November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रचण्ड दस्तावेजको शल्यक्रिया

२०७८ पुष १६

1.5K

जागृत रायमाझी

नेकपा (माओवादी–केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनमा ४५ पृष्ठ लामो ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शिर्षकको दस्तावेज प्रस्तुत गरेर प्रचण्डले आफु र आफु अध्यक्ष भएको पार्टी नेकपा (माओवादी–केन्द्र)ले अझै विगतमा झै क्रान्तिकारी विचार नै बोकेको भ्रम छर्न भरमग्दुर प्रयत्न गरेका छन् । के प्रचण्डले प्रस्तुत गरेको दस्तावेजले २१ औं शताव्दीमा नेपाली क्रान्तिको समाजवादी वाटो देखाएको छ त ? प्रस्तुत छ प्रचण्ड दस्तावेजको संक्षिप्त शल्यक्रिया:

बताईरहन जरुरी नै छैन कि एमालेसँगको एकतासँगै माओवादी केन्द्रको मुल हिस्सा दक्षिणपन्थी संसोधनवादमा पतनभैसकेको थियो । प्रचण्ड आफ्नो दस्तावेजमा एमालेसँगको एकता कम्युनिष्ट क्रान्तिकारी एकता थियो भन्न किन पछि पर्थे र ! अझ दश पाइला अघि सरेर त्यो एकताले समाजवादसम्म जाने बाटो छोट्याउथ्यो भन्छन । र अझै एमालेसँगको एकताको उत्कट अभिलाषाको मसी आफ्नो दस्तावेजमा पोख्छन । यतिको सफेद झुट कुन क्रान्तिकारी शब्दबुट्टाले सत्य होला र ?

कम्युनिस्ट आन्दोलनको दुर्दशा सामन्ती राजामहाराजाहरुलाई पनि उछिनेर म नै राज्य हुँ, म बिना पनि देश र दुँनिया चल्छ र जस्तो गरि आजिवन नेतृत्वबाट बाहिरिन नसक्नु हो । त्यसबाट न स्टालिन न माओ, न क्यास्त्रो नै अछुतो रहन सके । पूँजीवादीहरुले बरु आवधिक, सामुहिक र चक्रीय नेतृत्वप्रणाली लागू गरिसके । समाजवादीहरुले त समुदायलाई नेतृत्व बनाउने हो । समुदायको नेतृत्वमा समाज चलाउने हो । तर, आफ्नो तथास्तु बिना पार्टी चल्नै सक्दैन जस्तो बिचारको केन्द्रीकरण र नेतृत्वको केन्द्रीकरणको गीत बज्दा प्रचण्ड झनझन गदगद हुन्छन ।

माओवादी नेतृत्वको मुल हिस्सा आफै दलाल पूँजिपती वर्गमा बद्लिसकेकोले प्रचण्ड आफ्नो दस्तावेजमा कुनै वर्ग विश्लेषण गर्दैनन, प्रधान दुस्मन किटान गर्दैनन । काँग्रेस र एमाले मध्ये एउटाको कान्छी औंला नसमाती आफ्नो संसदीय राजनीतिको एकपाईला सार्न कठिन भएको र वर्ग पनि एउटै भएकोले उनी जुनसुकै एकतालाई पनि बस्तुवादी र क्रान्तिकारी भनिदिन्छन । वर्ग बिश्लेषण र वर्गसंघर्ष बिनाको प्रचण्डको समाजवादको नेपाली बाटो पत्याईरहने कार्यकर्ताहरुको पंक्तिलाई कुन शब्दले सम्बोधन गर्ने होला ?

