November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

रूबी खानहरूसँग एक दिन (भिडियोसहित)

२०७८ पुष २३

695

काठमाडौं : ऐतिहासिक सहर नेपालगंजमा हिजो आज के छैन, सबथोक छ । बाहिरी आँखाबाट हेर्दा सहर भव्य देखिन्छ । तर भव्यताले भरिएको सहरभित्र अनगिन्ती कथाहरु छन्, व्यथाहरु छन् । ती कथाहरु कतिपय सहरभित्रै दबिन्छन्, कतिपय सहर छिचोलेर बाहिर आउँछन् । बाहिर आएका यस्तै कथाहरुमध्ये एक हो, रुबी खानहरुको आन्दोलन ।

जब सहेली निर्मला कुर्मी र नन्कुन्नी धोवीको षड्यन्त्रपूर्वक हत्या गरियो, त्यसपछि रूबी खानहरू चुपचाप सहेर बस्न सकेनन् । उनीहरुले आन्दोलन गरिरहे । दिन होइन, हप्ता होइन, महिना पनि होइन, १० वर्षदेखि उनीहरु सहेलीको न्यायका लागि लडिरहेका छन् ।

उनीहरुको आवाज नेपालगंजले सुनेन, त्यहाँको सरकारले पनि बुझेन । बाँकेका बेमतलवी सरकारी कार्यालयहरुका डस्टविनहरुमा उनीहरुको माग फालियो । त्यसपछि रुबीहरुका अगाडि दुईवटा विकल्प बाँकी रह्यो । चुपचाप अन्याय सहेर बस्ने कि, न्यायको खोजीमा निस्कने । रुबीहरुले हिम्मत बटुले । घरगृहस्ती श्रीमानलाई जिम्मा लगाए । गाई बाख्रा छोराछोरीलाई जिम्मा लगाए । अनि सुरू गरे, न्याय प्राप्तिका लागि हजार माइलको यात्रा ।

उनीहरु हरेक दिन काठमाडौका चोक र गल्लीहरुमा न्याय खोज्दै हिँडिरहेको देख्दा यस्तो लाग्छ, उनीहरुले काठमाडौं भित्रै काठमाडौं भेटिरहेका छैनन् । उनीहरु काठमाडौं भित्रै काठमाडौ पुग्न निकै लामो यात्रामा हिँडिरहेका छन् ।

काठमाडौं आइपुग्न उनीहरुलाई कहाँ सजिलो थियो र । काठमाडौं दुर एकदमै दुर थियो । उनीहरू कैयौं दिन भोकै बसेर, कैयौं दिन नांगो पैतला हिँडेर, कयौं दिन खुला आकाश मूनि सुतेर, खुट्टामा ठेला फुटाएर, हिँड्दै हिँड्दै सरकार बस्ने सहर काठमाडौं आइपुगे । ५२० किलोमिटरको दुरी हिँडेरै पार गर्न उनीहरुलाई २० दिन लाग्यो ।

उहिले श्रीपेचधारी राजा बस्ने सहर, अहिले श्रीपेच बिनाका नेताहरु बस्ने सहरमा उनीहरु न्याय खोज्न आइपुगे । देहातबाट सरकारको गाउँमा दैलो ढकढक्याउन हिँड्दै हिँड्दै आइपुगे । उनीहरु मध्ये धेरै जनाले त पहिलोपटक काठमाडौं टेकेका थिए । उनीहरूलाई आशा थियो, यो ठूलो सहरमा आफ्ना कथा सुन्ने, पीडा बुझ्ने मान्छेहरु पक्कै भेटिने छन् ।

हिजोआज उनीहरु हरेक दिन सिंहदरबार नजिकै माइतिघरमा धर्ना दिईरहन्छन् । माइतिघर धाउन थालेको पनि ४० दिन नाघिसक्यो ।

रूबी खानहरू बस्ने कलंकीको होटलमा पुग्दा उनीहरू कोही ब्यानर पट्याएर पोको पार्दै थिए । कोही बिरामी भएर सुतिरहेका थिए । प्रत्येकको सिरानीमूनि औषधी थियो । सबैजना थाकेका जस्ता देखिन्थे । तर आवाजमा हिम्मत मरेको थिएन, अनुहारमा आक्रोश घटेको थिएन ।

पुषको जाडोले कठ्याङ्गिएको एक बिहान स्वास्थ्यकर्मीहरू भन्दै थिए, ‘जाडोमा ननिस्क, चिसो लाग्छ ।’ सरकार भन्दै थियो, ‘यसपटक पनि सितलहरले गरिबको प्राण हरण गर्न सक्छ ।’ काठमाडौं भन्दै थियो, ‘चन्द्रागिरिमा हिउँ परेछ । खेल्न जाउँ ।’ तर रूबी खानहरू भन्दै थिए, ‘न्याय नपाइ गाउँ फर्कियौं भने उनीहरुले मार्नेछन् ।’

