February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

समाजवादी आन्दोलन र श्रमिक वर्गको दायित्व

२०७९ श्रावण ९

1.3K

  • डि.बि. सर्वश्रेष्ठ

नेपालको श्रमिक आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउन श्रमिक वर्गको मुुक्ति चाहने सबै नै वैज्ञानिक समाजवादी क्रान्तिलाई केन्द्रमा राखेर संगठित हुनु आजको आवश्यकता हो । मुलुकमा क्रान्तिकारी आन्दोलनको खडेरी पर्नु भनेको राष्ट्रियता र जनतन्त्रमाथि गम्भीर खतरा कायम नै रहनु हो । यसको परिणाम भारतीय प्रभूत्ववाद हावी हुँदै जानु, विश्व साम्राज्यवादको हस्तक्षेप वृद्धि हुँदै जानु र राष्ट्रिय स्वाधिनतामा आँच आउनु हो । आज दलाल सत्ताका क्रियाकलापले जनजीवन झन् झन् कष्टकर हुँदै गएको छ । विकृति, विसंगती, अराजकता, कृतिम अभाव जस्ता क्रियाकलाप चलिरहेको छ । यस अवस्थाको अन्त्यको लागि जुनसुकै प्रकारको संघर्ष गर्नुपरे पनि आफूलाई तयार राख्नु क्रान्तिकारी श्रमिकहरुको दायित्व हो ।

ख. आर्थिक रुपान्तरणमा श्रमिक

नेपाल दलाल पुँजीवादको चरणमा भएकाले विना संघर्ष नेपाली आम जनताको अर्थतन्त्रमा कुनै फेरबदल आउने सम्भावना छैन । त्यसैले स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु आजको आवश्यकता हो । यसका लागि पुँजीको संरक्षण, प्रवर्धन तथा विकास गर्नु श्रमिक वर्गको प्राथमिक कार्यभार हो । श्रमिक वर्गले आफ्नो सत्ता र पुँजीको विकास गर्न मजदुरहरु स्वयम् उत्पादनमा मात्र नभई वितरणमा पनि सहभागी हुनु पर्दछ । त्यसैले अहिलेको मजदुर आन्दोलन उद्योग, कलकारखाना वा उत्पादनका श्रोत–साधनमा नियन्त्रण र परिचालन प्रक्रियामा सहभागी हुन पाउने प्रावधान सिर्जना गर्ने दिशामा केन्द्रित हुनु पर्दछ । त्यसै गरेर स्वयम् श्रमिकवर्गले नै समाजवादी आन्दोलनमार्फत उत्पादन प्रक्रियाको नियन्त्रण, नियमन तथा वितरण प्रक्रियाको नेतृत्व गर्नुपर्ने अवस्था आएको छ भने सामुदायिक जीवन प्रणालीमार्फत सामुदायिक उत्पादन प्रणालीको विकासमा लाग्नुपर्दछ । यस प्रक्रिया अन्तरगत पुँजीपति वर्गसँग पनि सहकार्य गर्दै उनीहरुका पुँजी सामुदायिकीकरण गर्दै रक्षा गर्नु पनि श्रमिकवर्गको कर्तव्य हुनपुगेको छ ।

ग. सामाजिक रुपान्तरणमा श्रमिक

श्रमजीवी जनतामा सामाजिक सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्नु अनिवार्य छ । आम रुपमा अख्तियार गरिने नीतिले मात्र मुलुकका सदियौँ देखि विभेदमा पारिएका वर्ग, समुदाय वा समूहको उत्थान वा मुक्ति हुन नसक्ने मात्र होईन, सामाजिक सन्तुलनसमेत कायम हुन सक्दैन । त्यसैले वर्तमान अन्तरिम संक्रमणकालका लागि विशेष वर्ग, समुदाय वा समूहका लागि विशेष सामाजिक सुरक्षा नीति अख्तियार गर्नु पर्दछ । सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्नुको मूल ध्येय भनेको सदियौँ देखि थोपरिएको जात व्यवस्थाले निम्त्याएको विभेदकारी व्यवहार तथा नीतिहरुको अन्त्य गर्नु हो । त्यसैले लिङ्ग, जात, धर्म, शारीरिक अवस्था वा भौगोलिक अवस्थितिका कारण कोही पनि नागरिकमाथिको विभेदको अन्त्यका लागि क्रान्तिकारी श्रमिक आन्दोलनको सक्रियता बढाउनु पर्दछ । मानवद्वारा मानवमाथि गरिने शोषणको अन्त्यका लागि विशेष कार्यक्रम तय गरी उक्त शोषणको विरुद्ध श्रमिक आन्दोलन उभिनुपर्दछ र श्रमिक वर्गको आफ्नै सत्ता स्थापनामा जोड दिँदै क्रान्तिको मुख्य कार्यभार बनाएर लागि पर्नुपर्दछ ।

