November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा

स्वनाम साथी

स्वनाम साथीकाे नजरमा रूपचन्द्र विष्ट

अनि रुपचन्द्र विष्ट आफ्नै श्राद्ध गर्न देवघाट जानु भयो

२०७८ मंसिर १७

900

लगभग २०२५ साल तिरको कुरा हो । रुपचन्द्र विष्ट मेरो दाई ज्ञानेन्द्र प्रसाद शेरचनको साथी हुनुहुन्थ्यो । हामी त्यसबेला कमलाक्षीमा बस्थ्यौं । रुप्चन हाम्रो डेरामा आउनु भयो । उहाँसँग पहिलो भेट त्यहीँ भयो । त्यसबेला हामीले पारिवारिक तथा सम्पतिजन्य सम्बन्धबाट आफूलाई विच्छेद गराउँदै लगिरहेका थियौं ।

त्यसबेला हामी विद्यार्थी जीवन गुजारीरहेका थियौं । हामीसँग आल्मुनियमको देक्ची थियो । त्यसको बिटहरु सबै दोब्रिएको थियो । हामीसँग त्यो बनाउने फुर्सद पनि थिएन । आफैँले बनाउने तागत पनि थिएन । रुप्चन बिहान आउनु भयो । म चाँही खाना खाएर बाहिर निस्किएको थिएँ । बेलुकी आउँदा देक्चीको बिट सबै सिधा भएको थियो । मलाई अचम्म लाग्यो । के भएको हो ? कसले गरेको भनेर दाईलाई सोधेँ । दाईले भन्नु भयो, ‘रुप्चन पहलमान पनि हो । उसैले हातैले सिधा गरिदियो ।’

ग्राजुयट कन्स्च्युसनको चुनाव भयो । त्यो चुनावमा निर्मल लामा, रुप्चनजी लगायत पनि उठ्नु भयो । त्यसबेला उहाँले सानो पर्चामा एउटा कविता लेख्नु भएको थियो । त्यो अहिले पनि मलाई सम्झना छ ।

ज्योति वेगी यानमा
हिँडे पनि हिँडि मात्र रहेको
हिँड्न त सबै आफ्नो चिहानतिर हो
यस्तैमा केही गर्न सके
त्यो चाँही जीवन हो

यो कविता मलाई घत पर्यो । त्यसबेला उहाँ नेपाल कम्युनिस्ट पार्टीको मजदुरको फाँट हेर्ने काम गर्नु हुन्थ्यो । बाईरोडमा ट्रकहरु चल्थ्यो । त्यहाँ उहाँहरुले संगठन बनाउनु भएको थियो । हेटौंडाको फ्याक्ट्रीहरुमा पनि उहाँले मजदुरहरुलाई संगठित गराउनु भएको थियो ।

उहाँ त्यसबेलादेखि नै हक्की स्वभावको हुनुहुन्थ्यो । कुरा सिधासिधा गर्ने, खरो कुरा गर्नुहुन्थ्यो । पछि म मेरो काममा लागेँ । उहाँसँग धेरै भेट हुन पाएन । वर्गीय दुनियाँबाट निवर्णिय दुनियाँमा जाने, तेरो मेरोको दुनियाँबाट हाम्रो दुनियाँमा जाने बाटोमा म लागेँ र उहाँ पनि यही दृष्टि राख्ने हुनाले उहाँसँग पछि पनि भेट भइरह्यो ।

उहाँ सँधै छाप्रेको राजनीति भन्नु भयो । जुन चिजले छाप्रोको हित हुन्छ त्यसको लागि राजनीति गर्ने भन्नुहुन्थ्यो । झर्रो भाषामा नेपाली श्रमजिवीको लागि राजनीति गर्ने भन्नु हुन्थ्यो । त्यो मान्यता उहाँले जीवनभरी कायम राख्नु भयो । चाहे सांसद भएको बेलामा किन नहोस् ।

