November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता
पुष्पलाल स्मृति दिवस विशेष

के छ नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चामा ?

२०७९ श्रावण ७

230

आज नेपालमा कम्युनिष्ट आन्दोलनको स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा राणाहरुको चर्को शासन थियो तर त्यसका बिरुद्ध पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य र नारायणविलास जोशीहरुले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा कस्तो थियो भन्ने जिज्ञासा सबैलाई हुनु स्वभाविकै छ । त्यही जिज्ञासालाई मेट्न र नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको यथार्थ भूमिकालाई उजिल्याउन यहाँ नेकपाको पहिलो पर्चालाइ प्रस्तुत गरिएको छ :

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता-
अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ !

‘एकातिर नागरिक अधिकार लिई छोड्छौं’ भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन, अर्कातिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरुमा राणा सरकारले घोषणा ग¥यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानुन, नियमावली जारी भयो । यो घोषणा हाम्रा ती वीर सहिदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो, जसले आफ्ना दाजुभाइ, दिदी–बहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा सङ्गठन गर्ने स्वतन्त्रता पाउनेछन भनी हाँसीहाँसी दुश्मनको गोली छातीमा थापेका थिए, हाँसीहाँसी फाँसीको तख्तामा झुलेका थिए । फेरि यो घोषणा नेपालका ती सपूतहरूका निम्ति ठूलो अपमानको कुरा हो, जो सभा–सङ्गठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् । साथै, यो घोषणा हामी हजारौं नरनारीका निम्ति एउटा हाँक हो, चुनौती हो, जसले राणाशाहीको अगाडि घुँडा टेक्नुभन्दा अनेक किसिमको यातना सहनु, देश निकाला हुनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं । अतयव हामी प्रत्येक नेपाली नरनारीले यस घोषणापत्रलाई लत्याई ‘कोतपर्व’ होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नुपर्दछ ।

राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ । घोषणामा भनिएको छ, ‘राणाशाहीको हुकुम प्रमाङ्गीबिना कुनै किसिमको सभा सङ्गठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छैन । राणाशाहीका कर्मचारीहरूले (नोकरशाहहरूले) जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्नेछन्, चाहे त्यो सभा भरखरै सुरु भएको होस् अथवा आधा लम्किसकेको होस् ।’

राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (ट्रेड युनियन), किसान सभा इत्यादि कुनै किसिमको सङ्गठन पनि खोल्ने अधिकार यस घोषणापत्रले अस्वीकार गरेको छ । यसकारण यस घोषणापत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दा राखी जनताको विरोधमा खडा हुने, सङ्गठित हुने र खोल्ने अधिकार पनि पाएका छन् ।

हुँदाहुँदा यस घोषणापत्रले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ । औषधिमुलोको पसल, सङ्घ संस्था इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरू यस घोषणापत्रले राखेको छ । राणाशाहीको चीले–आँखा यस्ताहरूबाट पनि ओझल भएको छैन । यस्तो तिनको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुश्किल छ ।

राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरूलाई जति पटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ । नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धन–कुवेर टाटा, बिडला, सिहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छामुताविक भेट्न सक्छन् । करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नका निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन् । तर, हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोर बजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन । हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने, सङ्गठित हुने अधिकार पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमतिबिना नै नेपाललाई विश्वयुद्धको बिउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कृत नवसाम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नवप्रजातन्त्रहरू, आजाद चीन र समस्त एसियाको स्वतन्त्रता आन्दोलनको विरुद्ध एउटा फौजी अखडा कायम गर्नका निम्ति नेपाललाई बेचेको छ ।

वास्तवमा राणाशाही नागरिक स्वतन्त्रतादेखि यस्तरी काँपेका छन, किन ?

किनभने राणाहरूलाई यस कुराको पूर्णरूपले ज्ञान छ कि, द्वितीय विश्वयुद्धको फलस्वरूप समाजवादी संसारको मान, प्रतिष्ठान र घेरा बढ्दै गएको छ र नेपाल यस संसारबाट कसै पनि अलग रहनेछैन । यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबल रूपले चलेको छ भन्ने कुरा राणालाई पूर्णरूपले बोध छ । हामीले प्रजातन्त्रीय अधिकारका धेरै लडाईंहरूमा हिस्सा लिएका छौं, प्रजातन्त्रीय अधिकारका निम्ति लडेका छौं र यस दौरानमा राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौं ।

किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अति निर्दयी शोषणको, जसमा जमिनदार, साहुकार, पुँजीपतिहरूको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुञ्जायमान गर्नेछौं भन्ने कुरा राणाशाहीलाई पूर्णरूपले थाहा छ । हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरूलाई साम्राज्यवादीहरूले मलाया, हिन्दुस्तान, पाकिस्तान र दक्षिण–पूर्व एशियाका मुलुकहरूमा आज बन्दुकको जुन चारा बनाइराखेका छन त्यसको विरोध गर्छौं ।

किनभने राणाहरू यो कुरा राम्ररी बुझ्दछन् कि यदि हामीले सङ्गठित हुने अधिकार पायौं भने हामीले मजदुर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय, मनधारी नरनारीहरूलाई सङ्गठित गर्नेछौं । सामन्ती र साम्राज्यवादी डाँकाहरूले नेपालको धन जम्मा गरिरहेको शोषणलाई बन्द गर्नेछौं । नेपालको श्रमिक वर्गलाई सङ्गठित गरी हाम्रो जनधनको मालिक हामी हुनेछौं र हाम्रो प्यारो मातृभूमिको तैनाथ हामी गर्नेछौं, न कि सामन्ती साम्राज्यवादी डाँकाहरू । यी सबै कुराहरूको राणाहरूको गिदीमा तस्बिर छ, यसकारण थाप्लो रिङ्गाउँछ, मुटु ढुक्ढुकाउँछ ।

यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रो दुश्मनको मुटु काँपे काँपोस्, मुटुको चालै बन्द भए होस्, तर क्रान्तिकारी नेपालले निम्नलिखित युद्धनाथ फुक्नैपर्छ ।

– मजदुरलाई आफ्नो रोटी र तलब बढाउन र महङ्गीभत्ता बढाउनका निम्ति लड्नुपर्छ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।

– किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बालीनाली (फसल)को भाउ बढाउन, ज्याला बढाउन (अँधियामा उचित भाग पाउन) र जमीनको हकका निम्ति लड्नुपर्दछ । यसकारण किसानहरू नागरिक स्वतन्त्रता चाहन्छन् ।

– विद्यार्थीलाई बिनाफिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन सङ्घर्ष गर्नुपर्दछ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।

– नारी (महिला)लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण नारीहरू नागरिक स्वतन्त्रता चाहन्छन् ।

यसकारण सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नुपर्दछ । यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरूको नेतृत्वमा चल्ने र अरू सबै काङ्ग्रेसी नेताहरूको राणासँगको मेलमिलाप बाटो त्यागी अविराम युद्धनीति अपनाउनुपर्दछ । यी समाजवादी लगामे (भारतीय समाजवादी कठपुतली) काङ्ग्रेसी नेताहरू राणाहरूका मात्र विश्वासपात्र र दलाल होइनन्, जुन नेहरू सरकारले भारतमा समेत नर–हत्या गरिरहेको छ, जुन नेहरू सरकारले हाम्रा नेपाली भाइहरूलाई मलायामा लैजाने सुविधा अङ्ग्रेजलाई दिएको छ ।

किनभने उनीहरू आफ्नो प्रभु नेहरूलाई खुशी तुल्याई आशीर्वाद प्राप्त गर्ने ताकमा छन् । यसकारण उनीहरूले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदुरको रोटीको लडाइँका विरुद्ध नेहरू सरकारको तादिरशाही नीतिलाई समर्थन गरी आफूलाई विश्व मजदूर वर्गका विरोधी सावित गरे । जो अरू मुलुकका जनताको पक्ष लिंदैनन्, विरोधमा जान्छन्, उनीहरू आफ्नो देशका जनताको पक्ष लिन सक्दैनन्, विरोधमा नै जानेछन्, गई नै रहेका छन् । उनीहरूको सत्याग्रहको धम्की राणासँग मेलमिलाप गर्ने नीति मात्र हो । जनताको बढ्दो अशान्तिको डाहा देखाई राणालाई मेल गर्न दबाब दिने नीति मात्र हो । आजसम्मका कार्यमा उनीहरूले राणाशाहीको अगाडि मुन्टो निर्हुयाएका छन् र मेलमिलापका निम्ति दबाब दिनु सिवाय अरू कुनै बाटो देखाएका छैनन् । अतएव नेपाली जनताले यस्ता ‘राणासँग मेलमिलापको नीति’को भण्डाफोर गर्दै अगाडि बढ्नुपर्दछ । यी जनतासँग हात मिलाउने सुरमा छैनन्, राणाको लात चाट्ने ताकमा छन – खबरदार !

नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो । यसकारण यो लडाइँ अहिंसात्मक सम्म मात्र सीमित हुनुहुँदैन । हरेक टोल, हरेक सहर, हरेक गाउँ, हरेक जिल्ला, हरेक स्कुल र कलेज, हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ । राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला बहिष्कार गर । आफ्नो ऐन कानुन जारी गर । ठाउँठाउँमा कब्जा गर । सभा प्रदर्शन गर । यी समितिहरूद्वारा मजदुर, किसान र अरू श्रमजीवीहरूको माग उठाऊ, नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरूले भासिएर (अन्डरग्राउन्ड) काम गर्ने तरिकाहरू र पुलिस हमला रोक्ने चालहरू एवम ती क्रान्तिकारी जनताको मागलाई – जसलाई समाजवादी लगामे र अरू काङ्ग्रेसी नेताहरूले आँखामा छारो हालिराखेका छन्, दुस्मनको विरुद्ध लडाइँमा एकताबद्ध गर्ने उपायहरू पनि राम्ररी सम्झनु–बुझ्नुपर्दछ । नेपालमा जति सङ्गठन छन् ती सबैलाई क्रान्तिकारी लालझण्डाको मुनि सामेल गराउनुपर्दछ । वास्तवमा नेपालका यस्ता समस्त प्रजातान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरूमा हुनुपर्दछ, जो राणाशाहीलाई ध्वंस गरेर पनि अविराम गतिले समाजवाद र साम्यवादी क्रान्तितिर लम्कोस ।

राणाशाही वास्तवमा त्यतिको बलियो छैन, जति देख्दा बलियो जस्तो भान पर्दछ । राणाशाहीसँग जनतालाई दबाउने ताकत छैन । अतएव जनतालाई दबाउनका निम्ति राणाशाहीले आंग्ल–अमेरिकन साम्राज्यवादी र नेहरू सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसेआफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खराइरहेका छन् । यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन् । अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरू सोभियत युनियनको नेतृत्वमा प्रतिक्रियावादीहरूलाई हाँक दिँदै अगाडि बढिरहेका छन् । प्रतिक्रियावादीहरूको प्रत्येक जालसाजीलाई चकनाचुर पार्दैछन् । लाखौं–अर्बौं डलर (अमेरिकाको मुद्रा) ले पनि चिनी जनतालाई अमेरिकन डाँकाहरूले च्याङ–काइ–सेकमार्फत आफ्नो मुठ्ठीमा राख्न सकेनन् । चिनी जनता कम्युनिस्ट पार्टीको नेतृत्वमा नै विजयी सावित भए । चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ । यही क्रान्ति हाम्रो देशको सङ्घारमा आइपुगेको छ । बर्मा, मलाया, चाइना, इन्डोनेशिया, भारतवर्षको मुटु तेलङ्गनामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ । क्रान्तिकारी जनताको राज छ, ऐन कानुन लागू छ । यी क्रान्तिकारी जनताहरू पाइला–पाइला चाली हातमा हात मिलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेका छन । अरूको त कुरै छाडौं, एटम बमले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन ।

नेपालका छोराछोरी हो !
तिमीहरू पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौ । तिमीहरूले पनि आफूमा लुकेको साहस र वीरत्व वैरी–विरोधी सङ्ग्राममा देखाइसकेका छौं । राणाशाहीले तिम्रो छातीमा सोझ्याएका बन्दुकको मोहरी त्यतै फर्काउने कोसिस गर्नु छ ।

राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर !

– पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ– जिन्दावाद !

– लेख्ने, बोल्ने, पढ्ने, सभा सङ्गठन गर्ने अधिकार– जिन्दावाद !

– नेपालका किसानको ‘फसल भाउ बढाऊ, ज्याला भाउ बढाऊ !
उचित अँधिया बालीको लडाइँ– जिन्दावाद !

– एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइँको चारा बन्न दिनेछैनौं । चाहे मलाया होस, चाहे हिन्दुस्तान वीर नेपाली भाइ हो ⁄ हातमा भएको बन्दुकले साम्राज्यवादी डाँकाहरूको सीना ताक, देशका प्रत्येक गरिब भाइमजदुर किसानसँग गला मिलाऊ !

– सोभियत युनियन, नवप्रजातन्त्रहरू, आजाद चीन, विश्वको मजदुर वर्गको आन्दोलन र विश्वको कम्युनिस्ट आन्दोलनसँग हाम्रो एकता– जिन्दावाद !

– नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरू– जिन्दावाद !
२००६ साल बैसाख १० (२२ अप्रैल १९४९)