November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

जबज कम्युनिस्ट आन्दोलनभित्रको कार्यक्रम नै होइन – आहुति

२०७८ भाद्र ३

10.2K

तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो ।

पूर्वमालेको जन्मदाता संगठन को–अर्डिनेसन केन्द्रले २०२८ को विद्रोहबाट अगाडि बढ्दै २०३५/३६ तिर आईपुग्दा ‘नयाँ जनवाद’लाई आफ्नो सिद्धान्त बनाएको थियो ।

तर, २०४४ सालतिर पुगेपछि पार्टीमा मदन भण्डारी महासचिवको रुपमा उदाए । र, पाँचौ महाधिवेशनबाट नेकपा मालेले अंगिकार गर्दै आएको ‘माओ’ विचारलाई आफ्नो पथपर्दशक सिद्धान्तबाट हटायो ।

मालेले माओ सिद्धान्त हटाइरहँदा देशमा पञ्चायत विरोधी आन्दोलन चल्यो । पञ्चायत हट्यो । पञ्चायत हटेपछि मुलुक निर्दलीय शासन प्रणालीबाट बहुदलीय राजनीतिक प्रणालीमा गयो । मुलुक बहुदलीय प्रणालीमा गइसकेपछि नै एमालेले जनताको बहुदलीय जनवाद (जबज)भन्ने सिद्धान्त अंगिकार गरेको हो ।

तत्कालीन एमालेले जबजलाई आफ्नो सिद्धान्त बनाउँदा विश्वभर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको समय थियो । र, विश्वभर अबको कम्युनिस्ट आन्दोलनको बाटो के हुने भन्ने विषयमा अन्योल थियो ।

यता, एमाले भारतका विनोद मिश्राहरुले बनाएको कम्युनिस्ट पार्टीको कट्टरपन्थी धार भारतीय कम्युनिस्ट पार्टी (भाकपा) लिवरेसनसँग नजिकको सम्बन्धमा थियो । त्यसकारण भारतका कम्युनिस्टले जे जस्तो नीति अंगिकार गरे नेपालमा एमालेले त्यसैको सिको गर्यो ।

उता, भारतका केही कट्टरपन्थी कम्युनिस्टले क्रमशः संसदीय व्यवस्थाभित्र शान्तिपूर्ण राजनीतिमा जाने नीति बनाइरहेका थिए । त्यही पृष्ठभूमिमा बहुदलीय व्यवस्थाभित्र शान्तिपूर्ण ढंगले कम्युनिस्ट नामको राजनीति गर्नुपर्छ भन्दै मदन भण्डारीले जबज भन्ने नीति बनाएका हुन् ।

जनताको बहुदलीय जनवाद के हो त ?
जनताको बहुदलीय जनवादलाई अंग्रेजीमा अनुवाद गर्दा ‘मल्टी पार्टी डेमोक्रेसी’ हुन्छ । यहाँ डेमोक्रेसीको सट्टा प्रजातन्त्र, जनवाद, गणतन्त्र, जनतन्त्र जे पनि भन्न सकिन्छ । यी शब्दमा खासै भिन्नता छैन् ।

‘मल्टी पार्टी डेमोक्रेसी’ भनेको संसदीय पुँजीवादले प्रयोग गर्ने सिद्धान्त हो ।

त्यसकारण मदन भण्डारीद्वारा प्रतिपादित भनिएको यो जबज यथार्थमा कम्युनिस्ट आन्दोलनलाई औपचारिक रुपमा एउटा सिद्धान्तको जामा पहिराएर, शब्दको खेलबाड गरेर पुँजीवाद समक्ष गरिएको आत्मसर्मपण हो ।

जबज कम्युनिस्ट आन्दोलनभित्रको कार्यक्रम नै होइन । पुँजीवादी संसदीय, बहुदलीय व्यवस्थामा आधारित पुँजीवादलाई मदन भण्डारीले नयाँ कलेभवरमा (बहुदलीय जनवाद) भनेका हुन् ।

