November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा

राजकुमार श्रेष्ठ

अबको बाटोः वैज्ञानिक समाजवाद

२०७८ भाद्र ३

4.2K

वर्तमान पुँजीवाद विज्ञान–प्रविधिको जगमा उभिएको छ । त्यसकारण विज्ञान–प्रविधिमा आधारित समाजवाद निर्माण गर्ने तर्फ कम्युनिष्टहरुले बहस केन्द्रित गर्न आवश्यक छ ।
…………………………………………

 

कम्युनिष्ट आन्दोलनले करिब दुई सय वर्षको यात्रा गरिसकेको छ । जर्मन दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले अगाडि सार्नु भएको वैज्ञानिक समाजवादको अवधारणा विश्वव्यापी व्यवस्थाका रुपमा अझै साकारभइसकेको छैन । तर आज पनि समाजवाद विश्व राजनीतिको केन्द्रीय बहसमा छ ।

फ्रान्सेली राज्य क्रान्ति र बेलायतको औद्योगिक क्रान्तिले युरोपमा पुँजपतिहरुको व्यापक उदय भयो । विशाल औद्योगिक केन्द्रहरु स्थापना भयो । पुँजीपतिहरुको सम्पत्ति कमाउने होडले औद्योगिक मजदुरहरुमाथि चरम शोषण शुरु भयो । मजदुर वर्गको कठिक दैनिकीको कसरी अन्त्य गरेर समानता र न्यायपूर्ण समाज बनाउन सकिएला भनेर त्यस समयका विभिन्न विचारकहरुले आफ्ना अवधारणाहरु अगाडि सारे । उनीहरु पुँजीपतिहरुलाई नैतिक पाठ पढाएर दयालु बनाउने र मजदुरहरुलाई शोषणबाट मुक्त गर्न सकिन्छ भन्ने सोच्थे । उनीहरुले कल्पना गरेको समाजवाद यथार्थमा संभव थिएन ।

सेन्ट साइमन (१७६०–१८५०) ले फ्रान्सका रजौटा परिवारमा जन्मेका थिए । उनले बेलायती साम्राज्यविरुद्ध विरुद्धको स्वतन्त्रता संग्राममा अमेरिका पुगेर बहादुरीकासाथ लडेका थिए । उनले आफ्नो सम्पन्न जीवन छाडेर गरिब, निमुखा जनतालाई कसरी सम्पन्न बनाउन सकिन्छ भनेर जीवनभर लागिपरेका थिए । उनले इसाको धार्मिक शिक्षामा आधारिक नैतिकता र धार्मिकता भएको नवीन समाज निर्माणको कल्पना गरेका थिए । उनले पुँजीपति वर्गको अन्त्य र श्रमजीवी वर्गको शासन हुने परिकल्पनासमेत गरेका थिए । साइमन महिला र पुरुषमा समान अधिकार हुनुपर्छ भन्ने विचार राख्थे । उनलाई काल्पनिक समाजवादको महान चिन्तक मानिन्छ । तर उनको सपना साकार हुन सकेन ।

अर्का काल्पनिक समाजवादी चाल्स फुरियो (१७७२–१८३५)ले पुँजीपतिहरुको बेइमानी र भद्रगोलको चित्रण यसरी गरेका थिए: “पुँजीवादमा डाक्टरहरु रोगको महामारी चाहन्छन्, वकिलहरु घरघरमा मुद्दा भएको हेर्न चाहन्छन्, डकर्मी र सिकर्मीहरु सहर ध्वस्त भएको हेर्न चाहन्छन् ।”

फुरियोले समानताको फालेक्स समाज निर्माणको प्रस्ताव गरेका थिए । तर त्यो पुरा हुन सकेन । रोबर्ट ओवेन (१७७१–१८५८) ले समाजवादको कल्पना गर्दै उनले आफ्नो कारखानामा परोपकारी कार्यक्रम लागु गरे । यो बेलायतभरी लोकप्रिय पनि भयो । तर काल्पनिक समाजवादी विचारकहरुले परिकल्पना गरेको व्यवस्था यथार्थमा संभव हुन सकेन ।
काल्पनीक समाजवादलाई खारेज गर्दै कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले १८४८ मा वैज्ञानिक समाजवादको प्रस्तावनाका रुपमा कम्युनिष्ट घोषणा पत्र ल्याउनुभयो । कम्युनिष्ट घोषणापत्र द्वन्द्वात्मक भौतिक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादी विचारको जगमा अगाडि सारिएको राजनीतिक मार्गदर्शन थियो ।

