May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

तामाङ राष्ट्रिय मुक्ति आन्दोलनले हल गर्नुपर्ने प्रश्नहरु

२०८० पुष २१

17.8K

  • आहुति

मैले एक वर्ष अगाडिदेखि भनेको थिए कि विगतको आदिवासी जनजाति आन्दोलन, दलित आन्दोलन र महिला आन्दोलन लगायतका उत्पीडितहरुको आन्दोलनले विकास गरेका घाघडान व्यक्तित्वहरु अहिले अजिङ्गरको पेटभित्र छन् । अहिले स्थापना भएको यो व्यवस्था अजिङ्गर जस्तो छ । त्यसभित्र केही व्यक्तित्वहरु निलिएको पाठो जस्तो भुक्क उठेर बसेका छन् । उनीहरु त्यहीँ अजिङ्गरको पेटमा देखिन्छन् । तर, हामीलाई थाहा छ उनीहरु निस्केर आउँदैनन् । अजिङ्गरले निलेको चिजलाइ पचाउन सकेन भने वान्ता गर्ने गर्छ । अहिले फेरि ताम्सालिङ संयुक्त संघर्ष समिति बनाएर के कोही अजिङ्गरको पेटबाट निस्किन खोजेको हो ? मलाई अहिले यो प्रश्न आएको छ । मैले बेलाबेलामा भन्ने गरेको थिए कि चीलको एउटा प्रजातिको आयु १५० वर्षको हुँदो रहेछ । ६० वर्ष नाघेपछि उसको ठुँड काम नलाग्ने हुँदो रहेछ र सिकार गर्न नसक्ने रहेछ । त्यसपछि त्यो चीलको प्रजातिले आफूलाई हुत्याएर लगेर पहरामा चुच्चो ठोक्दो रहेछ र ठुँड भाँच्दो रहेछ । त्यसपछि गुफामा गएर बस्दो रहेछ । ६/८ महिनापछि फेरि नयाँ ठुँड पलाउँदो रहेछ । अनि मात्रै सिकार गर्न निस्किदो रहेछ । अहिले त्यसैगरी आदिवासी जनजाति लगायत नेपालका उत्पीडितहरुको आन्दोलनको ठुँड पूरानोे भएको छ । हेर्‍यो भने चील देखिन्छ तर, सिकार गर्न सक्दैन । के ताम्सालिङ संयुक्त संघर्ष समितिले त्यो ठुँड पहरामा हानेर भाँच्न खोज्नुभएको हो ? यदि हो भने फेरि लडाइँ सम्भव छ । त्यसकारण यो कार्यक्रमलाई म ठुँड भाँच्ने यात्राको रुपमा ग्रहण गर्न चाहन्छु ।

यही पूरानो ठुँड लिएर सिकार सम्भव छैन । यो ठुँड मक्किएको छ, यसलाई भाँच्नुपर्छ र, नयाँ ठुँड उमार्नुपर्छ । अनि मात्रै लडाइँ हुन्छ भन्ने म ठान्दछु । किनकि यो ठुँडको सन्दर्भ मैले किन उठाएको हो भने मैले तपाईंहरुकोे घोषणापत्र हेरे । घोषणापत्रमा नयाँ ठुँड छ कि छैन भनेर पनि खोजे । मैले धेरै नयाँ ठुँड भेटिँन । ठुँड छ तर, अलि पुरानै खालको ठुँड बाँकी छ । किनकि नयाँ ठुँड भनेको नयाँ विचार हो ।

तामाङ राष्ट्रले आफ्नो मुक्ति खोज्छ भने सबभन्दा पहिले आफ्नो भूमिभित्र सबभन्दा पिँधमा को छ त्यसको मुक्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।

