June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कमरेडको तीज सेलिब्रेसन

२०७९ भाद्र १४

5.9K

  • महावीर विश्वकर्मा

यतिबेला टिकटकमा काला चस्मावाला डान्स स्टेप भाईरल छ । कलाकार एलिजा गौतमद्वारा शुरु भएको भनेर चर्चा गरिएको सो स्टेपलाई डग्गी डान्स भनेर व्यंग्य कस्नेहरु पनि प्रशस्तै छन् । कतिले सो डान्सप्रति कटाक्ष गर्दै संस्कृतिको खिल्ली उडाएको भनेर उछित्तो काढिरहेका छन्, कतिले महिलाले नाच्ने विषयलाई पनि सभ्य र असभ्यको चस्मा लगाउनु पितृसत्तावादी सोच हो भनिरहेका छन् । जे होस् यतिबेला काला चस्मा भाईरल छ । यसपाली पनि तीज आई त हाल्यो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ तीजको लहर आयो बरिलैमा छमछमी नाच्न भ्याइसके, उनी नाचेको भिडियो शेयर गर्दै उनको पार्टीकी महिला नेतृले फेसबुकमा लेखिन् “श्रद्धेय एवम् आदरणीय नेता नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी श्रेष्ठ (प्रकाश) प्रगतिशील महिला कमरेडहरुसँग तीज विशेष कार्यक्रममा छमछमी नाच्दै ।”

बाफ रे बाफ्…..भव्य पार्टी प्यालेस, पृष्ठभूमिमा गुञ्जिँदैछ तीजको रहर आयो बरिलै, कोही घाँटीमा मंगलसुत्र झुण्ड्याएका महिला, कोही कालो चस्मा टाउकोमा राखेका महिला । यस्तै प्रगतिशील महिला(?)हरुबाट घेरिएर बीचमा कोटको बायाँपट्टि रातो फूल सिउरिएर छमछमी नाचिरहेका छन् कम्युनिष्ट भनिने पार्टीका नेता नारायणकाजी श्रेष्ठ । उनी मन्त्रमुग्ध छन् । केही दिनअघि ओशो तपोवनमा पुग्दा पनि यस्तै देखिन्थे । यिनी मान्छे बिन्दास् छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली केही दिन अघि भन्दैथे – “मसँग औषधी खाने पैसा पनि छैन” । तर उनै ओली झापाको एक कार्यक्रममा त्यहाँका महिला सदस्यहरुलाई दर खान २ लाख दिन्छु भन्दै गरेको देखिए, दिए पनि होलान्, शंकै छैन किनकी चुनाव आउन ३ महिना पनि बाँकी नहुँदाको वाचा हो यो ।

अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागले बहालवाला मन्त्री पम्फा भुसाललाई साक्षी राखेर तीज विशेष शुभकामना आदानप्रदान पनि गरिसक्यो । जे होस्, यसपाली पनि दर खान भ्याइ नभ्याइ भयो कमरेडहरुलाई । अझ यसपाली त संघ र प्रदेशको चुनाव मंसिर ४ मा गर्ने घोषणा नै भईसक्यो, यस्तो बेलामा मतदाता जम्मा गरेर रिझाउनका लागि पनि दर खुवाउने बाहाना गज्जबको अवसर भईहाल्यो पार्टीहरुलाई । घर वरपर तीज आईपुग्नु भन्दा केही अघिदेखि नै सामाजिक सञ्जालमा तीज आईसकेको थियो । सधैँ झैँ बहुसंख्यकले आफ्नो संस्कृतिको जगेर्ना भन्दै यसमा इन्जोय गर्नतर्फ रुची देखाए भने केहीले यसलाई छलफलको विषयको रुपमा अघि सारेर आफ्नो मत राखिरहेछन् ।