धेरै मान्छेलाई अहिले पनि भ्रम छ । जबज आयो/ल्यायो भने त ठूलै परिवर्तन हुन्छ भनेर । तर, यथार्थमा यो आउने कुरै होइन ।

किनभने, जबज भन्ने व्यवस्था त अहिले नै छ । अहिले भएको व्यवस्था नै जबज हो ।

पूर्वएमालेहरुले बहुदलीय जनवादलाई अक्षरशः पालना गरेका हुन् । अक्षरशः पालना गरेकै कारण उनीहरु आजको ठाउँमा पुगेका हुन् । जबज पालना गरेकै कारण उनीहरु पुँजीपति वर्गसरहको भ्रष्ट ठाउँमा पुगे ।

बहुदलीय जनवादको लाईन कति ठिक र कति बेठिक भन्ने प्रश्नको जवाफ एमाले पार्टी र त्यसका कार्याकर्ता हेर्दा थाहा हुन्छ ।

एमाले पार्टीलाई दलाल पुँजीपतिको दलाली गर्ने हालतमा पुर्याउने नीति नै जबज हो । एमाले पार्टीको मूल र एक मात्र लाईन नै जबज थियो । त्यही जबज अक्षरशः पालना गरेकै कारण एमाले पार्टीभित्र विष्णु पौडेलजस्ता पात्र पैदा भएका हुन् ।

जबजले सिधा रुपमा भनेको कुरा हो, पुँजीपति वर्गसँग मिलेर, उनीहरुसँग प्रतिस्पर्धा गरेर संसदीय व्यवस्था चलाउने । पुँजीपति वर्गसँग मिल्ने अनि उनीहरुसँग प्रतिस्पर्धा गर्ने पनि हुन्छ त कतै ?

पुँजीपति वर्गसँग मिलेर उनीहरुसँग प्रतिस्पर्धा गर्न पुँजीपतिले जस्तै पैसा जम्मा गर्नुपर्यो । अनि यसका लागि कमिसन, भ्रष्टाचार, दलाली गर्नुपर्यो । र, यसो गर्दै जाँदा आज त्यो पार्टी दलाहरुको झुण्ड भयो । र, यो सबै गरेको जबजले हो ।

जबज आउनु पहिलेको मालेले नेपाली समाज दलाल पुँजीद्वारा उत्पीडित छ, नोकर शाही पुँजीपतिद्वारा शोसित छ, सामन्त वर्गले नेपालभित्र राइँदाइँ गरिराख्या छ र, यसका विरुद्ध लड्नुपर्छ भन्थ्यो ।

तर, बहुदलीय जनवादको लाईन आईसकेपछि सबैसँग सुलभ सम्झौता गर्नुपर्छ भन्ने धारणा विकास भयो । अनि त्यो पार्टीले वर्ग संघर्ष छाडिदियो । वर्ग संर्घषलाई छाड्नेबित्तिकै त्यो पार्टी सबै वर्गको राज्यसत्ता बनाउनुपर्छ भन्ने स्थानमा पुग्यो ।

त्यो पार्टीले वर्गसंघर्ष गर्ने भनेको भए, उत्पीडित वर्गको राज्यसत्ता बनाउने लाईनमा जान्थ्यो । वर्ग संघर्ष छाडेपछि सबै वर्गलाई लिएर राज्यसत्ता बनाउने लाईनमा गयो । सबै वर्गलाई समेटेर राज्यसत्ता बनाउने भन्नु भन्दा, सबैभन्दा बलवान, शक्तिशाली पैसावाल वर्ग नै पहिलो स्थानमा आउँछन् । र, आज त्यही भइरहेको छ ।

त्यसैले जबज भन्ने सिद्धान्त नेपाली समाजको आधारभूत विश्लेषण नगरीकनै सुरु भयो । यसले नेपाली समाजको वस्तुस्थिति नै बुझेन । वा बुझ्न चाहेन ।

