November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

पितृसत्ता, तीज र महिला मुक्ति आन्दोलन

२०७९ भाद्र १४

255

  • रन्जु रेग्मी

महान चाडको भाष्य

सधैँझैँ यस वर्षपनि गाउँ, शहर, बजार, सामाजिक सञ्जाल सबैतिर तीजको रहर आएको छ । हिन्दू धर्मशास्त्रमा आधारित तीजलाई पछिल्लो समयमा गैर खसआर्य राष्ट्रियताका महिलाको जीवन भोगाइका अनुभव अभिव्यक्त गर्ने साझा सांस्कृतिक पर्वको रुपमा क्रमशः विस्तार गरिँदैछ । यसप्रकार अब तीज ‘हिन्दु नारीको महान चाड’ भन्ने परम्परागत भाष्यबाट ‘नेपाली नारीको महान चाड’ मा रुपान्तरण गरिएको तीजको सन्दर्भमा एउटा सवाल उब्जिन्छ, के तीज साँच्चिकै पितृसत्तात्मक उत्पीडनबाट महिलालाई मुक्ति दिलाउन उत्प्रेरित गर्ने स्तरको सम्भाव्यता बोकेको नेपाली मौलिकताको ‘महान’ सांस्कृतिक पर्व हो त ? यदि होइन भने तीज केको बलमा अधिकांश नेपाली राष्ट्रियताको संस्कृतिमा घुलित हुने गरी तीब्रताका साथ विस्तार भइरहेको छ ?

तीज हरकुनै हालतमा महिलाको महान चाड हुन सक्दैन । यसलाई संशोधन गर्नतिर लैजानु भनेको पितृृसत्ता गलत हो तर सुधारिएको पितृसत्ता चाहि सही हो भन्नुजत्तिकै हास्यास्पद हुन्छ । वर्तमान भूमण्डलीकृत पुँजीवादले नेपाली हिन्दू समाजको मौलिक उत्पीडनकारी स्वरुपको तीजलाई विकृत पुँजीवादी सामाज्यवादी संस्कृतिमा रुपान्तरित गरिसकेको छ । यसले इतिहासमा अहिलेसम्म नभोगेको शारीरिक अनि मनोवैज्ञानिक उत्पीडन महिलामा थोपरेको छ । तीजको साम्राज्यलाई परास्त गर्न यस्को जरोसम्म पुग्नुपर्ने हुन्छ ।

हिन्दू धर्मशास्त्रमा तीज पर्वको उत्पत्तिसम्बन्धी कथामा पार्वतीले महादेवलाई पतिको रुपमा प्राप्त गरौँ भन्ने कामना गरी कठोर व्रत बसेकै कारण उनको मनोकाङ्क्षा पुरा भएको बताइएको छ । यसै कथनको विश्वासमा अविवाहित महिलाले सुयोग्य पुरुषसँग वैवाहिक सम्बन्ध रहोस् भन्ने कामना गर्दै र विवाहित महिलाले आफ्ना पतिको दीर्घजीवनको कामना गर्दै तीजको कठोर व्रत बस्ने प्रचलन सुरु भएको पाइन्छ, जुन प्रचलन आजसम्म पनि विविध परिमार्जित संस्करणमा देखिन्छ । तीजको धार्मिक मान्यताअनुसार महिलाले विवाहअघिसम्म शारीरिक, सामाजिक, आर्थिक सबै दृष्टिकोण ‘सुयोग्य’ पुरुषको प्राप्तिको लागि कामना गर्नुपर्दछ भने विवाहपश्चात् आफ्नो पुरुषको दीर्घजीवनको कामना गर्नुपर्दछ । सारमा हेर्दा यस मान्यताले महिलालाई शारीरिक अनि बौद्धिक रुपमा पनि पुरुषको अधीनस्थ तुल्याउँछ अर्थात् पुरुषको दासको स्थानमा महिलालाई गिराउँछ । एउटी महिलाले आफ्नो सम्पूर्ण जिन्दगी पितृसत्तात्मक उत्पीडन चुपचाप भोग्नुपर्ने अनि त्यसमा थप उही पुरुषको सुस्वास्थ्य र दीर्घजीवनको लागि कठोर तप गर्नुपर्ने ! पुरुषलाई मालिक र महिलालाई दासी बनाएको पितृसत्तालाई निरन्तरता दिन महिलामाथि थोपरिएकोे शारीरिक एवं मनोवैज्ञानिक उत्पीडनको पर्व तीज हो भन्ने यथार्थ सबैसामु घामजत्तिकै छर्लङ्ग छ । तब तीज कसरी महिलाहरूको लागि कसरी महान भयो ? महिलाले आफ्नो दासत्वमा गर्व गर्दै मनाउने उत्सवले महिलाको हीनताको इतिहास बोक्छ कि गौरवको इतिहास ? महिलाको गौरव दासत्वको उत्सव मनाउनु हुन्छ कि बन्धन चुँडाल्ने विद्रोह र सङ्घर्षमा ?

