June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता
अनुवाद

टाठाबाठा, गोज्याङ्ग्रा र कमारा 

२०८० आश्विन १२

2.6K

एक
एउटा कमारा केही गर्दैन तर जहिले कुनै मानिसको बाटो ढुक्छ जसलाई ऊ आफ्नो दुःख पोख्न सक्छ । उसले गर्न जानेको यै यौटा कुरो मात्रै हो । एकदिन उसको भेट एकजना विद्वानसँग हुन्छ ।
‘ख्वामित !’ ऊ आँसुका छहरा गालाका पहराबाट खसाउँछ । ‘रोटा चिल्ला मीठा, कुडा खच्चा मीठा’; हजुरलाई थाहा छ, मैले कुकुरको जुनी कटाइरहेको छु । मेरो कुच्चेको मुखलाई दिनमा एक छाक खाने सौभाग्यसम्म जुर्दैन, केही गरी जुरेको छ भने सुँगुरले समेत नखाने भुसको ढुटोले मेरो भोकको प्वाल पुरेको छ । त्यै पनि यौटा स्यानो बटुकोमा । .’
‘चाइन्जो ! साह्रै कष्ट पो र’छ,’ विद्वान दयाको चटनी चखाउँछ ।

‘हगि, स्वामी ?’ उसको पितृ खुशी हुन्छ । ‘रात रातै छ, दिन रातै छ । झिसमिसेमै भाले नबास्दै म पानी ओसार्छु, मिरमिरे साँझमै म खाना ठीक पार्छु, ब्यानब्यानै खबर भन्न म पाइला सार्छु, झम्के साँझमै म गहुँको पीठो पिस्छु; दिन उघ्रेको बेला म लुगा धुन्छु, पानी वर्षँदा मालिकलाई म छाता ओढाउँछु; हिउँदमा म चुलाको आगो जोर्नमा ध्यान दिन्छु, गर्मीमास म पङ्खा हम्कन्छु । मध्यराताँ म सेता च्याउ उसिन्छु र जुवाको खालमा हामफालेका मालिकलाई पर्खन्छु; तर मैले कैल्यै एक कौडी बक्सिस पाउँदिन, बरू त्यसको सट्टा कहिलेकाहीँ कोर्रा …’

‘कठै, विचरा ! …’ विद्वान लामो सास फेर्छ, उसका आँखाका डिलहरू आँसुका दाना खस्ला नै जस्ता राता देखिन्छन् ।
‘म यसरी जुनी काट्न सक्तिन, मालिक ! मैले कुनै जुक्ति सोच्नैपर्ला । तर म के पो गरौँ, के पो गरौँ म ?’
‘तेरो अवस्था सुध्रन्छ भन्ने हाम्लाई लाइरा’छ …’

‘बाबुसा’बलाई त्यस्तो लाइरा’छ ? मलाई पनि त्यस्तै लाइरा’छ । हुन पनि मैले बाबुसा’बलाई आफ्ना प्रचण्ड पीरव्यथा पोखेँ । बाबुसा’बले पनि थै–थै गरी गजक्क पारिदिनुभ’कोले आफ्नो मुख उजेलो भ’को छ । बाबुसा’बले बता’कै हो भन्देखिन् दूदो दूद पानीको पानी यो दुनियाँमा अज्जै नियानिसाफ पाइन्छ भन्ने मलाई लाइरा’छ ।’

दुई
केही दिनपछि, यद्यपि, ऊ फेरि खिन्न हुन्छ र आफ्नो दुःख पोख्ने अर्को मानिस फेला पारिहाल्छ । ‘मालिक !’ ऊ आफ्ना विवशता सुनाउन उत्साहित हुन्छ, हर्षाश्रुधारा बहाउँदै । ‘हजूरलाई लुकाउनुपर्ने केई छैन, जहाँ म बस्छु त्यो ठाउँ सुँगुरको खोरभन्दा खतम छ । मेरा मालिकले मलाई मान्छेलाई गर्ने व्यवहार पनि अर्दैनन्, मलाई भन्दा आफ्नो कुकुरलाई दश हजार गुणा गतिलो व्यवहार अर्चन् । …’
‘त्यो हरामीको ढाड खुस्काउनुपर्छ !’ अर्कोले चिच्याएर किरिया खान्छ, कमारा तीनछक पर्छ । त्यो अर्को मान्छे मूर्ख हो ।

