November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा

घम्बर नेपाली 'राजेश'

नेपाली परिवारभित्र जातको विमर्श

२०७८ भाद्र ४

1.5K

हरेक मानिसको पहिलो पाठशाला परिवार हो । जहाँ व्यक्ति जन्मिन्छ, न्यानो मायामा लुट्पुटिदै हुर्कंदै जान्छ । खाने, बोल्ने, बामे सर्ने, ताते–ताते गर्दै हिंड्ने, सफा सुग्घर रहने, माया गर्ने, आदर–सम्मान गर्ने आदि कयौं जीवनोपयोगी ज्ञान र सीप व्यक्तिले परिवारमा नै सिकेको हुन्छ । बिस्तारै बढ्दै जाँदा राम्रा–नराम्रा, असल–खराब, प्रेम–घृणा गर्ने जस्ता धारणा, मान्यता तथा विचारसम्बन्धी कुराहरु पनि बालबालिकाले परिवारबाट सिक्दै जान्छन् । त्यसैले, एकथरी विद्वानहरु परिवारलाई जीवन पर्यन्त सिकाइको मूल जगको रुपमा व्याख्या गर्दछन् । द्वन्द्वात्मक भौतिकवादी व्याख्याता एंगेल्स (सन् १९०२) ले निजी सम्पत्तीको उत्पत्तीसंगै एउटा शोषणमूलक संस्थाको रुपमा परिवार अस्थीत्वमा आएको तर्क गरेका छन् । केही क्रान्तिकारी महिलावादीहरुले परिवार शोषणमूलक मात्र होइन, गैर–सामाजिक संस्था भएको पनि दावी गर्दछन् ।

सिंगो समाजमा राज्य एउटा वृहत संस्था हो भने परिवार त्यसको सुक्ष्म एकाइ । वृहत राजनीतिक प्रणालीमा आउने फेरबदलले परिवारलाई केही न केही प्रभाव पारेकै हुन्छ । त्यसको ठीक विपरित पारिवारिक संरचनाको असर पनि वृहत सामाजिक संरचनामा परिरहेको हुन्छ । विश्व सन्दर्भमा परिवारका विभिन्न आयाम’bout प्रशस्तै अध्ययन, अनुसन्धान र छलफल भएपनि हामीकहाँ यस’bout खासै चिन्तन र विमर्श भएको पाईंदैन । खासगरी, नेपालमा ठूल–ठूला राजनीतिक परिवर्तनहरु भइरहँदा किन हाम्रो परिवारमा बर्षौदेखि जमेर बसेको पितृसत्ता, जात–व्यवस्था, छाउपडी, बोक्सा–बोक्सी, धामीझाँक्री जस्ता पुरातन, अमानावीय र घृणित प्रथा, परम्परा र प्रणालीमाथि छलफल हुन सकिरहेको छैन ? राज्यभन्दा निकै बलियो अवस्थामा रहेको पारिवारिक संरचनामा यस्ता कुप्रथा र प्रणाली’bout बहस नभइकन के वृहत सामाजिक रुपान्तरण संभव होला त ? भन्ने मूलभूत प्रश्नको समाजशास्त्रीय हिसाबले यस आलेखमा संक्षिप्त बहस उठान गर्न खोजिएको छ

धार्मिक अन्धविश्वासमा परिवार
आजभन्दा पौने दुई सय वर्ष पहिले कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए । विश्वभरी जनसंख्याको भीमकाय हिस्सा आज पनि धार्मिक नशामा लठ्ठिएको छ । हिन्दू धार्मिक नशा अरुभन्दा अझ बढी खतरनाक र पाशविक किन छ भने यसले सिंगै जात–व्यवस्था, पितृसत्ता लगायत अन्धविश्वासका पहाडलाई काँधमा बोकेर हिंडिरहेको छ । अन्धविश्वास र पितृसत्ताको अभ्यास मुस्लिम, इसाईं, बौद्ध धर्ममा समेत प्रचलित भएपनि जात–व्यवस्थाको अभ्यास ती धर्ममा पाईंदैन । तर हिन्दू धर्मको अर्थ–राजनीति पूर्णतया उँचनीचपूर्ण वर्ण व्यवस्थाबाट निर्देशित र संरचित हुँदै आएको छ । यो हिन्दू धार्मिक सत्तालाई टिकाउने मात्र होइन, यसलाई मलजल गर्ने, फुलाउने र फलाउने काममा हिन्दू पारिवारिक संरचनाको अहं भूमिका रहेको छ ।

