June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आफ्नै पहिचानको सकस

२०८१ जेष्ठ १०

2.5K

  • ईश्वरा सिवा

“तपाईंको थर के हो ?” , सिटमा संँगै बसिरहेकी एक महिलाले अचानक प्रश्न गरिन् । “सिवा” , मैले जवाफ दिए । “ए ! सिवाकोटी ?”, उनले फेरि सोधिन् । “होइन, सिवा भनेको दमाई हो ।” , मैले प्रष्ट पारे । मेरो जवाफ लगत्तै उनी जुरुक्क उठिन् अनि छेवैको अर्को सिटमा बसिरहेका पुरुषलाई झ्यालतिर सर्न भनिन् र ती पुरुषसंगै बसिन् । क्षणभर मै यसो भइरहँदा म अचम्मित बने । उनले के सोचेर पल्लो सिट रोजिन्, म अनुमान लगाउन सक्थेँ । एउटी महिला भएर अर्की महिलाको नजिक बस्न नखोजेर पुरुषसँग टाँसिएर यात्रा गर्न उनलाई बढी सहज लागिरहेको थियो । र, उनको मनोविज्ञान म सजिलै बुझ्न सकिरहेको थिएँ किनकि त्यसको कारण म “दमाई” हुनु नै थियो ।

“हुन त छिमेकी पर्नु भो तर जात मिलेन । त्यसैले बरण्डासम्म ठिक छ, भित्र चै नआइदिनुहोला, सानो बच्चा पनि रहेछ, झुक्किएर ढोकाबाट छिर्न सक्ला , होस् गर्ने गर्नु है !” भर्खरै पहाडबाट बसाइँ सरेर आएका छिमेकीले मीठो अनुरोधका साथ मेरी आमाको आत्मसम्मानमा विभेद छादे । केही दिनपछि उनीहरुले घर पूजा गर्ने भए । निम्तो आयो , सामुन्नेको छिमेकलाई निम्तो नदिएर हुन्छ त ? निम्तोमा भनियो, “पुजाका लागि भनेर फुलपाती, फलफुल केही ल्याउनुपर्दैन । बस् प्रसाद खानेबेला आउनु, बाहिर बसेर पनि खान त मिलिहाल्छ नि !” यो सब मेरी आमासँग भनिँदै थियो । मैले मेरो कोठामा बसेर “विभेद थरीथरीका” आलेख लेख्दै गरेको संयोगमा मेरै आँगनमा उभिएकी छिमेकीको मुखबाट विभेदकै भाषा सुन्न पुगे । झम्टेर बाहिर आएर प्रतिकार गरौं जस्तो पनि लाग्यो । तर, खै किन हो म रोकिए ! म यति निःशब्द बनेछु कि केही दिनसम्म जातीय विभेदको मुद्दामा न लेख्न मन लाग्यो न त बोल्न !

आजको दिनमा सुगमकी एउटी शिक्षिका, सामाजिक मुद्दामा सक्रिय नागरिक र कानुनको थोरबहुत ज्ञान भएकी मान्छेले त यस्तो किसिमको प्रत्यक्ष विभेद भोग्नुपरिरहेको छ भने दुर्गममा जातीय विभेद कुन रुपमा जरा गाडेर बसेको होला ? सायद यही प्रश्नले मलाई भुलायो र ती छिमेकीलाई जवाफ दिन म चुकेँ ! अचम्म त के भने मैले बारबार प्रतिकार गर्दा पनि ती छिमेकीको व्यवहारमा अझैसम्म रत्तिभर परिवर्तन आएको छैन । बरु, सम्पूर्ण गाउँमा नै विभेद मौलाएको छ । उनीहरुको सिको गर्दै कहिल्यै विभेद नगरेका अन्य छिमेकीले पनि विभेद गर्न थालेका छन् । कुनै सामाजिक कार्य, धार्मिक कर्म, पूजाआजा इत्यादिमा निम्तो आउन लगभग बन्द भएको छ । चेतनामा आएको यस्तो विचलनको ठोस कानुनी उपचार पनि नहुँदो रहेछ । यस्तोमा म नास्तिक नबनेर गर्ने के त ?