पुँजीपतिहरुको दयामायाबाट मजदुरहरुले शोषणबाट मुक्ति पाउने कुरा असंभव थियो । माक्र्सकालिन पुँजीवाद औद्योगिक पुँजीवाद थियो । श्रमिकहरुको चरम श्रम शोषणबाट पुँजीवाद टिकेको थियो । माक्र्स एंगेल्सले संसारभरका मजदुरहरुलाई एक जुट भएर पुँजीवादी व्यवस्थाका शोषणका विरुद्ध लड्न आह्वान गर्नुभयो । उहाँहरुले नारा दिनुभयो– संसारका मजदुरहरु एक जुट होऔं ।

माक्र्सले आफ्नो महान कृति पुँजीमा पुँजीपतिले कसरी मजदुरहरुमाथि शोषण गर्छ र अकुत सम्पत्ति आर्जन गर्छन भन्नेबारे सुक्ष्म रुपमा उजागार गरिदिनुभयो । माक्र्सको पुँजीले पुँजीपतिको पर्दाफास गरिदियो र उहाँको विचारले मजदुरहरुलाई पुँजीवाद विरुद्ध लड्ने हतियार प्रदान गर्यो ।

माक्र्स–एंगेल्सले अगाडि सारेको समाजवादको अवधारणा पेरिस कम्युनका रुपमा देखा पर्यो तर त्यो ७२ दिन मात्र टिक्यो । त्यसपश्चाल लेनिनको नेतृत्वमा भएको सोभियत क्रान्तिबाट सोभियत सत्ताका रुपमा अर्को समाजवादी सत्ता स्थापना भयो । यसले रुसलाई अमेरिकासँग प्रतिस्पर्धा गर्नसक्ने महाशक्तिका रुपमा उठायो । सोभियतसंघ राज्य नियन्त्रित थियो र यसले सामुहिक उत्पादनमा जोड दियो । सोभियत महाशक्तिको रुपमा उदायएको रुसका लिडर लेनिनले पुँजीवादलाई मरणाशन्न अवस्थामा पुगेको भने तर उनले भनेकोजस्तो पुँजीवाद मरेन । त्यो पुँजीवाद नमर्नुको कारण के थियो भने पुँजीवाद विज्ञान–प्रविधिलाई पउयोग गरेर नयाँ अवतारका रुपमा आएको थियो ।

वर्तमान पुँजीवाद विज्ञान–प्रविधिको जगमा उभिएको छ । त्यसकारण विज्ञान–प्रविधिमा आधारित समाजवाद निर्माण गर्ने तर्फ कम्युनिष्टहरुले बहस केन्द्रित गर्न आवश्यक छ ।

माक्र्सवादले सामुहिक श्रममा आधारित समाजवादको अवधारणा अगाडि सारेको थियो । तर त्यो अवधारण अब विज्ञान–प्रविधिको अद्भुत क्षमताका कारण असान्दर्भिक बन्न पुगेको छ । अब विज्ञान–प्रविधिको प्रचुर मात्रामा अतिरिक्त उत्पान गर्नसक्ने क्षमतालाई उपयोग गरेर नयाँ समाजवादी अर्थप्रणाली विकास नगरी समाजवादी व्यवस्था टिक्न सक्दैन । समाजवादी व्यवस्था निर्माण गर्न सकिने आधार विज्ञान–प्रविधिले प्रचुर उत्पादन गरेर र उत्पादनको क्षेत्रबाट मानव श्रमलाई विस्तापित गरेर खडा गरिदिएको छ ।

विश्वको समाजवादी आन्दोलन आज वैचारिक संकटबाट गुज्रिरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि वैचारिक अन्यौलताका कारण, कुहिरोको काँग झै बनेको तितो यथार्थ हामी देखिरहेका छौं, भोगिरहेका छौं । तर विश्वभर समाजवादबारे नयाँ बहस र नयाँ अवधारणहरु भने आएका छन् ।

चिलीका समाजवादी लेखक मार्ताहार्नेकर (१९३७–२०१९)ले ल्याटिक अमेरिकी मुलुकहरुमा भइरहेको समाजवादी आन्दोलनहरुको गहन अध्ययन गर्दै आफ्नो पुस्तक “रिविल्डििङ द लेफ्ट” मा एक्काइसौं शताब्दीको समाजबारे महत्वपूर्ण विचारहरु प्रस्तुत गरेका छन् । उनले यस पुस्तकमा विज्ञान-प्रविधिले ल्याएकाे परिवर्तका सन्दर्भका लेखेका छन् । बदलि‌ंदाे परिवेशमा समाजवादी आन्दाेलन कसरी पुर्नगठन गर्न सकिन्छ भन्नेबारे धेरै महत्वपूर्ण सामग्री प्रस्तुत गरेका छन् । उनले सामाजिक बामपन्थ र पार्टी बामपन्थकाे भूमिकाबारे लेखेका छन् ।

