June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
तस्बीरः नेचर खबर
थाहा संवाददाता

भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण थप दुई जनाको मृत्यु

२०८० मंसिर १

5.1K

जाजरकोटः चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने हुँदा जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन्।

त्रिपालमुनिको बसाइले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनका अनुसार यसअघि गत साता नलगाड–४ मा पनि चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो।

प्रमुख जिल्ला अधिकारी सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताए पनि यस विषयलाई गम्भीर रुपमा लिएर प्रभावकारी ढंगले व्यवस्थापन गर्न भने सकेको छैन । दिनानुदिन बढ्दो अवस्थामा रहेको चिसोका कारण हालसम्म चारजनाको ज्यान गइसकेको हुँदा सरकारले तत्काल आवश्यक व्यवस्थापन नगरे थप मानवीय क्षती हुनसक्ने देखिन्छ ।