June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प,भौतिक संरचनामा क्षति

२०८० आश्विन १६

1.4K

काठमाडौंः बझाङ केन्द्रविन्दु भएर नेपालको सुदूरपश्चिम क्षेत्रमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीका अनुसार भौतिक संरचनामा ठूलो क्षति भएको छ । उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’ भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् ।

यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक पराकम्पन गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ ।