February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

“जात व्यवस्थाका विरुद्ध दलित र गैरदलित सबै नै एकताबद्ध भएर संघर्षमा उत्रिनुको विकल्प छैन“

२०७९ जेष्ठ १०

2K

  • राजकुमार हिङमाङ
    (संयोजक, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, केन्द्रीय समिति)

रुकुम–सोती नरसंहार भएको २ वर्ष हुँदा समेत नवराजहरुका परिवारले किन न्याय पाएका छैनन् ?

–यो राज्यसत्ता दलाल पुँजीपति वर्गको नियन्त्रणमा भएकाले स्वभाविक रुपमा न्यायालयका सबै संयन्त्रहरु उनीहरुकै वरिपरि छ । हिजो पनि कुनै न कुनै रुपमा उक्त घटनालाई दबाउन खोजिएको थियो । जात व्यवस्थाको आधारमा घटेको घटना होइन भन्ने पक्षहरु हाबी भएकै कारणले गर्दा अहिलेसम्म उनीहरुले न्याय प्राप्त गर्न सकिरहेका छैनन् ।

जात व्यवस्था उन्मूलन मोर्चाले यो घटना भएको जेठ १० लाई ‘जात व्यवस्थाविरुद्धको विद्रोह दिवस’ का रुपमा मनाउने निर्णय गरेको रहेछ, किन ?

–हजुर, जेठ १० लाई जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यो स्वभाविक, ऐतिहासिक र वैज्ञानिक निर्णय हो भन्ने हामीलाई लागेको छ। यसले मात्र नवराज वि.क. र साथीहरुलाई न्याय दिन सक्छ ।

यो भन्दा अगाडि जात व्यवस्थाविरुद्ध विद्रोह भएको थिएन ? यसले इतिहासमा भएका जात व्यवस्था विरोधी अन्य सङ्घर्षहरुको अवमुल्यन गर्दैन र ?

–विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरुमा गाँसिएर जात व्यवस्था उन्मूलन गर्नुपर्छ भन्नेहरुको विद्रोह र बलिदान त भएका छन्, तर खासगरी जात व्यवस्थाको विरुद्धमा यो पैमानामा भएको बलिदान भनेको रुकुम चौरजहारी सोतीमा नवराज बि.क. लगायत ६ जना युवाहरुको नरसंहार नै हो । इतिहासमा दलित मुक्ति आन्दोलनको क्रममा थुप्रै सहिदहरुले बलिदान त गरेका छन् तर यस स्तरको साहसपूर्ण सामुहिक बलिदान भएको इतिहास नेपाली धर्तीमा यो पहिलो हो साथसाथै विश्व मानव समुदायलाई नै कलङ्कित बनाउने किसिमको नरसंहार पनि हो ।
अफ्रिकाको सार्प भिलेमा ६९ जना काला जातिको कत्लेआम गरिएको घटना सरह कै बलिदान भएकाले रुकुम–सोती नरसंहार भएको दिन जेठ १० लाई ‘जात व्यवस्थाविरुद्धको विद्रोह दिवस’ का रुपमा मनाउने निर्णय गरिएको हो । यसले इतिहासमा भएका जात व्यवस्था विरोधी अन्य आन्दोलनहरुको अपमान होइन, बरु नेपाली सङ्घर्ष र विद्रोहको सन्दर्भसहित एकमुष्ट रुपमा सम्मान गरेको छ ।

कतिपय मान्छेहरु जातीय विभेद र दमनलाई रीतिथिति र परम्परासँग जोडेर हेर्छन्, तपाई यसलाई कसरी हेर्नुहुन्छ ?

– जातीय विभेद र दमनको सवाल यथार्थमा कतिपय मान्छेहरुले हेरेजस्तो र बुझेजस्तो सामान्य रीति र परम्पराको विषय कुनै पनि हालतमा होइन । यहाँ त जात व्यवस्थाका आधारमा पाँच हजार वर्षदेखि आजसम्म योजनाबद्ध रुपमा राज्य व्यवस्थाकै तहबाट जन्मका आधारमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक प्रणालीमाथि दमनचक्र चलाइएको छ । कुनै खास समुदायको पुस्तौपुस्ताले पाँच हजार वर्षदेखि अझैसम्म पनि निरन्तर व्यहोरिरहेको दमनले उनीहरुको मानवीय जीवनको गरिमा र मर्यादालाई कतिसम्म धुलिसात् पारेको होला भनेर यदि कोही एक स्वस्थ मानव एक मिनेटको लागि पनि घोत्लिन्छ भने ऊ स्वयंले त्यसको जवाफ पाउँछ । त्यसैले, जातीय विभेद र दमनलाई रीतिथिति र परम्परासँग मात्र जोडेर सतही रुपमा बुझ्ने कुरा सही छैन । यस्तो बुझाइले जात व्यवस्था विरोधी लडाइँलाई कमजोर मात्र बनाउँछ ।

