May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

अबको विद्यार्थी आन्दोलनको कार्यभारहरु !

२०८० फाल्गुन २३

2.1K

  • समशेर

विद्यार्थी आन्दोलन समग्र शैक्षिक आन्दोलन र रुपान्तरणको अभिन्न अङ्ग हो । विद्यार्थी आन्दोलनले युग सापेक्ष नवीनतम विचारको प्रतिनिधित्व गर्दछ र ती व्यवहारिक रुपले समाज रुपान्तरणमा अभिव्यक्त हुन्छन् । सात दशक लामो नेपाली विद्यार्थी आन्दोलनले नेपालको राजनैतिक आन्दोलन, राष्ट्रिय स्वाधीनताको आन्दोलन, जनजीविकाको आन्दोलन र शैक्षिक आन्दोलनको अग्रमोर्चा सम्हाल्दै आएको कुरा सर्वविदितै छ । आज हामी जे छौं, त्यो हिजोकै बलिदानीपूर्ण आन्दोलनको देन हो ।

जहानियाँ राणा शासनको अन्त्य, निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य, शाहवंशीय राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना लगायतका कैयौं राजनैतिक उपलब्धिहरुमा विद्यार्थी राजनीतिले अहम् भूमिका निर्वाह गरेको इतिहास साक्षी छ । यथार्थमा भन्ने हो भने नेपालको राजनैतिक परिवर्तनको इतिहास विद्यार्थी आन्दोलनको इतिहास बिना अपुरो हुन्छ । यद्यपि आज पनि संघर्ष अझै जारी छ । एक हदसम्मको राजनीतिक, सामाजिक उपलब्धि हासिल गरे पनि गरिखाने वर्ग, उत्पीडित समुदाय र उत्पीडित जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा निर्माणको मूल आन्दोलनको कार्यभार अझै बाँकी छ ।
नाम मात्रको कथित लोकतान्त्रिक वा कम्युनिस्ट नामधारी राजनैतिक पार्टीहरु र ती पार्टी सम्बद्ध विद्यार्थी संगठनहरूबाट न त जनता र शिक्षाको पक्षमा कुनै काम नै हुन सकेको छ न त अग्रगामी राजनैतिक परिवर्तनका निम्ति कुनै योगदान नै सम्भव छ । उनीहरूबाट अब शिक्षामा आमूल परिवर्तनको अपेक्षा गर्न सकिन्न । किनकी उनीहरू यही दलाल पुँजीवादी व्यवस्था र शैक्षिक प्रणालीको पहरेदार बनिसकेका छन् । ती विद्यार्थी संगठनहरु प्रतिपक्षीको भूमिकामा नभई सत्ता पक्षको चाकरीमा तल्लीन छन् । आजको दलाल पुँजीवादी व्यवस्थाले जनताको निर्मम शोषण गर्दै आएको छ भने यसै अनुकूलको शिक्षा प्रणालीले शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण गरिरहेको छ ।

 राज्यले जनताका आधारभूत आवश्यकताहरुमा कम्तीमा पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने हो । तर, निःशुल्क त परको कुरा उल्टै आम जनताको जीवन र भविष्यमाथि खेलबाड गर्दै राज्यले नै खुल्लम खुल्ला शिक्षा र स्वास्थ्यको व्यापार गरिरहेको छ ।

त्यसकारण यतिबेला आजको युग सापेक्ष नयाँ क्रान्तिकारी विचार र कार्यदिशासहित वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने राजनैतिक आन्दोलन सँगसँगै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको निम्ति विद्यार्थी आन्दोलन निर्माण गर्नुपर्ने अपरिहार्य बन्न पुगेको छ । यही आवश्यकता पूरा गर्ने प्रक्रियामा हाम्रो संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले यही फागुन २४,२५ र २६ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ । देशैभरबाट प्रतिनिधिहरु जम्मा भई गरिने छलफल र बहस सहितको उक्त भेलाले नेपालको विद्यार्थी आन्दोलनको नयाँ विचार र संगठन निर्माणको कार्यभारलाई अवश्य पनि सम्बोधन गर्नेछ ।

