June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जविरुद्ध स्थानीय आन्दोलित, यस्ता छन् मागहरु

२०८० आश्विन २९

3.7K

काठमाडौंः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । गत असोज २७ गते शनिबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समिति र समान नेपालको संयुक्त आयोजनामा निकुञ्ज प्रभावित क्षेत्र ओख्रेनी, मुलखर्क, नुवाकोट, सिन्धुपाल्चोक, शखंरापुर लगायतका स्थानका निकुञ्ज पीडितहरुले विरोध प्रदर्शन गरेका हो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सैनिक ढाटबाट सुरु भएको ¥याली टिकट काउन्टर बन्द गर्नुपर्ने, श्रोतहरुको दोहन बन्द गर्नुपर्ने तथा बनिरहेका तथा अब बन्ने आयोजनाहरुमा त्यहाँका आदिवासीहरुसंग स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी(एफपिक) लिनुपर्ने लगायतमा मागहरु राख्दै सुन्दरीजल दोबाटोमा कोणसभामा परिणत भएको थियो ।

कोणसभा कार्यक्रमको संयोजन दिपक तामाङले गरेका थिए भने प्रमुख अतिथि माननीय शान्ति श्रेष्ठ, विशेष अतिथी समान नेपालका बुद्धछिरिङ मोक्तान, निकुञ्ज पीडित स्थानीय तथा त्यस क्षेत्रका समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरुले हजारौं वर्षदेखिको ऐतिहासिक थातथलो ओख्रेनी, मुल्खर्क, तारेभिर, चिसापानी, घुमारचोक, गागल, मणिचुड लगायतका क्षेत्रमा राज्यले नागार्जुन राष्ट्रिय निकुञ्जको नाममा त्यहाँको आदिवासीको सहमती बेगर सुन्दरीजलको जलश्रोत दोहन गर्ने, बिजुली उत्पादन गर्ने, आधारभूत भौतिक पूर्वाधारहरुबाट वञ्चित गर्ने, सैन्यकरण मार्फत त्यहाँका आदिवासी एवं स्थानिय जनताहरूलाई चिडियाखानाको जनावर झैं कैद गर्ने काम भएकाले उपरोक्त कार्यहरुबाट आदिवासी राष्ट्रका जनताहरुको हक, अधिकार, स्वतन्त्रता, सार्वभौमिकता, स्वशासनको अधिकार र समग्रमा आत्मनिर्णयको अधिकारमाथि संकट पैदा भएको हुँदा सोको संरक्षणको लागि नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी, महासन्धी तथा घोषणापत्रहरुले प्रत्याभुत गरेको निर्णय प्रकृया तथा लाभको वितरणमा स्थानीय आदिवासीहरुको अनिवार्य सहभागिता गराउने प्रतिबद्धताप्रति राज्य गैर जिम्मेवार हुँदै आएको बताएका थिए ।

त्यस्तै विभिन्न अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, प्रतिबद्धता आदिले निर्धारण गरेको नियम तथा लक्ष्य हासिल गर्न नेपालको संविधानले पनि आदिवासी राष्ट्रहरुको अधिकारलाई सुनिश्चित गरेको सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सन् १९७३ तथा मध्यावर्ती क्षेत्र व्यवस्थापन योजना सन् २०१७ ले निर्धारण गरेको आदिवासी जनताहरुको अधिकारहरुलाई पनि लत्याउने काम भएको भन्दै वक्ताहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । सन् १९७६ मा शिवपुरी जलाधार संरक्षण क्षेत्र तथा सन् २००२ मा राष्ट्रिय निकुञ्ज बनाउने कामले ग्ल्म्च्क्ष्ए को धारा ३० विपरित आदिवासीको भूमीलाई सैन्यकरण गर्ने परियोजना भएको तथा त्यहाँको जनताहरुलाई निर्णय प्रकृयामा सहभागी नगराई उनीहरुको आत्मनिर्णयको अधिकार उल्लंघन गरेको आधारमा पनि गैर कानुनी ठहर भएको वक्ताहरुको भनाइ थियो ।

यस विषयलाई विभिन्न समयमा यस क्षेत्रका आदिवासी तथा स्थानीय जनताहरुले आवाज उठाउँदा बेवास्ता गर्ने, टार्ने, दबाउने आदि भएकोले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समिति गठन गरेर शान्तिपूर्ण रुपमा आन्दोलन अगाडी बढाउनु परेको संयोजक दिपक तामाङले उल्लेख गरे । ‘यहाँ कुनै पनि योजनाहरु यहाँका आदिवासीलाई स्वतन्त्र, अग्रिम जानकारी सहितको मन्जुरी ९ँएक्ष्ऋ० र सार्वजनिक सुनुवाइ नगरी बलपूर्वक काम अगाडि बढाईरहेको छ जसको असर यहाँका जनताहरुले बाध्यतापूर्वक सहनु पर्ने अवस्था रहेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जले यहाँको पैतृक भूमि, भुक्षेत्र, प्राकृतिक श्रोत र आदिवासीको परम्परागत सांस्कृतिक मुल्य मान्यता बोकेको देवी देवताको पुजा गर्ने थान भएको स्थानसमेत कब्जा गरिएको छ’ । उनले भने ।