हिजो ताम्सालिङ राज्य घोषणा गरेर पनि हामी हाम्रै आँखा अगाडि असफल भयौं । किनकि पहिलो संविधान सभाको राज्य पुनः संरचना समितिमा म पनि थिए । धेरै जोडबल गरेर १४ प्रदेश पास गरिएको थियो । तर, त्यो कसैले पनि लिन चाहेको थिएन । कोही पनि लिन नआएको हुनाले सजिलै खाइदिएको हो । त्यसकारणले हिजो जे कारणले हामी असफल भयौं । अब फेरि सफलताको निम्ति नयाँ विचार के ? जे जस्ता संगठनहरु तपाईंहरुले आयोजकको रुपमा राख्नुभएको छ, उनीहरुको नयाँ ठुँड कहाँ छ ? के उनीहरुसँग नयाँ ठुँड छ त ? मलाई थाहा छैन । त्यसकारण नयाँ विचारमा अलिकति छलफल जरुरी छ कि भन्ने म ठान्दछु ।

संसारमा मुक्ति आन्दोलनका दुइट तरिकाहरु छन् । एउटा माथिल्लो तहबाट मुक्ति खोज्दै जाने । अर्को सबभन्दा पिँधमा परेकोबाट मुक्ति खोज्दै जाने । यो ताम्सालिङ संयुक्त संघर्ष समितिले माथिबाट मुक्ति गर्ने यात्रा सुरु गर्न खोज्यो कि भन्ने मलाई लागेको छ । पुँजीवादले लड्दाखेरि माथिबाट मुक्ति खोजेर लडेको हो । साम्यवादले लड्दाखेरि तलबाट मुक्ति खोजेर लडेको हो । कार्ल माक्र्सले ‘यदि मानव जातिको मुक्ति गर्ने हो भने यसको सबैभन्दा पिँधमा परेको वर्गको पहिला मुक्ति हुनुपर्छ ।’ भनेर त्यसै भनेका होइनन् । पिँधका मान्छेको मुक्तिको कुरा संसारको निम्ति पहिलो र नयाँ कुरा थियो किनकि त्यो भन्दा अगाडि राजा महाराजाहरुको उन्नति हुनुपर्छ, उनीहरुबाट सुरु गर्नुपर्छ, पुँजीपतिको मुक्ति हुनुपर्दछ भन्ने जस्ता अवधारणाहरु थियो । त्यस अवधारणाको ठिक विपरीत माक्र्सले समाजको सबभन्दा शोषितको मुक्ति भयो भने मात्रै त्यहाँबाट माथि सबैको मुक्ति हुन्छ भन्ने अवधारणा अगाडि सारेका थिए । साथीहरुले ताम्सालिङ मुक्तिको प्रश्नलाई पनि जातीय प्रश्न नभनौं भनेर भन्नुभएको छ तर, म भन्छु जातीय प्रश्न नै भनौं । किनकि जाति भनेको जात होइन यो त राष्ट्रको कुरा हो । राष्ट्रको कुरा किन नगर्ने ? कसैले नबुझेर हामीलाई जात ठान्छ भनेर हामी नगर्ने ? किन नगर्ने ? त्यसकारण बिलकुल जातीय मुक्तिको कुरा हो यो । जातीय मुक्तिको कुरा भनेको अरुलाई दमन गर्ने भन्या होइन यो त हाम्रो आफ्नो मुक्तिको कुरा हो । सँगसँगै ताम्सालिङमा रहेका अरु सबैको पनि मुक्तिको कुरा हो ।

तामाङ राष्ट्रको मुक्तिको कुरा गर्दा तामाङ राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ महिलाको मुक्तिको कुरा गर्न सक्नुपर्दछ । नत्र त्यो मुक्ति तामाङ पुरुषको मात्र मुक्ति हुनेछ ।