अबको विद्यार्थी आन्दोलनका कार्यभारहरुः–

१.निःशुल्क र सर्वसुलभ शिक्षा
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्याख्या गरेको छ भने आधारभूत तह सम्मको शिक्षालाई अनिवार्य र माध्यमिक तह सम्मको शिक्षालाई निःशुल्क भनेको छ । तर, व्यवहारतः यसो पटक्कै भएको छैन । राज्य आफैंले दोहोरो शिक्षा नीतिलाई बढावा दिएको छ । यसले शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण मौलाएको छ । जसले गर्दा शिक्षाको गुणस्तरीयतामा फरक पर्नुका साथै निजी स्वार्थमा लिप्त चरित्र र ज्ञान सहितको नागरिक उत्पादन गरिरहेको छ ।
संविधानमा समाजवाद उन्मुख भनी किटान गरेको विद्यमान राज्यले जनताका आधारभूत आवश्यकताहरुमा कम्तीमा पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने हो । तर, निःशुल्क त परको कुरा उल्टै आम जनताको जीवन र भविष्यमाथि खेलबाड गर्दै राज्यले नै खुल्लम खुल्ला शिक्षा र स्वास्थ्यको व्यापार गरिरहेको छ । यसले राज्य गरिखाने जनताको पक्षमा नरहेको स्पष्ट हुन्छ । तसर्थ कार्यनीतिको हिसाबले पहिलो शर्तका रुपमा शिक्षालाई सबैले समान तरिकाले उपभोग गर्न पाउने गरि सर्वसुलभ र निःशुल्क गराउन राज्य सामु संघर्ष छेड्नुपर्दछ ।

२.शिक्षाको सामुदायिकीकरण
शिक्षाको निजीकरण विरुद्ध राष्ट्रियकरण होइन अब सम्पूर्ण शिक्षा सामुदायिकीकरण गरिनुपर्दछ । दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध समानान्तर रुपमा वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण सँगसँगै सामुदायिकीकरणले पनि पूर्णता पाउँदै जानेछ । यसो गर्नाले शिक्षामा समुदायले नै सञ्चालन गर्ने र समुदायले नै उपभोग गर्ने पद्धतिको विकास हुन्छ । स्वयं शिक्षालय र विद्यार्थी वस्तु तथा सेवा उत्पादन र श्रमसँग जोडिन्छन् । उत्पादित वस्तु तथा सेवा उत्पादनको वितरण, विनिमय र उपभोगबाट शिक्षालयसँग जोडिएका अभिभावक, शिक्षक, विद्यार्थी र सिङ्गो समुदाय नै लाभान्वित हुनेछ । विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान सँगसँगै सीपको विकास गर्नेछन् र श्रमको सम्मान गर्न सिक्नेछन् । यसले भविष्यमा रोजगारीको अभाव हुन दिदैन । अतः सिङ्गो समुदाय नै आत्मनिर्भर बन्ने तर्फ अघि बढ्नेछ ।

शिक्षामा मौलिकता हुन्छ, शैक्षिक र भाषिक औपनिवेशिकताको अन्त्य हुन्छ । मातृभाषा र सामुदायिक ज्ञानहरुको संरक्षण र संवद्र्धन हुन्छ । वैज्ञानिक पाठ्यक्रम र विषयहरुको छनोट गरी पठनपाठन गरिन्छ । शिक्षा सामुदायिक हितको लागि हुन्छ भने व्यक्तिको शिक्षा लिन पाउने हकलाई समुदायले सहजै सुनिश्चित गर्दछ । व्यक्ति र समाजबीचको सम्बन्ध अझ फराकिलो र गहिरो बन्न जान्छ । व्यक्तिले समाजको औचित्यलाई पुष्टि गर्दछ भने समाजले व्यक्तिको सम्पूर्ण आवश्यकताहरुको पूर्ति गर्दछ । अतः दीर्घकालीन रणनीतिक हिसाबले अबको विद्यार्थी आन्दोलनले सम्पूर्ण शिक्षालाई सामुदायिकीकरण गर्ने तर्फ लैजानुपर्दछ ।