सामान्यतः कुनै पनि कार्यक्रम बनाउँदा लेखिने एउटा कुरा हुन्छ र लागू गर्ने अर्को कुरा हुन्छ । अर्थात्, लेखिएको कुरा लागू गर्ने कि नगर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

उदारणका लागि जबजले सामन्त वर्गविरुद्ध लड्ने नीति बनाएको भए त्यो पार्टीले जमिनदारको जमिन खोस्न सक्थ्यो । तर, जमिनदारलाई क्षतिपूर्ति दिने भनेपछि कसरी जमिनदारविरुद्ध लड्न सक्छ ?

सामन्त वर्गसँग लड्नुको सट्टा उसलाई क्षतिपूर्ति दिने भन्नु सामन्त वर्गसँग सम्झौता गर्ने भनेको हो । सम्झौता गर्ने भनेपछि किसानको पक्षमा कसरी लड्छन् ?

त्यसकारणले वर्ग संघर्षलाई आधारभूत रुपमा छाड्ने र शान्तिपूर्ण ढंगले क्रान्ति गर्छु भन्ने सार हो जबजको । पुँजीपति वर्गको अस्तित्व स्विकार गर्दै उसँग प्रतिस्पर्धा गर्ने । क्रान्तिद्वारा होइन कि शान्तिपूर्ण ढंगले समाजलाई बदल्ने जबजको सार हो ।

यो कुरा उहिल्यै रुसमा ख्रुश्चेभले गरिसकेका थिए । त्यसै कारणले रुस असफल भयो । भारतको केरला, पश्चिम बंगालजस्ता स्थानमा पनि कम्युनिस्टले यही शैली अपनाएका थिए । इन्डोनेसिया, चीलीजस्ता देशमा पनि यो अभ्यास असफल भइसकेको हो ।

दुनियाँभर असफल भइसकेको कार्यक्रम मदन भण्डारीले यहाँ लागू गर्न खोजे । पुँजीवादी कार्यक्रम ल्याएर आफूलाई कम्युनिस्टको आवरण ओढाए मदनले । यो पुँजीवादी कार्यक्रम भएकै कारण जति जति जबज लागू हुँदै गयो देशको अवस्था बिग्रँदै गयो ।

अब कस्तो भयो भन्दा, एमाले पार्टी बद्नाम मान्छे पनि राम्रोसँग अट्ने ठाउँ भयो । डन, अपराधी, भू–माफिया, तस्कर अटाउने पार्टी बन्यो एमाले । अर्थात्, आजको नेकपा ।

२०४४ सालभन्दा अगाडिको माले लडाकु पृष्ठभूमिबाट आएको थियो । त्यो लडाकु पृष्ठभूमिबाट आएको नेता कार्यकर्तालाई ‘हामी पूरै शान्तिपूर्ण ढंगले अगाडि बढ्छौं भन्दा उनीहरु मान्दैन थिए । त्यसकारण उनीहरुलाई सम्बोधन गर्न, भ्रममा राख्न लडाइँ गर्ने कुरा पनि राखिएको छ । तर, त्यो सबै भ्रम हो ।

किनभने, संशोधनवादीले सबै कुरा एकैचोटी परिवर्तन गराउन सक्दैनन् ।

मदन भण्डारीको एउटा चर्चित भाषण छ जहाँ उनले राजालाई हुँकार दिँदै भनेका छन्, ‘श्रीपेच फुकालेर चुनाव लड्न आउ ।’

यही भाषणमा मदन भण्डारीले, बुझ्नेहरुले बुझ्नेगरी नबुझ्नेहरुलाई उल्लु बनाउने गरी आफ्नो भित्री कुरा बोलेका छन् । त्यो भाषणबाट उनले भन्न खेजेको मूल कुरा हो, ‘श्रीपेच फुकालेर चुनाव लडन् आउ । श्रीपेच नफुकाल्ने भने हो तिमी राजाको थान्कोमा बस ।’