पहिलो त तामाङ जातिकै मुक्तिको कुरा हो भनेर हामीले हाकाहाकी भन्नुपर्छ । किनकि तामाङलाई त तोकेरै मासिन्या मतवाली बनाएको होनी । अनि तामाङले चाहिँ नतोकिकन जातिको कुरा होइन किन भन्ने ? अब मैले भन्न चाहेको कुरा के भने ताम्सालिङ ले आफ्नो मुक्ति खोज्छ भने अथवा तामाङ राष्ट्रले आफ्नो मुक्ति खोज्छ भने सबभन्दा पहिले आफ्नो भूमिभित्र सबभन्दा पिँधमा को छ त्यसको मुक्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । किनकि तामाङ जातिमाथिको उत्पीडन नेपालमा जात व्यवस्थाको विस्तार थियो । हामी सबैले बुझ्नु पर्छ की मासिन्या मतवाली भनेको तामाङलाई जाति होइन जात देखेको कुरा हो । मासिन्या जात भनेर भनेको हो । त्यसकारण त्यो जात व्यवस्थाको विस्तार थियो । यो संयुक्त संघर्ष समितिले जात व्यवस्थाविरुद्ध लड्ने प्रश्नलाई आफ्नो पहिलो एजेण्डा बनाउनुपर्ने हुन्छ । किनकि उसलाई तल पारेकै जात व्यवस्थाको विस्तारले हो । अनि जात व्यवस्थाले सबभन्दा पिँधमा पारेको दलितको पक्षमा लड्नुपर्ने हुन्छ । मैले यो घोषणापत्रमा त्यो कुरा देखेको छैन । जो आफूसमेतले पनि उत्पीडनमा पारेकोविरुद्ध लड्दैन त्यसले आफ्नो मुक्ति कसरी भेट्टाउँछ ? मेरो विचारमा घोषणापत्रले यसबारेमा बोल्नुपर्छ ।

तामाङभित्र अहिले पितृसत्ता व्यापक रुपमा हाबी भएको छ । मलाई थाहा छ, तामाङ महिलाहरु निक्कै नै स्वतन्त्र थिए । तर, अहिले निक्कै नै पितृसत्ता हाबी भएको छ । तामाङ मध्यम वर्गमा त लोग्नेहरुलाई हजुर भन्न थालेका छन् । र, भन्नुपर्ने बाध्यता आएको छ । त्यसैले तामाङ राष्ट्रको मुक्तिको कुरा गर्दा तामाङ राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ महिलाको मुक्तिको कुरा गर्न सक्नुपर्दछ । नत्र त्यो मुक्ति तामाङ पुरुषको मात्र मुक्ति हुनेछ ।

साम्राज्यवादी सामुदायिक जीवन ध्वस्त पार्ने प्रणालीको विरोध गर्दैन भने मलाई लाग्छ, ताम्सालिङ पाए पनि हाम्रो सामुदायिक जीवन ध्वस्त हुनेछ ।

पहिलो, तामाङमाथि जात व्यवस्थाको विस्तार भएको हुनाले जात व्यवस्थाकोविरुद्ध लड्नुपर्छ, यसले जात व्यवस्थाले सबभन्दा पिँधमा परेको दलितको पक्षमा लड्नुपर्छ । दोस्रो, यसले तामाङ महिलाको पक्षमा लड्नुपर्छ र ताम्सालिङमा रहेका सबै महिलाको पक्षमा लड्नुपर्छ । तेस्रो, ताम्सालिङ क्षेत्रमा रहेका गरिबहरुको पक्षमा यसले लड्न सक्नुपर्छ । त्यो बाहुन होला, त्यो क्षेत्री होला, त्यो दलित होला वा त्यो तामाङ होला । यो ताम्सालिङ संघर्ष समितिले ताम्सालिङ भित्रका गरिबहरुको पक्षमा दृढतापूर्वक लड्छ भनेर भन्नैपर्छ । चौथो, छिमेकीहरु र आफूभित्र रहेका उत्पीडित राष्ट्रहरुको पक्षमा पनि हामी छौं भन्ने कुरा त यो घोषणापत्रले भनेको छ तर छिमेकीको पक्षमा छौं भन्न अझ पुगेको छैन । नेवाको बारेमा यसले तोकेरै बोल्दिनुपर्छ । दृढतापूर्वक तोकेर बोल्दिनुपर्छ । अरुको बारेमा यो घोषणापत्रले बोलेको छ । त्यसैले मैले अहिलेसम्म भन्न खोजेको मुख्य कुरा भनेको ताम्सालिङको मुक्ति आन्दोलनलाई तलबाट माथितिर अर्थात उत्पीडनको पिँधबाट माथितिर जाने दिशामा लानुपर्छ भन्ने नै हो ।