उहाँ आफ्नै ढंगको मान्छे हुनुहुन्थ्यो । मान्छेलाई सोच्न बाध्य गराउनु हुन्थ्यो उहाँ । मान्छेलाई झल्यास्स ब्युँझाउन उहाँले उपाय निकाल्नु हुन्थ्यो । उहाँको सबैभन्दा ठूलो खुबी त्यही थियो । उहाँले विभिन्न पदावली प्रयोग गर्नु भयो । त्यो सबै मानिसलाई ब्युझाउन उहाँले प्रयोग गर्नु भएको थियो । पतिब्रत्ता महिलालाई उहाँले ‘तँ रन्डी होस्’ ‘तँ बेश्या होस्’ भन्नु भयो । त्यसपछि ती महिलाले प्रतिवाद गर्नु प¥यो । कि रुनु प¥यो । अब केही त गर्नु प¥यो । महिला आफू त्यस्तो होइन । तर, किन रुप्चनले त्यसो भने ? अब ती महिलाले सोच्नुप¥यो नी । ‘कुकुर’ भन्नु हुन्थ्यो । ‘भाते’ भन्नु हुन्थ्यो । कुकुर र भाते भनेपछि अब केही त भन्नुप¥यो । केही त प्रतिकृया जनाउनुप¥यो । मान्छेलाई व्युँझाउन, जगाउन उहाँले यी उपायहरु अपनाउनु भएको थियो ।

उहाँ खेतको पाटामा साँढेसँग जुध्न जानु हुन्थ्यो । साँढेको सिङ समाएर जुध्नु थाल्नुहुन्थ्यो । उहाँ शारिरिक रुपमा रिस्टपुष्ट हुनुहुन्थ्यो । पहलवान नै हुनुहुन्थ्यो । दिमागी मात्रै होइन शारिरिक रुपमै रेस्लर हुनुहुन्थ्यो । त्यो पनि मान्छेलाई ब्युँझाउन उहाँले गर्नु भएको प्रयोग थियो । किनकी सामान्य मान्छे साढेँसँग जुध्नै जाँदैन ।

०४६ भन्दा अगाडि उहाँसँग धेरै भेट हुन पाएन । किनकी म राजनैतिक काममा व्यस्त थिएँ । उहाँ पनि व्यस्त हुनुहुन्थ्यो । त्यो बिचमा कम्युनिस्ट पार्टीहरु टुटफुटमा विभाजित भइरह्यो । हामी एउटै कमिटीमा बसेर काम गर्न पाएनौं । २०२१÷२२ साल पछि दरभंगा प्लेनममा जब कम्युनिस्टहरु एकजुट हुन सकेनन् त्यसपछि उहाँ स्वतन्त्र रहनुभयो । कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयता जस्ता विधिप्रति मतभेद थियो ।

म उहाँलाई रुदाने भन्थेँ । उहाँलाई रुदाने भनेर बोलाएको मन पथ्र्यो । कहिले काँही दाइ पनि भन्थेँ । २०४६ सालपछि उहाँसँग बाक्लो भेटघाट हुन थाल्यो । भेटमा उहाँले भन्नुहुन्थ्यो, ‘साम्यवादी व्यवस्था भनेको कर्मचारीतन्त्र, सेना प्रहरीलाई प्रयोग गरेर आउँछ र ? संगठन भनेको के हो ? किन संगठन बनाउने ? संगठन भनेको निश्चित कामको स्वयमको इच्छाले बनाउने हो । संगठित भएर त्यो काम सकाउने हो । संगठित हुनेलाई नियम थाहा छैन, विधि पनि थाहा छैन । लौ यो काम गर्नुप¥यो भनेर त्यतिकै हिँडाएको छ । यस्तो संगठनले दास र मालिक मात्रै सिर्जना गर्छ । सारा संगठन मान्छेको बन्धन हो ।’ संगठन स्वइच्छाले स्वसंगठित हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । बहुदलपछि विभिन्न कम्युनिस्ट पार्टीहरु एकता भए । तर, उहाँ एकतामा आउन मान्नु भएन ।

उहाँ माक्र्सवादी नै हुनुहुन्थ्यो, तर, अरुभन्दा धेरै भिन्न माक्र्सवादी । जनवादी केन्द्रीयताको नियम उहाँले मान्नु भएन । बहुमतको कुरा अल्पमतले मान्नु दासत्व हो भन्नुहुन्थ्यो । उहाँ कमारोपनको विरोधी मान्छे । दास र दास मालिकको विरोधी मान्छे । खटनपटन अराइपराइको विरोधी मान्छे । उहाँ स्पष्ट रुपमा कम्युनिस्ट हुनुहुन्थ्यो । तर, निवर्गीय मान्छे वर्गीय दुनियाँमा कसरी अगाडि बढ्ने ? यो जटिल समस्यालाई उहाँले मतलब नै राख्नु भएन । कम्युनिस्टको पार्टी हुँदैन, कम्युन हुन्छ । पार्टी वर्गहरुको हुन्छ । उहाँ कम्युनको पक्षपाती हुनुहुन्थ्यो ।