त्यो भाषणबाट मदनले राजालाई ‘संवैधानिक राजतन्त्र नभई बस्ने हो भने बरु चुनाव लड्न आउ । संवैधानिक राजतन्त्र हुने हो भने हामी मान्छौं तिमी बस भनेका हुन् ।

मदनको यही भाषणबाट त्यो पार्टीको लाईन प्रष्ट हुन्छ । भण्डारीको जबजले पनि हामी संवैधानिक राजतन्त्र मान्छौं भनेको छ । जबजको लाईन नै संवैधानिक राजतन्त्र हो । यही लाईन भएको हुनाले त केपी ओली गणतन्त्रको विषयमा बोल्नुपर्दा गाढा चढेर अमेरीका जाने कुरा गर्छन् । उनले बोलेको यो कुरा जबजकै सार हो ।

जबजले राजासहितको बहुदलीय व्यवस्था भनेको थियो । तर, अहिले राजा हटेका छन् । जबज भनेको संसारभर पुँजीपतिले लुटिखाने व्यवस्था हो ।

यो व्यवस्थाले देशलाई कही पुर्याउँदैन । पुग्ने ठाउँ नै छैन ।

कसरी पुग्ने ? निजी स्कुल, बैंक, कलेज, मेडिकल कलेजका मालिक नेताहरु छन् । पार्टीमा, केबलकार, एनजीओ आईएनजीओ सञ्चालक छन् । पार्टीका सबै मान्छे पुँजीपति बन्ने धुनमा छन् । अब योभन्दा माथि कहाँ जाने ?

उनीहरुको जबजले भन्ने गरेको राष्ट्रिय पुँजीपति वर्ग निर्माणको कुरा नेपालमा सम्भव छैन । पार्टीभित्र सबै दलाल पुँजीपति छन् । पार्टी नै दलाल पुँजीपतिको हो ।

उनीहरुको जबज भन्ने सिद्धान्तले भनेको कुरा केही पनि लागू हुँदैन । अब कहाँबाट राष्ट्रिय पुँजीपति जन्माउने ? राष्ट्रिय पुँजीपति जन्माउन त दलाल पुँजीपतिसँग त लड्नु पर्यो नि ? दलाल पुँजीपतिसँग कसरी लड्ने ? आफ्नो पार्टी नै दलाल पुँजीपतिको छ ।

दलाल पुँजीवादलाई देशमा आमन्त्रण गर्ने । दलाल पुँजीपति निर्माण गर्न । उनीहरुलाई नै देश चलाउन दिने अनि राष्ट्रिय पुँजीपति वर्ग निर्माण गर्ने कुरा कसरी सम्भव हुन्छ ?

खासमा यिनीहरु नियो–मार्कर्सिस्ट वा मार्कर्सिस्ट पनि होइनन् । केपी ओलीले एक वर्ष अगाडि अन्नपूर्ण पोष्ट पत्रिकामा दिएको अन्तर्वार्तामा भनेको कुरा पर्याप्त छ । त्यो अन्तर्वार्तामा उनले भनेका थिए, अब बन्ने पार्टी त्यो कम्युनिस्ट पार्टी पनि हुँदैन, वामपन्थी पार्टी पनि हुँदैन ।

यिनीहरुले आफूलाई मार्क्सवादी कम्युनिस्ट पार्टी किन भनेका हुन् भन्ने प्रश्न पनि आउनसक्छ ।

नेपाली जनता ७० वर्षको कम्युनिस्ट आन्दोलनका कारण वामपन्थीप्रति आर्कषित छन् । त्यसकारण वामपन्थीप्रति आर्कषित जनतालाई झुक्याउन उनीहरुले आफूलाई कम्युनिस्ट हौँ भनेका हुन् । मदन भण्डारीकै पालामा मनमोहनले ‘कम्युनिस्ट त हाम्रो ट्रेड मार्क’ हो भनेका हुन् ।

