November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बालेन, हर्क र गोपालहरुको उदयले खोतलिएका प्रश्नहरु

२०७९ जेष्ठ १७

775

  • प्रेम कुमार गैरे (क्वान्टम)

नेपालका संसदवादी दलहरुमा यति बेला “बालेन, हर्क र गोपालहरुको उदयले हल्ला–खल्ला र भागदौड मच्चाएको परिदृश्य यत्रतत्र देख्न पाइन्छ । प्रदेश नं. १ को धरान उपमहानगरपालिकामा सामाजिक अभियानकर्ता हर्क साम्पाङ राई, संघीय राजधानीमा अवस्थित काठमाण्डौ महानगरपालिकामा बालेन्द्र उर्फ बालेन साह र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा व्यापारी/समाजसेवी गोपाल उर्फ गोपी हमाल यी तीनवटै मेयर बिना राजनीतिक दलका उमेद्वार बनी निर्वाचित भएका छन् । यो घटनाले सपाट रुपमा देखाएको चित्र हो, भुमण्डलीकृत पुँजीवादी व्यवस्थाले निम्त्याएको ‘व्यक्तिवादी’ मनोदशा ।

‘व्यक्तिवाद’ र ‘व्यक्तित्व’बीचको विभ्रम

नेपाली समाजमा पुँजीवादले केही हदसम्म स्थापित गर्न र काफी भ्रम छर्न सफल भएको अवधारणा मध्येको एक हो ‘व्यक्तिवाद’ र ‘व्यक्तित्व’ बीचको अस्पष्टता । अङ्ग्रेजी शब्दको individualism लाई उल्था गर्दा नेपालीमा ‘व्यक्तिवाद’ हुन जान्छ , जुन collectivism अर्थात् ‘सामुहिकतावाद’ को परस्पर विरोधी अवधारणा हो । मानव जाती सामाजिकीकरण हुनका निम्ति अहम् भूमिका संगठनात्मक शैलीको राजनैतिक प्रणालीले खेलिरहेको हुन्छ, जसलाई आत्मकेन्द्रित र मनोगत व्यक्तिवादी सोच र प्रणालीले अहित मात्रै गर्दैन बरु प्रत्युत्पादक समेत बन्ने खतरा रहिरहन्छ ।

व्यक्तिवादी चिन्तनले कुनै पनि नेता वा शासकलाई ‘फाँसीवादी’ दिशातर्फ धकेल्छ किनकी उक्त व्यक्ति नै सर्वेसर्वा र निरंकुश बन्ने वातावरण यो चिन्तन प्रणालीले क्रमिक रुपमा विकास गरिरहेको हुन्छ । 

‘व्यक्तित्व’सँग ‘व्यक्तिवाद’ जोड्न नमिल्ने त हुँदै हो तर आम जनमानसमा यी दुई फरक विषयवस्तुलाई एउटै टोकरीमा हालेर ‘हात्ती’ र ‘हात्ती छाप चप्पल’ उस्तै–उस्तै हो भन्ने किसिमको दिग्भ्रमित भाष्य निर्माण गरिएको पाइन्छ । कुनै पनि व्यक्तिको स्वभाव, प्रभाव वा रुचिका हिसाबले अर्को व्यक्तिसँग हुन आउने फरकपनाले नै उक्त व्यक्तिको ‘व्यक्तित्व’ निर्माण हुन जान्छ, जुन स्वभाविक प्रक्रिया हो ।

माथि उल्लेखित स्वतन्त्र व्यक्तिहरु विजय भएका घटनाहरुका बारेमा चर्चिनु पर्दा ती विजित व्यक्तिहरुका आ–आफ्नै व्यक्तित्व त छँदैछ तर यस्ता घटना घटित भइरहँदा उनीहरुको व्यक्तिवादी चिन्तन नै हाबी देखिन्छ । अझै अगाडि बढ्ने हो भने कथित शिक्षित, सम्मृद्ध र सम्भ्रान्त वर्गका बासिन्दाहरुको आवादी रहने भनिएका ती महानगर र उपमहानगरपालिको मत प्रकटीकरणको ट्रेन्ड हेर्दा लाग्छ समाज पनि व्यक्तिवादको दलदलमा फसि नै सक्यो ।