अमेरिकी आर्थशास्त्री, सामाजशास्त्री तथा राजनीतिक सल्लाहकार जेरेमी रिफ्किन (जसले वैज्ञानिक र प्राविधिक क्रान्तिले अर्थप्रणाली, उत्पादनप्रणाली, समाज र वातावरणमा पारेको प्रभावबारे शशक्तरुपमा लेखेका छन्) ले आफ्नो चर्चित पुस्तक “शुन्य सिमान्त लागत समाज” मा वर्तमान विश्व व्यवस्थाका बारे गहन अनुसन्धानमूलक विचार प्रस्तुत गरेका छन् । उनले विज्ञान–प्रविधिले कसरी पुँजीवादी व्यवस्थाको अन्त्य र सहयोगी समाजको उदय कसरी हुँदै छ भन्नेबारे व्यापक रुपमा तथ्यहरु प्रस्तुत गरेका छन् ।

नेपालमा पनि समाजवादी व्यवस्थाबारे पार्टीभित्र र बाहिर विभिन्न स्तरबाट बहस भइरहको छ । वैज्ञानिक समाजवादी चिन्तक रमेश सुनुवारले विज्ञान-प्रविधिमा आधारित समाजवादको अवधारणा अगाडि सारेका छन् ।

सुनुवार विज्ञान, प्रविधि, पूर्वीय दर्शन, पाश्चात्य दर्शन, मानव जातिको सम्पूर्ण इतिहास, माक्र्सवाद र उत्तरआधुनिकतावादबारे गहन अध्ययता हुन् । साथै उनी करिब एक दशकदेखि दर्शन, इतिहास र विज्ञानसम्बन्धी कक्षा पनि गरिरहेका छन् । सम्पूर्ण जीवन समाजवादी क्रान्तिको नयाँ विधिको खोजीमा र माक्र्सवादको सिर्जनात्मक विकासमा लगाएका सुनावारले आफ्नो पुस्तक “माक्र्सवादको सृर्जतात्मक विकासमा नयाँ दृष्टिकोण” मा लेखेका छन्:

“समाजवादको तीनवटा प्रमुख आधारहरु (मूल्यको श्रम–सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्ग–संघर्षको सिद्धान्त) सबैमा विज्ञान–प्रविधिले आमूल परिवर्तन ल्याएको छ । मानव श्रमलाई उत्पादन प्रक्रियाबाट विस्तापित गरेर मूल्यको श्रम सिद्धान्तमा परिविर्तन परिवर्तन आएको छ । प्रकृतिको असीम क्षमताको उपयोगबाट अतिरिक्त मूल्यको क्षेत्रमा पनि आमूल परिवर्तन भएको छ । अब अतिरिक्त मूल्यको प्राप्तिमा मानव श्रमको शोषण गर्न आवश्यक छैन । प्रकृति स्वयंमा अत्यधिक उत्पादनको क्षमता छ र मानव श्रम उत्पादनको क्षेत्रबाट विस्तापन भइसकेको छ । …विज्ञान–प्रविधि भनेको सम्पूर्ण मानव समाजको सम्पत्ति हो, सबैको साझा हो । यो कुनै निश्चित ठोस वस्तु होइन, जुन कसैले निजी स्वामित्वमा सीमित हुनसक्छ । यो त प्रक्रिया हो, सिद्धान्त हो, ज्ञान हो, जसलाई जोसुकैले अध्ययन गर्न, सिक्न, विकास गर्न र उपयोग गर्न सक्दछ । …. अब सम्पूर्ण मानज जातिको ऐतिहासिक जिम्मेवारी विज्ञान–प्रविधिको आधारमा वैज्ञानिक सम्यवादको निर्माण गर्नु हो । विज्ञान–प्रविधिको गम्भीर अध्ययन, चौतर्फी विकास र अत्यधिक उपयोग नै आगामी साम्यवादको आधार हुनेछ ।”

नेपालका आम कम्युनिष्ट नेताहरु कित सत्ताको लुछाचुँडीमा व्यस्तछन्, सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु अझै शास्त्रीय माक्र्सवादभित्रै क्रान्तिको पुराना विधिहरुबाटै जनवादी÷समाजवादी आन्दोलनका लक्ष्यमा पुग्ने असफल प्रयास गरिरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा अब समाजवादी आन्दोलनका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्दै आउनुभएको छ । तर उहाँले पनि नेपालको सन्दर्भमा समाजवादी आन्दोलनलाई कस्तो मोडलबाट संगठित गर्न सकिन्छ भन्ने विषयमा कुनै लिखित अवधारणा ल्याउनु भएको छैन । कम्युनिष्ट नामकै सरकारबाट प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत क्रान्तिको अवधारणासहित केही वर्षदेखि वैज्ञानिक समाजवाद स्थापनाका लागि भनेर संघर्ष गरिरहेको छ । तर त्यसले पनि क्रान्तिको नयाँ विधिको विकास गर्न सकेको छैन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पुँजीवादको चरित्र बदलिएको धारणा विभिन्न लेख र अन्तरवार्ताहरु राख्दै आएका छन् । उनले लखेका छन्ः