मैले बाग्लुङ्ग जिल्लामा गरेको एउटा अनुसन्धान (सन् २०१४) अनुसार जातपात र छूवाछूत मान्नुको मुख्य कारण अन्तर्गत कुलका देवी÷देवता रिसाउने र परिवारमा अनिष्ट हुनसक्ने अभिमत उत्तरदाताहरुको थियो । त्यसैकारण उनीहरु ‘तल्लो जात’का व्यक्तिहरुलाई घरमा प्रवेश गराउन, उनीहरुसँग विवाह गर्न तथा जन्मदेखि मृत्यू हुँदासम्मका संस्कारगत कार्यमा अलग गर्नुपर्ने बताएका थिए । मैले केही दलित समुदायका व्यक्तिलाई किन गैरदलितको घर प्रवेशमा रोक लगाइएको होला भनेर सोधेको थिएँ । उनीहरुको जवाफ थियो – “हामी माथिल्लो जातको घरमा प्रवेश गरे त रगत छादेर मरिन्छ, आफ्नै परिवारतिर अनिष्ट आइलाग्न सक्छ भनेर कहिल्यै त्यसतर्फ सोंच्दै सोचिएन ।” यस्ता अनगिन्ती त्रासदीपूर्ण मिथकहरुले घर गरेर बसेका छन् जात–व्यवस्थालाई टिकाउन ।

विद्यालय तहमा पढ्दै गर्दा गैर दलित साथीहरुले भन्थे– “जनैको मन्त्र अछूत जातलाई सुनायो भने बहुलाइन्छ रे नि !” उनीहरुको मनको अन्तरकुन्तरमा डरले राज गरिरहेको आभाष हुन्थ्यो । कहिलेकाहीं जनै फेर्दिने बाहुनलाई बाटोमा भेटिहाले झण्डै एक मिनेटसम्म उनीहरुले ढोगिदिएको देख्दा अचम्म लाग्थ्यो । कतै लामो यात्रा गर्दा कामीलाई देखेर साइत विग्रिएको भनेर सरापेको धेरै पटक सुनेको छु । ग्रहण लाग्दा सार्कीले छेकेको भनेर गाली गर्ने बाहुन–क्षेत्रीहरुलाई पनि भोगेको छु । “अछूतलाई दुध–घीउ दिए गाई भैंसी रुख चढ्छन्” भन्ने मान्यता पनि हिन्दू परिवारमा भेटिन्छन् । दलित समुदायलाई होच्याउने, घृणा गर्ने उखान टुक्का, गीत, अलंकारहरु निकै बनाइएका हुन्छन् । परिवारभित्र कसैले आफूभन्दा तल्लो जातसँग विवाह नगरोस भनेर ‘पानी खानु मुलको विहे गर्नु कुलको’ जस्ता भाष्यहरु परिवारभित्र अनवरत घोकाइराखिएको हुन्छ ।

एउटै आर्य मूलबाट पैदा भएका मानिसहरु आज पर्यन्त अछुतको श्रेणीमा अपमानित जीवन बाँच्न बाध्य छन् । यो अछुतपन हिन्दू परिवारिक संरचनाको निकै गहिराईसम्म नराम्ररी भेद्यिएर रहेको छ । जसको कुनै बैज्ञानिक र तार्किक कारण केही छैन । फगत अन्धविश्वास, भ्रम, मिथकबाट सिर्जित त्रासदीमा झाँगिरहेको छ । यसलाई टिकाउन धार्मिक सत्ताले सबै हत्कण्डाहरु पारिवारिक संस्थामार्फत लागू गराइरहेको छ । जसबाट कथित छुत जातभित्रका विशेषाधिकारी वर्गले निरन्तर फाइदा लिइरहेको छ । उनीहरुको सजातीय सत्तालाई अकण्टक राखिराख्न धार्मिक अन्धतामा रुमल्लिएको परिवार निकै मलिलो बारी बन्न पुगेको छ ।

जातसँग पराजित भूमण्डलीकरण
सारा पृथ्वी आज एउटा गाउँमा रुपान्तरण भएको छ । नेपालमा उत्पादन भएको आँप अमेरिकी उपभोक्ताले खान सजिलै खाना सक्छन् । जापानमा उत्पादन भएको गाडी हामी नेपालीले प्रयोग गर्न सक्छौं । सूचना प्रविधिको उच्चतम विकासले संसारका ज्ञान विज्ञान लगायत अधिक्तम चीजहरुमाथि हाम्रो सहज पहुँच हुन सम्भव भएको छ । भुमण्डलीकरणकै कारण लाखौं नेपालीहरु विश्व श्रम बजारमा जान सकेका छन् । अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न थुप्रै नेपालीहरु विश्वका विभिन्न विद्यालय तथा विश्वविद्यालयमा पुगेका छन् । भुमण्डलीकरणको चौतर्फी प्रहारबाट कयौं पुरातन संस्कृति, मूल्य–मान्यताहरु भत्किएका छन् । तर हिन्दू जात–व्यवस्था बीसको उन्नाइस हुन सकेको छैन ।