व्यक्तिवादी चिन्तनले कुनै पनि नेता वा शासकलाई ‘फाँसीवादी’ दिशातर्फ धकेल्छ किनकी उक्त व्यक्ति नै सर्वेसर्वा र निरंकुश बन्ने वातावरण यो चिन्तन प्रणालीले क्रमिक रुपमा विकास गरिरहेको हुन्छ ।

क्याडेर बेस्ड र मास बेस्ड भएका नेपालका संसदवादी कथित ठुल्ठुला राजनैतिक दलहरु पनि व्यक्तिवादी चिन्तनबाट ग्रसित र अभ्यस्त भएकै कारण बेला बखत सतहमा आइरहने उनीहरुका निरंकुशताका दाउपेचहरुले देश अप्ठ्यारोमा परेको तीता अनुभवहरु हामीसँग बग्रेल्ती छन् । बिना सांगठनिक अनुभव, वैचारिक प्रशिक्षण र राजनैतिक संस्कारबाट एक्कासी उदाएका व्यक्तिवादका यी पुलिन्दाहरु निरंकुश, आत्मकेन्द्रित, मनोगत बन्दै जाने सम्भावना अधिक रहन्छ किनकि यस्ता पात्रलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने कुनै संगठन हुँदैन ।

चालु व्यवस्थाको साङ्गोपाङ्गो अवस्था र विकल्पको खोज

गाउँशहरका चिया/भट्टी पसलका गफ होस् वा आलिसान रेस्टुरेन्टका जमघट वा कोठे बहस र बैठकहरुमा ‘बालेनहरुको इन्ट्री’ को चर्चा परिचर्चासहित कारणहरु खोतलखातल गर्ने काममा सबै तह र तप्काका व्यक्तिहरु व्यस्त छन् अथवा भनौं उनीहरुको दिनचर्या नै बनिदिएको छ ।

यतिबेलाको आम जनताको असन्तुष्टि केवल पात्रमा होइन समग्र भुमण्डलीकृत पुँजीवादी व्यवस्थाभित्र आएको समस्यामा केन्द्रित छ, जसको निर्विकल्प उपाय भनेको नै ’वैज्ञानिक समाजवादी’ व्यवस्था हो ।

‘बालेनहरु’को नायकवादी इन्ट्रीसँगै त्यस ठाउँमा राजनीतिक दलहरुको शर्मनाक पराजयले विभिन्न अड्कलबाजीहरु प्रसारित भएका छन्, जस्तै : recall र no vote को अधिकार नहुनु, राजनैतिक दलप्रतिको वितृष्णा वा आक्रोश, राजनीतिक दलभित्रको अन्तरघात, आकुलव्याकुल जनता माझ बालेनहरुले ल्याएका सामान्य भौतिक पुर्वाधारका विकासे कार्ययोजना, आदि इत्यादि । यी र यस्ता तर्क–तर्कनाको परिणाम अझै डरलाग्दो र घातकरुपमा युवा पुस्ताको चिन्तन र प्रतिक्रियाले झल्काउँछ । किनकी उनीहरु भन्दै जान थालेका छन् – अब किन राजनीतिक संगठन चाहियो र, सामाजिक संजालको प्रयोग गरेर मात्रै पनि नेता बन्न सकिन्छ नि ⁄ यस्तो मनस्थितिले ल्याएका अड्कलबाजीहरु केवल निमित्त कारणहरु मात्रै हुन् । मुख्य विषयवस्तु र सही वैचारिकीको उठान भने हुन सकेको छैन किनकि यहाँ कारणको जरा खोजी नगरी सतही र उडन्ते बहसबाट धारणा निमार्ण गर्दै गलत निष्कर्षमा पुग्ने परिपाटी व्याप्त छ ।

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामाग्रीमा भइरहेको साप्ताहिक मुल्यवृद्धि, कालो बजारीको धन्दामा वृद्धि, आयातित सामानको बिगबिगी, बजारवादले निम्त्याएको उपभोक्तावादी संस्कृतिको प्रबद्र्धनीकरण, बैंकको चर्को ब्याजदर, निर्यातमा शुन्यप्रायः बनेको व्यापारसँगै यसले निम्त्याएको व्यापार घाटा र हायलकायल देशको अर्थतन्त्रको राप र तापले डामेका आम जनताले यो व्यवस्थाको विकल्प खुट्याउन नसक्ने अवस्थामा वैकल्पिक एक्लो व्यक्तिलाई बाध्य भएर अभिमत प्रकट गर्नु परेको सत्य हो ।

कुनै पनि घटनाले निम्त्याएको ‘परिणाम’ सहायक हो भने ‘कारण’ मुख्य विषय हो जसको अन्वेषण अपरिहार्य छ । ‘परिणाममुखी’ चेतको क्रमिक रुपमा विनिर्माण गर्दै ‘कारणमुखी’ चेतको विकास अब हामीले गर्दै जानुपर्ने हुन्छ । यतिबेलाको आम जनताको असन्तुष्टि केवल पात्रमा होइन समग्र भुमण्डलीकृत पुँजीवादी व्यवस्थाभित्र आएको समस्यामा केन्द्रित छ, जसको निर्विकल्प उपाय भनेको नै ’वैज्ञानिक समाजवादी’ व्यवस्था हो ।

खोतलिएका यी प्रश्नका भङ्गालाहरु

यस्ता क्षणभङ्गुर खुशी, उल्लास र प्रत्येक पञ्चवर्षीय ‘नवीन बालेनहरु’ भुमण्डलीकृत पुँजीवादले निम्त्याएको रोगको निदानमा बीसको उन्नाइस पार्न त सफल होलान् तर यो क्षणिक आत्मरति सिवाय अरु केही हुने संकेत देखिँदैन । बालेनहरु कुन वर्गको प्रतिनिधित्व गर्दछन् ? उनीहरुको प्रतिनिधित्वले भुइँमान्छेको स्वार्थ र सरोकारको प्रतिनिधित्व हुनेवाला छ त ? यी र यस्ता यावत मूलभूत प्रश्नहरुको अनुत्तरित शृङ्खला अब सुरु हुनेवाला छ, जुन बालेनहरुले दिन सक्ने छैनन् ।

सामान्य भौतिक पुर्वाधारका विकासे कार्ययोजनाबाहेक नगरलाई स्वाधीन, उत्पादनमा आत्मनिर्भर, उत्पादकत्वमा वृद्धि र पर्यावरणको रक्षाको बारेमा उनीहरुको वैचारिकी के हो ? पाँच वर्षका निम्ति अनुबन्धित ती ‘नायक’ पात्रहरु ‘खलनायक’ मा रुपान्तरित भई डोजर आतंक, कमिसनखोरी, प्राकृतिक श्रोतको दोहनकारी भुमिका जस्ता दुष्कर्ममा लिप्त हुँदाका बखत तिनीहरुलाई नियमन, हस्तक्षेप र कारबाही गर्ने संगठन कुन हो ? व्यक्तिवादको चंगुलबाट निस्किएर अनि पुँजीवादको भुमरीबाट उछुट्टिएर संविधानले चिनेको समाजवादको गोरेटोमा समाहित हुने दार्शनिकी बोक्ने दुस्साहस र ल्याकत के यी बालेन, हर्क र गोपालहरुले राख्न सक्लान् ?