“घरमा सासू हुनुहुन्छ । साह्रै कचकचे । मानिसको अनुहार हेरेरै जात थाहा पाउनुहुन्छ । अस्ति एउटी क्षेत्री साथी लगेको, छालाको रङ कालो देखेर यो त पक्का कमिनी होली भन्नु भो, नपत्याएर हैरान । क्षेत्रीबाहुन त गोरा राम्रा पो हुन्छन् त भनेर भन्नुभो । के गर्नु म र मेरो श्रीमान त विभेद गर्दैनौं, आमाकै कारण साथीभाइ घर लान पनि अप्ठ्यारो छ ।” मसँगै स्नातकोत्तर अध्ययनरत साथीसँग चमेनागृहमा खाजा खाँदै गर्दा भएको कुराकानीको एक अंश थियो यो । उनी र म एउटै प्लेटमा एउटै चम्चाले पालैपालो चना खाँदै थियौं । जुठो खाने साथीले मेरो कालो छालालाई लक्षित गरेर उसको घर जान चाहिँ कहिल्यै सम्भव नभएको आशय सुनाईरहेकी थिइन् । म केही बोल्न सकिन । यस्तोमा बोल्ने पनि के ? म घोत्लिरहेँ । अरे ! यो कस्तो शिक्षा ? कस्तो समानता ? उफ् ! जातीय विभेदको यो रुप झनै पीडादायी बनेर मेरो मुटुमा घन ठोक्दै थियो । आजसम्म ठोकिरहन्छ, कोही न कोही साथीमार्फत् कुनै न कुनै बहानामा !

मानिसको रुपमा जन्मिएर परिवारबाट जब नाम पाए, नामसँगै समाजबाट थर पाए, थरसँगै जात पनि पाए । अन्ततः जातसँग जोडिएर आउने अत्यन्तै कमसल पहिचान पाए । यस मानेमा कमसल कि, मान्छेको रुपमा जन्मिएर पाएको सो पहिचानले आजसम्म म पनि मान्छे हुँ भन्ने गर्व सिर्जना गर्न भने सकेन, सकिरहेको छैन । अर्थात, म बाँचिरहेको समाजमा मलाई समान अस्तित्व भएको मान्छेका रुपमा स्विकारिएको छैन ! कानुनले कसैलाइ पनि उसको पहिचानका आधारमा विभेद गर्न पाइँदैन र यदि गरेमा निश्चित सजाय हुन्छ भनिएता पनि बिना कुनै हिच्किचाहट ममाथि अनौठो प्रकारको सामाजिक व्यवहार भइरहेको हुन्छ । मानौं म मान्छे नै होइन ! तर , हुँ ! होइन जस्तो गरिँदैमा मैले कहिल्यै टेरिन, टेर्दिन ! किन टेर्नु ?

“म पनि मान्छे नै त हुँ, मलाई पनि मान्छेमा गन र मान्छेको व्यवहार गर !”, मैले झक्झक्याईरहनु परिरहेको छ, अनुरोध गर्नु परिरहेको छ, चिच्याउनु परिरहेको छ, आक्रोशित बन्नु परिरहेको छ, लडिरहनु परेको छ । बारम्बार यही विषयमा बोल्नु, लेख्नु अनि वैचारिक लडाइँ लड्नु मेरो वैयक्तिक तथा सामाजिक जिम्मेवारी बनिरहेको छ । सानै देखि जातीय विभेद सहँदा–सहँदा आजित भएर जब मैले बोल्न सुरु गरे तब हेप्न तम्सिने बोलीहरु मधुरा हुन थाले । म बाँचुन्जेल मलाई झुकाइरहन खोज्ने व्यवहारहरु मेरो हुर्कँदो चेतना देखेर मलिन बन्न थाले । मलाई विभेदको बोझले थिचिरहेर, सास फेर्न मात्र दिइ बचाइराखेर प्रयोग मात्र गरिरहन खोज्ने प्रवृत्ति धर्मराउन थाल्यो । बोल्न मात्र छोडेर जब मैले चिच्याउन थाले तब मेरै अगाडि हाकाहाकी गरिने विभेद निकै कम भयो । उच्च जातीय अहंकारले ठान्यो होला कि, थिचिनेले पनि कहिलेसम्म सहन सक्छ ? बरु म थिच्न छोड्छु, खुट्टा तान्छु !