३.उत्पादन र रोजगारी सहितको शिक्षा
आजको शिक्षा प्रणालीको मूल समस्या शैक्षिक गुणस्तरीयतामा ह्रास सँगसँगै व्यवस्थापनमा गरिएको उपेक्षा पनि हो । शिक्षा कागजी सर्टिफिकेट र बिकाउ डिग्रीमै सिमित छ । न सिपको विकास गरेको छ न त उत्पादन सँग नै जोडेको छ । शिक्षण संस्था र विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलोमा परिणत भएको छ, परदेशीने तयारी जनशक्ति उत्पादन गर्ने कारखाना बनेको छ । यसमा क्रमभङ्गता ल्याउन शिक्षालाई युग सापेक्ष वैज्ञानिक र गुणस्तरीय बनाउनुका साथै सीप, श्रम र उत्पादनसँग जोड्न पहल गरिनुपर्दछ । उत्पादनका लागि शिक्षा र प्रचुर उत्पादनको लागि आजको प्रमुख उत्पादक शक्ति विज्ञान र प्रविधिको भरपुर प्रयोग गर्नुपर्दछ । यसो गर्न सकियो भने मात्रै आजको शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ र देशमै जनशक्तिको उचित व्यवस्थापन गर्न सकिन्छ । यो अर्को महत्त्वपूर्ण कार्यभार हो ।

बाह्य हस्तक्षेपविरुद्ध लडिने स्वाधीनताको लडाइँ नै अबको निकास हो । आफ्नो खातिर आफै निर्णय गर्न सक्ने देश वा राज्यले मात्र सहि अर्थमा विकास र समृद्धि हासिल गर्न सक्छ ।

४.विज्ञान र प्रविधिमय शिक्षा
विद्यार्थी आन्दोलनको अर्को मुख्य कार्यभार शिक्षालाई विज्ञान प्रविधिमय बनाउन प्रयत्न गर्नु हो । आजको युग विज्ञान र प्रविधिको युग हो । यद्यपि हाम्रो अहिलेको शैक्षिक पाठ्यक्रममा परम्परागत, रुढीवाद, अवैज्ञानिक र विभेदकारी विषयवस्तुहरु समेटिएको पाइन्छ । तथ्यहरुबाट सत्य पत्ता लगाउने वैज्ञानिक पद्धति र खोज अनुसन्धानमा प्रविधिको व्यापक प्रयोग अब अपरिहार्य गराइनु पर्दछ । विज्ञान प्रविधिको विकासले उत्पादनमा गुणात्मक वृद्धि भएको छ भने समयको पनि बचत गराएको छ । यसले हाम्रो सिर्जनात्मक क्षमतालाई ह्वात्तै बढाएको छ । यसको सदुपयोगका लागि खोज, अनुसन्धान र प्रयोग गर्ने वैज्ञानिक प्रयोगशाला तथा कला क्षेत्रको विकास गरिनुपर्दछ । अतः उत्पादनको साथसाथै सिर्जनात्मक विकासको लागि पनि शिक्षालाई विज्ञान प्रविधिसँग अधिकतम रुपमा जोड्न पहल गरिनुपर्दछ ।

५.समान र समतामूलक समाज निर्माणको पहल
हरेक व्यक्ति सामाजिक अङ्ग हो । आजको उपभोक्तावादी र व्यक्ति केन्द्रित शैक्षिक प्रणालीले समाज गौण र व्यक्ति हितलाई मुख्य केन्द्र बनाएको छ । सामाजिक प्राणी मानिस अहिले समाज देखि टाढिएको छ । आजको सबै समस्याहरुको मूल कारण विद्यमान राज्य व्यवस्था हो, जुन सामुहिक अधिनत्वको विपरीत निजी अधिनत्वमा आधारित छ, भन्ने यथार्थलाई मानिसहरूले अझै पनि पहिल्याउन सकेका छैनन् । यो समस्या आम युवा विद्यार्थीमा पनि उत्तिकै छ । फलतः निराशाको भारी बोकेरै परदेशीनुको विकल्प देख्दैनन् । सामाजिक संरचनाको हिसाबले हाम्रो समाज अझै पनि शोषणमूलक छ । वर्गसमाज, जातव्यवस्था,पितृसत्ता, उत्पीडित राष्ट्रहरु माथिको उत्पीडन, क्षेत्रीय उत्पीडन, अपांगता भएका व्यक्तिहरु माथिको उत्पीडन, यौनिक तथा अल्पसंख्यकहरुको पहिचान र मुक्तिको विषय लगायत मुद्दाहरुले दिर्घकालीन हल खोजिरहेको छ । यी लगायत सबैखाले उत्पीडनहरुविरुद्ध आवाज बुलन्द गर्दैै समानता र समतामूलक समाज निर्माणको नवीन कार्यभार विशेषतः यूवा विद्यार्थीकै काँधमा आइपुगेको छ ।