लेनिनको समयको साम्राज्यवाद भुमण्डलिकृत पूँजीवादमा परिणत भैसक्यो । यसको मुख्य कारण लेनिनको समयको पूँजिवादको उत्पादक शक्ति पूँजी बदलिएर विज्ञानप्रविधी हुनु हो । र, सिङ्गै उत्पादनप्रणालीको मुख्य जिम्मा विज्ञानप्रविधीले लिएको कारण उत्पादनबाट मानव श्रम विस्थापन हुनु हो । प्रचण्ड मात्रै होइन सिङ्गो नेपालको कम्युनिष्ट आन्दोलन नै उत्पादक शक्ति के हो र सामाजिक व्यवस्था बदल्न उत्पादक शक्ती बदलिनुपर्छ भन्ने मार्क्सवादको गुदी विषयबाट बेखवर छ । अझ दोश्रो विश्वयुद्धपछी नै उत्पादक शक्तिकोरुपमा आइसकेको विज्ञानप्रविधीको अत्तोपत्तो छैन । बरु कैयौं पूँजिवादी अर्थशास्त्री र अध्येताहरुले बिज्ञानप्रविधी उत्पादक शक्ति भैसकेको जिकिर गरिरहेको पाँच दशकभन्दा बढी भैसक्यो । तर, मार्क्सवादीहरु र आफूलाई मार्क्सवादी हुँ भन्नेहरु भने मार्क्स र लेनिनकै दस्तावेजमा आजको समयको उत्पादक शक्ति र उत्पादन सम्बन्धको विश्लेषण पावरवाला चश्मा लगाएर हेरिरहेकाछन । त्यसैको धङ्धङीले प्रचण्ड आफ्नो दस्ताबेजमा उत्पादक शक्तिको सार नै पक्रन सक्दैनन । अनि उत्पादनका सहायक साधनहरुलाई उत्पादक शक्तिको विकास भएको तर्क तेर्स्याउछन । र, आजको पूँजीबादले मजदुरलाई विस्थापन गर्न उत्पादनमा लगानी नगरेर शेयरबजारमा लगानी गरेको हास्यास्पद तर्क पेश गर्छन । जबकी लेनिनको जमानाको औद्योगिक पूँजीबादको उत्पादक शक्ति मजदुर अर्थात मानव श्रम, पूँजी र मेशिन अर्थात प्रबिधीलाई समेत बिस्थापन गरेर विज्ञानप्रबिधीले उत्पादनको मुल मोर्चा सम्हालिसक्यो । जसको परिणाम मानव श्रम नै उत्पादनप्रणालीको मुख्य जिम्मेवारीबाट सहायक जिम्मेवारीमा परिणत भैसक्यो । प्रचण्ड नेपाली मौलिक समाजवादको बाटो भनेर भुमण्डलीकृत पूँजिवादबाट फेरि औद्योगिक पूँजीवादतिर फर्कने उल्टो कर्मलाई समाजवादको हवाला दिन्छन ।

समाजवादको मुख्य विशेषतामध्ये एक निजि स्वामित्वको अन्त्य हो । निजि स्वामित्वको अन्त्य हिजोको जस्तो राष्ट्रियकरणबाट सम्भव छैन । अन्ततः राष्ट्रियकरण पनि निजिकरणकै अर्को पाटो बन्न पुग्यो र पुग्दछ । निजिकरणको अन्त्य सामुदायिकरणबाट मात्र सम्भव हुन्छ । त्यसको लागि समुदायले उत्पादन प्रणालीको जिम्मा लिने र समुदायले नै आफ्नो उत्पादनको स्वामित्व लिने हुन्छ । प्रचण्ड पार्टीको मुल नेतृत्वको निजी सम्पत्ति र स्वामित्वमोहबारे चर्चा गर्दैनन । तर, कार्यकर्ताको मुख मिठा गर्न निजि स्वामित्व अन्त्यको शब्द खर्च गर्छन । एक त दलाल पूँजिपती वर्गमा परिणत भैसकेको नेतृत्वले न आफू निजि स्वामित्वको अन्त्य गर्न सक्छ न त निजी स्वामित्व अन्त्यको बाटो तय गर्न ।

एमालेसंग एकता गरेसंगै माओवाद र माओवादी आन्दोलनको औपचारिक बिसर्जन भयो । केपी ओलीले आफ्नो पार्टीमा बस्न नदिएसंगै चोलेन्द्रले चलाखीपुर्वक फैसला सुनाएर एमाले र माओवादी ब्युँताई दिएपछी प्रचण्डलाई फेरि माओवादी बन्न र माओवादको फूलमाला पहिरिन बाध्यता आइलाग्यो । दस्ताबेजमा प्रचण्डले पुनः माओवादी बनेको र माओवादलाई च्याप्प समातेको अभियन गर्नैपर्ने भयो । हिजो मनमा विद्रोह र मुखमा चुनाव भनेजस्तै आज मनमा संसदवादी चुनाव र मुखमा माओवाद भन्नैपर्ने भयो । माओवाद त्यागेर एमाले बनेको माओवादी र प्रचण्डलाइ फेरि एमाले वा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसंग एकता नगरुञ्जेल माओवादी बन्न र माओवाद समात्न कति सकस भयो होला दस्ताबेजमा सजिलै देख्न सकिन्छ ।