घ. साँस्कृतिक रुपान्तरणमा श्रमिक

शोषण, दमन, अन्याय, अत्याचार र असमानताका सिकार भएका नेपाली जनताले दलाल पुँजीवाद विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेका भएपनि प्रत्येक आन्दोलन भित्र पुरानै संस्कृतिले सृजित भएका व्यवहारहरु छन । यस अवस्थामा मजदुर आन्दोलनले आफूूभित्र रहेको खराब मानसिकतााको पहिचान गरि त्यसलाई निषेध गर्ने अभियान संचालन गर्नुपर्दछ । श्रमिक आन्दोलनमा त झन आर्थिक, सामाजिक तथा सांस्कृतिक सबै खाले बिचलित मानसिकताले आश्रय पाइरहेको हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा भनेको विगतमा आफूले अख्तियार गरेको असान्दर्भिक अमानवीय नीति, सोच, विचार, बानीव्यहोरा, अनैतिक कार्य परित्याग गर्न तयार हुने र सामाजिक यथार्थका आधारमा नयाँ नीति तथा कार्यक्रम अर्थात नयाँ संस्कृतिको सिर्जना गर्दै मानव समाजलाई झन परिमार्जन गर्न सक्नु पर्दछ । कोही व्यक्तिलाई सुसंस्कृत बनाउँनु भनेको त्यस व्यक्तिबाट समाजले उच्च चेतनायुक्त, त्यागी, समाजसेवी मानवको व्यवहारको अपेक्षा गर्नु हो । यस प्रकारको उच्च चेतनायुक्त पूर्ण मानवले सँधै अन्याय, अत्याचार, असमानता, शोषण, दमन, विकृति, विसंगति, अराजकता तथा अन्धविश्वास, कुरीती र कुसंस्कारको विरुद्धमा आफूलाई उतार्न तयार पार्छ र जिम्मेवारीबोध तथा जवाफदेहीताका साथ शालिनतापूर्वक आफ्नो क्रियाकलाप अगाडि बढाउँछ । तर आज समाजमा जुन प्रकारको विकृति, विसंगति, अराजकता, भ्रष्टाचार तथा व्यभिचारहरुमा समेत राजनैतिक तथा सामाजिक आन्दोलनमा समाहित व्यक्तिहरु नै पर्दामा देखा परिरहेका छन् । यसले मुलुकले उच्च चेतनायुक्त पूर्ण मानव बनाउँन सक्षम भै रहेको छैन भन्ने पुष्टि गरेको छ । तसर्थ नैतिक रुपमा उच्च चेतनशील तथा त्यागी बलिदानी मानवको सिर्जनामा श्रमिक आन्दोलन केन्द्रीत हुनु पर्दछ ।

ङ. नेतृत्व विकासमा श्रमिक

हरेक समाजमा देखापरेका अन्तरबिरोधको हल खोज्न विभिन्न वर्ग, समुदाय वा व्यक्तिहरुले नेतृत्व प्रदान गरेका हुन्छन् । त्यसमा पनि आफ्नो वर्ग जाती समुदायका स्वार्थमा आधारित भएर राजनीतिक रुपमा स्थापित भैरहेका छन् । त्यसैको परिणाम सामन्ती राजतन्त्रको अन्त्य त भयो तर सामन्ती संस्कारसहित दलाल पुँजीवादभित्र देखा परेको छ । दलाल पुँजीवाद झाङ्गिएर ऐंजेरु जस्तै समाजमा गाडिएको छ । श्रमिक वर्गले एेंजेरु फाल्ने निर्णायक भूमिकामा रहेर दलाल पुँजीको विरुद्ध एउटा आँधिको सिर्जना गर्नुपर्छ । यस्तो अवस्थामा अबको प्रत्येक आन्दोलनको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने हुन्छ । त्यसैले श्रमिक वर्गले आफुलाई संयम, धैर्य, परिपक्व, जिम्मेवार, जबाफदेही बनाउँदै शालिन, भद्र शैलीका साथ श्रमजीवी जनतालाई पनि गोलबन्द गर्ने कार्ययोजना बनाउँनु पर्दछ । विभिन्न सिरामा विभक्त श्रमिक आन्दोलनलाई एकताबद्ध गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको प्रक्रियामा सामेल गराउनु पर्दछ । गुमाउनका लागि केही नभएका श्रमिकहरुले पद, प्रतिष्ठा, पहुँच, पहिचान वा परिचयका लागि गुट, फुट वा समूह–उपसमूहमा विभक्त हुनु कुनैपनि मूल्यमा जायज हुँदैन । त्यसैले त्याग र बलिदानको प्रतिक श्रमिकवर्गले गुटगत वा समूहगत स्वार्थभन्दा माथि उठेर मानव जातीकै कल्याणमा आफुलाई उभ्याउनु यतिबेलाको कार्यभार बनेको छ ।