डा. मित्र परियारले बसाई–सराइ गरेर बेलायतमा बसोबास गर्ने गोर्खा सैनिकहरुको परिवारमा गरेको अध्ययन (सन् २०१६) ले उक्त स्थानमा दलित समुदायका गोर्खा सैनिकहरुले जातीय विभेद भोग्नपरेको नतिजा निकालेका छन् । विश्वको अब्बल प्रजातन्त्र भएको मानिने अमेरिका, अष्टे«लिया, बेलायत, नर्वेहरुमा पनि नेपाली परिवारसँगै जात–व्यवस्था संगसंगै पुगेको विभिन्न अध्ययन, समाचार तथा सामाजिक सञ्जालमा पढ्न पाइन्छ । जापानमा धेरै नेपालीहरु श्रम तथा व्यवसाय गर्न जाने भएकाले त्यहाँ जातीय विभेद निकै चरम अवस्थामै रहेको मैले भुक्तभोगीहरुसँग गरेकोे अन्तरवार्ताबाट प्रष्ट हुन्छ । मोटो रकम लिएर काम गर्न जापान बोलाउने र जातको कारण देखाएर कामबाट बेदखल गर्ने धेरै घटना जापानमा भइरहेका छन् । भारत आफै जात–व्यवस्थाको जन्मभूमि भएकाले त्यहाँको कथा बर्णन गरिसाध्य नै छैन । यसरी तिब्र गतिमा आइरहेको भुमण्डलीकरणको आँधीसँग पनि जात–व्यवस्था आफूलाई अनुकुलित गर्न सफल भएको छ ।

क्रान्तिकारीताको तिब्र विघटन
नेपाल प्रजा परिषदबाट शुरु भएको नेपाली क्रान्तिकारी आन्दोलन विभिन्न घुम्तीहरु पार गर्दै आजसम्म आइपुगेको हो । विपी कोइराला लगायतका परिवारले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई कम आँक्न सकिदैन । त्यस्तै पुष्पलाल श्रेष्ठ सहितका क्रान्तिकारी पंक्तिले नेपालमा कम्युनिष्ट पार्टी गठन गरी प्रगतिशील आन्दोलनको अगुवाई गरेको यथार्थ पनि घामझैं छर्लंग छ । यसबीचमा हजारौं दलहरु गठन र विघटन हुँदै सत्तामा पुगे । तर कुनै पनि दलले जात–व्यवस्थालाई उन्मूलन गर्ने सवाललाई केन्द्रीय मुद्दा बनाउन सकेका छैनन् । अन्धविश्वास र जातपात नमान्ने भनेर नेपालका कम्युनिष्टहरुले दलितका निम्ति विभिन्न ललिपप त बाँडे तर उनीहरुको प्राथामिक ऐजण्डामा दलित मुद्दा कहिल्यै दर्ज भएन । दलित मुक्तिको प्रश्नलाई जहिले पनि वर्गीय मुक्तिको मातहतमा राखिदिए ।

साढे दशवर्षे जनयुद्धमा दलितहरु मुक्ति या मृत्यूको कसम खाएर अग्रमोर्चामा लामवद्ध भए । जसले गर्दा दलित मुक्तिको मुद्दा जबर्जस्त स्थापित भयो । यो शसस्त्र अभियानले जात–व्यवस्थाको जरा हल्लाउन सफल भएको थियो । सदियौंदेखि पुरातन हिन्दू अन्धविश्वासमा अडेको नेपाली परिवारमा एउटा गतिलो धक्का दिएकै थियो जनयुद्धले । जसको परिणाम घर÷मन्दिर प्रवेश, सहभोज, अन्तरजातीय विवाह तथा सत्तामा विशेषाधिकारको वहसले स्थान पाएको थियो । जब माओवादी शान्ति प्रक्रिया हुँदै सत्तामा आइपुग्यो यी सबै उपलब्धीहरु मात्र विघटन भएनन् बरु माओवादी नै पूरातन धार्मिक मूल्य मान्यतालाई अंगाल्ने स्थितिसम्म पुगिराखेको छ । हिंजो क्रान्तिकारी आदर्शपुञ्ज मानिएका परिवारहरु आज साँस्कृतिक विचलनबाट ग्रसित भएर नराम्रोसँग गनाउने भइरहेका छन् । तत्कालिन मुख्य नेतृत्व अहिले ग्रह दशा कटाउनेदेखि तिर्थाटन गर्ने धर्माती नेतामा स्खलित भइसकेका छन् । फलतः उनीहरु अब प्रगतिशिलता, रुपान्तरण, वर्गसंघर्ष, जात–व्यवस्थाबाट मुक्ति जस्ता सवाललाई अनदेखा गर्ने अवस्थामा पुगेका छन् ।