खासमा तीजलाई हिन्दु महिलाको महान चाड किन भनियो त ?

 पितृसत्ता, राज्य र धर्म

आदिम समाज मातृप्रधान समुदाय थियो । मानिसहरू सामूहिक आवासमा बस्दथे जहाँ समूहका बालबालिका, वृद्धवृद्धा आदिको हेरचाह, आवास व्यवस्थापन भाडाकुँडा निर्माण, औषधोपचार, उपलब्ध भोजनको न्यायोचित बाँडफाँड जस्ता महत्वपूर्ण जिम्मेवारी महिलाले सम्हाल्ने गर्दथे । मानवजीवनको आवश्यकता परिपुर्ति गरी समग्र व्यवस्थापन गर्ने दायित्व सामाजले लिने हुँदा स्वभावतः त्यसबेलाका हरेक श्रमले सामाजिक चरित्र बोकेको थियो । यसो हुँदा अहिलेको जस्तो निजी श्रम, घरभित्र र बाहिरको श्रम, उत्पादनमूलक श्रम र अनुत्पादक श्रम जस्ता श्रमसम्बन्धी विविध निकृष्ट किसिमको विभाजन अस्तित्वमा थिएन । मानव समाजमा जब आरनको आविष्कारसँगै धातुका हतियारको निर्माण भयो तब मानिसले आवश्यकताभन्दा बढी अर्थात् अतिरिक्त उत्पादन गर्न लाग्यो । अतिरिक्त उत्पादनमा कब्जा जमाएर निजी स्वामित्वमा ल्याएपछि आफ्नो शेषपछि उक्त सम्पत्तिमा आफुबाटै जन्मेको सन्तानको उत्तराधिकार सुनिश्चित गर्न एकनिष्ठ विवाहको प्रचलन सुरु भएको पाइन्छ । एकनिष्ठ विवाहको प्रचलनले महिलालाई क्रमशः उत्पादनका साधनबाट वञ्चित तुल्याउँदै घरभित्रकै श्रममा सीमित बनायो । एकनिष्ठ विवाहबाट निजी परिवार विकसित भयो जहाँ मानिसका आवश्यकता, दुःख सबै निजी हुने नै भए । यसप्रकार पुरुषको कब्जामा रहेको निजी सम्पत्तिको रक्षा गर्न अनिवार्य बन्न पुगेको निजी परिवार अनि त्यसैको लागि सुरुवात एकनिष्ठ विवाहको प्रचलनले नै महिलाको गर्विलो इतिहास ध्वस्त पार्दै पुरुषको दासीको स्तरमा गिरायो । तत्कालिन मातृप्रधान समुदायमाथिको पितृसत्तात्मक अधिनायकत्व एवं उक्त अधिनायकत्वले उब्जाएको पितृसत्तात्मक उत्पीडनका समस्त श्रृङ्खलाको प्रस्थानविन्दु पनि यही थियो ।

