November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सौन्दर्य प्रतियोगिता : सशक्तीकरण र वस्तुकरणको तानातानमा तङ्ग्रिरहेको विश्वव्यापी पितृसत्तात्मक पुँजीवाद

२०७९ जेष्ठ २०

455

  • बिभूषणा पौड्याल

जब जब सौन्दर्य प्रतियोगिताको विरोधको आवाज आउँछ, तब तब एउटा आलोचनात्मक तर्क आउँछ, जुन एकदम सही पनि हो, कि सौन्दर्य प्रतियोगिताले महिलाको वस्तुकरण गर्‍यो । प्रायजसो यस वस्तुकरणको विषयलाई सिधै लगेर जोडिन्छ, छोटो लुगा र अङ्ग प्रदर्शनसँग । केही हदसम्म यो तर्क पनि सही होला । तर यदि केही गरी सौन्दर्य प्रतियोगिताको विरोध यहि तर्कमा सुरु र अन्त्य अथवा केन्द्रीकृत गरियो भने चाहि ठुलो गल्ति हुनेछ । यसले हाम्रो ध्यान र प्रतिरोधी उर्जा संरचनात्मक हिंसातिर नगएर त्यसको एउटा सतही अभिव्यक्तितिर मात्र जान्छ । के महिलाले छोटो लुगा नलगाउने बित्तिकै ‘वस्तुकरण’ हुन छोड्छ त ? त्यो त होइन । तर हाम्रो विरोध र तर्कले त त्यस्तै सुनिन्छ ⁄ हामीले संरचनासँग सशक्त रुपमा लड्नको लागि पहिला संरचनालाई बुझ्न जरुरी छ । नत्र लडाइले छोटो लुगालाई लामो त बनाउला, संरचनाको रुप पनि केही परिवर्तन त गर्ला, तर सारमा संरचना जस्ताको तेस्तै रहन्छ ।

अबको हाम्रो बहस र लडाइँ महिलाहरूलाई विचार निर्माणको सन्देश कसरी पुर्‍याउने भन्नेबारे केन्द्रित हुनु जरुरी छ । जब यो सन्देश बढी भन्दा बढी महिला माझमा पु¥याउन सकिन्छ, सौन्दर्य प्रतियोगिताले सिर्जना गरेको वस्तुकरणसँग लड्ने महिला लडाकुहरू आफै तयार हुँदै जान्छन र हामीलाई नेतृत्व गर्दै जान्छन् । यो सम्भव छ |

सौन्दर्य प्रतियोगिताको कुरा गर्दा यो बुझ्न जरूरी छ कि विश्वव्यापी पुँजीवाद र पितृसत्ताले समय र परिस्थिति अनुसार आफ्नो रुपतत्व परिवर्तन गर्न जानेको छ । त्यसैले हरेक समाजमा सौन्दर्य प्रतियोगिताको रुप सतहमा फरक फरक देखापर्न सक्छ, जबकि सारमा महिलालाई प्रयोग गरेर पितृसत्तात्मक पुँजीवादले अन्ततः शोषण गर्ने नै हो । यसबाहेक यसले क्रान्तिका कतिपय तत्वहरूलाई पनि आफूमा समाहित गर्न सिकेको हुन्छ, जसले गर्दा महिलाको वस्तुकरण भैरहेको छ कि सशक्तीकरण ? स्पष्ट रूपमा छुट्याउनै गाह्रो पर्छ । यसरी रुप परिवर्तन गर्नसक्ने भएर पुँजीवाद र पितृसत्ता भूमण्डलीकरणको पहुँच भएको प्रायः सबै मानव समाजमा प्रभुत्व जमाएर बाँच्न सफल भएको छ । महिलाको वस्तुकरण सौन्दर्य प्रतियोगिता र अङ्ग प्रदर्शनमा मात्र देखियो भने साबुन, तेल, चामल, टुथपेस्ट, चप्पल, सोडा, गाडी आदि जस्ता विज्ञापनमा पुरै शरीर ढाकेरै भएको वस्तुकरण हाम्रो चेत र प्रतिरोधबाट लुक्न जान्छ र यो वस्तुकरण हाम्रो लागि पाच्य भैदिन्छ । यो अवस्थामा ‘आमा भात पकाउनु हुन्छ, बुवा अफिस जानुहुन्छ’ वाला वस्तुकरणले हामीलाई खासै पिरोल्दैन । यस किसिमबाट जन्मेको महिलामाथिको हिंसा हामी पुरै नजरअन्दाज गरिदिन्छौँ किनभने यो वस्तुकरण अहिले चलिरहेको सामाजिक व्यवस्थाको लागि सुविधाजनक छ । यो कुरा उठाएपछि भात कसले पकाउने ? लुगा कसले धुने ? ढुक्कले आफ्नो करियरको विकास गर्न र बलियो महसुस गर्न कसले पाउने ? सधै लाज नै मानेर कसले बस्नुपर्ने ? खानदानको इज्जत कसले धान्ने ? बिहे गरेपछि घर कसले छोड्ने ? आर्थिक रूपमा सधैं असुरक्षित को भैरहने ? सम्पत्तिको उत्तराधिकार को बन्ने ? परिवारको विरासत कसले सम्हाल्ने ? नागरिकता कसको नामबाट पाउने ? राजनीतिमा को अघि आउने ? नीतिनिर्माणमा कसको बोली धेरै सुनिने ? आम मानव समाजलाई असर गर्ने नीति र अभ्यासमा कसले प्राथमिकता पाउने ? तर यी प्रश्नहरु नसोधाँै क्यारे ! यो वस्तुकरणको प्रतिरोधको हामी प्रतिरक्षा गर्न सक्छौ । किनकि यो वस्तुकरण पाच्य छ, सुविधाजनक छ । हाम्रो विरोध, रिस र घिन त त्यतिबेला निस्किन्छ जतिबेला हामीले अनुमोदन गरेको भन्दा धेरै मात्रामा हाम्रो अगाडी महिलाको छाला देखापर्छ ।