यिनीहरु कम्युनिस्ट होइनन् भनेर बुझेकै कारणले त पुँजीपतिले सहयोग गरिरहेका छन् । दुनियाँभरी एउटा धार छ, जो समाजवादी होइन, उसले आफ्नो पार्टीको नाम समाजवादी राख्ने । जो प्रजातान्त्रिक होइन, उसले आफ्नो पार्टीको नाम प्रजातान्त्रिक राख्ने । यिनीहरुले पनि त्यस्तै गरेका हुन् ।

उनीहरुको दस्तावेजका सबै बुँदामा प्रवेश गर्नु नै पर्दैन । मुख्य कुरा यो कम्युनिस्ट कार्यक्रम थियो कि थिएन ? कम्युनिस्ट कार्यक्रम हो भने एकसुत्रीय रुपमा मात्रै कुरा बुझे हुन्छ । त्यसले वर्गसंघर्षलाई मुख्य विषय बनाउँछ । तर, जबजले भने वर्ग संघर्षको कुरा पनि गर्दैन ।

कम्युनिस्टको आम मान्यता हो, राज्यसत्ता जुन बल प्रयोग नगरिकन प्राप्त गर्न सकिँदैन । एक वर्गको हातबाट अर्को वर्गले शान्तिपूर्ण ढंगले राज्यसत्ता प्राप्त गर्न सक्दैन । राज्यसत्ता खोस्नुपर्ने हुन्छ । कम्युनिस्टको मुख्य कुरा संघर्ष नै जबजले मान्दैन ।

शान्तिपूर्ण ढंगले व्यवस्था परिवर्तन गर्ने भनेपछि तपाईंले शान्तिपूर्ण काम मात्रै गर्नुपर्यो । अर्थात्, दुश्मनको सत्ताले जे गर भन्छ त्यही गर्नुपर्यो ।

दुश्मनको सत्तासँग लाखौंको संख्यामा सेना र प्रहरी हुन्छन् । लाखौंको संख्यामा प्रहरी र सेना लिएर बसेको सत्तासँग शान्तिपूर्ण ढंगले जित्छु भन्नु त भ्रम र धोका मात्रै हो ।

भन्नलाई त पुँजीवादीले पनि समाजवाद भन्ने गर्छन् । तर, त्यो गफ मात्रै हो । समाजवाद भनेको समुदायवाद हो । समुदायवादमा सम्पूर्ण प्राकृतिक स्रोत, साधन र मानव निर्मित सम्पदा तथा सम्पत्ति समुदायको हुन्छ । भौतिक, बौद्धिक वा प्रकृतिप्रद्धत सबै कुरा समुदायको हुन्छ समाजवादमा । समाजवाद भनेको साझा होइन । साझा त दुई जनाको पनि हुनसक्छ ।

कम्युनिस्टले समाजवाद शब्द प्रयोग गर्न थालिसकेपछि पुँजीपतिहरुले पनि त्यसको विरुद्धमा भन्दै भ्रम छर्न समाजवाद शब्द प्रयोग गर्न थालेका हुन् । पुँजीवादमा, पुँजी प्रधान हुन्छ । समाजवादमा समुदाय प्रधान हुन्छ ।

पुँजीवाद विकास गर्दै समाजवाद ल्याउने भन्छन् । यो भनेको सल्लाको रुख रोप्ने र हुर्कँदै गएर ५ फिट माथि पुगेपछि निबुवा फल्छ भन्या जस्तै हो । पुँजीवाद हुर्काउँदै गएर कहाँबाट समाजवाद हुन्छ ? यस्तो हुन्थ्यो भने त अमेरिका, बेलायतमा उहिल्यै समाजवाद आउनुपथ्र्यो । त्यसैले जबजले समाजवाद ल्याउँछ भन्नु भ्रम मात्रै हो ।

(यो सामग्री शिलापत्रबाट साभार गरिएको हो । यो जबजबारे आहुतिसँग शिलापत्र सहकर्मी सागर चन्दले गरेको कुराकनी हो ।)