६.स्वाधीनताको लडाइँ
आज विश्वमा भूमण्डलीकृत पुँजीवादको एकछत्र राज छ । साम्राज्यवाद विभिन्न चालबाजीसहित कमजोर देशहरुमाथि (नव) औपनिवेशिकता लादिरहेको छ । शैक्षिक क्षेत्र अन्तर्गत भाषा, पाठ्यक्रम, शैक्षिक समय अवधि सबैमा उपनिवेश हावी छ । नवउदारवादी अर्थनीति साम्राज्यवादी अर्थनीतिकै पछिल्लो संस्करण भएकाले नेपाल पनि यसबाट बच्न सम्भव नै रहेन । फलतः सिङ्गो राज्य सत्ता नै दलालीकरणमा लिप्त हुन पुग्यो । यसले सिमित बहुराष्ट्रिय कम्पनीहरुको हितलाई केन्द्रमा राख्दै बहुसंख्यक गरिखाने जनतालाई निर्मम शोषण गर्दै आइरहेको छ । यहि नै आजको कठपुतली राज्य सत्ताको यथार्थ हो । त्यसकारण बाह्य हस्तक्षेपविरुद्ध लडिने स्वाधीनताको लडाइँ नै अबको निकास हो । आफ्नो खातिर आफै निर्णय गर्न सक्ने देश वा राज्यले मात्र सहि अर्थमा विकास र समृद्धि हासिल गर्न सक्छ ।

आजको शिक्षाको वैचारिकी र व्यवस्थापन सीमित पुँजीपतिहरुको हितार्थ यान्त्रिक जनशक्ति उत्पादन गर्ने थलो बनेको छ ।

बेरोजगारीले लाखौं युवा विद्यार्थी बाहिरिरहेका छन्, तर यसो किन भयो र त्यसको समाधान के हो भन्ने विषयमा स्वयं युवाविद्यार्थीमै पनि कुनै गम्भीरता देखिदैन । तर, अब यसमा क्रमभङ्गता ल्याउन जरुरी छ । हामी एक्काइसौं शताब्दीका आधुनिक दास होइनौं कि जसलाई जुनसुकै दाममा खरिद गर्न सकोस् र जुनसुकै मूल्यमा श्रममा जोताओस् । हामी यस आधुनिक युगका युग संवाहक हौं । हाम्रो आलोचनात्मक चेतले विद्यमान शोषण र असमानतालाई देख्न सक्नुपर्दछ । यसकोविरुद्ध एकजुट भएर जुट्नुपर्दछ । हामीले बुझ्नुपर्दछ कि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय स्वाधीनता नै पहिलो शर्त हो । अबको स्वाधीनताको लडाइँ युवा विद्यार्थीकै पहलमा उठ्न जरुरी छ । किनकि देशको भविष्य अन्त्यमा त युवा विद्यार्थीकै हो । स्वाधीनताको लडाइँ भन्नू साम्राज्यवाद, विस्तारवाद, औपेनिवेशिकता, बाह्य हस्तक्षेप र असमान सन्धि सम्झौताविरुद्धको लडाइँ हो ।