निजी सम्पत्तिले विकसित गरेको दास युगीन वर्गीय समाजमा निजी सम्पत्तिको संरक्षण एवं विस्तारको प्रबन्ध मिलाउने स्थायी संरचनाको रुपमा राज्यको उत्पत्ति भएको हो । प्रहरी, प्रशासन, कानून, कैदखानासहितको राज्यले मालिकहरुको हितको रक्षा त गर्दथ्यो तर बहुसङ्ख्यकलाई सधैँभरि बल प्रयोग गरेर शोषित गर्न सम्भव थिएन किनकी उत्पीडितहरु सङ्गठित भएर विद्रोह गरेको खण्डमा मालिकहरुको साम्राज्य ध्वस्त हुन सक्ने खतरा सँधैभरि थियो । त्यही खतराबाट मुक्त तुल्याउनका लागि आलोचनात्मक चेतलाई दबाई सत्ताअनुकुल वैचारिकीले उत्पीडित वर्गको मस्तिष्क कब्जा गर्ने वैचारिक अस्त्रको रुपमा धर्मको विकास भयो । समग्रमा निजी सम्पत्तिले पितृसत्तालाई जन्म दियो भने त्यसलाई राज्य र धर्मले क्रमशः भौतिक एवं वैचारिक रुपमा संस्थागत गर्दै आए ।

नेपालको हिन्दुधर्मीय राज्यसत्ताले हिन्दु धर्ममा आधारित चाडपर्वहरुलाई योजनाबद्ध ढंगले विस्तार गरेका कारण तीजजस्तो पितृसत्तात्मक उत्पीडनकारी पर्वले गैरहिन्दू सम्प्रदायका अन्य राष्ट्रियताका संस्कृतिमा अतिक्रमण गर्न सकेको हो भने आर्थिक उदारीकरणको नीति लागु गरेपछि नै भूमण्डलीकृत पुँजीवादले नेपालको बजार कब्जा जमाउन सकेको हो । यसरी राज्यले योजनाबद्ध रुपमा उपभोक्तवादी बनाउँदै हिन्दूकरणको प्रकृया तीब्र पारेको छ ।
उपरोक्त ऐतिहासिकताको कसीमा हेर्दा तीजको अनुष्ठानले पितृसत्तात्मक उत्पीडनलाई वैधता दिन भाग्यवादी चिन्तनमा महिलालाई अभ्यस्त बनाई छोरीको जन्म आफैमा हारेको कर्म भएकोले पितृसत्तात्मक उत्पीडन चुपचाप सहन र ऐनमौकामा गुनासो पोख्न मै महिलालाई सीमित राख्छ ।

मध्यम वर्गीय महिलाको तन्द्रा

नेपालमा परम्परागत रुपमा मूलतः हिन्दु सम्प्रदायका पहाडी खसआर्य समुदायका महिलाले तीज मनाउँदै आएकामा पछिल्लो समयमा गैैर खसआर्य समुदायका महिलाले पनि तीज मनाउने चलन बढ्दो छ । वास्तवमा नेपाली समाजको प्रगतिको सापेक्षतामा विकसित चेतनास्तरले तीजको उत्पीडनकारी बिम्बलाई चिर्नुपर्ने र फलस्वरुप यो क्रमशः कम आकर्षक, बाध्यात्मक भई रुढीग्रस्त समाजको अवशेषको रुपमा सीमित हुनुपर्ने थियो । तर यस्तो किन भैरहेको छैन त ? यो निकै गम्भीर सवाल हो ।