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
लाङ्खुट्ट्या उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाङ्खुट्ट्याहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छू बसी ।।

‘म दुखियाको बास टाउको ठोक्किने, एककोठे, चीसो अनि उडुसको छेलाखेलो भ’को झुप्रोमा छ । मलाई रात रातभरि उपिञाले टोक्छ ! मेरो बास असाध्य फोहर ठाउँमा छ, हजूर, झुपडीमा एउटा झ्यालसम्म छैन । …’
‘तँ जैरेले तेरो मालिक भनाउँदोसित यौटा झ्याल बनाई माग्न सक्तैनस् ?’
‘हजूर ! त्यत्रो माग्न सक्ने आफ्नो आँट काँ’ र ?’
‘त्यसो भए मलाई तँ बस्ने तेरो झुप्रो देखा ।’
मूर्ख, कमाराको पछि–पछि उसको झुप्रोमा जान्छ र माटाको गारो भत्काउन थाल्छ ।
‘हजूरले के गर्नुभ’को, सा’ब ?’ कमारा अतालिँदै सोध्छ ।
‘चाइन्जो, म तँ छुसीको निम्ति झ्याल बनाइर’को छु ।’
‘अहँ, भत्काउनु हुँदैन । मालिकले मेरो छाला काढ्नेछन् ।’
‘काढ्न दे !’ मूर्ख भत्काइरहन्छ ।

तीन
‘गुहार ! गुहार ! डाँकाले घर भत्काइर’को छ ! झट्ट आउनु’स् नत्र गारो भत्काइसक्छ ! …’ कोकोहोलो मच्याउँदै र रुँदै, कमारा बौलाहाजस्तो भुइँमा लडीबुडी गर्न थाल्छ । कमाराहरूको जमात देखापर्छ र मूर्खलाई लखेट्छ । खैलाबैलाले ब्युँझेर, जो अन्तिममा बिस्तारै आउँदैछ त्यो उसको मालिक हो ।
‘डाँकाले हाम्रो घर भत्काउन लागिर’को थ्यो । मैले सुइँको पाएँ, र सबजनालाई डाकेर डाँकालाई डाँडा कटाएँ !’ कमारा अदब र गर्वसाथ बोल्छ ।
‘स्याबास तँलाई !’ मालिक उसको तारिफ गर्छ ।

चार
धेरै हितैषीहरू त्यो दिन चिन्ता व्यक्त गर्न आइपुग्छन्, आइपुग्नेमध्ये विद्वान पनि छ ।
‘मालिक ! मैले आफैँलाई किम्मती बनाएँ, र मालिकले मलाई सह्राउनुभयो । हजूरले अस्ति मामला आफैँ सल्टन्छ भन्नुभ’को थियो, हजूर साँच्चि नै ज्योतिषी हुनुहुँदो र’च ।’ ऊ निर्धक्क र खुशीसाथ बोल्छ ।
‘उत्तम भयो । . . ,’ विद्वान जवाफ फर्काउँछ, र उसको निम्ति खुशी देखिन्छ ।

डिसेम्बर २६, १९२५
ग्रन्थः वाइल्ड ग्रास (फरेन ल्याङ्गुएजेज प्रेस पेइचिङ १९७४)
ग्रन्थकारः लू शुन
अनुवाद गरिएका पृष्ठहरूः ५९, ६०, ६१
अनुवादकः सरोनर