७.पर्यावरणीय संरक्षण
विज्ञान प्रविधिले मारेको छलाङसँगै सुरु भएको औद्योगिक क्रान्ति कालबाट उत्पादकत्व कैयौं गुणाले बढ्न पुग्यो । पुँजीवादको चरम विकास भयो । उत्पादनसँगै अति उत्पादन र असमानता पनि बढ्दै गयो । धनी बन्ने होडमा बहुराष्ट्रिय कम्पनी मार्फत् प्राकृतिक स्रोत र साधनको चरम दोहन गरियो । फलतः कार्बन उत्सर्जन बढ्यो । जसले गर्दा पर्यावरणीय संकट र जलवायू परिवर्तनलाई तीव्र बनायो । यसकै असर आज सिङ्गो पारिस्थितिक प्रणालीमा पनि पर्न गएको छ । हरियो ग्रह पृथ्वी र यस भित्रको सबैखाले जीवनको अस्तित्व नै संकटमा परेको छ । त्यसकारण यसलाई रोक्न जरुरी छ । सबै जीवनहरुको अस्तित्वको रक्षा गर्नुपर्दछ, पृथ्वीको रक्षा गरिनुपर्दछ । र, यसको नेतृत्व पनि अब युवा विद्यार्थीले नै गर्नुपर्दछ । किनकि, सिङ्गो भविष्य त नयाँ पुस्ताकै हो । तत्कालीन रुपमा हामीले पर्यावरणीय संकटको बारेमा गरिने भ्रमपूर्ण प्रचारप्रसारलाई चिर्दै सत्यतथ्य के हो त्यो आम विद्यार्थी र समुदाय माझ लिएर जानुपर्छ । पर्यावरणीय संकटको मूख्य जिम्मेवार बहुसंख्यक जनता र गरिब देशहरु होइनन्, केहि मुट्ठीभर धनाढ्यहरु र धनी देशहरु हुन् भन्ने यथार्थतालाई उजागर गरिदिनुपर्छ । दीर्घकालीन रुपमा भने प्राकृतिक स्रोत र साधनको सामुदायिकीकरण गर्नेतर्फ अगाडि बढ्नुपर्छ । सामुदायिकीकरणबाट हुने स्रोत साधनको समान वितरण र समान उपभोगले निजी अधिनत्वको उन्मूलन गर्दछ । यसले मानवीय शोषण र प्राकृतिक दोहन दुबैलाई रोक्दछ । कार्बन उत्सर्जनमा पनि कमी आउँछ र पर्यावरणीय संकटलाई निराकरण गर्दछ ।

८.शिक्षालाई वर्ग संघर्षसँग जोड्नु
वर्ग समाजमा वर्ग संघर्ष अनिवार्य हुन्छ । सामाजिक दृष्टिकोण र जीवनशैली पनि वर्गीय नै हुन्छ । आज सम्मको सामाजिक व्यवस्थामा उत्पादनका स्रोत र साधनको अधिनत्व कुनै एक खास अभिजात वर्गमा सिमित रहेको पाइएको छ । तर, बहुसंख्यक सर्वहारा श्रमिक वर्ग भने श्रम शोषणमा आधारित अभाव र निर्मम दुःखको जीवन बाँच्दै आएका छन् । सामाजिक जीवनमा मुख्यतः यी दुई वर्गबीच चल्दै आइरहेको संघर्ष नै वर्ग संघर्ष हो । वर्ग विहीन समाज निर्माण सम्भव छ । जुन वर्गहरुको समन्वयबाट होइन कि एक वर्गको विजयी र अर्कोको निषेधबाट मात्रै सम्भव छ । वैज्ञानिक समाजवादी व्यवस्था बहुसंख्यक सर्वहारा श्रमिक वर्गको आफ्नो व्यवस्था हो । जहाँ शिक्षाको वैचारिकी र व्यवस्थापन दुवै सर्वहारा वर्गीय दर्शनबाट निर्देशित हुन्छ । तर, आजको राजनीतिक व्यवस्था र शिक्षा प्रणाली ठीक यसको उल्टो छ । आजको शिक्षाको वैचारिकी र व्यवस्थापन सीमित पुँजीपतिहरुको हितार्थ यान्त्रिक जनशक्ति उत्पादन गर्ने थलो बनेको छ । ज्ञानको उत्पादन समाज र जनता भित्रबाट होइन केवल विश्वविद्यालयको कागजी डिग्री र चारकोठा भित्र सिमित छ । नयाँ विद्यार्थी पुस्ता वर्गसंघर्षको विपरीत वर्ग उत्थानमा कुदिरहेका छन् । जबकि यो समाधान नै होइन । अतः शिक्षा र विद्यार्थी नयाँ पुस्तालाई अब वर्गसंघर्षसँग जोड्ने गरि अबको विद्यार्थी आन्दोलन अघि बढाउनुपर्दछ । शिक्षालाई ग्रामीण र शहरी वर्गसंघर्ष जोड्दै विद्यार्थी र आम श्रमिक जनसमुदायसँग प्रत्यक्ष रुपमा जोड्नु पर्दछ ।

नयाँ पुस्ताले सबैखाले संघर्षको मोर्चा बाँधेर अघि बढ्नुपर्ने हुन्छ । यो राज्यसँगको लडाइँ हो, राज्यविरुद्धको लडाइँ पनि हो ।