सामन्ती समाजमा घरभित्रै बन्धकजस्ता तुल्याइएका महिला अनि वर्तमानमा पनि औपचारिक शिक्षा सूचना, ज्ञानको पहुँच नभएका महिलासँग तीजको व्रत बस्दा श्रीमानको आयु बढ्छ भन्ने मान्यतालाई विश्वास गर्नु र त्यसलाई अपनाउनुको विकल्प थिएन र छैन, जो स्वभाविक पनि हो । तर तीज अनुष्ठानको प्रयोजन पितृसत्तात्मक उत्पीडन टिकाउने प्रपञ्च हो भन्ने कुरामा विश्वस्त भइसकेको आफ्नो हक, स्वतन्त्रताका लागि लड्न सक्ने वर्तमान नेपाली समाजमा आधुनिक शिक्षित पुस्ताका महिलालाई अझै पनि तीजको रहर लागि रहन्छ । प्रेमी अथवा पतिको अतिरञ्जित गुनगान र भक्तिभावले ओतप्रोत तीजको गीत सुन्दा आधुनिक महिलाका कन्सिरीका रौँ तात्दैनन्, बरु कम्मर मर्किन्छन् । ज्ञानका अन्य शाखाको कुरा छाडौँ, प्राकृतिक विज्ञानका विद्यार्थीले विवाहपश्चात् परम्परालाई चुनौती दिँदै तीज वहिष्कार गर्दैनन् । उच्च शिक्षा हासिल गरेका विद्यालयका महिला शिक्षक अनि उच्च शिक्षा प्रदायक विश्वविद्यालयका महिला प्राध्यापक नै तीजलाई उत्सवको रुपमा मनाउन सक्छन् । महिलाको स्वाभिमान, मानवीय गरिमा धुलिसात् पारी पुरुषको लाचार छायाँ बनाउने तीजको साम्राज्य नेपाली समाजमा झाङ्गिरहँदा आत्मनिर्भर, सशक्त अनि बौद्धिक भनिएका मध्यमवर्गीय महिलाको ठुलो र शक्तिशाली तप्का तन्द्रामा जस्तो देखिन्छ । यस परिदृश्यलाई भावी पुस्ताले कसरी मूल्याङ्कन गर्छ होला !

पक्कै पनि धार्मिक मान्यतामा पूर्ण विश्वास राखेर तीज मनाउने महिलासमक्ष विनम्रतापूर्वक तीजको वास्तविकता प्रवाह गर्नुपर्दछ । तर विडम्पनापूर्ण विषय त यो हो कि, तीजको धार्मिक मान्यता उत्पीडनकारी हो भन्ने आधुनिक मध्यमवर्गीय महिलाले तीज मनाउने सम्बन्धमा क) यो पर्व मनाउने र नमनाउने विषय वैयक्तिक स्वतन्त्रताको विषय भएकाले सम्बन्धित व्यक्तिको स्वेच्छामा निर्भर गर्ने र ख) महिलाबीच भेटघाट, खानपान र नाचगान रमाइलो हुने भएकोले कठोर अनुष्ठान नगरी महिलाको दुःख बिसाउने सांस्कृतिक पर्वको रुपमा लिएको पाइन्छ ।

तीज मनाउनु महिलाको स्वतन्त्र छनौटको विषय हो । त्यसकारण, मन भए तीज मनाए भयो, नत्र नमनाए भयो, तर तीज मनाउने कुराको किन विरोध गर्नु र ? भनेर निरपेक्ष रुपमा वैयक्तिक स्वतन्त्रताको वकालत गर्ने गरिएको पाइन्छ । तर के वैयक्तिक स्वतन्त्रता वस्तुगत परिस्थिति, स्थापित वैचारिकी, भाष्य सापेक्षित हुन्न र ? सबैले स्वस्फुर्त रुपमा भित्रैबाट इच्छा जागेर तीज मनाउछन् कि तीमध्ये कतिपय परिवार र श्रीमानको माया नपाउने मनोवैज्ञानिक दबाब, साथी समूहमा असामाजिक र एक्लो हुने त्रास, आफ्नो विमति जाहेर गर्दा सुनिदिने कोही नहुने करकापमा पनि हुन्छन् । स्वतन्त्रताको वास्तविक अभ्यास त समानतामा आधारित सम्बन्धमा मात्रै हुन्छ । आफ्नो सम्प्रदायमा परम्परागत रुपमा मनाउँदै आएको तीज पर्वप्रति विमति जनाउँदै तीज नमनाउन कति विवाहित हिन्दु महिला स्वतन्त्र छन् होला ? अनि तीज मनाउने स्वतन्त्रताको उपयोग गर्न जति सहज छ, तीज नमनाउन पाउने स्वतन्त्रता उपयोग गर्न किन उत्तिकै कठिन भएको होला ? स्वतन्त्रताको छनौट आफैँमा पनि यति पूर्वाग्रही हुन्छ र ! त्यसैगरि, यदि मानवसमाजमा निरपेक्ष रुपमा वैयक्तिक स्वतन्त्रतालाई मान्यता दिने हो भने उदाहरणका लागि कुनै मानसिक रोगीले आत्महत्या गर्ने प्रयत्न ग¥यो भने त्यतिबेला हाम्रो स्वतन्त्रतासम्बन्धी नीति के हुनुपर्दछ; व्यक्तिको मर्न पाउने स्वतन्त्रताका लागि अनुकुल वातावरण तयार गरिदिने कि, बाँच्न पाउने स्वतन्त्रताका लागि उसको इच्छाविरुद्ध उपचार गर्ने त ?

