November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता
नेपाली समाजको वर्गहरु कस्तो ?

नेपाली समाजमा वर्गहरू बारे नयाँ अवधारणा

२०७८ पुष १७

655

१. दलाल पुँजीपति वर्ग

आजको भूमण्डलीकृत पुँजीवाद अर्थात् साम्राज्यवादको दलाली गरेर देशको प्राकृतिक स्रोत, बजार र पुँजीमाथि साम्राज्यवादलाई एकछत्र कब्जा जमाउन सबै व्यवस्थापन गर्ने, त्यसो गरेबापत प्राप्त हुने आम्दानीबाट आफ्नो विलासी जीवन चलाउने र बहुसंख्यक सर्वहारा–श्रमिक वर्ग, मध्यम वर्ग लगायत सबै देशभक्त, उत्पीडित जाति, उत्पीडित समुदायमाथि शोषण उत्पीडन गर्ने यो वर्ग नै आजको नेपाली समाजको मुख्य दुश्मन वर्ग हो ।

हिजोको एकाधिकार पुँजीवादको युगमा सरकारी, अर्धसरकारी र निजी क्षेत्रको निर्णायक माथिल्लो तहमा रहेका नोकरशाह अर्थात् कर्मचारीहरूको एउटा छुट्टै वर्ग बनेको हुन्थ्यो, जसले पदको उपयोग र दुरूपयोग गरेर वैधानिक÷अवैधानिक अकुत सम्पत्ति जम्मा गथ्र्यो । त्यस्तो वर्गलाई नोकरशाही पुँजीपति वर्ग नाम दिइएको हो । त्यस वर्गले दलाल पुँजीवादलाई सहजता निर्माण गर्ने काम गथ्र्यो तर मुख्य काम त्यसले सामन्तवादी सत्ताको पक्षपोषण गर्दथ्यो । त्यतिखेर पार्टीका नेता वा व्यवस्थाका हर्ताकर्ता ती वर्गका प्रतिनिधि हुने नै मूल पक्ष हुन्थ्यो ।

तर आजको भूमण्डलीकृत पुँजीवादले उत्पीडित राष्ट्रहरूमा सिर्जना गरेको दलाल पुँजीवादको एकछत्र हालीमुहालीको अवस्थाले नोकरशाहहरूको मुख्य पक्ष नै दलाल पुँजीवादलाई सुक्ष्म ढङ्गले व्यवस्थापन गर्ने बन्न पुगेको छ । नोकरशाहहरू दर्जनौँ तरिकाले भूमण्डलीकृत पुँजीवाद अर्थात् साम्राज्यवादको दलालीमा जोडिन पुगेका छन् । त्यति मात्र नभई भूमण्डलीकृत पुँजीवादको पक्षमा उभिएका राजनीतिक मुख्य नेताहरू प्नि अब सयौं तरिकाले विभिन्न प्रकरणमार्फत् दलाल पुँजीपतिवर्गको प्रतिनिधिसहित स्वयम् त्यस वर्गमा समाहित हुन पुगेका छन् । त्यसैले आज कोही व्यक्ति नोकरशाह पुँजीपति हुन सक्दछ, तर वर्गका रूपमा नोकरशाही पुँजीपति वर्ग रहेको छैन, बरू त्यो दलाल पुँजीपति वर्गकै अङ्ग बन्न पुगेको छ । त्यसैगरी भूमण्डलीकृत पुँजीवाद अर्थात् साम्राज्यवादको पक्षमा राजनीतिक कर्म गर्ने कुनै व्यक्ति त्यस वर्गको प्रतिनिधि मात्र रहेको हुन सक्दछ तर समग्रमा भने त्यस्तो राजनीति गर्ने नेताहरू त्यही वर्गमै तीव्र रूपमा समाहित हुँदै जाने अवस्था सिर्जना भएको छ ।