९.सांस्कृतिक रुपान्तरणमा अग्रसर हुनु
आजको शिक्षाले व्यक्ति केन्द्रित, धार्मिक, काल्पनिक, उपभोक्तावादी र औपनिवेशिक संस्कृतिको निर्माण गरिरहेको छ । २० औं शताब्दीमै चन्द्रमामा मान्छेले पाइला टेकिसकेको यथार्थ अगाडि २१ औं शताब्दीका नेपाली युवा विद्यार्थी भने अझै पनि चन्द्रमालाई शिरमा राखेर देवता मानी पुज्ने कुरालाई निरन्तरता दिईरहेका छन् । यसले आजको हाम्रो सामाजिक चेतनाको प्रतिनिधित्व गर्दछ । उपभोक्तावाद र बजारवादले हाम्रा असीमित आवश्यकताहरु छन् भन्ने बनाएको छ । यसले आफ्नो महत्वाकांक्षा पूरा गर्न युवा विद्यार्थीलाई व्यक्तिवादी र आत्मकेन्द्रित ढंगले अर्कोको शोषण र हत्यासमेत गर्ने बनाउँदै लगेको छ । यो पृथ्वी सबैको हो र सबै मान्छेले पर्यावरणीय संरक्षणलाई ख्याल गर्दै यसभित्रको स्रोत र साधनहरुको समान उपभोग गर्न पाउँछन्, भन्ने मानवीय भावनाबाट टाढिएका छन् । नवऔपनिवेशिक संस्कृतिको दबदबाले हामीलाई हाम्रो मौलिक संस्कृति प्रति उदासिन र बाह्य तथा खर्चिलो बजारवादी संस्कृतिप्रति उत्साहित हुने बनाएको छ ।

तसर्थ अबको सामाजिक रुपान्तरणका लागि सांस्कृतिक रुपान्तरण अपरिहार्य छ । वैज्ञानिक समाजवादी व्यवस्था निर्माण सँगसँगै वैज्ञानिक समाजवादी संस्कृति निर्माणको कार्यभारले यसलाई पूर्णता दिनेछ । वैज्ञानिक समाजवादी संस्कृतिले शिक्षालाई धार्मिक र काल्पनिक कुराहरूबाट मुक्त गर्दै वैज्ञानिकीकरण गर्दछ । सबैखाले उत्पीडनविरुद्ध लड्न सिकाउँछ । मानिसलाई व्यक्ति केन्द्रित होइन समाजप्रति उत्तरदायी बनाउँछ । श्रम र श्रमजीवीको सम्मान गर्न सिकाउँछ । आलोचनात्मक चेतको विकास गर्दै तथ्यबाट सत्य पत्ता लगाउने पद्धतिको विकास गराउँछ । कला साहित्य सर्वहारा श्रमजीवी वर्गको दर्शनबाट आलोकित हुन्छ । पृथ्वी साझा घर हो र पर्यावरणीय संरक्षणलाई ख्याल गर्दै सबैले यसभित्रको स्रोत र साधनको समान उपभोग गर्न पाउनेछन् ।

आजको विद्यार्थी आन्दोलन आजको सापेक्षतामा हिजो भन्दा थप चुनौतीपूर्ण बन्न पुगेको छ । राष्ट्रिय स्वाधीनता, जनजीविका र वैज्ञानिक समाजवादी शिक्षा निर्माणको आन्दोलनलाई सँगसँगै लिएर जाने सम्झौताहिन संघर्षले अवश्य पनि सार्थकता पाउनेछ र हामी सफल हुने छौं भन्ने कुरामा हामी दृढ छौं, साथै जिम्मेवारी पूरा गर्नको लागि संकल्पित पनि छौं ।

विद्यार्थी आन्दोलनले बोक्नुपर्ने यी महत्त्वपूर्ण कार्यभारहरुले निकै कष्टकर र बलिदानीपूर्ण यात्रा तय गर्नेछ । नयाँ पुस्ताले सबैखाले संघर्षको मोर्चा बाँधेर अघि बढ्नुपर्ने हुन्छ । यो राज्यसँगको लडाइँ हो, राज्यविरुद्धको लडाइँ पनि हो । आज आम युवा विद्यार्थी सामु यो चुनौती आइपुगेको छ कि हामी मुर्दा इतिहास सँगैसँगसँगै मलामी जान्छौं या गौरवपूर्ण इतिहासको साक्षी र संवाहक बन्छौं ? विद्यार्थी साथीहरू हामी के चाहन्छौं ?