च. आजको मजदुर आन्दोलन

पुँजी, उद्योग, कलकारखाना, विज्ञान–प्रविधि, मानव चेतना, प्रकृति आदि सबै हिजोको भन्दा आज धेरै नै फरक भएको छ । दास युगमा मुख्य उत्पादक शक्ति दासहरु थिए, सामन्तवादी युगमा किसानहरु थिए भने आज विकसित पुँजीवादी युगमा विज्ञान प्रविधी मुख्य उत्पादक शक्तिमा बदलिएको छ । त्यसैगरी हिजो भन्दा आज शासक वर्गमा शासन गर्ने शैली पनि फेरिएको छ । शासक वर्ग पहिले सिधा बल प्रयोग गर्ने तरिकाबाट आउँथे भने अहिले त्यस्तो छैन । अहिले कानुनी, अप्रत्यक्ष र कुटनीति प्रयोग गर्छन् । श्रमिक आन्दोलन र त्यसको नेतृत्व विरुद्ध वैचारिक भ्रम छर्ने, खरिद गर्ने, जासुसी–घुसपैठ गराउने, लोभलालच देखाउने जस्ता सबै हतकण्डा चलाएर भएपनि फुटाउने र शासनसत्ता टिकाउनेतिर लाग्ने गरेका छन् । तर श्रमिकभित्र संगठित हुने र जुझारुपना विस्तारै हराउँदै जान खोजे जस्तो देखिन्छ ।

विज्ञान प्रविधिका कारण श्रमिक शक्ति बेरोजगार हुँदै गएको छ । आन्दोलनमा रहेका ठूलो संख्या अन्यौलता र पीडाग्रस्त अवस्थामा छ । यसबेला सर्वहारावर्गको अग्रदस्ता विश्व कम्युनिष्ट आन्दोलन, वर्गीय मुक्ति तथा राष्ट्रिय मुक्ति आन्दोलन, क्रान्तिका रणनीति र कार्यनीति विद्यमान समाज र सत्ताको नयाँ विश्लेषण नगरी आम बिद्रोहको संश्लेषणमा पुग्न गाह्रो छ । त्यसकै आधारमा सामान्य र विशिष्ट रुपमा श्रमिक आन्दोलनको दिशा निर्धारण हुन्छ । नत्र श्रमिक आन्दोलन गन्तव्य विहीन बन्न पुग्छ । त्यसो हुन नदिनका लागि श्रमिक वर्गीय नेतृत्व र आन्दोलनले निम्न कुराहरुमा जोड र ध्यान दिन जरुरी छ ।

१. विचार र कार्यदिशामा स्पष्टताको प्रश्न

जबसम्म माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा बुझ्ने र ग्रहण गर्ने गरिदैन तबसम्म हाम्रो सन्दर्भमा वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउन सकिदैन । मालेमालाई क्रान्तिकारीकरणका नाममा जड र यान्त्रिक, सिर्जनशिलताका नाममा सुधारवादी, अवसरवादी तथा विशुद्ध अनुभववादीका रुपमा बुझेर पनि हुँदैन । बरु यसलाई त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी रुपमा बुझ्नुु, ग्रहण गर्नु र लागु गर्नुपर्छ । सिद्धान्तको बुझाई र व्यवहारको प्रयोग गराई ठीक छ कि छैन भनेर जाँच्ने कसीको नाम द्वन्द्ववाद हो । हामीले मालेमाको रक्षा, प्रयोग र विकास गर्न सकेनौं भने क्रान्ति र मुक्ति असम्भव छ । रक्षा, प्रयोग र विकासलाई समग्र सेटमा लिनु र बुझ्नुपर्छ । अंशमा लिएर हुँदैन । अन्ततः विचार र कार्यदिशा नै निर्णायक प्रश्न हो । यो सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ । तसर्थ विचार र कार्यदिसा स्पष्ट हुनैपर्छ ।