सौन्दर्य प्रतियोगितामा जतिसुकै प्रतिभाको कुरा गरे पनि उनीहरुको मूल्य निर्धारण गर्नको लागि छनौटको आधार चाहिँ महिलाको सतही रुप नै हुन्छ । लाग्छ कि दशैंमा काट्नको लागि खसी बोका छानेको जस्तो । खालि पितृसत्तात्मक पुँजीवादको काट्ने तरिका चाहिँ अलि फरक छ । उसले एक चोटी मात्रै काट्दैन, काटेको काट्यै गर्छ, महिलाको शरीर नापेको नाप्यै गर्छ । एकचोटी बिक्रि भएर पुग्दैन महिलाको शरीर, यो त घरिघरि बिक्री हुन्छ र बिक्री हुन लायक पनि भैरहनुपर्छ । अनि यो प्रतियोगतामा यो पनि प्रष्ट छ कि, को प्रदर्शित हुने ? कसलाई आकर्षित गर्ने हो ? पुँजीवादी व्यवस्थालाई टिकाइरहन ‘मिसेज’ र ‘मिस्टर’लाई फाट्टफुट्ट प्रदर्शनमा राख्नुपरे पनि प्रदर्शनको केन्द्रमा हुन्छ ‘मिस’ अर्थात अविवाहित महिला । यसमा सम्बन्धविच्छेद भएको एकल महिला भएर नि हँुदैन र उमेरको पनि एउटा हद नाघ्न पाइदैन ।

विश्वव्यापी पितृसत्तात्मक पुँजीवादको बजारमा सबैभन्दा धेरै मोल तोक्न सकिने शरीर र उमेर भएको र एकपटकको लगानीबाट कयौं गुणा नाफा कमाउन सकिने माल हो–अविवाहित महिला । त्यो बजारमा उसलाई नै वस्तु जस्तो बिक्री गर्दागर्दै उसको माध्यमबाट अरु धेरै वस्तुहरु पनि बिक्री गर्नुपर्ने हुन्छ । अनि क्षेत्रीय, स्थानीय, र राष्ट्रिय रुपमा हुने सबै सौन्दर्य प्रतियोगिताहरु विश्वव्यापी वा पश्चिमी पुँजीवादतिर उन्मुख हुन्छन । यस्ता विभिन्न तहमा हुने सौन्दर्य प्रतियोगिताको परम प्रदर्शनी मञ्च भनेको मिस वल्र्ड र मिस युनिभर्सका मञ्च हुन् ।

यहाँ मूर्त वस्तुमात्रै बिक्री हुँदैन । सौन्दर्यका अनेकन मापदण्डद्वारा अमुर्त विचार र इच्छा आकाङ्क्षा पनि बिक्री हुन्छ । कस्तो रुप पर्फेक्ट हो ? कस्तो जीवन पर्फेक्ट हो ? कस्तो इच्छा आकाङ्क्षा, सपना र बाटो पर्फेक्ट हो ? यो ‘पर्फेक्सन’को कुनै एउटा निश्चित समाप्ति र प्राप्ति छैन । यहि अमूर्त विचार र इच्छा आकाङ्क्षाको बिक्रीबाट मूर्त वस्तु बेचिन्छ । यो एउटा दुष्चक्र हो । हो, यिनै मञ्चमा अमूर्त मृगतृष्णा तथा मूर्त वस्तु बिक्री हुन्छन, धेरै मोल तोक्न मिल्ने शरीर र उमेर भएको अविवाहित महिलाद्वारा ।