अब अर्को कुरा म आदिवासी जनजाति वा उत्पीडित राष्ट्रका विशेषता के हुन् ? भन्ने विषय राख्न चाहन्छु । मैले जानेसम्म आदिवासी जनजाति वा उत्पीडित राष्ट्रका मुलतः तीनवटा विशेषता छन् । एउटा, यो सामुदायिक जीवनमा रमाउँछ । यसलाई सामुदायिक जीवन, सामुहिक प्रणाली असाध्यै मनपर्छ । त्यसकारणले ऊ सबभन्दा बढी आफ्नो थलो छोडेर अन्त जाँदैन । नेपालमा एक प्रतिशत भन्दा बढी जनसंख्या भएको तामाङ मात्रै त्यस्तो जाति हो जसको ४३ प्रतिशत पुर्ख्यौली भूमिमा बसोबास छ । सबभन्दा कम बाहिर गएर आफ्नै भूमिमा बसिरहेको जाति तामाङ हो । अरु अलि बढी छरिएका छन् । यो सामुदायिक जीवनलाई आजको दुुनियाँको पुँजीवादले रहन दिन्छ कि दिँदैन होला ? यो छलफल अबको आन्दोलनले गर्नुपर्छ । किनकि सामुदायिक जीवन रहेसम्म टेलिभिजन बढी बिक्ने वाला छैन । मोबाइल फोन बढी बिक्ने वाला छैन । परिवारहरु टुक्रेपछि मात्रै धेरै वटा टेलिभिजन बिक्ने वाला छ । सामुदायिक जीवनलाई नभत्काईकन पुँजीवादलाई नाफा हुँदैन । त्यसकारण उसले सामुदायिक जीवन भत्काउन आउँछ । तपाईंहरुको घोषणापत्रमा साम्राज्यवादी धर्मान्तरणको विरोध छ, त्यो ठिक छ । तर, यसले साम्राज्यवादी सामुदायिक जीवन ध्वस्त पार्ने प्रणालीको विरोध गर्छ कि गर्दैन ? गर्दैन भने मलाई लाग्छ, ताम्सालिङ पाए पनि हाम्रो सामुदायिक जीवन ध्वस्त हुनेछ ।

टुँडिखेलमा नाच्न जाने र रुस्लान भोड्काको विज्ञापन गर्ने कामलाई यसले के गर्छ ? यो बारेमा छलफल गर्नैपर्छ । आफ्नो खुट्टामा उभिन्छौं कि अर्काको बैसाखीमा आन्दोलन लैजान्छौं ? यो निर्णय अब उत्पीडितहरुले गर्नैपर्छ ।

दोस्रो विशेषता, आदिवासी जनजाति प्रकृतिमैत्री हु्न्छ किनकि ऊ हजारौं वर्षदेखि एक ठाउँमा बसेको छ । त्यसकारणले चराहरु कुन मौसममा गुनगुनाउँछन् भन्नेसमेत उसलाई थाहा छ । कुन खोला कुन वर्षमा बाढी आउँछ उसलाई थाहा हुन्छ । तर, सँगसँगै हामीले के थाहा पाउनुपर्छ भने आजको नवउदारवादी पुँजीवादले प्रकृतिलाई ध्वस्त नगरीकन उसको नाफा हुनेवाला छैन । एकचोटी सोचौं, आर्थिक जीवनसँग हाम्रो मुक्ति गाँसिदैन भने मलाई लाग्दछ केही पनि हुनेवाला छैन । एमसीसी आईसकेको छ । ताम्सालिङ क्षेत्रमा स्टेशनहरु बन्दैछन् । ताम्सालिङ क्षेत्रमा बग्ने नदीहरुमा तामाङहरुको र ताम्सालिङ बासीहरुको कति प्रतिशत शेयर छ ? मलाई लाग्छ कुरा गाह्रो छ । एमसीसीले सबै विद्युत लैजाँदैछ । डोल्पातिर उसले पोल गाड्न जाँदैन जहाँ बत्ती लान जरुरी छ । बरु सुनौलीतिर पोल गाड्न गइरहेछ । किनकि त्यहाँ मार्फत विद्युत बेच्नुछ । बहुराष्ट्रिय कम्पनीले ताम्सालिङ क्षेत्रको र त्यहाँको प्रथम जाति तामाङको सम्पत्ति ‘विद्युत’ लुट्दैछ । संयोगले तामाङ नै विद्युत प्राधिकरणको प्रमुख हुनुहुन्छ किनकि संयोग त हुनसक्ने भयो । त्यसकारण ताम्सालिङ मुक्ति आन्दोलनले आजको पुँजीवादले हाम्रो प्रकृतिमैत्री जीवनलाई भताभुंग पार्दैछ त्यो सँग लड्नुपर्छ भन्ने लाइन यो संघर्ष समितिले लिन्छ कि लिँदैन ? लिँदैन भने हामी प्रकृतिबाट सम्पूर्ण रुपमा टुटिसकेका हुनेछौं र हामीसँग सम्पत्तिको रुपमा केही पनि बाँकी रहने छैन ।