हरेक सामाजिक व्यवस्थाका चारवटा तत्वहरु हुन्छन । एक, आर्थिक प्रणाली, दुई सामाजिक प्रणाली, तीन राजनैतिक प्रणाली र चार, साँस्कृतिक प्रणाली । यी चार तत्व फेरिएपछी मात्रै एउटा सामाजिक व्यवस्था फेरिन्छ । प्रचण्ड पनि पुरानो कम्युनिस्ट गल्ती जस्तै यी चार मध्ये राजनैतिक प्रणाली मात्रै फेर्ने कुरा गर्छन । आर्थिक, सामाजिक र साँस्कृतिक कार्यदिशामा दस्ताबेजले कुनै बाटो देखाएको छैन ।

प्रचण्ड नोकरशाही पूँजीपती वर्गको कारण देखाएर, राष्ट्रिय पूँजिपति वर्गको विकास नभएको कारण देखाएर, साम्राज्यवादी शक्तिको हस्तक्षेपलाई कारण देखाएर तत्काल समाजवादी क्रान्ती गर्न नसकिने तर्क गर्छन । र दलाल पूँजीवादको वा पूँजीवादको बिकास गरेर समाजवादको आधार तयार गर्ने तर्क गर्छन । पहिलो कुरा संसारमा पूँजीवादको बिकास भएर वा गरेर समाजवाद आएको होइन । पूँजीवादलाई ध्वस्त पारेपछी मात्रै समाजवाद आएको हो । पूँजीवादको बिकास गरेर समाजवाद आउने हो भने युरोप अमेरिकामा उहिल्यै समाजवाद आइसक्यो । पूँजीवादको बिकास गर्दा पूँजीवादले नै आफूलाई नबिकरण गर्छ । दोस्रो कुरा, भुमण्डलीकृत पूँजीवादको युगमा बर्गहरुको स्थिती माओको सामन्तकालीन युगसंग हुबहु मिलाउन खोज्नु चरम जडता हो । किनकी आजको युगमा राष्ट्रिय नोकरशाही पूँजिपती बर्ग र राष्ट्रिय पूँजिपती बर्ग अलग–अलग चरित्र र अवस्थितीमा छैन यिनिहरु एउटै अर्थात दलाल पूँजिपती बर्गमा फेरिएका छन । र आजको युगमा राष्ट्रिय पूँजिपती बर्ग रहन सम्भव पनि छैन । यिनिहरु सबै कर्पोरेट पूँजीवादको अंगकोरुपमा मात्र रहन सम्भव छ । जस्तै ज्ञानेन्द्र शाह र बिनोद चौधरी, शेरबहादुर देउवा र कमल थापा, प्रचण्ड र केपी ओली या त सबै दलाल पूँजिपती बर्गमा बदलिएका छन या दलाल पूँजिवादकै सेवा गरिरहेका छन ।

दुनिँयामा क्रान्तिका केही मोडलहरु बने । पेरिस कम्युन, बोल्शेविक क्रान्ति, क्युबाली र भियतनामी क्रान्ति, चिनियाँ क्रान्ति, र पूर्वी युरोपका देशका क्रान्ति । यी क्रान्तिहरुका एक, शहरिया शसस्त्र बिद्रोह, दुई दीर्घकालीन जनयुद्ध, तीन, राष्ट्रिय प्रतिरोध संघर्ष, र, चार, क्रान्तिको रापतापले क्रान्तिको संक्रमण जस्ता बिधीमार्फत क्रान्ति भए । कम्युनिस्टहरुले क्रान्ति भन्ने बित्तिकै यी मोडलहरु सम्झनेपनी गर्छन । यी सबै मोडलहरुको विधि फरक भएपनी, कतिपय आफ्नै मौलिकतामा सम्पन्न भएपनी एउटा सारमा समानता थियो । त्यो हो पहिला क्रान्ति अनि समाजवद । अझ पहिला बलपूर्वक राजनैतिक क्रान्ति अनि समाजवाद । प्रचण्ड आफ्नो दस्ताबेजमा यी परम्परागत क्रान्ति का बिधीहरुप्रती पनि अन्याय गर्छन । र दलाल पूँंजीवादको बिकास मार्फत शान्तिपूर्ण समाजवादी संक्रमणको मजाक गर्छन ।

