June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता
एक सहसचिवको अवकाश प्राप्त जीवन !

‘मनको हुण्डरी’

२०८१ जेष्ठ ३०

1.4K

  • महादीप पोखरेल

ओहो तीन दशक यानेकी ६० वर्ष पार भइसकिएछ । अहिले त फुलेको कपाल सँगसँगै मधुमेह र उच्च रक्तचाप जस्ता पाहुनाहरुले शरीरमा स्थायी अड्डा जमाएर पनि बसेका छन् । शरीर र मन दुवैतिर थकान महशुस हुन्छ, श्रीमतीले एका बिहानै तातो चिया ल्याएर दिन पनि कति ढिला गर्छिन् जस्तो लाग्छ । चिया जहिले पनि बिना चिनीकै आउँछ । यसो अलिकति त राख न भन्यो, यही निहुँमा बुढाबुढीको ठाकठुक पर्छ । खैर ठिकै छ, खाने र पिउने कुरामा मैले श्रीमतीको सत्ता अगाडि आत्मसमर्पण गरेकै छु । आजभोलि सम्झनाको तरेलीमा हराउन वा आफैलाई समिक्षा गर्न मन लाग्छ ।

जिन्दगीको ३० वर्ष स्कुल, कलेज, युनिभर्सिटी अनि बाँकी ३० वर्ष सरकारी जागिर र पछिल्लो ५ वर्ष अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा गुजारिएछ । किसानको छोरो म, परिवार खासै धनी नभए पनि मैले आफ्नै कमाइबाट काठमाडौंमा राम्रै घर जोडेको छु । सह–सचिवसम्मको सरकारी जागिर, विदेशी युनिभर्सिटीको पि.एच.डी डिग्री मेरा विरासत हुन् । अनि छोराछोरीलाई पनि राम्रो शैक्षिक संस्थामा राखेर पढाए, अरुको अगाडी सक्षम बनाए । अहिले छोरो अमेरिका र छोरी अष्ट्रेलियाको स्थायी बासिन्दा भइसकेका छन् । उनीहरूबाट नातिनातिना पनि भइसके । गाउँको सम्पत्ति उतै छ, घर मक्किएर ढलिसक्यो, बारीको पाटो जङ्गल भइसकेको छ, तल खेतसम्म अहिले मोटर बाटो पनि पुग्यो । गाउँमै अड्किएको कान्छा बाको नातिले यसो जाँगर चले खेतीपाती गर्छ, कहिले खाली नै रहन्छ, यस्तै छ । अँ एउटा कुरा– काठमाडौंको घरमा आफ्ना बाउआमा ल्याएर राख्ने रहर मात्रै भयो, उहाँहरूको जीवन उतै सिद्धियो । अहिले यो घरमा पनि छोराछोरी बस्दैनन्, उनीहरू विदेशी भइसके । उहिले बाउआमा गाउँमा एक्लै थिए, अहिले शहरमा हामी बुढाबुढी एक्लै छौ, यस्तै छ जीवन कुमालेको चक्र जस्तै ।

अहिलेसम्मको जिन्दगी यसरी नै बितिरहेछ, नितान्त कामकाजी र सुविधाभोगी भएर बाँचिएछ । जिन्दगीमा खासै रिश्क लिइएन, करियरको निम्ति मेहनत त गरियो तर समाजमा व्याप्त अन्याय, असामानताविरुद्ध छिरिक्क आवाज उठाइएन । सत्ताको बलमिच्याइँप्रति आँखा चिम्लेर बसियो, कहिल्यै विरोधि वा प्रतिपक्षी भूमिकाको कल्पना पनि गरिएन । म कलेजमै हुँदा ०४६/०४७ मा पञ्चायतविरुद्ध आन्दोलन भयो, मेरा धेरैजसो साथीहरु आन्दोलनमा गए, तर म भने कोठामै बसेर पढिरहे । मलाई पञ्चायत मन परेको चाहिँ होइन तर आन्दोलनमा जाँदा हुने दुःख, प्रहरीको लाठीचार्ज र पक्राउ देखि डर लाग्थ्यो । पछि पञ्चायत ढलेको र बहुदलीय प्रणाली घोषणा भएको विजय जुलुसमा चाहिँ ढुक्कसँग गएको हुँ र आमसभामा अगाडी नै बसेर गणेशमान लगायत अरु बहुदलीय नेताहरूको भाषण पनि सुने । पछि त झन डरलाग्दो समय आयो, माओवादीले जनयुद्ध सुरु गरे, मेरै गाउँ गोरखाका कयौं मान्छे त्यस्मा लागे, कति मरे, कति बेपत्ता भए, सम्झिँदा पनि डर लाग्छ । त्यतिबेला मेरो घर गोरखा हो भनेर कसैलाई भनिन, आमाबुबा उतै हुनुहुन्थ्यो, तर दसैँंमा टीका लगाउन भन्दा बाहेक घर जाँदै गइन । हुन त त्यतिबेलासम्म यो काठमाडौंमा एउटा घर पनि बनाइसकेको थिए र उपसचिवको जागीर थियो । गणतन्त्र आएपछि चाहिँ गोरखा लगायत गण्डकीका सबै माओवादी नेतालाई भेटेर “म तपाईहरुकै मान्छे हुँ” भनेर भन्न छुटाइन र आक्कल –झुक्कल यसो थोरै चन्दा पनि दिए । यसरी नै कलेजदेखि जागिरे जिन्दगी सम्मै सबैसँग सेफ डिस्टेन्स राखेर बसियो, किनकि त्यसैमा मलाई फाइदा थियो ।