अचेल सामाजिक सञ्जाल विचार निर्माणको थलोको रुपमा विकसित हुँदैछ । बेला बेलामा केही न केही भाईरल भईरहन्छ, त्यसकै पक्ष विपक्षमा विचारहरु ओइरिइरहन्छन् । विचार ओइराउनेहरुले आफ्नो बुझाईको सिमितता, वर्ग पक्षधरता, अझ कति आग्रह पूर्वाग्रहले ग्रसित भएर विचार राखिरहेका हुन्छन्, यस्ता अनेक कारणबाट प्रभावित हुन पुगेका विचारहरुको आधारमा सम्बन्धित घटना वा विषयप्रति ठीक विचार निर्माण गर्नु चुनौतीपूर्ण नै हुने गर्छ । गलत विचारबाट प्रभावित भईदिने जोखिम पनि अत्यधिक नै रहन्छ । कम्युनिष्ट भनिने नेताहरु शुभकामना दिइरहेछन् – “सम्पूर्ण नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज……….” भनेर । सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा त यही छ कि, तीज सबै नेपाली महिलाले मनाउने पर्व नै होइन । हिन्दू धर्मावलम्बी महिलाहरुको पर्व हो तीज । अझ त्यसमा पनि तराईका हिन्दूहरुले तीज यही रुपमा मनाउँदैनन् र उत्तरी क्षेत्रका मंगोलहरुले पनि यस पर्वलाई मान्दैनन् । जनजातिमा यो चाड पछि मात्र विस्तार भएको हो । शासक जाति र वर्गका महिलाको चाड भएकाले यसलाई पनि अरु जाति र वर्गमाथि लादिएको हो ।

तीज धार्मिक र लिंगवादी चाड हो । तीजको बारेमा धेरै किसिमका धार्मिक कथाहरु प्रचलनमा छन् । हिन्दूहरुका देवदेवी शिव–पार्वतीको विवाहसम्बन्धी कथासित यस चाडलाई सम्बन्धित मानिन्छ । पार्वतीले शिवलाई श्रीमानको रुपमा पाउँ भनेर जंगलमा गई केही पनि नखाएर ब्रत बसेको र त्यही ब्रतको प्रभाव स्वरुप शिवलाई श्रीमान पाएको भन्ने पनि कथन छ । यस्तै धार्मिक मान्यता अनुरुप नै तीजमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले योग्य पति पाउँ भनी ब्रत बस्ने गर्दछन् । कोही ब्रत बस्दैमा न कसैको आयु लामो हुने हो, न त कसैले भने जस्तो योग्य जीवनसाथी नै पाउने हो । तसर्थ यो त पूरापूरा धार्मिक अन्धता भन्दा बाहेक अरु केही पनि होइन । फेरी पनि भ्रमको पहाड चुलिएकै छ, मान्छेको लाइन लागेकै छ ।

तीजको अर्को पक्ष भनेको यसको नाचगान हो । तर यो नाचगान पनि कति षडयन्त्रमुलक छ भन्ने एकछिन ध्यान दिउँ । महिला माथिको उत्पीडनको मूल कारण पितृसत्तात्मक सोच हो । सासु भन्नुस् वा बुहारी, दुबै नै पितृसत्तात्मक सोचबाट उत्पीडनमा परेका पात्रहरु हुन् । तसर्थ यसको विरुद्धमा त दुबै नै मिलेर लड्नुपर्ने छ, तर तीजले त बुहारीहरु जम्मा भएर सासुविरुद्ध गीत गाउन पो लगाउँछ । समस्या सासु–बुहारीमा पनि होला तर त्यहाँ समस्या छ भने त्यसको जननी पनि पितृसत्तात्मक सोच पो हो त । त्यसको विरुद्धमा पो लाग्नुपर्नेछ त । जसका लागि कम्तीमा महिला–महिला एक हुनु त पहिलो अनिवार्य शर्त हो, सासु र बुहारीको नाममा आफु आफुमै विभाजित भएर त झनै हुँदै भएन नि । सबै मिलेर पितृसत्तात्मक सोचकोविरुद्ध लड्नुपर्नेमा तीजले त उल्टै सासु बुहारीको सम्बन्धको तितो पक्ष उजागर गरेर महिलाको दुश्मन महिला नै हो भनिरहन्छ । त्यही समयमा पुरुषको चाहिँ दीर्घायुको कामना गर्दै ब्रत बस्न लगाईरहन्छ फेरी । कस्तो टिठ लाग्ने दृश्य । महिला भित्रैको विभाजन र पुरुषद्वारा दास हुन तयार मनोविज्ञान एकैपटक प्रकट भईरहेको हुन्छ ।