हरेक सामाजिक व्यवस्थाका चारवटा तत्वहरु हुन्छन । एक, आर्थिक प्रणाली, दुई सामाजिक प्रणाली, तीन राजनैतिक प्रणाली र चार, साँस्कृतिक प्रणाली । यी चार तत्व फेरिएपछी मात्रै एउटा सामाजिक व्यवस्था फेरिन्छ । प्रचण्ड पनि पुरानो कम्युनिस्ट गल्ती जस्तै यी चार मध्ये राजनैतिक प्रणाली मात्रै फेर्ने कुरा गर्छन । आर्थिक, सामाजिक र साँस्कृतिक कार्यदिशामा दस्ताबेजले कुनै बाटो देखाएको छैन । किनकी पहिला राजनैतिक क्रान्ति अनि समाजवादवाला चिन्तनले कम्युनिस्ट आन्दोलन दलदलमा फस्यो । र, क्रान्तिको फराकिलो कार्यभार संकुचन हुन पुग्यो । हामीले एउटा ऐतिहासिकता देख्नै सकेनौं । हरेक सामाजिक व्यवस्थाभित्र अर्को व्यव्स्था जन्मेको हुन्छ र हुर्कदैं जान्छ । जस्तो दासयुगमा नै सामन्तवाद जन्मियो र हुर्कियो पनि पछि दासयुगलाई परास्त ग¥यो पनि । सामन्तवादमा नै पूँजीवाद जन्मियो र हुर्कियो पनि पछि सामन्तवादलाई परास्त ग¥यो पनि । ठीक त्यस्तै पूँजीवादमा पनि समाजवाद जन्मन्छ र हुर्कन सम्भव हुन्छ । अर्थात, पूँजीवादभित्र आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिकरुपमा समाजवादको निर्माणसंगै क्रान्ति सम्पन्न गर्ने नयाँ मोडलको बारेमा हामीले घोत्लनैपर्छ । प्रचण्डमण्डली त पुराना सिद्धान्तसमेत त्यागेर संसोधनवादको नयाँ मायाजाल बुन्न ब्यस्त छ । त्यसकारण क्रान्तिको नयाँ मोडलकै तय गर्ने किन लागोस ? तर, त्यहाँ भित्रका क्रान्तिकारीहरु के प्रचण्ड मायाजालमा फस्न मिल्ला र ?

महिला मुक्तीको प्रश्न आजसम्म कम्युनिस्ट आन्दोलनले नै सापेक्षिक सही उठाउदै आयो । तर, आठहजार बर्ष पुरानो पितृसत्ता बर्गीय मुक्तिसंगै आफै हल हुन्छ भन्ने छिपछिपे मान्यता कम्युनिस्ट आन्दोलनमा देखाप¥यो । जसको परिणामस्वरुप आजको चिनियाँ कम्युनिस्ट पार्टीको २४ सदस्यीय पोलिट्ब्युरोमा एकजनापनी महिला हुनुपर्छ भन्ने ठानेन चिनियाँ कम्युनिस्ट पार्टीले । क्रान्तिमा महिला पनि जरुरी भन्ने भाष्य बदलेर महिलाहरुको नेतृत्व बिना पितृसत्ताको अन्त्य पनि सम्भव छैन र क्रान्ति पनि सम्भव छैन भन्ने नयाँ भाष्य बनाउनुपर्ने देखिन्छ । अर्थात बर्गकै तहमा महिला मुक्तिको प्रश्न र महिला आन्दोलनलाई राख्नुपर्ने हुन्छ । यसमा त प्रचण्डको कलम अहिले किन चल्थ्यो र ! सामान्य समाबेशीता र समानुपातिकता नै माहिला मुक्तिको गन्तव्य बनाएर पूँजीवादले दिएको महिला स्वतन्त्रताको व्याख्या गर्न समेत दस्ताबेज चुकेको छ ।

१०

ठीक त्यस्तै जात व्यवस्थाको प्रश्न पनि ३ हजार बर्ष पुरानो दुख हो । नेपाली समाजको बर्ग निर्माणको स्रोत जात व्यवस्था हो । मार्क्सको देशमा जात व्यवस्था थिएन । त्यसकारण मार्क्सवादले त्यसलाई व्याख्या गर्ने कुरै भएन । पितृसत्ता पनि दक्षिण एसियाको सामन्तवादको जस्तो थिएन । त्यसकारण पितृसत्ताको अन्त्यको सन्दर्भमा मार्क्सवादको नपुगेको व्याख्या र जात व्यवस्थाको सन्दर्भमा हाम्रो आफ्नै दृष्टिकोण निर्माण जरुरी भएको छ । महिला र दलितको प्रश्न बर्गीय प्रश्नकै तहमा बुझ्न अनिवार्य छ । प्रचण्डको दस्ताबेजले यसबारे नबोले पनि माओबादी केन्द्रभित्रका महिला र दलितहरुले चाहिँ निधार खुम्च्याउलान कि ?