२. संगठन निर्माण र सुदृढीकरणको प्रश्न

विचार र कार्यदिशा सही भएर मात्र पुग्दैन । सोही अनुसारको संगठनात्मक कार्यदिशा पनि हुन आवश्यक छ । जसरी विचार र कार्यदिशामा नविनता र विकास अपरिहार्य हुन्छ । त्यसैगरी संगठनमा पनि संगठनात्मक सिद्धान्त, अवधारणा, नीति, विधि र संरचनामा नयाँपन र विकास नभइ हुँदैन । त्यतिले मात्र पनि पुग्दैन । संगठन परिचालन विधि र शैलीको पनि विकास गर्नुपर्छ । संगठन गर्ने पुरानै शैलीले काम दिँदैन । संगठन त बनाउने तर त्यसको बैठक बस्ने, प्रशिक्षण, योजना, कार्यक्रम निर्माण, कार्यान्वयन, समिक्षा, मुल्याङ्कन आदि गरिएन भने केही अर्थ रहन्न । विचार र कार्यदिशा पछिको दोश्रो हतियार संगठन नै हो । सचेतन रुपमा संगठनमा आवद्ध नभएका मान्छेहरु बगरका ढुंगा र छाडा साँढे जस्ता हुन्छन् । तिनीहरु गन्तिमा आएपनि काम र नतिजामा कहिल्यै आउँदैनन् । त्यस्तो नहोस् भनेर सचेत, ठोस र मूर्त रुपमा संगठन निर्माण, विस्तार र सुदृढीकरणमा जानैपर्छ ।

३. आर्थिक, साँस्कृतिक र व्यवस्थापकीय प्रश्न

भोको पेट र असभ्यताले केही पनि गर्न सकिन्न, कहीं पनि पुग्न सकिन्न । जतिसुकै सुन्दर र वैज्ञानिक विचार, कार्यदिशा र संगठन भएपनि आर्थिक, साँस्कृतिक र व्यवस्थापनको पाटो मिलाउन सकिएन भने त्यसले यथार्थ धर्तीमा ओर्लिन र कार्यरुप पाउन प्रायः गाह्रो हुने गर्दछ । अबको जमाना पूर्णतः व्यवस्थापकीय जमाना नै हो । दुनियाँ विज्ञान–प्रविधीको छ । हामी नयाँ गतिसिलतालाई व्यवस्थित र मर्यादित बनाउदै आर्थिक, साँस्कृतिक र व्यवस्थापकीय प्रश्न हल गर्दै जानुपर्दछ ।

अन्त्यमा, आजको सन्दर्भमा हामीले आम श्रमिक जनतासँग एउटा विश्वाससहित प्रतिवद्धता गर्नुपर्ने भएको छ । मजदुर वर्गमा पूर्णरुपमा समर्पित हुने अर्थात मजदुर वर्गको अधिकारसँग खेलवाड नगर्ने, आफ्नो सम्पूर्ण गतिविधिहरुलाई मजदुर वर्गको अधिकार प्राप्तिसँग जोड्ने, आफुले खेल्ने भूमिकाको बारेमा आफै बोल्ने, आफ्नो जिम्मेवारी कुशलतापुर्वक पुरा गर्ने, पुरानो तरिकाले होइन नयाँ तरिकाले सोच्ने, विधान, विधि र पद्धतिमा चल्ने र चल्न सिकाउने कार्यको विकास गर्नुपर्दछ । श्रमिक वर्गले तत्काल तलवभत्ता सुविधा बढाउने, श्रम ऐन र समाजिक सुरक्षा ऐन कार्यन्वयनमा लाग्ने प्रतिवद्धता गर्नु त छँदै छ । राजनीतिक परिवर्तनका लागि आत्मसात गर्दै समयको माग अनुसार आफुहरुलाई तयार गर्नु, आफ्नो जिम्मेवारी आफैले पुरा गर्ने प्रतिवद्धताका साथ अबको समाजवादी आन्दोलनको क्रान्तिकारी कार्यदिशा तय गर्दै सर्बहारा–श्रमिक वर्गको कार्यभारका बारेमा पनि सचेत हुनुपर्दछ ।