तीजको धार्मिक अनुष्ठानलाई कठोर नबनाउने तर आफ्नो वेदना पोखेर मन हलुका पार्दै रमाइलो गर्ने सांस्कृतिक पर्वको रुपमा तीज मनाउने तर्क चाहि महिलाका दुःख अनि मनोरञ्जनसँग सम्बन्धित छन् । प्रत्येक मानिसको स्वस्थ र सुखी जीवनका लागि काम, आराम र मनोरञ्जनको सन्तुलन हुनु जरुरी छ । मनका दुःख, वेदना पोख्ने सिर्जनशीलता सङ्गीत, नृत्यमा प्रस्तुत हुनु अन्यथा हैन, तर के त्यत्ति पर्याप्त छ र ? पितृसत्ताले महिलालाई दुःखको सागरमा डुबाइदिएको छ भन्ने बुझेपछि हरेक वर्ष दुखीजति भेला भएर गुनासो मात्रै गरिरहने कि दुःखबाट निकास निकाल्ने विषयमा छलफल पनि गर्ने ? तीजमा कठोर व्रत गर्ने अथवा स्वास्थ्यको ख्याल गरेर व्रत गर्ने अथवा व्रत नै नगरेपनि प्रेमी, पतिको बखान गर्ने, दीर्घायूको कामना गर्ने, सँगसँगै घरभित्रका कलह, बुहार्तनका वह पनि पोख्ने यस्तो चाकडीबाज चटकले खासमा कसलाई मनोरञ्जन हुन्छ ?

वर्गीय समाज आजको यथार्थ हो, वर्गीय समाजमा परस्पर विरोधी वर्गीय स्वार्थ हुन्छ नै । तर आजका सभ्य मध्यमवर्गीय महिलाले तीजको कुरा गर्दा कठोर व्रत बसेर पतिको आयु त बढ्दैन तर व्रत स्वास्थ्यका लागि फाइदाजनक हो भन्नु; तीजको व्रत त बसिँदैन, तर आराम पनि हुने, साथीभाइ रमाइलो पनि, त्यसैले सार्वजनिक बिदा भएर फाइदै हुन्छ, नाचगान गरेर रमाइलो हुन्छ भन्नु घुमाउरो पारामा पितृसत्ताको समर्थन नै हो । किनकी वर्गीय समाजमा कसैको दृष्टिकोण, विचार तटस्थ हुनै सक्दैन, त्यसले कुनै न कुनै वर्गलाई फाइदा पुर्‍याउने हुँदा त्यसको पक्षधरता त हुन्छ नै । बरु तटस्थ जस्तो देखिएर आफ्नो स्वार्थ पुरा गर्ने मध्यमवर्गीय काइदा भने पक्कै हो ।

पितृसत्तात्मक उत्पीडनकारी संस्कृतिलाई स्पष्ट रुपमा गलत हो नभन्दा शालीन र संस्कारीजस्तो त देखिइएला, तर यस्तो वैचारिकीले महिलामाथि हुने सबै प्रकारका घरेलु हिंसा अनि लैंगिक उत्पीडन ठीक हो, त्यसकारण यस्ता घटनालाई कानूनमा लगेर परिवार र समाजमा विखण्डन ल्याउनु हुँदैन, बरु मेलमिलापबाट टुङ्ग्याउनुपर्दछ भन्ने उत्पीडकको पक्षपोषण गर्ने स्थानमा पुर्‍याउँदछ भन्ने कुराको हेक्का सँधै राख्नुपर्दछ ।