११

कम्युनिस्ट आन्दोलनको दुर्दशा सामन्ती राजामहाराजाहरुलाई पनि उछिनेर म नै राज्य हुँ, म बिना पनि देश र दुँनिया चल्छ र जस्तो गरि आजिवन नेतृत्वबाट बाहिरिन नसक्नु हो । त्यसबाट न स्टालिन न माओ, न क्यास्त्रो नै अछुतो रहन सके । पूँजीवादीहरुले बरु आवधिक, सामुहिक र चक्रीय नेतृत्वप्रणाली लागू गरिसके । समाजवादीहरुले त समुदायलाई नेतृत्व बनाउने हो । समुदायको नेतृत्वमा समाज चलाउने हो । तर, आफ्नो तथास्तु बिना पार्टी चल्नै सक्दैन जस्तो बिचारको केन्द्रीकरण र नेतृत्वको केन्द्रीकरणको गीत बज्दा प्रचण्ड झनझन गदगद हुन्छन । अझ अरु कसैले पार्टी सम्हाल्न नसक्ने भएर आफूलाई नेतृत्वमा बसिरहनपर्ने बाध्यता आइलाग्यो भनेर गफदिन्छन । ३ दशकभन्दा लामो नेतृत्वको केन्द्रीकरणले ठन्डा भनेकै कोकाकोला जस्तो माओवादी भनेकै प्रचण्ड भएको छ । दस्तावेज नेतृत्वको बदलाव वा पुस्तान्तरणबारे मौन छ र ‘पुनः प्रचण्ड भवः’को सन्देश लिएर आएको छ ।

१२

पराधीन देश कहिल्यै सार्वभौम हुन्न र पराधीन देशका जनता कहिल्यै आत्मनिर्भर हुन पनि सक्दैनन् । दलाल पूँजीवादले न देशलाई आत्मनिर्भर बन्न दिन्छ न जनतालाई । एमसिसी परियोजना नेपालको मुख्य उत्पादन क्षेत्र पानी र बिजुली बहुराष्ट्रिय कम्पनीलाई सुम्पने र आजको भूमण्डलीकृत पूँजीवादलाई बैधानिक हस्तक्षेपको निम्तोपत्र दिने सम्झौता हो । प्रचण्ड मनले एमसिसी कसरी पास गरौं भनेर हुनै नसक्ने संसोधनको जाल फाल्छन । एमसिसी १९५० को सन्धीपछिको अर्को इष्ट इन्डिया कम्पनी हो । यति ठूलो राष्ट्रघातको सीधा बिरोध नगरी घुमाएर अन्ततः पास गर्ने प्रचण्ड योजना माओवादीभित्रका देशभक्तहरुले कसरी सहेका होलान ?

र अन्त्यमा,
प्रचण्डको दस्तावेज काउत्सकी, बर्नस्टिन र देङ पछिको चौंथो संसोधनवादको फेहरिस्त हो । यसको मकसद पार्टीभित्रका क्रान्तिकारीहरुको आखाँमा छारो हाल्ने र नेपालको कम्युनिष्ट जनमतलाई चुनावमा आफूतिर तानिराख्न यत्न गर्नु हो । त्यसका लागि काँग्रेस, एमाले, एकीकृत समाजवादी, मधेसवादी र उस्तै परे राप्रपासंग पनि समझदारी या तालमेल गरेर भएपनी चुनाव जित्ने र आगामी सरकारमा जसरी पनि जाने भन्ने हो । प्रचण्डले एक समय क्रान्तिका लागि जति योगदान गरे अहिले प्रतिक्रान्तिका लागि त्यति नै मेहनत गरिरहेका छन । माओवादी केन्द्र भित्रका शेष क्रान्तिकारीहरुले यति नाङ्गो सत्य बुझ्न कुन चाहिँ माओ डे कुरेर बसिरहेका होलान ?