कतिपय आलोचना गर्नुपर्ने विषयमा चुपचाप लागियो, हल्का समर्थन गर्दा हुने विषयमा ज्यानै छोडेर जयजयकार पनि गरियो । जागिरमा सह–सचिव सम्म भइयो, त्यतिबेला वैदेशिक रोजगार र यातायात व्यवस्था विभागको महानिर्देशक पनि हुन भ्याए । सचिव बन्न दौडधुप गरेकै थिए । “सबैतिर गएर मलाई बनाउनुहोस, सहयोग गर्छु” भनेर वाचा गरेकै थिए, तर प्रीपेड केही नगरेर हो कि मलाई बनाएनन्, सह–सचिव बाटै अवकाश भइयो । त्यसपछि ५ वर्ष एउटा आई.एन.जि.ओ मा सल्लाहकारको जागिर खाए । तलब सुविधा अत्यन्त राम्रो थियो, कति थियो भनेर भो नलेखौ, आफै अड्कल गर्नुहोला । त्यसपछि तेल भिसामा बुढाबुढी नै अमेरिका, अष्ट्रेलिया गएर लगभग एक वर्ष बिताइयो । अहिले आफैले बनाएको साँढे चार तलाको घरमा जम्मा दुईको सँख्यामा बुढाबुढी मात्रै थन्केर बसेका छौं । विसंगति, अन्याय वा कुरितीविरुद्ध भोलि फुर्सदमा रिटायर भएपछि लेखौँला नि भनेको थिए । तर आज केही लेख्न खोज्दा ठट्टा जस्तो लाग्छ, आफ्नै मनमा क्या हो, कसो हो भएर आउँछ । भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा लेख्न मन लाग्छ, तर आफू सरकारी सेवामा हुँदा के नापिस ? अहिले अर्ती उपदेश दिन्छस ? भन्दै कमेन्ट आउँछ भनेर लेख्ने साहस नै आउँदैन ।

आजभोलि त चिने जति इष्टमित्र सबै सामाजिक सञ्जालको नेटवर्कभित्र गुजुल्टेका छौं, फेसबुकमा सबै साथी भएका छांै । मेरा दौँतरी कोहीकोहीले रिल, टिकटक पनि बनाउँछन र ज्ञान प्रवचन पनि दिन्छन् । मरेकालाई श्रद्धाञ्जली, बाँचेकालाई ह्याप्पी बर्थडे र ह्याप्पी एनिभर्सरी भन्न त म पनि छुटाउँदिन । आजभोलि त बेबी साउरिङको पार्टीमा पनि जान थालिएको छ । ती सबै गतिविधिको फोटो, भिडियोहरू फेसबुकमा राख्छु अनि लाइक र कमेन्ट गन्दै दङ्ग हुन्छु । यसो हेर्दा हामीहरू एउटा औँलाको स्पर्शको दुरीमा छौं, अति निकटतम छौँ तर यथार्थमा सयौँ प्रकाश वर्ष टाढा छौँ र हाम्रा औपचारिकताहरू व्यर्थका र निरस छन् । त्यहाँ कतै अलिअलि धिपधिप आत्मियता बिनाको सम्झनाको तरङ्ग मात्र बाँचेको होला, तैपनि यसैमा रमाइलो लागेको छ ।

देशको राजनीतिमा, सत्तामा, मान्छे परिवर्तन होस् वा व्यवस्था नै ठिक छैन जस्तो पनि लाग्छ तर बोल्न/लेख्न सक्दिन । देशका युवाहरू विदेशिएको बारे चिन्ता लाग्छ तर आफ्ना छोराछोरी विदेशी नागरिकता लिइसकेकोमा चाहिँ पछुतो छैन किनकि यहीँ कुरो सबै इष्टमित्र बिच इज्जत भएको छ । कहिलेकाहीँ एक दुई हरफ लेख्न खोज्दछु तर परिवारका सदस्यहरूले गिज्याउँछन्, म उनीहरूको सिमारेखा नाघ्न सक्दिन । खै, आजभोलि म हाँस्न पनि सक्दिनँ, रुन पनि सक्दिनँ, बडा किमकर्तव्यविमुढ छु । यो बोल्ने र लेख्ने काम त्यतिखेर नै गर्नुपथ्र्यो तर समय घर्की सकेपछि लेखेको बोलेको के अर्थ होला र ? यो त मेरो मनको कुण्ठा, भडास बाहेक केही हुनेछैन । त्यसैले भो म चुपचाप नै बस्छु, जतिन्जेल बाँच्छु, काल पर्खेर बिताउँछु । तर, आजभोलि मर्ने बेलामा एक्लै परिने भो, कसैलाई थाहै हुँदैन कि भन्ने पिर लाग्छ । हामी बुढाबुढीलाई पुग्ने बैङ्कमा ब्यालेन्स पनि छ तर किन हो असुरक्षाको भावले दिनदिनै तर्साउँदै छ, गलाउँदैछ । हामी मध्ये कतिजनाले यस्तै यस्तै जिन्दगी बिताइरहेका छौँ, आफैलाई नढाँटिकन मूल्याङ्कन गरौँ है ।

गोदावरी, ललितपुर