उहाँले निर्दल भनेको निर्दयीहरुको व्यवस्था भन्नुहुन्थ्यो । उहाँको ठेट भाषामा भन्दा मन्डले व्यवस्था भन्नुहुन्थ्यो । मण्डले भन्ने पदावलीको ‘क्वाइन’ गर्ने मूल मान्छे रुप्चन नै हो । पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको सदस्य हुँदा उहाँलाई धेरैपटक पक्राउ गरेर जेल हालियो । बोलेकै कसुरुमा । उहाँलाई जेलमा राखिए पनि चुप लागेर बस्नु भएन । हरेक बेतिथि र कुकर्मको भण्डाफोर गरिरहनु भयो । उहाँको भनाइ नै थियो,‘जनताबाट लिएर संसदमा पु¥याउँछु । संसदबाट लिएर जनतामा पु¥याउँछु ।’ जनतामा जाँदा अरु नेताहरुले जस्तो माइकिङ गर्दै, ‘आउनुहोस्, विराट जनसभामा सहभागी हुनुहोस्, रुपचन्द्र विष्टको भाषण सुन्नुहोस्’ कहिल्यै भन्नु भएन । फलानो ठाउँमा सभा छ, रुप्चन पनि आउँछ रे भन्ने थाहा पाउने वित्तिकै जनता उर्लिन्थे । ‘तिमीहरु नोकर हौ, मैले आउ भन्दा आउने, नआउ भन्दा नआउने ? मन लागे आउ, मन नलागे नआउ ।’ जनतालाई भनाई यत्ति हुन्थ्यो उहाँको । सभाको सभापति कुनै पूर्वनिर्धारित हुँदैन थियो । सभामा भेटिएको बुढाबुढी, केटाकेटी जो सुकै होस् सभापति राखिदिनुहुन्थ्यो । कसकसले बोल्ने हो भटाभट बोल्थे । के को सम्बोधन ! सभामा कसकसले के के भने सबै टिप्नुहुन्थ्यो । अनि संसदमा गएर त्यही कुरा राख्नु हुन्थ्यो ।

रूपचन्द्र विष्ट

उहाँ आफूलाई जनताको जुत्ता सम्झिनुहुन्थ्यो । जनताले आफूलाई लगाएर हिँडुन्, ताकी समाजको काँडाले जनतालाई नघोचोस् । ‘म तिम्रो जुत्ता हुन्छ, मलाई लगाएर हिँड’ भन्ने कविता नै लेख्नु भएको थियो । तर, सामन्ती, शोषक र जनताको दुश्मनलाई बाँकी राख्नु हुन्नथ्यो । ठूलो घरमा बस्ने धनीलाई भन्नुहुन्थ्यो, ‘तँ आफ्नै चिहान घरमा बस्या छस् । तँ मर्ने यहीँ त होला नि ।’

मानिसको जिब्रोको तीनवटा काम हुन्छ । पहिलो, खाने कुरा निल्ने । दोस्रो, खानेकुराको स्वाद लिने । तेस्रो, फट्कालेर बोल्ने । अहिले मानिसको जिब्रोले दुईवटा मात्रै काम गरिरहेको छ । तेस्रो काम गरिरहेको छैन । मानिसहरु डराइरहेका छन् । त्यतिबेला उहाँले केही पनि नसहेर व्यवस्था र बेतिथिको विरुद्ध निरन्तर बोलिरहनु भयो ।

हाम्रो सम्बोधनमा हजुर दुई किसिमले भनिन्छ । एउटा ठूलाबढालाई हजुर भनिन्छ । अर्को प्रेमिकाले प्रेमीलाई हजुर भनिन्छ । जस्तै ज्यानमाया हजुर । तँ पनि दुई किसिमले प्रयोग गरिन्छ । सबैभन्दा घनिष्टलाई तँ प्रयोग गरिन्छ । त्यसपछि सबैभन्दा परकोलाई तँ प्रयोग गरिन्छ । रुप्चनको तँ घनिष्टताको तँ थियो । प्रेमको तँ थियो । रुप्चन प्रेमी मान्छे हो । घृणाको तँ होइन । उहाँ शासन, शोषण, अन्याय, अत्याचार, मानिसको स्वतन्त्रपूर्ण जिउने अधिकार खोज्नेलाई घृणाले तँ भन्नुहुन्यो ।