त्यसैले अब दलाल पुँजीपति वर्ग भन्दा नोकरशाह पुँजीपति वर्ग पनि त्यसैभित्र आउँछ र दलाल पुँजीवादको सेवक राजनेताको माथिल्लो हिस्सा पनि त्यसैभित्र परिभाषित हुन्छ भनी बुझ्नुपर्दछ । यस वर्ग निम्न समूहहरू मिलेर बनेको छ ः
अ) बहुराष्ट्रिय कम्पनीसँग जोडिएका पुँजीपति र तिनका उच्च पदस्थ कर्मचारी
आ) बहुराष्ट्रिय वित्तीय संस्थासँग जोडिएका राष्ट्रिय स्तरका वित्तीय संस्थाका सञ्चालकहरू र तिनका उच्च पदस्थ कर्मचारीहरू
इ) राज्यका नीति निर्माणको तहमा रहेका उच्च पदस्थ कर्मचारीहरू
ई) दलाल पुँजीवादको प्रवद्र्धनका लागि काम गर्ने राजनीतिज्ञहरू
उ) जमिन, प्रशासन, न्याय, आर्थिक लगायतका क्षेत्रमा रहेका माफियाहरू र ठूला सुदखोरहरू
माफियाहरू र ठूला सुदखोरहरू पनि सयौँ तरिकाले दलाल पुँजीवादसँग लगातार आर्थिक–राजनीतिक सहवास र एकअर्काको पुरकका रूपा रहेकाले माफिया र ठूला सुदखोर समूहलाई पनि मूलतः यही वर्गमा राख्नु सही हुने देखिन्छ ।

२. मध्यम वर्ग

भूमण्डलीकृत बहुराष्ट्रिय कम्पनीलाई पुँजीवादसँग नाफा साझेदारीमा मुख्य पक्ष नजोडिएका तर त्यसको सुदखोरी प्रवृत्तिबाट प्रताडित, सङ्कटग्रस्त केही रोजगारी सृजना गर्ने व्यवसाय गरिरहेका र जीविकोपार्जनमा सङ्कट नभएको वर्ग नै आजको नेपालको मध्यम वर्ग हो ।

अर्ध सामन्ती अवस्थामा परम्परागत कम्युनिस्ट साहित्यमा परिभाषित गर्ने गरिएको मध्यमवर्ग भनेको राष्ट्रिय पुँजीपति वर्गको तल्लो हिस्सा थियो र त्यसले राष्ट्रिय पुँजीपति वर्गको माथिल्लो हिस्सासँग समन्वय गरेर राष्ट्रिय स्वाधीन पुँजी निर्माणमा योगदान गथ्र्यो । तर आज भूमण्डलीकृत पुँजीवादका कारणले राष्ट्रिय पुँजीपति वर्ग नै सखाप हुने सिलसिलाले गर्दा आजको नेपालको मध्यम वर्ग सङ्कटग्रस्त वर्ग बन्न पुग्यो किनकि प्रगतिका लागि सहकार्य तथा समन्वयमा गर्ने राष्ट्रिय पुँजीपति वर्ग नै रहेन । यस स्थितिका कारणले मध्यम वर्गले या त दलाल पुँजीवादका सामु आत्मसमर्पण गर्नुपर्ने या त श्रमिक वर्गमा झर्नुपर्ने सङ्कटपूर्ण संक्रमणकाल भोगिरहेको छ । त्यसैले यो मध्यम वर्ग आज राष्ट्रिय स्वाधीन पुँजी निर्माणको खुट्किलो होइन, बरू पुरानो राष्ट्रिय पुँजीपति वर्ग निर्माण शृंखलाको टुटेको अन्तिम सङ्कटग्रस्त प्रतिनिधि वा अवशेष हो । यदि भूमण्डलीकृत पुँजीवादसँग लड्ने वैकल्पिक समाजवादी अर्थतन्त्र सुरू गर्न ढिला भयो भने यो वर्गको एउटा सानो हिस्सा दलाल पुँजीपति वर्गमा रूपान्तरण हुनेछ भने ठूलो हिस्सा कठिनाइका साथ जीविका धान्ने श्रमिक वर्गमा रूपान्तरण हुनेछ ।