तीजको चर्चा गर्दा ऋषिपञ्चमी पनि सँगै जोडिएर आउँछ । ऋषिपञ्चमी तीजको पर्सीपल्ट मनाइन्छ । रजस्वला हुन थालेपछि रजस्वला बन्द नभएसम्म हिन्दू महिलाहरुले, अझ खासगरि खस जातिका महिलाहरुले अनिवार्य मनाउनैपर्ने चाडका रुपमा यसलाई लिइन्छ । यस सम्बन्धी पनि अनेक पौराणिक कथाहरु त छन् । यहाँ तिनको चर्चा भन्दा पनि यस विषयलाई हेर्नुपर्ने ठीक वैचारिकी बारे कुरा गर्नु उपयुक्त होला भन्ने लागेको छ । मुख्यतः ऋषिपञ्चमी महिलाहरु रजस्वला हुनु भनेको पापिनी हुनु हो, फोहोरी हुनु हो भन्ने मान्यतामा आधारित रहेको छ र वर्ष दिनमा एकपटक त्यो पाप, फोहोर पखाल्नुपर्छ भन्ने धारणा यसले बोक्दछ । जबकी यो धारणा बिल्कुल हास्यास्पद र वाहियात छ । रजस्वला त नियमित शारीरिक प्रक्रिया पो हो । विज्ञान भन्छ, वनस्पति जगतमा पनि रजस्वला हुन्छ । तब यो पापकर्म भयो कसरी ? यो त पुरुषवादी हैकम स्थापित गर्ने प्रपञ्च पो भयो । माक्र्सवादी चिन्तक निनु चापागाईं भन्छन् – “तीज–ऋषिपञ्चमीले हिन्दू धर्मावलम्बी बाहुन–क्षेत्रीको विश्वदृष्टि र सामाजिक बनोट निर्माण गर्ने प्रभुत्वशाली पितृसतात्मक विचारधाराको प्रतिनिधित्व गर्दछन् र यी चाड त्यसका व्यावहारिक रुप समेत हुन् ।”

कतिले चाहिँ के सोचिरहेका हुनसक्छन् भने – “म तीज–ऋषिपञ्चमीमा धार्मिक गतिविधिहरु र विभेदपूर्ण गतिविधिमा सहभागी हुँदिन तर नाचगान, खानपान, आफन्त भेटघाट गर्दा त के बिग्रिन्छ र ?” यो मत तुलनात्मक रुपमा सुधारवादी मत हो । एकैपटक छोड्न नसक्नेले कम्तीमा धार्मिक अन्धता मात्रै भए पनि छोड्नुलाई स्वागतयोग्य नै मान्नुपर्छ । तर उसको उद्देश्य चाहिँ अन्ततः सम्पूर्ण रुपमा यस्ता धार्मिक पर्वहरुबाट अलग्गिनु नै हुनुपर्छ । किनभने धार्मिक गतिविधि नगरे पनि त्यही समयमा उ नाचगान, भेटघाट, खानपानलाई उत्सवका रुपमा किन मनाइरहन्छ त ? भन्दा, कारण त फेरी त्यही पर्व नै त हो । तसर्थ कुनै न कुनै बाहानामा त्यो पर्वको अस्तित्व बचाउन उ तल्लीन त देखिन्छ नै । अहिले मध्यमवर्गले अन्य धेरै गलत कुराहरुलाई पनि फेसन बनाएर क्रमशः प्रसार गरिरहे जस्तै तीजलाई पनि गर्ने नै भए । काला चस्मावाला डान्स पनि त्यो भन्दा बाहेक अरु केही होइन । महिला मुक्तिको कुरासँग त्यसको छेउटुप्पो केही सम्बन्ध छैन । मध्यम वर्गका अधिकांश महिला त्यही वर्गको पुरुषले जे जे गर्छ त्यो त्यो गर्न पाउनुपर्छ भन्ने एक सुत्रीय मागमा गोलबद्ध देखिन्छन् । पुरुषले रक्सी खान हुँदा महिलाले किन नहुने ? पुरुषले मन लागेकोसँग यौन सम्बन्ध राख्न पाउँदा महिलाले किन नपाउने ? पुरुषले शरीर देखाउन हुँदा महिलाले किन नहुने ? इत्यादि ।

