June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

लेनिनका चार प्रमुख कृतिहरुको संक्षिप्त परिचय

२०८१ जेष्ठ १३

1.3K

  • असीम राई

सन् १९१७ को महान रुसी क्रान्तिका नेता भ्लादिमिर लेनिन, इतिहासको सर्वाधिक प्रसिद्ध व्यक्तित्वहरू मध्ये एक हुन् । र, सबैभन्दा बढी दानवीकरण गरिएका मध्ये पनि एक हुन् । पुँजीवादीहरू र आजको प्रमुख संस्कृतिले उनलाई तानाशाहको रुपमा बदनाम गर्छन् तर उनलाई औंला उठाउने र उनको विराट विरासतमा दाग लगाउने कति जनाले उनको कार्यको अध्ययन गरेका छन् ? उनका चारवटा कृतिहरूले यी झुट मिथकहरूलाई ध्वस्त पार्न र उनी वास्तवमा केका लागि लडेका थिए भनेर प्रकाश पार्न मद्दत गर्दछ । जस्तो कि राज्य र क्रान्तिमा उनले लेखेका थिए, “पुँजीवादी दासत्वबाट, अनेकन आतंक, जङ्गलीपन र पुँजीवादी शोषणको बदनामीबाट मुक्त, स्वतन्त्र समाज ।”

१.के गरिनुपर्छ ? (१९०१)

१९ औं शताब्दीको अन्तिम वर्षहरूमा लेनिन आफ्नो ३० औं जन्मदिन नजिक पुग्दा रूसमा राजनीतिक र सामाजिक उथलपुथल भइरहेको थियो । सन् १८९९ मा राष्ट्रिय विद्यार्थी हड्तालमा भाग लिने हजारौं विद्यार्थीहरुलाई प्रहरी र जारशाही सरकारले भयावह रुपमा कारबाही गरेको थियो । तर त्यो क्रुर दमनले बारम्बार उठिरहेको आन्दोलनलाई भड्काउन सकेन । सन् १९०१ मा रुसभरि दशौं हजार मजदुरहरू विरोध प्रदर्शनमा सामेल भए र धेरै पटक प्रहरीलाई प्रदर्शन स्थलबाट लखेटियो । भइरहेको क्रान्तिकारी आन्दोलनको अपर्याप्तताहरु यी पृष्ठभूमिको अगाडि छर्लङ्ग भए । प्रहरीको गिरफ्तारीद्वारा बैठकहरू नियमित रूपमा भङ्ग गरियो र आन्दोलनको सञ्जाल ध्वस्त गरियो । अनेकौं आन्दोलनका शक्तिहरू आफ्ना विचारहरू छलफल नै नगरी राजनीतिक सर्वोच्चताको बाटोमा लागे । आफ्नै शब्दमा लेनिन, “हामी सोखीको रुपमा व्यवहार गरिरहेका छौं भन्ने निष्कर्षबाट तीव्र र पीडादायी अनुभूत भए ।” त्यसैले उनी काममा लागे ।

यस समयको उनको प्रमुख कार्य हतारमा तयार गरिएको ‘के गरिनुपर्छ ?’, क्रान्तिकारीहरूलाई त्यो भ्रमको डटेर सामना गर्न आह्वान थियो । उनीहरूलाई भूमिगत सञ्चारको बलियो विधिहरू र गिरफ्तारीको सामना गर्न सक्ने सञ्जालहरूको आवश्यकता थियो । उनीहरूलाई क्रान्तिकारी आन्दोलनको मार्ग निर्देशन गर्न सक्ने समूह, मजदुर वर्गको पार्टीको आवश्यकता थियो । लेनिनले श्रमिक आन्दोलनलाई तत्कालिक मागहरुस् कारखानाको अवस्था, राज्यको दमन र प्रहरीको क्रुरतामा सीमित राख्न प्रयास गर्नेहरूकोविरुद्ध तर्क गरे र माक्र्सवादी पार्टीको लागि लडे जसले “जनताको ट्रिब्युन १.. जहाँकही भएको हरेक अत्याचार र दमनको डटेर प्रतिक्रिया दिन सक्षम होस् ।”

 

२.साम्राज्यवाद, पुँजीवादको सर्वोच्च चरण (१९१६–१७)