भूमण्डलीकृत पुँजीवाद र तीज
सामन्तवादलाई परास्त गरेर आएको प्रगतिशील पुँजीवादले आफ्नो विकासका लागि तत्कालिन अन्धविश्वास, धार्मिक रुढिवादलाई नकार्दै महिलालाई घरबाहिरको काममा लगायो । यसले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणमा उल्लेख्य योगदान पर्‍यायो जसको परिणामस्वरुप आजका महिला शारीरिक एवं वैचारिक स्तरमा पुरुषलाई चुनौती दिने स्तरसम्म पुगेका छन् । तर पुँजीवादले जब साम्राज्यवादी रुप लियो तब अरु देशको बजार कब्जा गर्न ती देशका रुढिवादी शासकहरुसँग मिल्नुपर्ने परिस्थिति सिर्जना भयो जसका कारण उसले आफ्नो पुरानो प्रगतिशीलता गुमाउनुपर्‍यो । यसप्रकार नेपालमा पनि नाफाका लागि साम्राज्यवादी पुँजीवादले सामन्तवादका रुढिवादी मान्यतालाई पुनरावृत्ति गरिदियो तर आधुनिक आवरणमा । जस्तैः तीजको अघिल्लो रात माइतीमा गएर खाने दरलाई एक महिना अघिदेखि, भ्याएसम्म सबै आफन्त साथीहरुको घरमा खाने, कार्यालय, पार्टी प्यालेस, सहकारी, सामुदायिक सङ्गठन जताततै खाने बनायो । दरमा के खाने के नखाने, व्रत बस्दा के के कुरामा ध्यान दिने जस्ता विषयमा विशेषज्ञ चिकित्सकहरुको राय, सुझाव सबैलाई पालना गर्न सुसूचित गरायो । तीजको नाचलाई मन्दिर, चौतारा, आँगनीबाट डिस्कोसम्म पु¥याइदियो । तीजको दिन महिलाले विवाहमा पतिले दिएको पहिरनमा व्रत बस्ने परम्पराको सट्टा बालिका देखि वृद्ध महिलासम्मलाई वर्षेनी नयाँ नयाँ डिजाइनमा ल्याएको उमेर सुहाउँदा पहिरन र गहनाको प्रचारप्रसार सञ्चारमाध्यम, तीजका गीतमार्फत गरियोे जसको छनौट लागि फेसन डिजाइनरले सुझाउने भए । तीजको गीतमा अक्सर विवाहपछिको बुहार्तन अनि पतिको प्रेम, ज्यादतीको वेदना पोख्ने गरिएकोमा भर्खरै प्रेममा परेकाहरु जोडीको भावनालाई पनि समेट्ने गरी गीत बनाइयो जसले गर्दा अब तीजमा महिला मात्रै हैन, पुरुषले पनि सँगै सजिएर नाच्ने भए । पुरुषहरु पनि सँगै बसेर गाउने नाच्ने अवस्थामा एकातर्फ महिला सङ्गतिमाझ पोखिनेजस्ता विरहहरु कम गाइन लागे भने अर्कोतर्फ घरायसी कथाका गीतमा पनि बुहारी नै दोषी साबित गर्ने किसिमका गीत आउने सम्भावना भयो ।

यसरी तीज पर्वलाई भूमण्डलीकृत पुँजीवादले आधुनिक र भव्य जस्तो बनाइदिएको जस्तो देखिन्छ ! तर वास्तवमा यो त तीजमा विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति हावी भएको परिस्थिति हो । महिलालाई आकर्षक देखिनुपर्ने मनोवैज्ञानिक दबाब र उपभोक्तावाद लतमा पारेको नाफाखोर बजारले तीजका लागि यति धेरै माल प्रस्तुत गरिदिन्छ कि उनीहरू त्यसको उपभोगको असीमित लालसाको दलदलमा पत्तै नपाई भासिइसकेका हुन्छन् ।