यस वर्गमा,
क) व्यवासायिक खेतीका लागि मजदुर समेत लगाएर नाफा लिन सक्ने अवस्थाका धनी किसानहरू
ख) बहुराष्ट्रिय कम्पनीसँग संसर्ग नगरीकन व्यवसायिक रूपमा कृषिजन्य चिया, अन्न, फलफूल, औषधि र मासुलगायतको उत्पादनदेखि विनिमयसम्म क्रियाशील ठूला व्यवसायी
ग) ठूला यातायात व्यवसायी
घ) ठूला निजी शिक्षण संस्थाका मालिक
ङ) ठूला म्यान पावर कम्पनी सञ्चालक
च) इट्टाभट्टा, रिसोर्ट, तारारहित होटेल, ढुङ्गाजन्य उद्योग, पर्यटन व्यवसायी
छ) दोस्रो दर्जाका ठेकेदार
ज) शाखा अधिकृत जस्तो तहका सरकारी, अर्ध सरकारी र गैर सरकारी क्षेत्रका कर्मचारी
झ) देशभित्र ब्राण्ड बनेका रेस्टुराँ र ब्याङ्केटका सञ्चालक
ञ) फाइनान्सका सञ्चालक
ट) बहुउपयोगी व्यापारिक भवन अर्थात् मल भवनका धनी
ठ) सङ्गीत उद्योगका मालिक
ड) सेयर मार्केटका मुख्य कारोबारी संस्थाका मालिक
ढ) निजी अस्पतालका मालिक
ण) सिनेमा हल, पेट्रोल पम्पका सञ्चालक
त) ठूला रेस्टुराँ, गेस्ट हाउस, ठूला प्रेस सञ्चालक
थ) थाङ्का, पौभा, मूर्ति लगायत कलाजन्य व्यवसायका ज्यासल सञ्चालक
द) जुत्ता, भाँडाकुँडा, ग्रिल तथा ठूला काष्ठ÷फर्निचर उत्पादक तथा व्यवसायी
ध) ठूला सुन, चाँदी, जवाहरत व्यवसायी आदि ।

३. सर्वहारा–श्रमिक वर्ग

माक्र्सले सबै निजी सम्पत्ति सम्बन्धबाट च्युत भएको औद्योगिक श्रमिकलाई सर्वहाराको रूपमा परिभाषित गरेका थिए । र, त्यस सर्वहारा वर्गलाई इतिहासको अन्तिम क्रान्तिकारी वर्ग मानिएको थियो । माक्र्स र लेनिनको त्यो समय र युरोपको हकमा सही संश्लेषण थियो । सर्वहारा वर्गलाई सबैभन्दा क्रान्तिकारी वर्ग तीन कारणले भनिएको हो । एक, निजी सम्पत्तिको सबै बन्धनबाट मुक्त भएकाले निजी सम्पत्ति कमाएर होइन, बरू निजी सम्पत्तिको उन्मुलन गरेर मात्र उसको मुक्ति सम्भव भएकाले । दुई, औद्योगिक केन्द्रहरूमा हजारौं–लाखौँको संख्यामा सङ्गठित हुने भएकाले । र तीन, आफ्नो समयको सबैभन्दा उन्नत प्रविधिको संसर्गमा रहने भएकाले ।

तर विश्वका विभिन्न देशको समाज विकासको चरण र गति एकै नभएकाले र फरक–फरक समाजमा वर्ग निर्माणको प्रक्रिया पनि एउटै नहुने भएकाले माक्र्स वा लेनिन वा माओ कालमै फरक फरक देशमा सबैभन्दा बढी शोषित उत्पीडित रहेका ठूलो संख्याको श्रमिक वर्ग फरक फरक थिए । जस्तोः सर्वहारा मजदुरको संख्या निर्णायक नभइसकेको क्रान्तिकालीन चीनमा सबैभन्दा शोषित उत्पीडित बहुसंख्यक श्रमिक चाहिँ भूदास किसान, मोही र गरिब किसानको थियो । त्यहाँ त्यतिखेर त्यो किसान वर्गलाई सङ्गठित नगरी क्रान्ति सम्भव थिएन । कम्युनिस्ट पार्टीको घोषणापत्रमा ‘हुने’ र ‘नहुने’ बीचको सङ्घर्षलाई आधारभूत ध्यान केन्द्रित गरिएको छ । त्यसैले क्रान्तिका निम्ति सबैभन्दा कम ‘हुने’हरूको विशाल भिडलाई मुख्य सम्बोधन हुने गरी पदावलीहरूको छनौट तथा प्रयोग गर्नु अनिवार्य हुन्छ ।