मजदुर वर्गले साम्राज्यवादी युद्धमा के चढाउनुपर्छ भन्ने प्रश्नको जवाफ अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले दियो, “न एक जन, न एक पैसा” तर जब जर्मनीले अगस्ट १९१४ मा रुसविरुद्ध युद्धको घोषणा गर्‍यो , युरोपेली समाजवादको अग्रनी पार्टी जर्मन सोसल डेमोक्रटिक पार्टीले आफ्ना सांसदहरुद्वारा युद्धको वित्तपोषणका लागि मत दिने घोषणा गर्‍यो । त्यो घटना यति औडाहापूर्ण थियो कि लेनिनले सुरुमा त्यसलाई दुश्मनहरूको जालसाजी सम्झे । जब यो स्पष्ट भयो कि समाजवादी आन्दोलनले आफ्ना सिद्धान्तहरु र महादेशको मजदुर वर्गलाई धोका दिएको थियो, उनले त्यसको ऊर्जावान प्रतिक्रिया दिएः युद्ध विरोधी सम्मेलनहरु सह-आयोजना गरे, रुसी र जर्मन सैनिकहरु बीच भातृत्वलाई प्रोत्साहन गर्ने प्रयासहरुमा सामेल भए र युद्धको सैद्धान्तिक विश्लेषणको विकास गरे । यस कृतिमा उनले पहिलो विश्वयुद्धका दुवै पक्ष साम्राज्यवादी (अर्थात् विलयवादी, लुटपाटको युद्ध) थिए र यो विश्वको विभाजनको लागि युद्ध थियो भन्ने कुरा प्रकाशमा ल्याए ।

लेनिनले साम्राज्यवादलाई सरकारले अपनाउने फगत एक नीति मात्र होइन भनी व्याख्या गरे । बरु, त्यो पुँजीवादको एउटा चरण हो, जसमा संसारलाई पूर्ण रुपमा कित्ताकाट गरिएको हुन्छ र औपनिवेशिक शक्तिहरूद्वारा कब्जा गरिएको हुन्छ । त्यसैले नयाँ क्षेत्रहरू प्राप्त गर्ने तिनीहरूको लालसी इच्छाहरु अन्य शक्तिहरूको मूल्यमा मात्र पूरा गर्न सकिन्छ । मुनाफाको भोकमा रहेका शासक वर्गलाई स्रोत र नयाँ बजार चाहिन्छ, जसले कुनै न कुनै प्रकारको द्वन्दलाई अपरिहार्य बनाउँछ र यस्तो अवस्थाको सिर्जना गर्दछ जुन ढिलोचाडो खुला युद्धमा परिणत हुन्छ ।

पहिलो विश्वयुद्धमा २ करोड मानिस मारिएका थिए । यसले निम्त्याएको विपत्ति र रक्तकुण्डले लाखौंलाई यसको विरोध गर्न बाध्य तुल्यायो । जब सन् १९१७ को रुसी क्रान्तिमा मजदुरहरूले सत्ता लिए, तिनीहरूको पहिलो कार्यहरूमध्ये एक त्यो देशलाई युद्धबाट बाहिर निकाल्नु थियो । लेनिनको बोल्सेभिक पार्टी पहिलो दिनदेखि नै त्यो साम्राज्यवादी युद्धको विरोध गर्ने मुठ्ठीभर समाजवादी दलहरूमध्ये एक थिए ।

३. राज्य र क्रान्ति (१९१७)

सन् १८७१ को पेरिस कम्युनले कार्ल माक्र्सलाई ‘भइरहेको राज्य संयन्त्रलाई मजदुर वर्गले उपयोग’ गर्न नसक्ने तर त्यसलाई प्रतिस्थापन गर्नुपर्ने कुरामा विश्वस्त पारेको थियो । तर माक्र्सको यो मूल्याङ्कन आफूलाई माक्र्सवादी भन्ने उदारवादी समाजवादीहरुद्वारा नै दफन गरिएको थियो र उनीहरू पुँजीवादसँग अझ बढी समायोजनतर्फ अगाडि बढिरहेका थिए ।

मजदुर वर्ग “शासक वर्गको रुपमा सशस्त्र र संगठित हुनुपर्छ” भन्ने विचारलाई पुनर्जीवित गर्दै आफ्नो विचारको यी निष्कर्षहरुलाई पुनः स्थापित गर्न लेनिनले माक्र्सलाई विस्तारमा उद्धृत गरे । अर्थात श्रमिकहरुले प्रतिक्रियावादी शक्तिबाट आफ्नो रक्षा गर्न र स्रोत साधनहरु वितरण गर्न वैकल्पिक राष्ट्रिय संस्थामा आफ्नो शक्तिलाई केन्द्रीकृत गर्न आवश्यक हुन्छ । यो अल्पसंख्यकको शासन सुनिश्चित गर्ने अर्को संस्था हुन सक्दैन, बरु बहुमतको शासन सुनिश्चित गर्ने संस्था हुनेछ । उनले व्याख्या गरे कि यो एक अस्थायी व्यवस्था हुनेछ, जुन अवधिमा सबै प्रति–क्रान्तिलाई स्थायी रुपमा पराजित गर्न सकिन्छ । यस कृतिले अराजकतावादीहरूलाई पनि राम्ररी जवाफ दियो, जसले यस अन्तरिम निकायको आवश्यकतालाई अस्वीकार गरेका थिए ।