दीर्घजीवी मर्दका अनन्त दर्द

तीजसँगै जोडिएको पितृसत्तात्मक उत्पीडनको प्रसङ्गमा प्रायः महिला उत्पीडनको विषय आउँछ । तर अबदेखि पुरुष उत्पीडनको विषय सँगै उठान नगर्ने हो भने पितृसत्तात्मक उत्पीडन एकाङ्गी बन्न पुग्दछ । उत्पीडनको प्रकृति, घनत्वको कति छ भन्ने बुझ्न त यससम्बन्धी पुरुषहरु स्वयं खुलेपछि थाहा होला किनकी पितृसत्ताले पुरुषलाई आफ्नो वह पोख्ने अनुमतिसम्म दिएको छैन । तर पितृसत्ताबाट पुरुष बिलकुल उत्पीडित छैन भन्नु सही बुझाइ हुन सक्दैन ।
वर्तमान भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा उत्पादनका साधन क्रमशः सीमित संख्याका पुरुषमा केन्द्रीकृत भएपछि साधनविहीन बहुसंख्यक पुरुषसँग छ त केवल पितृसत्ताको विरासतले दिएको फोस्रो आडम्बर र ढोग धान्नुपर्ने जिम्मेवारी । निजी स्वामित्वमा आधारित यस पुँजीवादी व्यवस्थामा निजी परिवार पुरुषको लागि पनि बाध्यता हो, पितृसत्ताले झुन्ड्याइदिएको गलपासो हो ।

आधुनिक समयमा महिलाहरु क्रमशः उत्पादनका सबैजसो क्षेत्रमा संलग्न हुँदै गरेको र त्यसकारण पुरुषसरह सक्षम र प्रतिस्पर्धी बन्दै गरेको अवस्थामा उसलाई त आफ्नो निजी परिवार बसाउन पनि मुस्किल हुने अवस्था सिर्जना हुँदैछ । समानतामा आधारित प्रेमपूर्ण सम्बन्धलाई विभेदकारी संस्कृतियुक्त परिवारिक सम्बन्धमा टिकाइरहनुपर्ने चुनौती, समान क्षमताको आफ्नो जोडीले अधीनस्थ हुनुपर्दा उठाउने हरेक सवाललाई तर्कले भन्दा दम्भले दबाउनुपर्ने बाध्यता, परिवारमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने पितृसत्तात्मक दायित्वले हरहालमा शारीरिक, मानसिक अनि आर्थिक रुपमा सबल भैरहनुपर्ने सकस ! यसरी हेर्दा जन्मजात कमजोर बनाइएको अवधारणाले गर्दा महिलालाई रुन, आफ्नो दुःख पोख्न, अधिकारका लागि एकजुट हुन जति सहज छ, पुरुषलाई शिथिल, कमजोर, आम्दानीविहिन हुन अनि रुन्चे हुन त्यतिकै असहज छ । वास्तवमा पितृसत्ता पुरुषका लागि यति घातक र प्रत्युत्पादक छ कि यसले पुरुषलाई मानवीय संवेदनाशुन्य कुन्ठाग्रस्त यन्त्रमानवमा रुपान्तरण गर्दैछ ।

तीजको प्रसङ्गमा हेर्दा पनि, मानिलिउँ, तीजको परम्परा रहिरहेको खण्डमा महिलाले पार्वतीले झैँ व्रत वर्षमा एकपटक दर, नाचगानसहित गरेर आफ्नो पुरुषको दीर्घजीवनको कामना गर्लान् अरे, तर त्यसको बदलामा विवाहपश्चात् बाँकी जीवनभर प्रत्येक पल महादेवजस्तो सुयोग्य र पराक्रमी वर भइदिन पुरुषले कति पापड पेल्नुपर्छ होला ! निजी परिवारमा पुरुषको अनन्त दुःख र कुन्ठाको अनुमान लगाउनसमेत कठिन छ । तर बिडम्बना यो छ कि, दुवैथरि दुखी प्राणीलार्ई एकको दुःखको कारण अर्को हो भन्ने परेको हुँदा एकअर्कासँग अन्तर्मनको पीडा साट्न सक्दैनन् ।