यो चाहिँ उपभोगवाद हो । हिजो महिलालाई घरभित्र थुनेर राख्दा समग्र समाजकै विकास रोकियो । अब क्रमश स्वतन्त्र हुँदै गरेको महिला र पुरुष दुबै मिलेर समाजका उत्पीडनहरुकाविरुद्ध अघि बढ्नुपर्छ भन्ने कुरा पो ठीक हुन्छ त, स्वतन्त्र भएपछि हिजो पुरुषले उपभोग गरे जस्तो अब महिलाले उपभोग गर्नुपर्छ भन्ने तर्क त कसरी ठीक हुन्छ र ? यसले त फेरी हिजो पुरुषले उपभोग गरे जस्तो आज महिलाले उपभोग गर्ने अवस्थातिर मात्रै त लैजान्छ, दुबै मिलेर समाज विकासको लागि जति गर्नुपर्ने थियो त्यता त फेरी पनि काम हुनै पाउँदैन नि । पूंजीवादले तीज जस्तो लिंगवादी चाडको विरोध गर्नेतिर लाग्दैन, बरु कसरी हुन्छ यसको अवसरमा व्यापक मुनाफा कमाउनेतिर भएभरको बल लगाउँछ । तीजमा माईती पुग्ने हरेक महिलाको पहिरन र गहनामा लगभग सबैले हैसियत निर्धारणको नजरले हेर्न भ्याएकै हुन्छन् । सर्वहारा श्रमिक वर्गको महिलालाई ती सबैको नजरबाट आफुलाई लुकाउनुको हैरानी कम्ता पिडादायक रहँदैन । त्यही लोकलाजको पिरले पनि ऋण खोजेरै भए पनि नयाँ पहिरन र गहना किन्ने वाहियात प्रतिष्पर्धामा हेलिन पुग्छन् उनीहरु ।

अर्को कुरा, तीज र ऋषि पञ्चमीले धार्मिक अन्धता र लैंगिक असमानतालाई झनै बलियो बनाउँछ । अनि यस्ता पर्वलाई पूंजीवादले काखी च्यापेर बस्छ । तसर्थ तीज र ऋषि पञ्चमीले समाजमा गर्ने हानीको मात्रै विरोध गरेर पुग्दैन अब । बरु समग्र पूंजीवादी व्यवस्थाकै विरोधमा नउत्रिइ अब धरै छैन । किनभने आजको भूमण्डलीकृत पूंजीवादले उसको फाइदाको लागि संस्कृतिलाई पनि (हरेक कुरालाई) बिकाउको माल बनाइसक्यो ।
यस्ता चाडबाड, संस्कृतिहरु जतिसुकै हानिकारक भए पनि पूंजीवादले त्यसको विरोध गर्दैन, बरु यसलाई उपयोग गरेर मुनाफा सोहोर्न भरमग्दुर प्रयत्न गरिरहन्छ । तसर्थ पूंजीवादकै विकल्पमा समाजवादी संस्कृतिको निर्माणले मात्रै यस्ता विभेदकारी संस्कृतिको चंगुलबाट समाजलाई मुक्त गर्न सकिन्छ । प्रश्न स्वभाविक रुपमा आईहाल्छ, उसो भए के मान्छेको जीवनबाट चाडपर्व नै झिकेर फ्याँकिदिने त ? कुरा ठ्याक्कै त्यस्तो त होइन तर धार्मिक अन्धता र विभेदमा आधारित पर्वहरु भने छोड्नैपर्छ । बरु हामीले त जनताले लडेर परिवर्तन ल्याएका दिनहरु मे दिवस, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, जनयुद्ध शुरु भएको फागुन १ आदिलाई सांस्कृतिक पर्वको समेत रुप दिन थाल्नुपर्छ । कुनै पनि दिनलाई पर्वको रुप दिन त्यहाँ मुख्यतः ३ वटा कुरा हुनुपर्छ । पहिलो, खानपान । दोश्रो, आफन्त–साथी भेटघाट र तेश्रो, मनोरञ्जन । यी ३ पक्षको उपलब्धतामा हामीले जनताको संघर्षको इतिहास जोडिएका दिनहरुलाई सांस्कृतिक पर्वकै रुपमा मनाउने गरि अगाडी बढाउनुपर्ने टड्कारो आवश्यकता छ ।