रुबीहरु के जाडो, के झरी, के चाड पर्व, केही पनि मतलब नगरी सरकार निदाएको सहरमा धर्ना दिन हरेक दिन माइतिघर धाइरहन्छन् । उनीहरु दिनको एक छाक बेलुकी मात्रै खाना खान्छन् । बिहान चिया पिउँछन्, अनि त्यही चियाकै भरमा सडकको भिड छिचोल्दै अघि लाग्छन् । कोही ब्यानर बोक्छन्, कोही प्लेकार्ड बोक्छन्, अनि सिट्ठी बजाउँदै बजाउँदै सडकको किनारै किनार हिँड्छन् । वरपरका मानिसहरु कोही उनीहरुलाई सशंकित नजरले हेर्छन्, कोही घृणाको नजरले हेर्छन् । कोही दयाले हेर्छन्, कोही मायाले पनि हेर्छन् । तर कोही पनि उनीहरुलाई साथ दिन आउँदैनन्, हात दिन आँदैनन् । किनकी काठमाडौलाई फुर्सद कहाँ छ र रु

मन्त्रीले ट्राफिक लाइन मिच्ने देशमा रुबीहरुले सडकमा सिट्ठी फुकेको कसले सुन्ने रु महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने राज्यले निर्मला र नन्कुन्नीहरूका सहेलीले चिच्याएको कसरी सुन्ने रु तर उनीहरु गीत मार्फत पनि काठमाडौंलाई प्रश्न गर्न छाड्दैनन् ।

‘तेरे दरपे आया हुँ कुछ करके जाउँङ्गा,
झोली भर्के जाउङ्गा या मर्के जाउङ्गा’

माइतिघरमा धर्ना दिइरहँदा उनीहरुलाई लाग्थ्यो, निर्मला कुर्मीको हत्यारालाई सजाय दिन यहाँका ठूला मान्छेहरूले सघाउने छन् । तर भइदियो उल्टो । यता रूबीहरू पुसको ठिहीमा राजधानीका गल्ली र चोकहरूमा सरकारले सुन्ने गरी सिठी बजाउँदै हिँडिरह्यो । उता सरकारले हत्यारा बादशाह कुर्मीलाई नै जिल्लाको नेता बनाउन लागिरह्यो । रूबीहरूको कुरा न सरकारले सुन्यो, न महिला अधिकारकर्मीहरूले सुने । न पार्टीहरूले सुने, न पार्टी भित्रका महिला संगठनहरूले सुने । बरु अधिकारकर्मीहरु नै रुवीहरुलाई रोक्न आइपुगे । रुबी भन्छिन्, ‘अधिकारकर्मीहरु नै हाम्रो आन्दोलन रोक्न आइपुगे ।’

देशमा नवराजहरु प्रेम गरेको अभियोगमा भेरीमा बगाईन्छ, चन्द्र कामीहरुलाई प्रेम गरेकै कारण अपहरण गरिन्छ । आजपनि आफूलाई मान्छे प्रमाणित गर्न ६० लाख दलितले रगत बगाइरहनु परेको छ । तर रुबीहरु छुवाछुतलाई मान्दैनन् । मुस्लिम र दलित मिलेर बसेका छन् । र मिलेरै न्यायको लागि लडिरहेका छन् ।

यो संसार बनाउन सबैभन्दा धेरै कसले योगदान गरे होलान् रु अक्षर चिन्नेहरुले कि नचिन्नेहरुले रु सम्भवतः अक्षर चिन्नेहरुले भन्दा अक्षर नचिन्ने श्रमिकहरुले यो संसार बनाए । रुबीहरु पनि अक्षर चिन्दैनन् । तर उनीहरु अक्षर चिन्नेहरुले गर्ने अन्याय चिन्छन् । आज उनीहरु माइती घरमा बसेर फगत कखरा सिकिरहेका छैनन् । शिक्षित भनेर दाबी गर्ने यो सिमेन्टको सहरलाई सभ्यता सिकाइरहेका छन्, मानवता सिकाइरहेका छन् ।

महिनौं बितिसक्दा पनि उनीहरुको आवाज सहरले सुनेन, सरकारले सुनेन, समाजले पनि सुनेन । कसैले नसुने पनि उनीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरूलाई लडाइँ जितेरै घर फर्किनु छ । घर फर्किएपछि गाउँमा उनीहरुको सम्मानमा ठूलो भोज हुनेछ । उनीहरूको पूजा आराधाना हुनेछ । अहिले पनि गाउँलेहरू न्यायको लडाइँमा बल पुगोस् भनि दिनरात पूजा गरिरहेका छन्, कामना गरिरहेका छन् ।