प्रत्येक वस्तुको विकास र विनाशको कारण सामान्यतया त्यही वस्तुभित्रै रहेको हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्ने हो भने नाफाका लागि भूमण्डलीकृत साम्राज्यावादी पुँजीवादले समाजका रुढिवादलाई पुनरावृत्ति गरेर पितृसत्तावादलाई बलियो त बनायो । तर यसको विकासक्रममा सम्पत्ति, नाफाजति सीमित व्यक्ति, घरानाको हातमा केन्द्रीकृत हुँदै जाँदा समानान्तरमा क) अधिकांश पुरुषहरु मजदुर र विस्थापित वर्गमा रुपान्तरण भैरहेको अवस्था छ, ख) मध्यमवर्गीय पुरुषको तप्का पनि जीविकावादले पिल्सिरहेको अवस्था छ र ग) उत्तिकै वर्गीय उत्पीडनको रापमा परेका सम्बन्धित वर्गका महिला घरबाहिरको उत्पादनका क्षेत्रमा संलग्न हुने क्रममा बढोत्तरी भएको छ । यसले गर्दा महिला र पुरुषबीच घरबाहिरको उत्पादनमूलक क्षेत्रमा समेत आपसी सहकार्य बढ्दैछ । यसरी नाफाको लागि पितृसत्ता बलियो बनाएको वर्तमान व्यवस्थाको नाफाको केन्द्रीकरणको अनिवार्यताले पितृसत्ताविरोधी आन्दोलन निर्माण गर्नका लागि वस्तुगत वातावरण तयार बनाउँदै गएको छ ।

निष्कर्ष

तीज हरकुनै हालतमा महिलाको महान चाड हुन सक्दैन । यसलाई संशोधन गर्नतिर लैजानु भनेको पितृृसत्ता गलत हो तर सुधारिएको पितृसत्ता चाहि सही हो भन्नुजत्तिकै हास्यास्पद हुन्छ । वर्तमान भूमण्डलीकृत पुँजीवादले नेपाली हिन्दू समाजको मौलिक उत्पीडनकारी स्वरुपको तीजलाई विकृत पुँजीवादी सामाज्यवादी संस्कृतिमा रुपान्तरित गरिसकेको छ । यसले इतिहासमा अहिलेसम्म नभोगेको शारीरिक अनि मनोवैज्ञानिक उत्पीडन महिलामा थोपरेको छ । तीजको साम्राज्यलाई परास्त गर्न यस्को जरोसम्म पुग्नुपर्ने हुन्छ ।

तीज पर्व हिन्दु राज्यसत्ताले थोपेरेकोे पितृसत्तात्मक सांस्कृतिक उत्पीडनको प्रतीक हो भने त्यसलाई नष्ट/खारेज गर्ने एकमात्र अस्त्र वैज्ञानिक समाजवादी वैचारिकी हो । यस युगको उदीयमान मुख्य उत्पादक शक्ति विज्ञान प्रविधिको पहुँच भएका महिलाले चाहेको खण्डमा इतिहासको वास्तविक ज्ञान हासिल गर्ने, स्थापित भाष्यलाई विज्ञानको उपलब्धीको आलोकमा परीक्षण गरी सही गलत पहिचान गर्न सक्छन् अनि सत्यलार्ई पृथ्वीका कुनाकाप्चासम्म फिँजाउन सक्छन् । पितृसत्तालाई परास्त गर्ने महिला मुक्ति आन्दोलनका लागि हरेक महिलाले मान्ने हैन जान्ने उत्सुकताका साथ विश्वासलाई तथ्यले विस्थापित गर्दै प्रत्येक यथास्थितिवाद, अन्धविश्वास, रुढिवादलाई ध्वस्त गर्दै जानु पर्दछ । वर्तमान युगको पुरुष वर्गीय उत्पीडनसँगै पितृृसत्ताको उत्पीडकको भूमिकाको बोझले थिचिएको छ । महिला र पुरुषबीच घरभित्र र घरबाहिर श्रमका सबै क्षेत्रमा सहकार्य बढ्दै गएको अवस्थामा यही सहकार्यले वर्गीय आन्दोलनसँगै पितृसत्ताविरोधी आन्दोलनलाई गति दिन सक्ने सम्भावना प्रबल छ ।

तसर्थ पुरुषलाई परम्परागत मालिकबाट एक खुड्किला तल ओराल्ने अनि महिलालाई परम्परागत दासीबाट एक खुड्किला माथि उकालेर दुवैलाई एकबारको जिन्दगी प्रेमपूर्ण सम्बन्धमा मानवीय गरिमाका साथ स्वतन्त्रतापूर्वक बाँँच्न वैज्ञानिक समाजवादी संस्कृतिको सुरुवात आजैबाट किन नगर्ने ?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्