खासमा कम्युनिष्ट पार्टी भन्ने बित्तिकै त्यो सम्पूर्णतया धार्मिक अन्धताबाट मुक्त र विज्ञानसम्मत ज्ञानमा आधारित हुनुपर्ने हो । तिनका नेता कार्यकर्ता यही सिद्दान्त अन्तर्गतका हुनुपर्ने हुन् । तर हाम्रोमा कस्तो पट्यारलाग्दो छ भने, व्यक्ति एकै समयमा मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि हुन्छ, कम्युनिष्ट पार्टीको नेता पनि हुन्छ । चर्चको पाष्टर पनि हुन्छ, कम्युनिष्ट पार्टीको सदस्य पनि हुन्छ । कस्तो दिक्क लाग्दो दृश्य हो यो ? ठुला भनिने कुनै कम्युनिष्ट पार्टीहरुले सांस्कृतिक जीवन बारे प्रशिक्षण चलाउँदैनन् । जो–जो आउँछन् सबैलाई समेटौँ र चुनाव जीतौँ÷पार्टीको आकार ठुलो बनाऔं भन्ने मात्रै ध्याउन्न छ । यो दौडमा कम्युनिष्ट हुन आवश्यक गुणहरु बारेको बहस ठप्प छ । तीज–ऋषिपञ्चमी जस्तो धार्मिक अन्धतामा आधारित र लिंगवादी चाडबारे बहस गर्न अघोषित रुपमै निषेधको अवस्था छ । किनकी त्यसले चुनावलाई असर गर्न सक्छ अथवा पार्टीप्रतिको आकर्षण घट्न सक्छ । बरु एकदमै सतही कुरा गरेर सबैको मन राखिदिने र भोट संख्या बढाउने एक सुत्रीय रटानले उनीहरु दौडिरहेका छन् । यस्तो परिदृश्यले चुनावदेखि चुनावसम्मको राजनीतिक नेता कार्यकर्ता त उत्पादन गर्ला तर त्यो भिड यति भुत्ते हुन पुग्छ कि विचारको मामलामा त्यसलाई आफु भन्दा माथिल्लो नेताको आदेश शिरोपर गर्नु भन्दा बाहेक केही ज्ञान हुँदैन । र यस्तो भिडबाट निर्देशित हुने राजनीतिबाट समाजको विकास कदापि सम्भव छैन ।

कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता हुँ भन्छ तर धार्मिक चाडपर्व÷गतिविधि मज्जाले सेलिब्रेट गरिराको छ र उसको त्यो गतिविधि बारे पार्टी संगठन भित्र गम्भीर ढंगले छलफल बहस पनि भईरहेको छैन भने बुझ्नु, न उ कम्युनिष्ट हो, न उसको पार्टी नै । फगत उनीहरु हामी माथी शासन गर्नका खातिर बहुमत जुटाउँदै गरेका विचारविहिन टाउकाहरुको संग्रह मात्रै हुन् । ती टाउकाहरु खोक्रो छन् । र खोक्रो टाउकोलाई सधैँ डर हुन्छ, सँगैका टाउकाहरुको संख्या घट्ने पो हो कि भन्ने । तब न उनीहरु धार्मिक भिडहरुसँग पनि मिसिएर उस्तै टाउकाहरुको संख्या बढाईरहन तल्लीन भईरहन्छन् । अनि दिनहुँ यस्तै भनिरहन अभ्यस्त भईसकेका हुन्छन् – “ह्याप्पी फलानो चाड ।”

भिडियाेः