परिवारभित्र जातको बहस किन ?
राज्यको तहबाट हेर्दा दलित मुक्तिको दिशामा केही महत्वपूर्ण कामहरु अवश्य भएका छन् । देश छुवाछूतमुक्त राष्ट्र घाषणा भइसकेको छ । छुवाछूत तथा भेदभावजन्य कार्यलाई गम्भिर सामाजिक अपराधको रुपमा दण्डनीय हुने संबैधानिक व्यवस्था गरिएको छ । कमजोर नै भएपनि दलितमत्री कानुनहरु बनेका छन् । भलै यी कानुनी तथा नीतिगत व्यवस्था लागू गर्ने संयन्त्रहरु बनाउन सरकारले आलटाल गर्दै आएको छ । यद्यपि परिवारको तहमा गएर हेर्दा जातीय हिंसा, दमन र भेदभाव न्यूनिकरण हुन नसकेको तथ्य पछिल्ला विभेदका घटनाहरुलाई सरसर्ती नियाल्दा प्रष्ट हुन्छ । नवराज विश्वकर्मा भएकै कारण छोरीसँग विवाह बर्जित गर्न छ जना युवाहरुको ठकुरी परिवारले कत्लेआम गरिदियो । अंगिरा पासी दलित परिवारकी बालिका भएकै कारण बलत्कार गरेर वडाध्यक्षकै संलग्नतामा जबजस्ती बलत्कारीलाई बिहे गराइ हत्या गरियो । दलित समुदायमाथि यस्ता हत्या, हिंसा, बलत्कार, भेदभावका श्रृंखला अझै बढ्दो क्रममा छन् ।

दलितमाथि भइरहेका यी तमाम बर्बरताको जरामा पुगेर समाधानका लागि बहस भने हुन सकिराखेको छैन । चरम धार्मिक अन्धविश्वासमा अडिएको हाम्रो पारिवारिक संस्था नै जात–व्यवस्था, पितृसत्ता, छाउपडी लगायतका क्रुर प्रथा प्रणालीलाई टिकाउने जड हो भनेर बुझ्न अब ढिलो भएन र ? नेपाली परिवारलाई विवेक, तर्क र विज्ञानमा आधारित भएर सोंच्न र व्यवहार गर्न उत्प्रेरित गराउने सरकारी र गैर सरकारी क्षेत्रबाट भएका प्रयास के–के हुन् ? के हाम्रो शिक्षा प्रणालीले २०११ सालबाटै दलितहरुले हिन्दूका आराध्यदेव पशुपति मन्दिर प्रवेश गर्दा केही अनिष्ट नहुने कुरा परिवारलाई सिकाउन सक्यो ? माओवादी द्वन्द्वकालमा दलित नेता कार्यकर्ता कयौं गैर दलितको घरमा बस्दा÷खानपिन गर्दा कसैको पनि कुल देवता नरिसाएको तथ्य हामीले परिवारलाई किन बुझाउन सकेनौ ? अन्तरजातीय विवाह गरेका थुप्रै सफल जोडी’ हाम्रो परिवारमा कति छलफल ग¥र्यौं ?

हजारौं वर्षदेखि अनेकौं अन्धता, भ्रम, मिथकहरु खात्तिएर निकै दुर्गन्धित भएको हाम्रो पारिवारिक संरचनामा गतिलो आँधी सिर्जना नगरी रुपान्तरण असंभव नै देखिन्छ । यस्तो हलचल पैदा गर्ने मुख्यतः ओटा मोडालिटी हाम्रा सामु छन् । पहिलो, जोन रावल (सन् २०१७) ले भनेजस्तो हाम्रा पारिवारिक संस्थाभित्र हुने बहस आमरुपमा स्वीकार्य हुन सत्यता र वैद्यता परिक्षण गर्न सकिने हुनुप¥यो । यस्तो बहसले परिवारलाई तथ्य, प्रमाण र विवेकका आधारमा पारिवारिक निर्णय लिन मद्दत पु¥याउँछ । दोस्रो क्रान्तिकारी शक्तिहरुले भन्ने गरेको धक्कापूर्ण परिवर्तनको बाटो हो । जुन हामीले माओवादी जनयुद्धकालमा केही हदसम्म परिक्षण ग¥र्यौं पनि । तुलनात्मक रुपमा केही जोखिमपूर्ण भएपनि सही योजना र नेतृत्वको सन्तुलन मिलेमा यो सिघ्र परिवर्तनको बाटो हो । दिनानुदिन थला पारिरहेको जात–व्यवस्थाको क्यान्सरलाई जुनकुनै बाटोबाट निदान गर्नुको विकल्प छैन । अन्यथा यो रोगलाई संक्रमित हुन दिने हो भने हाम्रो अस्थीत्वमाथि नै प्रहार गर्ने निश्चित छ ।