November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

के मा चुक्यो “जय भिम” ?

२०७८ कार्तिक २३

840

  • मनोज लोहार

रिलिज भएको पहिलो दिनमै टेलिग्रामबाट हेरेको थिएँ ‘जय भिम’ । त्यसपछि साथीहरूले फेसबुकतिर गरेका चर्चाहरू पढेँ ( अझै पनि आईरहेकै छ, IMDb पनि उच्च छ)। फिल्म चर्चा गरे जतिकै सानदार चै लागेको थिएन! यसको एक मात्र कारण थियो- तमिल सुपरस्टार सुर्याको स्टारडम देखाउदा फिल्म रियलस्टिक हुन चुक्नु ! एकजना आदिवासी समुदायको निमुखा व्यक्तिलाई हिरासतमै दिईएको यातनाले उसको मृत्यु हुन्छ । अपराधीलाई सजाय दिन अवश्य जस्टिस चन्द्रुको नायकत्त्व छ । तर त्यो न्यायिक नायकत्त्व हो, एउटा जर्जले न्याय दिन निभाएको नायकत्त्व हो । कुनै कर्पोरेट सिनेमाको स्टारडम जस्तो होईन ।

फिल्म रिलिज नहुँदै मेरो अनुमान थियो- भिमराव अम्बेडकरको जीवनकृत होला फिल्म । अनुमानभन्दा अलिक भिन्न फिल्म सत्य घटनामा आधारित रहेछ । फिल्म सत्य घटनामा आधारित छ तर कहि कतै ‘भिम’ नाम आउदैन । र पनि पुरै कथा/फिल्मलाई सम्बोधन गर्ने शीर्षक-‘जय भिम’ किन छानियो? भारतीय दलित आन्दोलनलाई सशक्त रूप दिने, दलित मुद्धालाई जबर्जस्तसँग उठाउने पात्र भिमराव अम्बेडकरलाई बिम्ब बनाएको हो । जुन सुन्दर पाटो हो । अम्बेडकर निर्भिक नेता त हुन नै साथसाथै उनी भारतीय संविधान निर्माता पनि हुन् । जस्टिस चन्द्रुलाई अरू कुनै नाममा निरूपण गर्न मिल्छ भने त्यो भिम नै हो ।

सत्य घटनामा आधारित भएर पनि फिल्म व्यक्ति-केन्द्रित मात्र छैन । भारतीय आदिवासी, दलित तथा अल्पसंख्यकमाथी हुने गरेको ज्याजति/शोषणको दृश्य, देशभित्रै देशले सताएको दृश्य धेरै हदसम्म उतार्न खोजिएको छ । सिमान्तकृत बर्गमाथी राज्य सयंन्त्रले गर्ने अत्याचारलाई पनि समेट्न खोजेको छ । जुन प्रशंसनीय पाटो हो । तर फिल्मले त्यो सत्य घटनालाई गहिरोसँग चिरफार गर्दैन ! एउटा निमुखा आदिवासी मारिएको थियो, जर्जको अथक प्रयासले हत्याराले सजाय पायो भन्ने सिम्पल भाष्य प्रस्तुत गर्छ । ‘हिरासतमै जो मारियो’ त्यसको जड कारण जातिय विभेद हो भनेर फिल्मले स्पष्ट भन्दैन, फिल्ममा त्यो बैचारिकी नै छैन । राजकन्नु पात्र जसले घरमा पसेको सर्प भगाएर एउटा परिवारलाई जोगाईदिन्छ । सर्प समात्ने क्रममा भुईँमा झरेको औंठीसम्म टिपेर दिन्छ । तर त्यहि परिवारले राजकन्नुलाई कुन मनोविज्ञानले निर्देशित भएर चोर करार गर्छ, अपराधको प्रमाणविना नै उसको गर्भवती श्रीमती र उसको परिवारलाई पुलिसले कुन मनोविज्ञानबाट निर्देशित भएर चरम यातना दिन्छ र हिरासतमै राजकन्नुको मृत्यु हुन्छ भन्ने कुरा फिल्म हेर्दै गर्दा जातिय विभेद हो भन्ने महसुस हुन्छ । तर यस पाटोलाई अझ सशक्त ढङ्गले देखाउन फिल्म चुकेको छ ।

बिबिसी हिन्दी संस्करणले ‘जय भिम’बारे लेख्ने क्रममा एक ठाँउमा लेखेको छ-राजकन्नु र सेंगइ दम्पति जुन आदिवासी समुदायका हुन् । त्यो जातलाई केही समय अघि ‘अपराधी जातिय समूह’ भनेर सुचिकृत गरिएको थियो । फिल्ममा यो तथ्य छुटेको छ, यस्ता तथ्य छुट्न पनि सक्छ । तर बिना प्रमाण चोरीको दोष, पुलिस हिरासतमा हुने चरम यातना, तिनको परिवारलाई गरिने अमानवीय व्यवहारको अन्तर्य जातिवाद हो भन्न छुटाउनु ठूलो त्रुटि हो ।

फिल्म हेरिरहदाँ/सक्किदा सम्म चै केही कुराले फिल्मलाई अझ रियलिस्टिक हुनबाट रोक्यो झैँ लागेको थियो । जस्तो फिल्ममा देखाईएको आदिवासी बस्ती ‘बस्ती’ हैन फिल्म सुटिङ्गको लागि चिरिच्याट्ट पारेर राखेको ‘सुटिङ्गस्पट’ जस्तो लाग्छ, राजकन्नुको फुसको जिर्ण घर र उसको पत्नीको ड्रेसअपको तादम्यता नमिल्दो छ, भारतीय अदालत त्यति नै सफासुग्घर हुने हो कि एचडी क्वालिटीको मोह हो चै यसै भन्न सकिएन । अर्को मैले शुरूमै भनेको कुरा- प्रमुख भूमिका ‘जस्टिस चन्द्रु’मा ‘सुर्या’ जस्तो स्टारडम अभिनेता राख्दा हिरोईज्मको लागि अनावश्यक सिनहरू उतारिएको छ । फिल्मको सत्य कथामा जस्टिस चन्द्रुको भूमिका नायककै छ । तर त्यो न्यायिक योद्धाको नायकत्त्व हो । फिल्ममा कुनै कर्पोरेट सिनेमाको नायक झैँ उतारिएको छ । फिल्ममा एकजना मनोरञ्जक जस्टिस पात्र राख्नु झन बेक्कारको पाटो हो । सेंगईले आफ्नो पतिको लागि न्यायिक लडाई थालेको र त्यसमा जस्टिस चन्द्रुले साथ दिएको यसै पनि बुझ्न सकिन्छ । तर फिल्मले तमिल सुपरस्टार सुर्याको स्टारडम देखाउने कसरतमा यो पाटोप्रति नजरअन्दाज गरेको छ । राजकन्नुको पत्नी सेंगई सिर्फ चन्द्रुले दिएको न्यायप्रति ऋणी देखाईएको छ । जुन सत्य होइन । गर्भवती सेंगईले पति खोज्न लडेको लडाईं नजरअन्दाज गर्नु पर्ने पाटो होइन ।

फिल्म हेरेपछि कमजोर लागेका पाटा यिनै थिए । फिल्ममा कमजोरी छ र पनि फिल्म राम्रो बनेको छ, हेर्नलायक छ यसमा दुईमत भएन । भारतीय समाज बुझ्न यसले सहयोग नै गर्नेछ…