जात व्यवस्थाका विरुद्ध नेतृत्वदायी ढङ्गले क्रियाशील एउटा अभियन्ताको नाताले नेपाली समाजलाई जात व्यवस्थाले कहाँ कहाँ गाँजेको पाउनुहुन्छ ?

–हेर्नुस, यो सवालमा भने कुन चाहिँ क्षेत्रमा जात व्यवस्थाले असर गरेको छैन र ? भन्ने मेरो प्रतिपश्न हुन्छ । किनकी वि.सं. १९९० मा सुरु भएको प्रजातान्त्रिक आन्दोलन र वि.सं. २००६ सालमा सुरु भएको कम्युनिष्ट आन्दोलनले नेपाली समाजको चरित्र र अवस्था कस्तो हो भन्ने विषय विश्लेषण गरेर त्यसको निरुपण गर्न सकेको भए स्वभाविक रुपमा नेपाली समाजको जात व्यवस्था राज्यस्तरबाटै हल हुने दिशा पक्रिन्थ्यो र त्यसले आर्थिक, राजनीतिक र सामाजिक–सांस्कृतिक प्रणालीसहित समग्र क्षेत्रलाई मुक्त पार्ने प्रक्रियामा जान सक्थ्यो । तर राज्य प्रणाली नै जात व्यवस्थामा आधारित भइसकेपछि त्यसले सोझै अर्थतन्त्र, राजनीति, संस्कृति र सामाजिक प्रणालीमा असर गर्दोरहेछ । तसर्थ हामी सजिलै भन्न सक्छौँ, जात व्यवस्थाले नेपाली समाजका सबै पक्षलाई निकै नराम्रोसँग गाँजेको छ । यसबाट मुक्त हुन जात व्यवस्था विरुद्धको वारपारको लडाइँबाट मात्र सम्भव छ ।

जात व्यवस्थाले नेपाली समाजको सबै पक्षलाई गाँजेको छ त भन्नुभयो । यसको आर्थिक आयामलाई चाहिँ अझ प्रष्ट पारदिनुस् न !

–जात व्यवस्थाको अर्थ प्रणाली भनेको के हो भने, कुनै पनि व्यक्ति जन्मदै स्वतः जात कै आधारमा धनी हुने र कुनै व्यक्ति जन्मदै जातकै आधारमा गरीब हुने भयो । अझ यसो भनौँ, जातका आधारमा कुनै व्यक्तिको पेशा र व्यवसाय तोकिने, जातकै आधारमा उसका आर्थिक गतिविधिहरु तोकिने, जातकै आधारमा उसको सम्पत्तिमाथिको हकभोगका नियमहरु निर्धारण हुने जुन सामाजिक स्थिति छ, हो त्यो नै जात व्यवस्थाले निमार्ण गरेको आर्थिक आयाम हो जुन असाध्यै कुरुप र ध्वंस गर्न लायक छ ।

 यस्तो जात व्यवस्थाविरुद्धको लडाइमा तपाईहरु किन एक्लाएक्लै हुनुहुन्छ ?

–एक्लाएक्लै र संयुक्त रुपमा आन्दोलित हुने विषय त्यो परिस्थितिजन्य कुरा हो । कतिपय सन्दर्भमा दृष्टिकोणको प्रश्न पनि अहम् बनेर आउँछ । जात व्यवस्थाविरुद्धको लडाइँमा सधैँ संयुक्त रुपमा आन्दोलित हुने संस्कार हामीले नेपाली समाजमा मुलतः वि.सं. २०४६ सालको जनआन्दोलन मार्फत निर्माण गरिसकेका छौँ । अहिले त गैरदलित समुदायको ठूलै हिस्साले यो लडाईलाई साथ दिइराखेको छ ।

यो लडाइँमा गैरदलित समुदायले पनि साथ दिएको कुरा त गर्नु भयो तर खासमा यो लडाइँ दलित समुदायको मात्र भएको जस्तो लाग्दैन ? अन्य समुदायको सहभागिता भएपनि निकै न्यून मात्र भएजस्तो अनुभूति हुँदैन ?