आजको मुख्य उत्पादक शक्ति अर्थात् विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी राज गरिरहेको भूमण्डलीकृत पुँजीवादले विश्वव्यापी रूपमा उत्पादनको क्षेत्रबाट श्रमिकहरूलाई विस्थापित गर्ने क्रम तीव्र रूपमा अघि बढिरहेको छ । यस क्रमले श्रमिकहरू उत्पादनको क्षेत्रमा केन्द्रिकृत हुनुको साटो त्यहाँबाट विस्थापित भएर सेवाको क्षेत्रमा असङ्गठित अवस्थामा छरपस्ट हुन पुगेका छन् । यसरी सेवा क्षेत्रका श्रमिकको संख्या तीव्र रूपमा बढ्दो छ भने हिजोको औद्योगिक सर्वहाराको संख्या तीव्र रूपमा घट्दो छ । यसरी उत्पादन क्षेत्रबाट विस्थापित भएर बन्ने श्रमिक वर्ग नै आजको विश्वको श्रमिक वर्गको मुख्य प्रवृत्ति र विशेषता बन्न पुगेको छ ।

साम्राज्यवादी देशहरूको उत्पादन प्रक्रिया र तिनले उत्पीडित राष्ट्रबारे लिएको ‘उपभोक्ता, श्रम र प्राकृतिक स्रोत प्रदायक’ नीतिका कारणले नेपाल जस्तो देशमा अप्रत्यक्ष वा छद्म श्रमशक्ति विस्थापन तीव्र हुन पुगेको छ । आज नेपालबाट ४५ लाखभन्दा बढी श्रमिक देशबाट पलायन हुनु भनेको देशभित्र उद्योगधन्दा, व्यवसाय नहुनु हो तर त्यसको मुख्य कारण भने उत्पीडित राष्ट्रहरूलाई उत्पादन गर्नै नदिने, केवल उपभोक्ता बनाउने आजको साम्राज्यवादी नीति हो । उदारीकरण र निजीकरणबाट सुरू भएको साम्राज्यवादी यो रणनीति आजको भूमण्डलीकृत पुँजीवादी नीतिको विस्तारसम्म प्रकट हुन पुगेको छ । नेपालजस्ता उत्पीडित देशका जनतालाई आवश्यक उपभोग्य वस्तु साम्राज्यवादी देशले विज्ञान प्रविधि प्रयोग गरी सापेक्षित रूपमा सस्तो श्रम भएको स्थानमा उत्पादन गरी बेच्ने तर नेपालजस्ता उत्पीडित राष्ट्रहरूमै उत्पादन गर्ने प्रक्रियालाई अन्त्य गर्ने नीति नै आजको भूमण्डलीकृत पुँजीवाद अर्थात् आजको साम्राज्यवादको मूल नीति रहेको छ । यसप्रकारको नीतिले नेपालजस्ता उत्पीडित राष्ट्रहरूमा अप्रत्यक्ष वा छद्म विस्थापनको समस्या समेत विकराल बन्दैछ ।

नेपालको कृषि क्षेत्र व्यवसायिक बन्न दलाल पुँजीवाद अवरोध बनेर उभिएको छ । त्यसरी कृषि क्षेत्रमा खपत हुनुपर्ने श्रमिक विस्थापित भइरहेछन् । राष्ट्रिय औद्योगिकरणलाई दलाल पुँजीवादले रोकिदियो । त्यहाँ खपत हुनुपर्ने श्रमिक विस्थापित भइसक्यो । राष्ट्रिय पुँजीपति वर्ग नै सखाप भएकाले त्यसको संसर्गमा प्रगति गर्ने मध्यम वर्ग संकटग्रस्त बन्न पुगेको छ । राष्ट्रिय पुँजीपति वर्ग र मध्यम वर्गको संसर्गमा सानो पुँजी र स्रोत परिचालन गरी बाँच्ने निम्न मध्यम वर्ग आजको बाहिरबाट हेर्दा केही सम्पत्तिको मालिक देखिए पनि सारमा त्यो निम्न मध्यमवर्ग हिजोको वर्गको अवस्थामा छैन, बरू त्यो वर्ग दलाल पुँजीपति वर्गलाई मासिक ब्याज बुझाउने र जस्तो काम गरेर भए पनि गुजारा चलाउन बाध्य भएको श्रमिक वर्गमा रूपान्तरित भइसकेको छ । आज मलेसिया, खाडी लगायत क्षेत्रमा देशभित्र श्रम क्षेत्र नभएर विस्थापित भएर गएका वा जाने श्रमिकहरूको मुख्य हिस्सा यस्तै नयाँ खाले श्रमिक वर्ग हो । एउटा घर, थोरै जमिन पनि छ तर त्यसबाट गुजारा नै नचलेर विदेशिनु पर्ने यो नयाँ श्रमिक वर्गको मुख्य विशेषता हो । यसप्रकार आजको साम्राज्यवाद र दलाल पुँजीवादको शोषण र विस्थापन गर्ने नीतिको चपेटाका कारण हिजोको निम्न मध्यम वर्ग आजको आधारभूत श्रमिक वर्गमा रूपान्तरण भइसकेको गम्भीर यथार्थलाई उद्घाटन गर्नैपर्दछ ।