अर्कोतर्फ लेनिनले पुँजीवादी राज्यलाई “समाजभन्दा माथि” रहेको संस्था, जो, त्यो बेलाको सबैभन्दा शक्तिशाली समूहको इच्छामा झुक्छ भनेर व्याख्या गर्ने नरम समाजवादीहरूलाई अस्वीकार गरे । राज्यको संरचना, त्यसको ‘सशस्त्र निकाय, जेल आदि’ श्रमिक आन्दोलनद्वारा कब्जा गर्न सकिँदैन, किनभने तिनीहरु पुँजीवाद कायम राख्ने अभिन्न अङ्ग हुन् । यी अन्तर्दृष्टिले यसलाई माक्र्सवादी विचारको सबैभन्दा महत्वपूर्ण कार्यहरु मध्ये एक बनाउँछ । तर यसको शक्ति माक्र्सवादी विचारमा मात्र निहित छैन, बरु यसले रुसी क्रान्तिको विजयसँगै चाँडै कार्यान्वयन हुने कार्यक्रमको रूपरेखा बनायो । उक्त रपरेखा “रुसी शासक वर्ग संस्थाहरूको विघटन र श्रमिक संस्थाहरुद्वारा प्रतिस्थापन” थियो ।

४. वामपन्थी साम्यवादः एक शिशु विकार (१९२०)

पहिलो विश्वयुद्धको बर्बरताले पुँजीवादको सबैभन्दा अँध्यारो र क्रूर प्रवृत्तितिर संसारको आँखा डोर्‍यायो, करोडौंलाई आतंक र क्रोधले भरिदियो । यसको प्रतिक्रियामा अन्तरविद्रोह, विद्रोह र हड्तालहरू विश्वभर फैलियो र जब १९१७ को रुसी क्रान्तिले आफ्नो विजय घोषणा गर्‍यो तब लाखौं मानिसहरू रुसी नेतृत्वलाई पछ्याउन कटिबद्ध थिए ।

वामपन्थी साम्यवाद यस समयमा चलिरहेको अन्तर्राष्ट्रिय बहसहरुमा हस्तक्षेप थियो । समाजवादले युरोपको अन्यत्र मुलुकमा जित हासिल गरेपछि “रुस समाजवादको आदर्श हुने छैन र फेरि एकपटक पिछडिएको देश बन्नेछ” भन्ने कुरा स्वीकार गर्दै लेनिनले विश्व समाजवादी आन्दोलनको सम्बन्धमा रुसी क्रान्तिको स्थिति व्याख्या गरे । (अधिकांश समाजवादीहरूले सोचेका थिए कि समाजवाद पहिले आर्थिक रूपमा उन्नत क्षेत्रहरूमा –जर्मनी, बेलायत, फ्रान्समा आउनेछ र त्यसपछि ‘पछौटे’ अर्थतन्त्रहरूमा फैलिनेछ । रुसले पहिलो समाजवादी क्रान्ति गरेर सबैलाई अवाक् पारेको थियो ।

सुरुका अध्यायहरूले यसका सबैभन्दा महत्त्वपूर्ण र सान्दर्भिक पाठहरू विस्तृत रुपमा वर्णन गरे । पहिलो, समाजवादी क्रान्तिको सफलतामा क्रान्तिकारी पार्टी केन्द्रविन्दुमा थियो । बोल्सेभिक पार्टी, जसको उपस्थिति बिना रुसमा सफलता असम्भव थियो, जो आफै जन्मिएको थिएन तर सिर्जना गरिएको थियो, लेनिनले उल्लेख गरे । हजारौं श्रमिक, किसान र कार्यकर्ताहरूको श्रमले विभिन्न चुनौती र अवसरहरु माझ यो पार्टीको निर्माण गरेका थिए । पार्टीको संगठित शक्तिको अर्थ लाखौं मानिसहरु क्रान्तिकारी आन्दोलनमा सहभागी हुन सक्ने र उनीहरुको उर्जालाई सबैभन्दा शक्तिशाली आन्दोलनमा समायोजन गर्न सकिन्थ्यो ।

पछिल्ला अध्यायहरूमा, उनले क्रान्तिकारीहरूको प्राथमिक भूमिका विद्रोह गर्नु हो भन्ने विचारको विरुद्धमा तर्क गरे । “वामपन्थी कम्युनिस्टहरु” भनेर चिनिनेहरूले सामूहिक मजदुर वर्गका संगठनहरुमा सहभागिताको विरोध गरे । तिनीहरुले संसदीय चुनाव त्यागे, ट्रेड युनियनहरु त्यागे र सबै सम्झौताहरुको विरोध गरे । यस विचारधाराले श्रमिकहरूको समुहबाट सबैभन्दा “सक्रिय क्रान्तिकारीहरुलाई” अलग्गै बनाउने खतरा भयो । “यो भन्दा ठूलो अयोग्यता वा क्रान्तिलाई हानी हुने कुरा कल्पना गर्न गाह्रो हुनेछ,” लेनिनले लेखे ।