“दलित ! दलित ! यो पहिचान बेचेर कति डलर कमाइस् ? राजनीतिक मुद्दा बनाएर गरिखाने भाँडो बनाइस् हैन ‘दलित’ पहिचानलाई ? दलितका नाममा आरक्षण समेत पाएको छस् त, विभेद भयो भनेर लडिरहन लाज लाग्दैन ? पहिला संविधानबाट ‘दलित’ हटा अनि पाउँछस् समानता ! कति दलित हुँ भनिरहेको ? शब्द मै समस्या छ, नाम फेर तेरो पहिचानको ! तब आउँछ खाटी समता !” – सामाजिक संजालमा लेखे/बोले बापत पाइने टिप्पणीहरु यस्तै हुने गर्दछन् । मेरो खुट्टा यसरी तानिरहन्छ कि मलाई डलरे देखिन्छ । किनकी म जात व्यवस्थाविरुद्ध उभिएको छु । मलाई पेल्न खोजिन्छ कि ‘दलित’ कोटा पाएकोमा जातीय विभेद हुनु स्वभाविक लाग्नैपर्छ । आफ्नै पहिचानको रापले सेकिएर जलेको यो हृदय जलाइरहन ‘डलरे’ आरोप काफी भन्दा पनि निकै ज्यादा हो । यस्ता अपाच्य मानसिक यातनाले पलपल मारिरहेको हुन्छ । आफ्नै न्यायका लागि कोही पैसा पाइन्छ भनेर उभिन्छ ? त्यो पनि लडाइँको बिच मैदानमा ज्यानको बाजी थापेर ? अझ, दलितको नाम फेर्दैमा सर्लक्कै विभेद हटिजान्छ जस्तो ठानिन्छ ! क्यान्सरको नाम ‘निरोगी’ राख्दैमा क्यान्सर हटिजान्छ र ?

जात व्यवस्थामा तहगत जातीय विभेद निकै बुद्धि संङगत ढंगले निर्माण गरिएको छ । जात व्यवस्थाको स्कुलिङ यत्ति जब्बर छ कि यसले आफूभन्दा कथित तल रहेको कसैलाई बाँकी राख्दैन, विभेद गरेरै छाड्छ । जस्तैः उपाध्याय बाहुनले जैसीलाई विभेद गर्दछ, जैसीले क्षेत्रीलाई, क्षेत्रीले जनजातिलाई र जनजातिले दलितलाई विभेद गर्दछ । यसरी दलितलाई सबैभन्दा बढी विभेद हुनेगर्दछ किनकि ऊ पीँधमा छ । संरचनागत लाभांशको सबैभन्दा फेदमा रहेर उसले चरम वर्गीय विभेदसमेत भोगिरहेको हुन्छ । कसरी ? बस् एउटा गरीब बाहुन र गरिब दलितको (विशेषगरि हिन्दु समाजभित्र किनभने जात व्यवस्था हिन्दु समाजको उपज हो ।) सामाजिक÷सांस्कृतिक हैसियतमा हुने गरेको फरक हेरौँ न !

अर्कोतर्फ, जात व्यवस्थाले लैंगिक विभेद निर्माणमा समेत भुमिका खेलेको पाइन्छ । सामाजिक रितिरिवाज, परम्परा लगायत विवाह संस्थामा पुरुष र महिला बिचमा हुने गरेको भेदभाव यसको उदाहरण हो । लैंगिक विभेदको पनि निकृष्ट रुप हेर्नुछ भने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरे पुग्छ । वास्तवमा पुरुष, महिला र तेस्रोलिंङ्गी÷समलिङ्गी भनेर क्रमशः पहिलो, दोश्रो र तेस्रो क्रममा राखेर विभेद गरिएको छ । यसरी विश्लेषण गर्दा लैंगिक विभेदको सबैभन्दा कठोर यातना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोगिरहेको हुन्छ । दिनहुँजसो ओइरिरहने गालीगलौज, खिसीट्युरी र यौनहिंसाले उनीहरू प्रताडित बनिरहेका हुन्छन् । आफ्नो जन्मप्रति ग्लानि भएर कतिले त आफ्नो पहिचान नै खुलाउन सकिरहेका हुँदैनन् । महिलामा पनि यस्तो विभेद कम भने हुँदैन । उनीहरुमाथि हुने शारीरिक हिंसा सामान्य लागिरहेको हुन्छ भने मानसिक हिंसाको त लगभग कुनै हिसाब नै छैन । यानिकी, महिला भनेको दोश्रो दर्जाका नागरिक हुन् भन्ने व्यवहारतः प्रष्ट पारिन्छ । विभेद सहनु उनीहरूको नियती हो, यदि घरपरिवार तथा समाजमा टिकिरहनु छ भने सहनुपर्छ । अतः परिवारको इज्जतका खातिर महिलाले आफ्नो अस्तित्वलाई कुल्चन बाध्य बन्नु परिरहेको हुन्छ ।

