा मारे जति पनि पाप लाग्दैन भन्ने उल्लेख स्मृतिहरूमा गरिएको छ । शूद्रलाई बुद्धि दिनु हुँदैन,आफ्नो सेवक बाहेक अर्को शूद्रलाई हब्बेकब्बे दिनु हुँदैन । जो पुरुषले शूद्रलाई धर्म र व्रतको उपदेश दिन्छ त्यो पुरुष शूद्रसँगै असंवृत्त नामक नरकमा पर्दछ । यदि शूद्र जातिले ब्राह्मण आदि तीन वटै वर्णलाई कठोर वचन बोल्यो भने उसको जिब्रो काट्दिनु पर्दछ, किनकि उसको उत्पत्ति नै सबैभन्दा नीच वर्णमा भएको छ । शूद्रले कुनै द्विजको नाम तथा जातिको उच्चारण गरेर निन्दा गर्छ भने मात्र पनि उसको मुखमा दस अङ्गुलको लामो पोलेर तातो पारिएको फलामको सुइरो पूरै रोपिदिनु पर्दछ । शूद्रले पुरानो लुगा लगाउनु पर्छ, ब्राह्मणको जुठो खानु पर्दछ, आफ्नै स्त्रीसँग प्रसङ्ग गर्नु पर्दछ र पराई स्त्रीसँग परहेजमा रहनु पर्दछ । यी सबै हिन्दु धर्मशास्त्रहरूमा उल्लेख गरिएका केही प्रतिनिधिमूलक नियमहरू हुन जुन अहिले पनि हिन्दुहरू धेरै थोरै धर्मको नाममा पालना गर्न बाध्य छन् । उनीहरूको लागि धर्मशास्त्र भनेको ईश्वरको वाणी हो र त्यसको पालना गर्नु उनीहरूको लागि धर्म हो ।

नेपाल वर्तमान सन्दर्भमा भन्ने हो भने संविधान र कानुनले चल्ने देश हो । जातीय र लैङ्गिक विभेद गर्नु भनेको कानुनको नजरमा अपराध हो । तथापि राज्यको कानुन व्यवहारमा भने प्रभावकारी रुपमा लागु हुन सकेको छैन । जसले गर्दा अन्तरजातीय विवाह गर्ने जोडीले जातको नाममा धेरै विभेद,हिंसा र अपमान सहनु परेको छ । त्यो हुनुको मूल कारण भनेको समाजमा हिन्दु धर्मशास्त्रमा उल्लेखित विधान राज्यको विधान भन्दा शक्तिशाली रुपमा अभ्यास हुनु हो । राज्य संयन्त्रमा बस्ने हुन् या समाजका सबै हिन्दु धर्मशास्त्रको विधानबाट निर्देशित छन् र उनीहरू नै राज्यको विधान उलङ्घन गर्ने पहिलो व्यक्ति बन्दछन् । त्यो स्वाभाविक पनि हो । किनभने उसले मान्ने धर्म नै विभेदकारी छ र ऊ जन्मनासाथ नै धर्म संस्कृतिका नाममा विभेदको अभ्यास गर्न बाध्य हुन्छ भने ऊ राज्यको विधान पालना गर्नसक्ने कसरी हुन सक्छ ? त्यसैले अन्तरजातीय विवाह सफल बनाउने हो भने राज्यको कानुन पर्याप्त छैन । हिन्दु धर्म भित्र रहेको जात व्यवस्थाको संरचना नै अन्तरजातीय विवाहको अवरोधको मूल कारक तत्त्व भएकोले जबसम्म जात व्यवस्थाको संरचना हिन्दु धर्म भित्र रहन्छ र जातको आधारमा असमानताहरू यथावत् रहिरहन्छ तबसम्म अन्तरजातीय विवाहलाई राज्यको कानुनले मात्र संरक्षण गर्न सक्दैन । यो जात व्यवस्थामा आधारित संरचनागत समस्या हो जसको अन्त्य राज्यको कानुनले मात्र गर्न सक्दैन । धर्मको नाममा बनाइएको तहगत जात व्यवस्था अन्त्यको आवश्यक छ ।