आजको यस यथार्थले गर्दा नेपालको सन्दर्भमा समाजको पिँधमा रहेको बहुसंख्यक मुख्य श्रमिक वर्गको परिभाषा र पदावलीको सही प्रयोग पनि आजको समाजको विशेषताअनुसार गर्नुपर्ने नै हुन्छ । त्यसैले नेपालको सन्दर्भमा पिँधको क्रान्तिकारी वर्गलाई ‘सर्वहारा–श्रमिक वर्ग’ पदावलीको प्रयोग नै सही हुन्छ । यस सर्वहारा श्रमिक वर्गमा जीविकाका निम्ति सङ्घर्ष गरिरहेका औद्योगिक सर्वहारा, सेवा क्षेत्रका सर्वहारादेखि उत्पादनको क्षेत्रबाट विस्थापित सेवाका विभिन्न क्षेत्रमा जीविकाको निम्ति सङ्घर्षरत श्रमिकहरू समेटिन पुगेका छन् । यो वर्ग नै आजको क्रान्तिकारी वर्ग हो । किनभने,

एक, औद्योगिक वा सेवा क्षेत्रको सर्वहारा होस् या सेवाका विभिन्न क्षेत्रका जीविका सुनिश्चित गर्न नसक्ने स्तरमा निजी सम्पत्ति समेत भएका श्रमिक– उनीहरूका अगाडि वर्ग उत्थान गर्ने बाटो आजको भूमण्डलीकृत पुँजीवादले बन्द गरिदिएको  छ । क्रान्तिमार्फत् वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुबाहेक उनीहरूका अगाडि मुक्तिको अर्को विकल्प छैन । दुई, सामूहिक श्रमका निम्ति सङ्गठित हुने उत्पादनको थलोबाट विस्थापित भएको वा तीव्र रूपमा हुँदै गएकाले आजको मुख्य उत्पादक शक्ति विज्ञान प्रविधिलाई आफ्नो सङ्गठन र मुक्ति प्रक्रियाको मुख्य औजार बनाउनु बाहेक यो वर्गसँग अर्को विकल्प बाँकी रहेको छैन । तीन, उत्पादनको क्षेत्रबाट विस्थापन भए पनि नेपाल वा विश्व समाजमा अत्यधिक संख्या भएको र यस वर्गको स्वार्थ स्वाभाविक रूपमा न्यायपूर्ण र मानवीय हुन पुगेको छ ।

यस वर्गमा,
क) औद्योगिक सर्वहाराहरू
ख) भूमिहीन कृषि श्रमिकहरू
ग) सहरका भूमिहीन श्रमिकहरू
घ) जमिन लगायत निजी सम्पत्तिबाट गुजारा नचलेर अन्य क्षेत्रको श्रमबाट मुख्य रूपमा गुजारा गर्ने श्रमिकहरू
ङ) उद्योग, व्यवसाय र सेवा क्षेत्रका श्रमिकहरू
च) निरपेक्ष गरिबीको रेखामुनि रहेका जनता
छ) वैदेशिक रोजगारीमा जान बाध्य श्रमिकहरू
झ) साना पसल, ब्युटीपार्लर, टेलर आदि साना व्यवसाय गर्नेहरू
ञ) शिक्षक, तल्लो तहका कर्मचारी, श्रमजीवी सञ्चारकर्मी, ललितकलाका विभिन्न विधाका श्रमिकहरू आदि ।