तेस्रो विशेषता, आदिवासी जनजातिको आफ्नो मनोविज्ञान छ, संस्कृति छ, भाषा छ, मौलिकपन छ । तर, म यहाँ के देखिरहेको छु भने तपाईंहरु ताम्सालिङ घोषणाको कार्यक्रम पनि आफ्नो भाषामा चलाईराख्नु भएको छैन । त्यसो किन गरेको ? र म यहाँ जानकारी दिन चाहन्छु, फ्रेडरिक एंगेल्स भन्ने एकजना विद्वानले भन्थे कि ‘अन्ततः भाषाहरु सबै एउटै हुँदै जाने छ । कमजोर भाषाहरु मर्दै जानेछन् ।’ तर, आजको विज्ञान प्रविधिले के गरिदियो भने अब सबै भाषाहरु जीवित हुनसक्ने युग ल्यायो । संसारमा अहिले एउटा यस्तो डिभाइस चलिराखेको छ, तपाईंले तामाङमा बोल्यो भने म नेपालीमा सुन्छु । मैले नेपालीमा बोल्यो भने तपाईंले तामाङमा सुन्नुहुन्छ । अब भाषा रक्षाको युग सुरु भयो । भाषा रक्षा हुनसक्ने भयो । भाषा रक्षा हुनसक्ने भएको मतलब हो, हाम्रा सभ्यताका सबै ज्ञानहरु हामी रक्षा गर्न सक्ने भयौं । त्यसकारण आज विकसित भएको विज्ञान प्रविधिलाई यो ताम्सालिङ मुक्ति आन्दोलनले आत्मसात गर्छकि गर्दैन ? यदि गर्दछ भने मलाई एउटा डिभाइस ल्याएर तपाईं तामाङमा बोल्नुहुन्छ म नेपालीमा सुनिरहेको हुन्छु । म नेपालीमा बोलिरहेको हुन्छु, स्पीकरमा तामाङ गुञ्जिरहेको हुन्छ । यो प्रविधि आइसकेको छ । यसो गर्‍यो भने मात्रै हाम्रो वैचारिक सम्पदा जोगिने छ । हजारौं वर्षदेखि हामीले तामाङ भाषामा सोचेर विज्ञानलाई जोगाएर ल्याएका हौं । त्यो विज्ञान अब त्यही भाषामा जोगिन सम्भव भएको छ ।

बाहुन यदि नश्ल हो भने दलित पनि त्यही नश्लको हो । अनि के गर्ने त्यसलाई ? त्यसकारणले नश्लवाद नेपालको समस्या होइन । जातिवाद नेपालको समस्या हो । जातीय अहंकारवाद नेपालको समस्या हो ।