–अहँ, हामीलाई त्यस्तो पटक्कै लाग्दैन ! इतिहासको विभिन्न कालखण्डमा गैरदलित समुदायको सचेत तप्काले सधैँ नै साथ दिँदै आएको छ, चाहे धार्मिक सुधारवादी आन्दोलनको कुरा गर्नुस् वा वि.सं.२०४६ साल पछाडिको मन्दिर प्रवेश हुँदै विभिन्न राजनैतिक दलित अधिकारको पक्षमा भएका आन्दोलनहरुको कुरा गर्नुस्, त्यहाँ जहिले पनि गैरदलित समुदायको साथ रहँदै आएको छ । एउटा कुरा के चाहिँ सत्य हो भने, हिजोको साथ लेख्ने, पढ्ने र सुझाव दिने स्तरमा मात्रै सीमित हुन्थ्यो भने आज सङ्गठित रुपमा नै गैरदलित समुदायको प्रगतिशील हिस्सा सङ्घर्षको अग्रपंक्तिमा आउन थालिसकेको छ । त्यो प्रगतिशील हिस्साले बोध गरेको छ कि जात व्यवस्थाको समस्या दलितहरुको मात्र समस्या नभएर सिङ्गो समाज र राष्ट्रको समस्या हो जसको समाधान गर्न दलित र गैरदलित सबै नै एकताबद्ध भएर लड्नुको विकल्प छैन ।

त्यसो भए जात व्यवस्थाविरुद्ध लड्न संयुक्त मोर्चाको आवश्यकता छ भन्नु भएको हो ?

–जात व्यवस्था विरुद्धको सङ्घर्ष भनेको वैचारिक रुपमा नै प्रष्ट भएर अगाडि बढाउनु पर्ने वर्गसङ्घर्षकै विषय हो । हिजो जात व्यवस्थाको रुप सामन्तवादी थियो तर आज त्यो दलाल पुँजीवादी स्वरुपमा विकसित भइसकेको छ । त्यसैले, आज दलाल पुँजीवादी व्यवस्थाको विरुद्ध लड्ने क्रान्तिकारी वैचारिकीले मात्रै जात व्यवस्थाविरुद्धको आन्दोलन अगाडि बढाउन सक्दछ । यो आन्दोलनलाई आजको वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभारसँग जोड्नुपर्ने हुन्छ । आजको क्रान्तिको मुख्य कार्यभार भनेको आजको विज्ञान प्रविधिलाई प्रचुरमात्रामा प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकाससँगै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । तसर्थ, संयुक्त मोर्चाको अवधारणालाई पनि पक्रिँदै मुख्यतः मार्क्सवादी विश्वदृष्टिकोणको आधारमा विशिष्ट ढङ्गले यो वर्गीय सत्ता, जात व्यवस्था र पितृसत्तात्मक व्यवस्थाका विरुद्ध विद्रोह सङ्गठित गर्नुपर्ने हुन्छ।

जात व्यवस्था उन्मूलन मोर्चाले अगामी दिनमा जात व्यवस्था उन्मूलन गर्न के कस्तो योजना बनाएको छ ?

–अहिले हामी मूलतः हामी सङ्गठन निर्माण अभियानको प्रारम्भिक चरणमै छौं । हामी वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने अग्रदस्ता सङ्गठनका रुपमा अघि बढिरहेका छौं । वर्तमान अवस्थामा देशव्यापी रुपमा जात व्यवस्थाले पिँधमा पारिएका दलितहरुको हत्या हिंसाका विरुद्ध आन्दोलनको प्रक्रियामा छौं र हिजो दलितहरुमाथि गरिएका अत्याचारको लेखाजोखा गर्दै अत्याचारमा संलग्नहरुलाई कारबाही गराउन राज्यलाई दबाब श्रृष्टि गरिरहेका छौँ । यदि राज्यले कारबाही प्रक्रिया अगाडि बढाउदैन भने ती अत्याचारीहरुलाई कारबाही गर्न जनअपिल समेत गर्ने तयारीमा छौँ ।