वर्ग निर्माणमा प्रभाब पार्ने तीन मुख्य सवाल

क. महिलाको सवाल

मार्क्स–एङ्गेल्सले कसरी निजी सम्पत्तिको उत्पत्तिसँगै निजी परिवारको ढाँचा खडा भयो र त्यही जगमा वर्गीय उत्पीडन तथा महिलामाथिको पितृसत्तात्मक उत्पीडनको सिलसिला सुरू भयो भन्ने तथ्यलाई शानदार ढङ्गले उद्घाटन गरे । साथै वर्गको अन्त्यसँगै महिला मुक्तिको अन्तिम रणनीति जोडिएको प्रस्थापना अघि सारे । महिला मुक्तिको प्रश्नलाई वर्गसङ्घर्षसँग माक्र्सवादले जोडेपछि पुँजीवादले अघि सारेको महिला–पुरूष बीच समानताको अवधारणाको रूपवादी खोक्रोपनाको धज्जी उड्न थाल्यो । वर्गीय सत्ता र पितृसत्ता एक आपसमा कसरी घुलमेल भएका छन् तथा एकले अर्कोलाई टेको दिएर कसरी चलायमान छन् भन्ने मूल गुदी तथ्यलाई छोपछाप पारेर विशुद्ध लिङ्गीय समानताको कुरा गर्नु भनेको वर्गीय उत्पीडन र पितृसत्तात्मक उत्पीडन दुवैलाई नयाँ संस्करणका रूपमा निरन्तरता दिनु हुन्छ । माक्र्सवादले अगाडि बढाएको यो अवधारणा असाधारणा महत्वको छ । यस अवधारणाको जगमा विश्व कम्युनिस्ट आन्दोलनले महिलाहरूलाई राजनीतिक अधिकारका क्षेत्रमा गुणात्मक रूपमा वृद्धि, राजनीतिमा सहभागिताका लागि नीतिगत एवं व्यावहारिक रूपमै प्रोत्साहन, उत्पादनका क्षेत्रमा महिला सहभागितामा गुणात्मक फड्को जस्ता नीतिहरू लिइएका छन् । यस अर्थमा महिलाका सम्बन्धमा विश्व कम्युनिस्ट आन्दोलन ढोङ्गी पुँजीवादभन्दा आधारभूत रूपमै प्रगतिशील भएको प्रमाणित भयो । तर महिला विषय जति गहिराइमा गढेको ऐतिहासिक परिघटना हो, त्यही गहिराइ र गम्भीरतामा कम्युनिस्ट आन्दोलनले माक्र्सवादी अवधारणामा थप विकास एवं व्यवहारमा गुणात्मक नयाँ प्रयोगहरू अघि बढाउन सकेन ।

एक, महिला उत्पीडन भनेको वर्गीय उत्पीडन सँगसँगै सुरू भएको समस्या हो । ‘महिला’ मानव इतिहासमा सबैभन्दा लामो र सबैभन्दा धेरै मानिसले भोगेको दुःख हो । दुई, आदिम साम्यवादी समाजपछिका सबै युगमा महिला लगातार उत्पीडित र लगातार पितृसत्ताको प्रतिपक्ष हो । तीन, प्रत्येक वर्गभित्रको शोषित वर्ग हो । शोषक वर्ग भित्र पनि शोषित वर्ग भित्र पनि । दास युगको अन्त्य भयो तर आजसम्म पनि सबै वर्गका महिलामाथिको दासता नयाँ नयाँ संस्करण र रूपमा जारी छ । वर्गभित्रको पनि वर्गीय समस्या भएकाले वर्गको विनासपछि पनि मानव जातिले महिला दासताका अवशेषहरूसँग केही काल सङ्घर्षमा रहनैपर्ने हुन्छ । यसरी महिला आजसम्मको मात्र लामो दुःख होइन, सुदूर भविष्यसम्मै सबैभन्दा लामो दुःख हो । चार, महिला विषय आधा मानव जनसंख्याको सवाल हो ।

पाँच, लामो ऐतिहासिक पित्तृसत्तात्मक उत्पीडनको निरन्तरताले गर्दा परस्पर विरोधी वर्गमा विभाजित हुँदा पनि पितृसत्ताको विरोधको प्रश्नमा सबै वर्गका महिलालाई बादलमा देखिने चाँदीको घेरा जस्तै चम्किलो धागोले जोडिरहेको पाइन्छ । वर्गीय उत्पीडनसँग नङमासुको सम्बन्धमा बाँचेको पित्तृसत्ताविरोधी आधा मानव जनसंख्याको यो घृणा र विद्रोही चेतना मानव समाजको गर्भमा सल्किरहेको विशाल आगोको भण्डार नै हो । अबको नयाँ कम्युनिस्ट आन्दोलनले त्यो आगोको भण्डारलाई भव्यतापूर्वक क्रान्तिको गतिलो एउटा हतियारका रूपमा अगाडि ल्याउनैपर्छ ।