ताम्सालिङ मुक्ति आन्दोलनले आइएनजिओ र एनजिओसँगको सम्बन्ध के गर्छ ? साम्राज्यवादी धर्मान्तरणको मात्रै विरोध गरेर पुग्दैन । आइएनजिओ र एनजिओसँगको सम्बन्ध यसले के गर्छ ? यो बारेमा छलफल होस् भन्ने म चाहन्छु । बहुराष्ट्रिय कम्पनीहरुसँगको सम्बन्ध यसले के गर्छ ? टुँडिखेलमा नाच्न जाने र रुस्लान भोड्काको विज्ञापन गर्ने कामलाई यसले के गर्छ ? यो बारेमा छलफल गर्नैपर्छ । आफ्नो खुट्टामा उभिन्छौं कि अर्काको बैसाखीमा आन्दोलन लैजान्छौं ? यो निर्णय अब उत्पीडितहरुले गर्नैपर्छ । अब यस संघर्ष समितिका मागहरुमा चाहिँ पहिलो संविधानसभा र आयोगले बनाएका दश प्लस एक भनेर भनिएको छ । तर, पहिलो संविधान सभा र आयोगले एउटै बनाएको होइन । पहिलो संविधानसभाले चौध बनाएको हो । त्यहाँ आयोगको सिफारिस पनि हेरिने छ भनेर एउटा धारा राखिएको थियो । आयोगले १० बनायो र फेरि त्यसले प्लस एक थपिदियो । त्यो प्लस एक दलितहरुको निम्ति थियो । तर, नेपालमा त्यत्तिबेलासम्म कुनै पनि दलित संगठनले गैर भौगोलिक सङ्घीयता मागेकै थिएन । त्यो त्यसको अध्यक्ष दलित भएकाले हालेको हो । त्यो दलित आन्दोलनको माग नै होइन । किनकि दलितहरुको समस्या सबभन्दा पिँधमा छ, भूमिमा छ । गैर भौगोलिक सङ्घीयता बनाएर कसरी हुन्थ्यो र ? त्यो हुने कुरै होइन । त्यो स्क्यान्डेन्भियन मुलुकतिर सांस्कृतिक सङ्घीयता लागु गर्ने क्रममा बनाइएको अवधारणा हो । दलितको मुद्धा त सिधै वर्गसँग सम्बन्धित छ, त्यसकारणले त्यो भूमिमै हल गर्नुपर्छ । त्यो गैर भौगोलिकबाट हल हुँदैन । यसलाई परिमार्जन गरे हुन्छ भन्ने मेरो सुझाव छ ।

अर्को एउटा विषयमा पनि छलफल गरौं, घोषणापत्रमा नश्लीय भन्ने शब्द जुन प्रयोग भएको छ । नेपालको सत्ता नश्लीय हो कि होइन ? मेरो अध्ययनमा यो नश्लीय होइन । यो हिन्दु उच्च जातीय अहंकारवादमा आधारित सत्ता हो । नश्लीय होइन । जात भनेको नश्ल होइन । त्यसो त मानवशास्त्रले अहिलेसम्म रक्त मिश्रण भैसकेकाले नश्ल भन्ने बाँकी नै छैन भन्छ । त्यो अर्को पक्ष छँदैछ । तर, जात चाहिँ नश्ल होइन । बाहुन यदि नश्ल हो भने दलित पनि त्यही नश्लको हो । अनि के गर्ने त्यसलाई ? त्यसकारणले नश्लवाद नेपालको समस्या होइन । जातिवाद नेपालको समस्या हो । जातीय अहंकारवाद नेपालको समस्या हो । त्यसकारणले यो बारेमा समाजशास्त्रीय ढंगले र मानवशास्त्रीय ढंगले छलफल गर्दा ठिक होला भन्ने म ठान्दछु ।

हामी पञ्चायत कालमै रामेछाप भोगेर आएका हौं । त्यो पहिचानकै नाम थियो । त्यसकारण पहिचानको नामाकरणको आन्दोलनमा टेकेर त्यसलाई वास्तविक सङ्घीयताको आन्दोलनमा रुपान्तरण गर्नैपर्छ । 