देशमा अनेक अनेक तन्त्र फेरियो । सिंहदरबारका कुर्सीहरु फेरिए । सबैले जोड जोडले भने, ‘बोल्न पाउने व्यवस्था ल्यायौं ।’ तर रुबीहरुको भनाइ फरक छ । बोलेर मात्रै केही हुन्न, जब सुन्नेले सुन्दैन भने जति बोले पनि के गर्नु रु हो उनीहरू अब बोल्ने मात्रै होइन, बोल्ने र सुन्ने दुवै भएको आत्मसम्मानपूर्वक बाँच्न पाउने समाजका लागि पनि लडिरहेका छन् ।

हामीलाई बोक्ने धर्ती उही हो । हामी माथिको आकाश उही हो । तर रुबीहरुका लागि काठमाडौको आकाश र नेपालगंजको आकाशमा धेरै भिन्नता छ । उनीहरु आकाशलाई हेर्छन् अनि सोचिरहन्छन् । भन्छन्, ‘नेपालगंजको आसमान र काठमाडौको आसमान कति फरक छ है ।’ कहिले न्याय पाउने र नेपालगंजको आसमान हेर्ने होला उनीहरुलाई हतारो छ ।

काठमाडौं माथिको धमिलो आसमानमा उनीहरु निर्मला कुर्मी र नकुन्नी धोबी देख्छन् । अनि सोच्छन्, ‘निर्मला कुर्मीले न्याय पाइनन्, त्यसबेला पनि मान्छेहरु हाँसे । अब हामी खाली हात घर फर्कियौं भने उनीहरू फेरि हाँस्ने छन् । हामीलाई पनि एक एक गरि सिध्याउनेछन् ।’ यतिबेला न्याय चाहाने थुप्रै मानिसहरुका लागि रुबीहरु प्रेरणाको स्रोत बनिरहेका छन् । न्याय बिनै रित्तो हात फर्किंदा अरु महिलाहरुमा लड्ने हिम्मत कम हुन्छ भन्ने डर रुबीहरुलाई छ ।
देहातमा घुर तापेर बसेका श्रीमानहरुको, नाति नातिनाहरुको, छोराछोरीहरुको खुब याद आउँछ उनीहरुलाई । अनि साहारा भइदिन्छ उही सानो मोबाइल । उताबाट फोन आउँछ, ‘कहिले आउछौ घर रु’ तर देहातबाट चाँडै आउ भन्दैनन् । बरु ढुक्कले आन्दोलन गरिरहन हौसला दिन्छन् ।

महिनौं बितिसक्दा पनि उनीहरुको आवाज सहरले सुनेन, सरकारले सुनेन, समाजले पनि सुनेन । कसैले नसुने पनि उनीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरूलाई लडाइँ जितेरै घर फर्किनु छ । घर फर्किएपछि गाउँमा उनीहरुको सम्मानमा ठूलो भोज हुनेछ । उनीहरूको पूजा आराधाना हुनेछ । अहिले पनि गाउँलेहरू न्यायको लडाइँमा बल पुगोस् भनि दिनरात पूजा गरिरहेका छन्, कामना गरिरहेका छन् ।

उता देहातमा गाइ बस्तुहरु गोधुली साँझसँगै गोठतिर फर्किन्छन् । यता सहरमा मान्छेहरू साँझ पर्दै गएपछि डेरा तिर फर्किन्छन् । यही बेला रूबीहरूको पनि कलंकी फर्कने समय हुन्छ । चन्द्रागिरिबाट घाम विदा भएर सहर झनै चिसो हुन थालेपछि रूबीहरू ब्यानर पट्याउन थाल्छन् । फेरि कुम्लो बनाउँछन्, अनि घाम डुबि गएतिर सडकको किनारै किनार हिँडेरै बासस्थान पुग्छन् ।

५२० किलोमिटर हिँड्दै हिँड्दै आएर अर्को ४० दिन हिँडिसक्दा पनि उनीहरुको यात्रा अझै टुंगिएको छैन । उनीहरुले सिंहदरबारलाई हेरिरहेका छन्, तर सिंहदरबारले उनीहरुलाई देखिरहेको छैन । उनीहरु हरेक दिन काठमाडौका चोक र गल्लीहरुमा न्याय खोज्दै हिँडिरहेको देख्दा यस्तो लाग्छ, उनीहरुले काठमाडौं भित्रै काठमाडौं भेटिरहेका छैनन् । उनीहरु काठमाडौं भित्रै काठमाडौ पुग्न निकै लामो यात्रामा हिँडिरहेका छन् ।