जीवनमा उत्तरार्धतिर उहाँको स्वास्थ्य निकै खराब भयो । उहाँको विचारलाई व्यवहारमा उतार्ने उत्तराधिकारी पनि कोही भएन । अहिले जो साथीहरु आफूलाई रुदानेको उत्तराधिकारी सम्झिनुहुन्छ उहाँहरु रुदानेको एकछेउ पनि आउनुहुन्न ।

०००

उहाँको पारिवारिक सम्बन्ध पछिल्लो कालमा सुमधुर भएन । उहाँ एक्लै बस्नुहुन्थ्यो । उहाँको जहान चावहिलमा बस्नु हुन्थ्यो । उहाँहरुको केमेस्ट्री मिलेन । रुप्चनको केही मुल्यमान्यतामा उहाँको जहान सहमत हुन सक्नु भएन । जहानको मूल्य मान्यतामा रुप्चन सहमत हुनु भएन । अरु कुरामा ठिकै थियो । केही कुरामा मिल्ती नभएपछि उहाँहरु छुट्टिनु भयो । रुदाने विहे संस्थाको जबरजस्ती पक्षपाति पनि हुनुहुन्थेन ।

पछि उहाँले कालिमाटीमा घर बनाउनु भयो । तर, घरमा कहिल्यै बस्नु भएन । घर बाहिर जस्ताको टहरा बनाएर बस्नु हुन्थ्यो । त्यो टहरामा एउटा सुकुल थियो । सुकुल माथि डसना थियो । नजिकै खाना पकाएर खानुहुन्थ्यो, त्यही बस्नुहुन्थ्यो । अरुले छानेर फालेको तरकारी लिएर आउनुहुन्थ्यो । त्यही पकाएर खानुहुन्थ्यो । विष हालेको तरकारी सग्लो हुन्छ र नहालेको तरकारी किराले अलिअलि खाएको हुन्छ भन्ने उहाँलाई त्यतिबेलै थाहा रहेछ । एकदिन मलाई चाबी दिनु भयो । ढोका खोलेर भित्र पसेँ । घर भित्र धुलो एक सेन्टीमिटर जति बाक्लो थियो ।

केही समयपछि म यहाँको घर पुग्दा देखेँ, टहराको पछाडि कवाडीको सामानहरुको डंगुर । फलामहरु अलि धेरै थिए । पुरानो स्कुटर र गाडीका पाटपुर्जाहरु देखेँ । अहिले सम्झन्छु, उहाँ पर्यावरणबारे सचेत हुँनुहुँदोरहेछ । त्यो कवाडीका सामानहरु पुर्नप्रयोग गर्न ल्याउनु भएको रहेछ । संसारमा जनसंख्या बढ्दैछ । पृथ्वीमा अब सामानहरु सिमित छन् । पृथ्वीको आधा स्रोत साधन हामीले सिध्याइरहेका छौं । एकपटक उत्पादन भइसकेको फलाम, तामा जस्ता धातु सहित उत्पादन भएका सामानलाई एकपटक प्रयोग गरेर फाल्नुहुन्न । त्यसको पुर्नप्रयोग गर्नुपर्छ । यो कुरा उहाँलाई थाहा थियो । त्यही भएर उहाँले त्यो कवाडीका सामानहरु ल्याउनु भएको रहेछ ।

उहाँको एउटा स्कुटर थियो । स्कुटरको अगाडि पछाडि ‘थाहा’ लेख्नुभएको थियो । सिट फाटेको थियो । सिट नफेरेर बोराले टाल्नु भएको थियो । उहाँ प्रायः त्यही चढेर हिँड्नु हुन्थ्यो । मलाई स्कुटर लैजाउ भन्नु भएको थियो । स्कुटर चढ्ने मेरो बुता थिएन । मैले लिइनँ । त्यो स्कुटर अहिले पनि छ कि ।

