November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा

मदन प्रभात

नाता मधेसको

२०७८ भाद्र ४

3.4K

कालो कालो कलेवरको
पसिनामा माटोको गन्ध आउने
तिम्रो आँखामा असभ्य अनाडी
म हुँ मधेस !

तिम्रो सभ्य र भव्य भाषा भन्न नजान्ने
तिम्रो निम्ति गँवार ‘गाउँले’
‘धोती’, ‘मदिसे’ र ‘मढ्स्या’
म हुँ मधेस !

ए, सिंहदरबार
यता नियाल
जंगे पिल्लरमा भैंसी बाँधेर
दशगजामा बाख्रा चराउँदै
सीमाको रखवारी गरिरहेछु म
र त,
चलेको छ तिम्रो शासन
पारीकाको बुट र लाठी खाएर
निहत्था म,
जोगाइरहेछु आफ्नो नेपाल
र त,
सानले बाँचेको छ तिम्रो राष्ट्रियता !

तिमी सँगै छ डाडुपन्यु
तिमी सँगै छ बम गोला बारुद
र त,
बाँढीरहेछौं सधै
विभेद, असमानता र आँशु हाम्रो भागमा
र त,
दागीरहेछौं सधै गोली हाम्रो छात्तिमा !

हो, हामीले माग्यौ, मागेकै हौं
आजित भएर तिम्रो कुशासनबाट
आफ्नो निम्ति आफ्नै शासन र सरकार
स्वाभिमानका साथ बाँच्ने आत्मीय अधिकार
तर तिमी दिन्छौं, दिइरहेछौं
देशद्रोहीको उपमा !
राज्य आतङ्कको उपहार !

ए सिंहदरबार !
कति फरक छ है तिम्रो र हाम्रो मृत्युमा !?
हामीले अधिकारको कुरा गर्दा
तिम्रो राष्ट्रियता दुख्छ
हामीले पहिचानको कुरा गर्दा
तिम्रो अखण्डता खण्डित हुन खोज्छ
हामीले स्वाभिमानको कुरा गर्दा
तिम्रो सद्भाव खल्बलीन्छ

ए सिंहदरबार !
अब प्रमाणित गर्ने बेला आएको छ
तिम्रो र मेरो नाताको
जाउ दरपीठ गर तिम्रो अदालतमा
र, छुट्याइदेउ
तिम्रो र मेरो नाता के ?
तिम्रो र मेरो सम्बन्ध कस्तो ?