निकुञ्ज र मध्यावर्ती क्षेत्रको नाममा आधारभुत भौतिक पुर्वाधारहरु सडक, विद्यालय, स्वास्थ्य चौकी आदि निर्माण गर्न रोक लगाइएको अर्का आन्दोलनकारी स्थानीय राज तामाङले गुनासो गरे । मुलखर्क र ओख्रेनी गाउँको वारीपारी दर्जनौं सैनिक क्याम्प त्यहाँको आदिवासीहरुको सहमति बिना नै बनाएर गाउँलेलाई बन्धक बनाउने काम भएको उनको भनाइ थियो । त्यस्तै अर्का आन्दोलनकारी मान बाहादुर तामाङले निकुञ्जको सैनिक र कर्मचारीले अनाधिकृत घुसपैठ, खानतलासी, डर, धम्की, त्रास तथा मुद्दा लगाउने काम गारिरहेको बताए । ‘यस क्षेत्रका आदिवासी र स्थानीयलाई आफ्नो घर आवोतजावोत गर्न दैनकै स्पष्टिकरण, प्रमाणिकरण, खानतलासी गर्न, सैनिक ढाट राखी दुःख दिने काम गारिरहेको छ’ ।

आयोजकहरुका अनुसार कार्यक्रममा गोकर्णेवर नगरपालिकाका नगर प्रमुख, प्रदेश सांसद, सङ्घीय सांसद,शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यावर्ती क्षेत्रका अध्यक्ष र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख अधिकृत लगायतलाई पटकपटक बोलाउँदा पनि नआएको तथा गुनासो सुनुवाइ गर्न पनि तयार भएको छैन । गोकर्णेश्वर नगरपालिका वडा नं.१ का सदस्य श्रीकृष्ण तामाङ जनप्रतिनिधि भए पनि प्रत्येक दिनको सैनिकहरुको अपमानजनक व्यवहारबाट आजित भएको बताउँछन् । उनले भने, ‘हामी हाम्रो आफ्नो ठाउँमा जेलमा परेको जस्तो महसुस भइरहेको छ । देशमा लोकतन्त्र आएता पनि हामी बन्धनमा नै छ जस्तो लाग्छ’।

बोम्बो, लामा र ताम्बासहितको उपस्थितिमा सांस्कृतिक झाँकीसहित भएको कार्यक्रममा सहभागीहरुले आफूहरुले राखेको मागहरु सम्बोधन नभए थप आन्दोलनको कार्यक्रमहरु गरेर जाने चेतावनी पनि दिएका छन ।

यस्ता छन् आन्दोलनका मागहरुः
१.आदिवासी तामाङ राष्ट्रसंग स्वतन्त्र र अग्रिम जानकारीसहितको मन्जुरी ९ँएक्ष्ऋ० नगरी निर्माण गरिएको तथा निर्माण हुने योजनाहरु तुरुन्त बन्द गर्नुपर्ने ।
२.निकुञ्जले संचालन गरेको टिकट काउन्टरहरु बन्द गर्नुपर्ने ।
३.निकुञ्जका सैनिक तथा कर्मचारीहरुको अनाधिकृत घुसपैठ, खानतलासी, डर, धम्की, त्रास तथा मुद्धा लगाउने काम तुरुन्त बन्द गर्नुपर्ने ।
४.स्थानीय आदिवासी राष्ट्रको सहमति बिना निर्माण भएको राष्ट्रिय निकुञ्ज र मध्यावर्ती क्षेत्र खारेज गर्नुपर्ने ।
५.गाँउ आसपास रहेका सैनिक चेकपोष्ट र ढाटहरु बन्द गर्नुपर्ने ।
६.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले कब्जा गरेको पैतृक भूमि, भूक्षेत्र र श्रोतहरु फिर्ता गर्नुपर्ने ।
७.प्राकृतिक श्रोतहरुबाट प्राप्त लाभहरु जस्तै, कार्बन ट्रेडिङ शुल्क, सुन्दरीजल खानेपानी, जलविद्युत आदि बिचौलियालाई बाँड्ने काम बन्द गरेर सिधै जनतामा जाने व्यवस्था गर्नुपर्ने ।
८.निकुञ्ज र मध्यावर्ती क्षेत्रको नाममा आधारभूत भौतिक पुर्वाधारहरु जस्तै सडक, विद्यालय,स्वास्थ्य चौकी आदि निर्माण रोक्ने काम बन्द गर ।
९.भूमी भूक्षेत्र तथा श्रोतहरुमा आदिवासी अग्राधिकार कायम गर ।