तर यो सबै हुदाँहुदै पनि यो मञ्चरुपी बजारले किन महिला सशक्तीकरणको भान दिन्छ त ? यसको लागि हामीले फेरि अघि ‘आमा भात पकाउनु हुन्छ, बुवा अफिस जानुहुन्छ’ सँगै गरिएका प्रश्नहरूको श्रृङ्खलामा फर्किन जरुरी हुन्छ । ती प्रश्नहरूमा यदि महिलालाई निस्सासिएको महसुस हुन्छ भने स्वतः रुपमा नै हामीले उत्तर पाउँछौ । जब सास फेर्ने नै ठाउँ हुँदैन, तब अलिकति मात्रै पनि सास फेर्न पाएको जस्तो आभास दिने ठाउँमा सास फेरिन्छ कि फेरिदैन ? कि सास फेर्नु अगाडि त्यस ठाउँमा सास फेर्ने कि नफेर्ने भनेर समालोचनात्मक वा आलोचनात्मक विश्लेषण गरिन्छ ? यो विश्व र समाजले पुरुषको लागि जति धेरै मञ्चहरु तयार गरेर अगाडि राखिदिएको छ, के त्यत्ति नै मञ्च महिलाका लागि छन् त ? जब लाखौँ मञ्चहरु आफ्नो अगाडि हुन्छ, अनि मान्छेलाई थाहा हुन्छ कि आफुसँग छान्ने अधिकार र क्षमता पनि छ है भनेर । अनि ऊ तुलनात्मक रूपमा सुरक्षित महसुस गर्छ र हुन्छ पनि । त्यस अर्थमा महिलाभन्दा पुरुषहरु तुलनात्मक रूपमा सुरक्षित छन् यी मञ्चरुपी बजारहरुमा । पुरुषसँग तुलनात्मक रूपमा सास फेर्ने ठाउँको विकल्पहरू धेरै छ । अघि भनिएको सास फेर्ने ठाउँको विकल्पहरूको निर्धारण हुनेखाने र हुँदा खानेको वर्ग विभाजनले गर्छ । सौन्दर्य प्रतियोगिता आफैमा एउटा डरलाग्दो पुँजीवादी र पितृसत्तात्मक हिंसाको बजार भएपनि धेरै मोल तोक्न सकिने शरीर र उमेर भएको अविवाहित महिलाको लागि यो सास फेर्न पाएको मञ्च जस्तो भान हुन्छ । दुनियाँले आफुलाई हेरेको छ, ध्यान दिएको छ, कमाइ भएको छ, घुम्न पनि पाएको छ, शारीरिक अभिव्यक्ति गर्न पाएको छ, बोल्न पाएको छ, बोल्दाखेरि अरुले सुनेका हुन् कि जस्तो पनि लागेको छ, आफ्नो लागि लगानी भएको छ । भागदौडको दैनिकीबाट, पारिवारिक र सामाजिक जेलबाट तत्काल मुक्ति पनि दिएको छ । ज्ञानी छोरी, असल बुहारी, र आदर्श आमाभन्दा अरु पनि केही लक्ष्य दिएको छ । त्यसैले सौन्दर्य प्रतियोगिताको विरोधी नारीवादी आन्दोलन महिलाहरुका लागि बल्ल बल्ल सास फेर्न पाएको बेलामा स्वासनली काट्न आएको दानव जस्तो पनि देखा पर्न सक्छ ।

महिला र विश्वव्यापी पितृसत्तात्मक पुँजीवादबीचको ठुलो खाडलको कारण, सञ्चार अन्तर हो । महिला मुक्तिको भान दिन नसकेको, पाच्य र अपाच्य वस्तुकरणमा बाँडिएको सुविधाजनक नारीवादको अन्य असर पनि हो । त्यसैले हामीले सौन्दर्य प्रतियोगिताको कुरा उठाउदा समष्टिगत रूपमा समिक्षा गरेर उठाउनु जरुरी छ । त्यसको लागि हामी आफैले बुझ्न जरुरी छ । विभिन्न माध्यमबाट यो कुरालाई महिलाहरुबीच पु¥याउन जरुरी छ, जसले गर्दा महिला स्वयंले यो लडाई लड्न सक्ने नजर, हिम्मत र कारण देखून् । हामीले देखाउन सक्नुप¥यो कि, सास फेर्नको लागि अरु पनि विकल्पहरु छन् भनेर र यदि छैनन् भने पनि त्यसको लागि लड्ने हो भनेर । अबको हाम्रो बहस र लडाइँ महिलाहरूलाई विचार निर्माणको सन्देश कसरी पु¥याउने भन्नेबारे केन्द्रित हुनु जरुरी छ । जब यो सन्देश बढी भन्दा बढी महिला माझमा पु¥याउन सकिन्छ, सौन्दर्य प्रतियोगिताले सिर्जना गरेको वस्तुकरणसँग लड्ने महिला लडाकुहरू आफै तयार हुँदै जान्छन र हामीलाई नेतृत्व गर्दै जान्छन् । यो सम्भव छ |