जात व्यवस्थाको हतियार तहगत विभेद अन्तर्गत जात, लिङ्ग र धर्म सबै पक्षसँग सम्बन्धित एकमुष्ट विभेद एउटा व्यक्तिले सहनु पर्दा कस्तो अनुभुति हुँदो हो ? उदाहरणका लागि, दलित समुदायभित्रकी हिन्दु महिलालाई लिन सकिन्छ । उनले दलित भएकोमा, महिला भएर जन्मिएकोमा र अछुत करार गरिएको हिन्दुका रुपमा कुन स्तरको विभेद खप्नु पर्छ होला ? अनुमान लगाउन मुस्किल हुँदैन । दलित महिलाका लागि घरभित्रको पितृसत्तात्मक चिन्तनलाई बल्लतल्ल जितेर समाजसम्म आइपुग्दा समाजले दिने जातीय हिंसा तथा धार्मिक पाखण्डसँग पलपल जुधेर राज्यसम्म आइपुग्दा नातावाद, कृपावाद, चरम बेरोजगारी, भ्रष्टाचार लगायत राजनैतिक अस्थिरतासँगको सिंघौरी कहालीलाग्दो छ । यस्तोमा दलित महिलाका लागि अस्तित्वको लडाइँ औसत महिलाका तुलनामा निकै गुणा कठिन हुने गर्दछ । यद्यपि, पितृसत्तामा झाँगिएको जात व्यवस्थाको स्कुलिङमा हुर्किएका मानिसहरू माझ यो सत्य बुझ्न र बुझाउन भने ज्यादै मुस्किल भइरहेको हुन्छ । यसरी दलित महिला भएर जिउनुमा कति सकस हुन्छ शब्दमा बयान गरि साध्य नै छैन ।

देशमा थुप्रै व्यवस्था फेरिए । कानुन फेरिए । जातीय भेदभावविरुद्ध वर्तमान संविधान ढाल बनेर नउभिएको पनि होइन । नेपाली समाजमा अझैसम्म पकड जमाएर बसिरहेको जातको घमण्डलाई हेरेर भन्न सकिन्छ कि बलियो भन्दा बलियो कानुन पनि फिका बन्दछ, जब मानिसको चेतनाले कानुनलाई समेत धावा बोल्ने गर्दछ । कानुनको प्रवाह नगरी जातको अहंकार कायम राख्न मान्छेले मान्छेलाई मार्नसम्म पछि पर्दैन । किन त ? उसलाई लाग्दछ कि ठूलो जात बनिरहनु भनेको जिन्दगी नै सार्थक हुनु हो । अर्कोतर्फ, कानुनको पर्याप्त कार्यान्वयन छैन । नीति निर्माण गर्नेहरू स्वयं जातीय अहंकारी हुने गरेका उदाहरण पनि भेटिन्छन् । उनीहरूले कसैलाई हेप्नु, पेल्नु, जातीय विभेद गर्नु भनेको निकै ठूलो उपलब्धि ठानिरहेका छन् । मानिसहरू सबै मानिसलाई समान नजरले हेर्न चाहिरहेका छैनन् । यस्तोमा जात व्यवस्थाविरुद्धको लडाइँ सोचेभन्दा भयानक कठिन छ ।

नेपालको सन्दर्भमा जातिवाद फस्टाउनुमा दन्डहिनता भन्दा ठूलो कारण चेतनास्तरमा सुधार नहुनुलाई लिन सकिन्छ । जबसम्म मानिसले मानिसलाई जात, लिङ्ग या धर्मका रुपमा नभई नितान्त मानिसका रुपमा व्यवहार गर्ने सामथ्र्य राख्दैन तबसम्म विभेदको किराले मानिसको मस्तिष्क खाइरहनेछ र झन्झन् अमानवीय बनाइरहनेछ । यस्तो नहोस् भन्नका खातिर विद्यालय स्तर देखि नै बुर्जुवा शिक्षा नभई नैतिक, कानुनी तथा वैज्ञानिक शिक्षामा आधारित पाठ्यक्रम राखिनुपर्दछ । सानै उमेरदेखि मान्छे भएर आफू जस्तै अर्को मान्छेलाई भिन्न देख्नु, हेप्नु, असमान व्यवहार गर्नु भनेको लज्जाको विषय बन्नुपर्दछ । तब मात्र ऊ एक असल मानवका रुपमा हुर्कनेछ । साथै, विभेद विरुद्धका कानुनको अक्षरस पालना पनि उत्तिकै जरुरी हुन्छ । जसका लागि सबै न्यायप्रेमी मानिसहरूले बेलैमा पहल गरेर समतामूलक समाज निर्माणमा टेवा पु¥याउन आवश्यक देखिन्छ । यसो गर्न सकेमा जातीय तथा लैंगिक विभेदरहित समाज निर्माणको सपना अवश्य साकार हुनेछ ।