“अहिलेको पुँजीवाद डाटा पुँजीवाद हो । यो चरित्र बुझिएन भने पुरानो व्याख्या गरेर बनाइने योजनाले काम गर्दैन । पुरानो पुँजीवादको चरित्र बाटो बनाउने, रेल बनाउने, ठूला बिल्डिङ बनाउने थियो । हामी त्यही अल्मलिरहेका छौं । आज अमेरिका र चीनबीच कसले बढी सूचना संकलन गर्ने र को शक्तिशाली हुने प्रतिस्पर्धा भइरहेको छ ।”

तर नेता पाण्डेबाट पनि कुन मोडलबाट समाजवादी तथा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा भने कुनै अवधारणा आएको छैन । उहाँ माक्र्सवादको शास्त्रीय विधिबाट बदलिंदो वर्तमान विश्वमा समाजवादी आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने ठाउँमा भने पुग्न भएको देखिन्छ ।

समाजवादी क्रान्तिका लागि हामीलाई चाहिएको छ– समाजवादी अर्थतन्त्र कस्तो हुने ? समाजवादको स्वरुप के हुने ? क्रान्तिको विधि के हुने भन्नेबारे नयाँ दृष्टिकोण । कस्तो अर्थतन्त्र ? कस्तो स्वरुपको समाजवाद भन्ने विषयमा समाजवादी क्रान्तिको विधिका सम्बन्धमा वैज्ञानिक समाजवादी चिन्तक रमेश सुनावारको सैद्धान्तिक प्रस्तावना यस्तो छः

“वर्तमान भूमण्डलीकृत पुँजीवादको विरुद्ध बन्ने समाजवादी अर्थतन्त्र, विज्ञान–प्रविधिमा आधारित, एकीकृत र भूमण्डलीकृत हुनुपर्छ । …नयाँ समाजको स्वरुप विज्ञान–प्रविधिमा आधारित समाजवाद, सामाज नियन्त्रित समाजवाद र सामाजिक स्वामित्वमा आधारित समाजवाद हुनेछ । ..समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी शक्तिहरुले पुरानो समाजिक व्यवस्थाका विरुद्ध नयाँ सामाजिक व्यवस्था निर्माण गर्नुपर्छ ।”

सुनुवारले आफ्नो पुस्तक ‘समाजवादको यात्रा र माक्र्सवादको सिर्जनात्मक विकासमा नयाँ दृष्टिकोण’ मा सामाजवादी क्रान्तिबारे नयाँ प्रस्तावना अगाडि सार्नु भएको छ ।  सुनुवार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालपका  सदस्य पनि हुन् । यस पार्टीका संयोजक कमरेड आहुति छन् । यो पार्टीले विज्ञान-प्रविधिलाई मुख्य उत्पादक शक्ति भएको निष्कर्ष निकालेको छ । साथै, पुँजीपादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्था, पुँजीवादी अर्थप्रणालीको समानान्तरमा समाजवादी अर्थप्रणाली निर्माण शुरु गरेको छ । यो विश्व समाजवादी क्रान्तिको नयाँ प्रयोग हो । विगतका समाजवादी आन्दोलनको सम्पूर्ण योजना पुरानो राज्य सत्तालाई कब्जा गर्ने या ध्वंश गर्ने थियो, जसको परिणाम कम्युनिस्ट क्रान्तिले न पुरानो राज्यसत्ता कब्जा गर्न सक्यो न ध्वंश नै । आन्दोलनबाट पुरानै सत्तामा पुगेका कम्युनिस्ट पार्टीहरु पनि यति धेरै पतन भए कि पुनः त्यो क्रान्तिको बाटोमा फर्कनै सकेन । तसर्थ, कम्युनिस्टहरुले आफ्नै सत्ता निर्माण गर्ने बाटोमै हिड्नु पर्ने देखिन्छ ।

सम्पूर्ण समाजवादीहरुले समाजवादी क्रान्तिलाई अगाडि बढाउन वर्तमान विश्वमा विज्ञान र प्रविधिले सूचना र उत्पादनको क्षेत्रमा ल्याएको असाधारण क्रान्तिमाथि गहन अध्ययन, अनुसन्धान र त्यही अनुरुपकाे सामाजिक र सांगठानिक संरचना निर्माणमा अर्थात् वैज्ञानिक समाजवाद निर्माणमा जुट्न आवश्यक छ ।