तसर्थ, महिला विषयलाई वर्ग सरहकै घनत्व भएको उत्पीडनको विषयका रूपमा संश्लेषण गरिनुपर्दछ । महिला वर्ग होइन, तर त्यसको मतलव वर्गभन्दा तल्लो स्तरको उत्पीडन पनि होइन । जसरी अफ्रिकाका कालो रङका मानिसमाथि गरिएको रङ्गभेदको विषय विशुद्ध वर्गीय उत्पीडन थिएन तर वर्गीय उत्पीडनभन्दा कुनै मानेमा कम घनत्वको विषय पनि थिएन । अबको नयाँ कम्युनिस्ट आन्दोलनले महिला उत्पीडनको विषयलाई वर्गीय उत्पीडन सरहकै घनत्व भएको उत्पीडनको समस्याका रूपमा आत्मसात् गर्नैपर्दछ र महिलासम्बन्धी गुणात्मक रूपमै नयाँ नीतिहरू अघि सार्नुपर्दछ ।

ख. दलितको सवाल

दक्षिण एसियाको गङ्गा मैदानमा वर्गीय समाज ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र रहेको चार वर्ण व्यवस्थाका रूपमा निर्माण गरिएको थियो । वर्ण व्यवस्था सुरूमा श्रम विभाजन भए पनि श्रम समूहहरूलाई वंशानुगत रूपमा श्रम क्षेत्र परिवर्तन गर्न नपाइने बनाएपछि र फरक फरक श्रम समूहहरूका निम्ति उचनिच (जष्भचबचअजथ)मा आधारित स्थानमानका आधारमा आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारहरूको अन्यायपूर्ण निरन्तरतापछि त त्यो वर्ण व्यवस्थाका रूपमा रहेको वर्गीय समाज गहिरो विशिष्ट प्रकृतिको वर्गीय समाजमा फेरियो । मोटामोटी आजभन्दा ३५ सय वर्ष अगाडिबाट सुरू भएको यस्तो वर्गीय समाजको पिँधमा रहेको शुद्र वर्गको एउटा हिस्सामाथि जब बहिष्करणको पराकाष्ठा छुवाछुत समेत लादियो, त्यो हिस्सा ‘अछुत’का रूपमा समाजमा सबै अधिकारबाट वञ्चित हुन पुग्यो । दक्षिण एसियाको हिन्दू र हिन्दू शासनबाट शासित समाजमा यो समूह नै करिब ३ हजार वर्षदेखि अकल्पनीय दुःख, अभाव र अपमान भोग्दै वर्गीय रूपमा सबैभन्दा पिँधमा रहँदै आएको छ । यही पिँधको ‘अछुत’का रूपमा इतिहासमा रहिआएको संसारकै विशिष्ट श्रमिक वर्ग नै आजको दक्षिण एसियाको दलित समुदाय हो । दलित लामो ऐतिहासिक कालभरि एउटा सिङ्गो विशिष्ट श्रमिक वर्गको रूपमा रहँदै आयो । आजको २१ औं शताब्दीसम्मका दक्षिण एसियाका नेपाल, भारतसहितका देशमा आएका विभिन्न राजनीतिक परिवर्तन, आर्थिक–सामाजिक विभिन्न परिघटनाहरूका बाबजुद दलित समुदायको मुख्य जनसंख्याको हिस्सा आज पनि सर्वहारा–श्रमिक वर्गकै रूपमा रहेको छ । त्यस समुदायको सानो हिस्सा भने निम्न मध्यम र मध्यम वर्गमा रूपान्तरित भएको छ । निम्न मध्यम र मध्यम वर्गमा रूपान्तरित त्यो हिस्सा पनि छुवाछूत र सारा जातजन्य अपमान एवं व्यवधान भोग्न भने बाध्य छ ।