सरोनर

भानुभक्त आचार्यद्वारा लिखित ‘रोज् रोज् दर्शन पाउँछू …’ बाबुराम आचार्यको पुराना कवि र कविता बाट उद्धृत गरिएको हो । स्मरण रहोस्, अनुवाद भनेको एक भाषाको अर्को भाषामा सामाजिक तथा सांस्कृतिक रूपान्तरण हो । प्रस्तुत कथाको पात्र कमारो रात रातभरि उपियाँले टोकेर एक निद्रा सुत्नु नसकेको नेपाली सामाजिक तथा सांस्कृतिक रूपान्तरण नै ‘रोज् रोज् दर्शन पाउँछू …’ हो, र कमारोले उसको जीवनमा जानेको एउटै काम भनेको ‘रोज् रोज्’ कसैको ‘दर्शन’ गरेर दुःख पोख्ने हो ।

वली मोहम्मद वलीको गजलको मत्ला छः ‘जिसे इश्क का तीर कारी लगे, उसे जिंदगी क्यूँ न भारी लगे,’ जसलाई आफ्नो उपन्यास द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेसमा अरुन्धती रोयले अङ्ग्रेजी अनुवाद गरेकी छन् । ‘फर वन स्ट्रक डाउन बाई क्यूपिड’स बो, लाइफ बिकम्स बर्डेन्सम, इजन्ट द्याट सो ?’ पूर्वेली मिथकमा ‘इश्क का तीर’ चलाउने कामदेव छन्, र कामदेवको अनुवादको रूपमा रोयले ग्रीसेली क्यूपिडलाई मुखेञ्जी ल्याएकी छन् । हाम्रो साहित्यमा रोयले गरेजस्ता अनुवाद नगण्य छन्, किनभने हामीलाई अनुवादको नाउँमा प्रतिलिपी चाहिएको हुन्छ, र कम्तीमा दुई भाषाको ‘समाज र संस्कृतिको चेतको कमी छ’ भन्नुपर्दा हामीलाई लाजमर्नु हुन्छ । ‘कन्सेन्ट्रेसन’–को प्रतिलिपी ‘फोकस’ हुनसक्छ, त्यसको अनुवाद ‘फोकस’ हुनसक्तैन, साहित्यको अनुवाद दुई भाषाको जुहारीजस्तो हो, इजन्ट द्याट सो ?

सन् २०१९ मा पब्लिकेसन नेपालयबाट प्रकाशित काँडामा हाँसेको जिन्दगीमा कालीप्रसाद रिजाल उनका पुर्वज धनकुटा जिल्लाको सिम्बुवा डाँडामा बसोबास गरेको कुरा उल्लेख गर्दछन् । रिजालका अनुसार सिम्बुवाको जीवनका अभिन्न अङ्ग थिए कमाराकमारीहरू, झिसमिसेमै उठेर तिनीहरूसितै पँधेरामा पानी लिन जानु, तिनीहरूसितै घरधन्दा, जुठोचुलो गर्नु, गाईवस्तु चराउनु, घाँसदाउरा गर्नु गाउँका बुहारीहरूको दिनचर्या थियो (पृ. १६) । चन्द्रशमशेरले करिया प्रथा अन्त्य गरेपछि रिजालका हजुरबाले सबै कमाराकमारीलाई बोलाएर भन्दछन्, ‘तिमीहरू अब आआफ्ना कुम्लाकुटुरा कसेर आफूखुसी जहाँ जान मन लाग्छ गए हुन्छ ।’ कमाराकमारीहरू डाँको छाडेर रून पो थालेछन्, ‘बिन्ती त्यसो नभन्नोस् बाजे ! हाम्रो कोही छैन । आमाबाबु जे भनेपनि हजूरहरू नै हो । हामीलाई घरबाट ननिकाल्नुस् । घर छाडेर कतै जाँदैनौँ (पृ. १७) ।’

अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘होम ईज ह्वेर मम ईज ।’ अर्थात् आमा छिन् र घर छ । तर उक्त भनाइको यथार्थ अर्कै हो, ‘घर छ र आमा शोषित छिन् ।’ एउटा नेपाली गाउँखाने कथा छ, ‘खाँदै छ, हग्दै छ, के हो ? उत्तरः जाँतो ।’ जाँतोमा मकै दलिन्छ, घरमा आमाहरू दलिन्छन्; जबसम्म महिलाहरू नै ‘आमा छिन् र घर छ’ भनिरहन्छन्, तबसम्म घरका स्वामीहरूले आमा, छोरी, बुहारीहरूलाई शोषण गरिरहन्छन् । लू शुनको कमारालाई बसिखानु छैन, तैपनि ऊ आफ्नो ‘प्रभुको घर’ भत्काउनु चाहँदैन । हेगेलले भनेअनुसार कमाराकमारीहरूको विशेषता भनेको मालिकको चेतनाको अधीनमा रहनु हो, मालिक स्वाधीन हुन्छ, र उसको सारभूत प्रकृति स्वार्थी हुन्छ; कमारा पराधीन हुन्छ र मालिकको चरणमा उसको जीवनको सार हुन्छ । रिजाल बाजेका घर्तीघर्तिनी कमाराकमारीहरू डाँको छाडेर किन रुन्छन् भने उनीहरूको चेतना बाजेहरूको अधीनमा छ । फिनोमिनोलोजी अफ माइन्डमा हेगेल के लेख्छन् भने स्वतन्त्रता ज्यान जोखिममा पारेर मात्रै प्राप्त गर्न सकिन्छ । उत्पीडितहरूको शिक्षाशास्त्रमा पाउलो फ्रेरेको भनाइ के छ भने स्वतन्त्रता उपहारमा प्राप्त हुँदैन, सङ्घर्षमा विजयी भएपछि प्राप्त हुन्छ, तर सङ्घर्षको दौरान उत्पीडितहरूमा मुक्तिको प्रयत्न गर्नुको साटो स्वयं उत्पीडक बन्ने प्रवृत्ति देखापर्दछ । लू शुनको कमाराको उत्पीडक बन्ने प्रवृत्ति गोज्याङ्ग्रामा गएर साकार भएको छ ।

लू शुनको निबन्ध ‘गर्मीका तीन कीराहरू’ (४ अप्रिल १९२५) मा के लेख्छन् भने उपियाँ, लामखुट्टे, र झिङ्गामध्ये एउटा रोज्नैपरेमा उनी रोज्नेछन्, उपियाँ । शुनका अनुसार उपियाँहरू सोझै आएर रगत चुस्छन्, तर लामखुट्टेहरूले आफ्ना दाह्रा धस्नुपहिले तिनीहरू भुनभुन गरेर निकैबेर भाषण गरिरहन्छन् । मान्छेको रगत चुसेर बाँच्ने कुरो आफ्नो अधिकारभित्र पर्दछ भनेर लामखुट्टेहरू भुनभुनाएजस्तो उपियाँहरू… । रमेश विकलको दोश्रो उपन्यास अविरल बग्दछ इन्द्रावती (२०३९) को त्रिलोचनसिंह उपियाँ हो, उसको जनक चतुर्भुजसिंह लामखुट्टे ? त्रिलोचनसिंहको दंश भनेको आफ्नो अभिजात गुण एउटा टोटावाल बन्दुकले कायम राख्न सकिने उसको विश्वास हो, हैन ? उसको दंशले एकपल्ट हरिकृष्ण सन्यासीलाई र अर्कोपल्ट देबु पनेरूलाई निशाना बनाउँछ । लू शुनको कमारालाई किन लाग्छ ऊ मालिकको निशानामा छैन, उसको मालिक लामखुट्टेजस्तो भुनभुनाउँदैन ?