०००
एकाएक रुप्चन हराउनु भयो । कुरा के सुनियो भने, उहाँ आफ्नै श्राद्ध गर्न एकजना साथी लिएर देउघाटमा जानु भयो । ‘म नुहाएर आउँछु, त्यसपछि मेरो श्राद्ध गर्नु’ भनेर उहाँ कालीगन्डकीमा डुब्नु भयो । त्यसपछि बेपत्ता । बाहिर निस्कनु भएन । त्यो श्राद्ध गर्न जानेले सुनाए, ‘लौ रुप्चन काली गन्डकीमा डुबेर बेपत्ता भयो ।’ कसैले डुबेर मर्यो भने । कसैले कतै देखेको भने । त्यसपछि उहाँ ६ वर्ष हराउनु भयो ।

६ वर्षपछि उहाँ फर्केर आउनु भयो । कहाँ जानु भएको थियो ठ्याक्कै थाहा भएन । त्यसपछि उहाँ अलि फरक भएर आउनु भयो । पूर्वीय दर्शनका कुराहरु गर्न थाल्नु भयो । पहिला पनि गर्नुहुन्थ्यो बेलाबेलामा । त्यसपछि ध्यान सिकाउनु भयो । दिनभरी आकाश हेरेर बसेको देखेर मान्छेहरुलाई बहुला पनि भने । तर, उहाँ दृष्टिध्यान गरेर बस्नु भएको थियो । मन उथलपुथल हुने मान्छे हो उहाँ । नेपालमा ध्यानयोग सिकाउने कम्युनिस्टहरुमा रुप्चन नै हुनुहुन्यो । मैले पनि उहाँबाट केही सिकेँ ।

स्वनाम साथी

उहाँको स्वास्थ कमजोर हुँदै गयो । दम बढ्यो उहाँलाई । मिर्गौला फेल भयो । त्यसबेला डाइलेसिस गर्ने चलन थिएन । उहाँको हेरचाह गर्ने पनि कोही भएन । नीजि अस्पतालमा जान चाहानु भएन । वीर अस्पताल लग्यौं । त्यही बित्नु भयो ।

उहाँ बितेपछि त्यहाँ विवाद भयो । कसैले भने, ‘उहाँलाई खुला मञ्चमा लगेर राख्ने ।’ कसैले भने, ‘त्यहीँ राखेर दुई दिनपछि मात्रै घाटमा लैजाने ।’ जसलाई जिउँदो हुँदा न सरकारले हेर्यो, नर आफ्नै साथीहरुले हेरचाह गरे, मरेपछि किन खुला मञ्चमा लैजाने ? यो त लास मात्रै हो, रुप्चन होइन । यो लास जिवित थियो र पो रुप्चन भएको थियो । यो लासलाई सम्मान केही पनि चाहिँदैन । यतिकै छाड्यो भने नगरपालिकाले लैजान्छ । मेडिकल विद्यार्थीहरुको लागि अस्पताललाई दिन सकिन्छ । होइन भने दाह संस्कार गरिदिनुपर्छ भन्ने कुरा भयो । त्यसपछि हामीले आर्यघाट लगेनौं । आर्यघाट भिआइपी पोल्ने ठाउँ हो । दुःखी, गरिबको नेतालाई हामीले भिआइजी पोल्ने ठाउँमा पोलेनौं । माथि भस्मेश्वर डाँडामा लग्यौं ।

भस्मेश्वरमा पुगेपछि कसले दिने दागबत्ती भन्दै फेरि झगडा भयो । कसैले बाहुन बोलाउने भन्न थाले । जो मान्छे ईश्वर मान्थेन, उनलाई किन बाहुन बोलाउनु पर्यो भन्ने बहस भयो । त्यसपछि सबैजनाले मलाई अघि सारे । मेरो अगुवाईमा सबै साथीहरु मिलेर उहाँलाई दागबत्ती दियौं । स्वनामले मात्रै दागबत्ती दिएको होइन । रुप्चन जल्दाजल्दै म त्यहाँबाट हिँडे । किनकी रुप्चन त्यहाँ छैन नी ।

०००
अहिले म रुप्चनलाई सम्झिन्न । किनभने रुप्चन कतै अन्त भए पो सम्झिरहनु । रुप्चन मैसँग मेरो दिमाग छ । जसले विर्सिएको हुन्छ, उसले पो सम्झिरहनुपर्छ । जसले बिर्सिएकै छैन, उसले किन सम्झिरहनु ?

(२०७६ असारमा स्वनाम साथीसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)