अब अन्तिम कुरा, नेपालमा एउटा गाँठो परेको छ । विभिन्न राजनीतिक पार्टीभित्र रहेका उत्पीडितहरु र उत्पीडित समुदायको मुक्तिको प्रश्नको बिचमा अन्तरविरोध छ । त्यसलाई तामाङ पार्टी बनाएर पनि हल गर्न खोजियो । जनजाति पार्टी बनाएर हल गर्न खोजियो । तर, हल भएन । यो कसरी हल गर्ने त ? हो लिम्बुवानमा अथवा किरातमा अलिअलि गल्ली छेक्ने, अलिअलि ढुंगा हान्ने, अलिअलि प्रतिबन्ध लगाउने काम गरेको छ म मान्छु तर दिर्घकालिन ढंगले काम गर्छ त्यसले ? गर्ला ? या नाम परिवर्तनसम्म त गर्ला त्यसपछि गर्ला ? हामी सोचौं । यो गाँठो परेको प्रश्न हामीले हल गर्नैपर्छ । र, फेरि पनि आदिवासी जनजाति आन्दोलनले चाहे त्यो पूर्वमा चलिरहेको नामाकरणको आन्दोलन होस् चाहे ताम्सालिङमा सुरु हुनलागेको आन्दोलन होस् यसले राजनीतिक व्यवस्थाको कल्पना के गर्छ ? त्यो गर्नैपर्छ अर्को कुनै विकल्प छैन । नयाँ पार्टी बनाएर समस्या हल हुँदैन । नयाँ पार्टी त बनिराखेको छ नि । नयाँ राजनीतिक व्यवस्थाको कल्पना यसले के गर्छ ? यो अवधारणामा एउटा सामुदायिक समाजवाद भन्ने शब्द घुसेको छ । तर मलाई लाग्दछ विभिन्न घटकहरुको छलफलको क्रममा त्यो पनि राख्दिउँ भनेर राखेको हो कि या त्यसको ठोस परिभाषा बनेको छ ? या अरुले भनेको समाजवाद भन्दा फरक के छ ? यो बारेमा विस्तृत छलफल गर्न आवश्यक छ । तर, नयाँ व्यवस्थाको परिकल्पना बिना हामी अब मुक्ति आन्दोलनमा जान सक्दैनौं ।

पूर्वका आन्दोलनकारी अभियन्ताहरुको हामी सबैले सम्मान गरेकै छौं । हुनसक्ने जति ठाउँमा समर्थन पनि गरेका छौं । तर, पुर्वको नामाकरणको आन्दोलन अब माथि उठ्नुपर्छ । नामाकरणको आन्दोलनले सङ्घीयतामा जे कुरा बिगारिएको छ त्यो कुरा सच्याउने माग अब थप्न थाल्नुपर्छ । नामाकरणको आन्दोलन ठिक छ । त्यसले एउटा नयाँ बाटो दिएको छ । त्यसले एउटा झिल्को सल्काईदिएको छ । बिलकुल ठिक भएको छ । तर, अब त्यसले आफ्ना मागहरु थप्न थाल्नुपर्दछ । संविधान संशोधन भनेको कहाँ कहाँ हो ? के गर्न खोजेको ? नत्र नामाकरणमै सिमित हुने दिशामा हामी गयौं भने पञ्चायतले पनि हाम्रा जिल्लाहरुको नाम रामेछाप राखेकै हो । किनकि शोषक वर्गले खल्तीभित्र धेरैवटा तासको जस्तो तुरुप राखेर बसेको हुन्छ । यहाँसम्म आयो भने कति फाल्दिने, यहाँसम्म आयो भने कति फाल्दिने भनेर । नाम फाल्दिन सक्छ, तर तपाईंको आर्थिक अधिकार नदिन सक्छ । नाम फाल्दिन सक्छ, तर तपाईंको सांस्कृतिक अधिकार नदिन सक्छ किनकि आदिवासी जनजातिमाथि त सांस्कृतिक नरसंहार नै भएको हो नि । त्यो अधिकार केही पनि नदिने अनि तीन कक्षासम्म मातृभाषामा पढाइदिने, नाम पनि राख्दिने भयो भने के हुन्छ ? हामी पञ्चायत कालमै रामेछाप भोगेर आएका हौं । त्यो पहिचानकै नाम थियो । पञ्चायत कालमै हामीले रसुवा पनि भोगेरै आएका हौं । त्यो पनि पञ्चायतकै नाम थियो । मधेशका पनि थुप्रै नामहरु छन् । त्यसकारण पहिचानको नामाकरणको आन्दोलनमा टेकेर त्यसलाई वास्तविक सङ्घीयताको आन्दोलनमा रुपान्तरण गर्नैपर्छ । त्यो दिशामा पूर्वले पनि सोचोस् । ताम्सालिङले त झन सोच्नैपर्छ ।

(वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतिद्वारा  २०८० भाद्र १० गते काठमाडौंमा आयोजित ताम्सालिङ संयुक्त संघर्ष समिति घोषणा कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)