दलित समुदायको अत्यधिक हिस्सा सर्वहारा श्रमिक वर्गका रूपमा रहे पनि सानो हिस्सा निम्न मध्यम र मध्यम वर्गमा रूपान्तरित भएको अवस्थाका कारण, साथै जातजन्य छुवाछुत, अपमान र प्रगतिका निम्ति सबै क्षेत्रमा त्यो निम्न मध्यम वा मध्यम वर्गमा रहेका दलितलाई क्रान्तिकारी प्रक्रियामा जोड्न अरूलाई भन्दा बढी सहज अवस्थालाई समेत ध्यान दिन्दा दलित समुदायलाई ‘दलित वर्ग’ पदावली प्रयोग नगरी ‘दलित समुदाय’ पदावली प्रयोग गर्नु नै उचित हुन्छ । तर दलित समुदाय पदावली प्रयोग गर्दा पनि तीन हजार वर्षदेखि समाजको पिँधको उत्पीडनको निरन्तरता अपमानपूर्ण जीवनको निरन्तरता, निरन्तर श्रमिक जीवनको समग्रता समेतलाई आत्मसात् गर्दा दलित समस्या वर्गीय समस्या सरहकै घनत्व भएको, अझ कतिपय विषयमा त वर्गीय समस्याभन्दा गहिरो रूप लिएको समस्या हो, त्यसैले यससम्बन्धी नीति बनाउँदा त्यही उचाइमा ध्यान पु¥याउनुपर्दछ ।

ग. किसान र किसान वर्गको सवाल

नेपालमा सामन्तवाद नरहेसँगै सामन्तवर्ग पनि रहने कुरै भएन । आजको नेपालको सन्दर्भमा किसान र किसान वर्गका बारेमा पनि स्पष्टताको आवश्यकता छ । कृषिजन्य पेशा गर्ने व्यक्तिलाई सामान्यतया किसान पदावलीबाट सम्बोधन हुने गरेको हो तर यस पदावलीको सम्बन्ध खास समाज विकासको चरणसँग सम्बन्धित भएर बन्न पुगेको हो । सामन्तवादी समाजमा सामन्तहरू काम नगर्ने बरू किसानले उत्पादन गरेको कूत असुली गर्ने हुन्, यस मानेमा किसानको अर्थ सामन्तहरूबाट शोषित कृषि पेशाकर्मीको रूपमा समेत परिभाषित हुन वा अर्थिन पुगेको हो । त्यसैले सामन्त वर्गबाट शोषित किसानहरूको समूह किसान वर्ग बन्न पुग्यो । दास युगको जसरी दास र दास मालिक त्यस युगको अनिवार्य परस्परविरोधी सामाजिक प्रवर्ग हुन्, त्यसैगरी सामन्तवादी युगमा सामन्त वर्ग र किसान वर्ग परस्परविरोधी अनिवार्य सामाजिक प्रवर्गहरू हुन् । ती दुईमध्ये एकको अनुपस्थितिमा अर्को हुँदैन । दास युगमा दास वर्ग नभई मालिक वर्ग हुँदैन भने झैँ आजको नेपालमा सामन्तवाद अन्त्य भएर सामन्त वर्ग नै नरहेकाले किसानहरू अब किसान वर्गका रूपमा छैनन् ।

यसको अर्थ किसान नै छैनन् वा किसानहरूमाथि शोषण छैन भन्ने अर्थमा बुझ्नु हुँदैन । किसानहरू छन्, कुन अर्थमा भने उनीहरू कृषिजन्य पेशा वा व्यवसाय गर्छन् तर ती किसानहरू सामन्तवादी शोषणअन्तर्गका किसान होइनन्, बरू दलाल पुँजीवादी व्यवस्था अन्तर्गतका किसान हुन् । वास्तवमा आजका किसान कृषिजन्य पेशा वा व्यवसाय गर्ने पेशागत जनसमूह हुन् र उनीहरूमाथि शोषण उत्पीडन चाहिँ पुँजीवादी शोषण उत्पीडन हो । सामन्तववाद र सामन्तवर्गसँग लड्नुपर्ने कार्यभार नै नरहेकाले कृषि पेशा वा व्यवसायकर्मी यस किसान पेशागत समूहले आफ्नो पेशा वा व्यवसायलाई प्रवद्र्धन गर्न दलाल पुँजीवादसँग नै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।

यसरी हिजो सामन्तवादअन्तर्गत शोषित रहेका किसानहरू आज आफ्नो सम्पत्ति र जीविकोपार्जनको निश्चित ढाँचा अनुसार मध्यम वर्ग वा निम्न मध्यम वर्ग वा सर्वहारा श्रमिक वर्ग जस्ता फरक फरक वर्गमा समाहित हुन पुगेका छन्, अबका दिनमा किसान पेशागत समूहको सङ्घर्षको चरित्र पनि आधारभूत रूपमा परिवर्तन हुनु अनिवार्य बनेको छ ।

(वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव–२०७५ बाट)