November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

श्रमजीवी माथिको बर्बरता कहिलेसम्म ?

२०७९ आश्विन २८

295

काठमाडौँः गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भए। उनी निर्वाचित भएर मेयरको पदभार ग्रहण गरेसंगै महानगरका सडकपेटी र फुटपाथमा व्यापार गर्दै आएका व्यापारीहरुलाई हटाउने अभियान नै चलाए। व्यापारीहरुले व्यापारका लागि अतिक्रमण गरेका कारण अव्यवस्थित बनेको सडकपेटी र फुटपाथलाई व्यवस्थित बनाउन भन्दै महानगरले उक्त अभियान चलाएको थियो।

सिंगो महानगर ,महानगर प्रहरी र सटरमा व्यापार गर्ने व्यापारीहरु एक भएर जिविका चलाउनकै लागि फुटपाथमा व्यापार गर्दै आएका व्यापारीहरुलाई त्राहित्राहि हुने गरि हटाउने,सामानहरु जफत गर्ने र जरिवाना तिराउने काम गरेका थिए। त्यसबखतमा महानगरको कदम प्रति कतै विरोध त कतै समर्थनको आवाज गुन्जिएको थियो। विरोध गर्नेहरुले गरिबहरुको चुलो बाल्न बन्द गर्न नमिल्ने र उनीहरुको रोजगारी वा व्यापारको उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए। त्यसैगरी समर्थन गर्नेहरुले भने सडकपेटी र फुटपाथ व्यापारका लागि नभएको भन्दै समर्थन गरेका थिए तर अधिकांश सर्वसाधारणहरुले भने बेलायत, हङकङ र दक्षिण कोरियादेखि संसारका थुप्रै विकसित मुलुकहरुमा समेत फुटपाथ व्यापारीहरुलाई निश्चित समय र स्थान तोकेर व्यवस्थापन गर्ने गरेको भन्दै नेपालमा पनि फुटपाथ व्यापारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने पक्षमा आफुहरुलाई उभ्याएका थिए।

यता महानगरले भने फुटपाथ व्यापारीलाई हटाउने अभियानलाई अझै पनि निरन्तरता दिइरहेको छ। यसैक्रममा लमजुङ घर भएकी ३४ वर्षीय शर्मीला तामाङको चिया र चटपटे बेच्ने ठेलालाई बिहीबार महानगर प्रहरीले जबर्जस्ती कब्जामा लिएको छ। शर्मिलालाई मिहिनेती बन्न सिकाएको ठेला नगर प्रहरीले खोस्न खोज्दा प्रतिकारमा उत्रिएपनि उनको केही सीप लागेन र नगर प्रहरीको जत्थाले उनलाई समाउदै सामानहरु लछारपछार गरेर ठेला कब्जामा लिए। ठेला कब्जामा लिएसंगै महानगरको यस कदमको पक्ष र विपक्षमा सर्वसाधारणहरु पुनस् विभाजित बनेका छन्। फुटपाथ व्यापारीहरुलाई व्यवस्थापन गर्नुपर्ने चर्को माग उठिरहँदा पनि काठमाडौँ महानगरले कानमा तेल हालेर बसेको छ र आफ्नो अभियानलाई तिव्रता दिइनै रहेको छ।

फुटपाथ व्यापारीहरुलाई व्यवस्थापन गर्नुको साटो उल्टै सत्ता र शक्तिको बलमा फुटपाथका व्यापारीहरुलाई आतंकित बनाईरहेका छन्। वर्तमान राजनितिक व्यवस्थामा भएका असमानता,विभेद,विकृति,विसंगति,बेथिति,गरिबी र चरम भ्रष्टाचारको अन्त्य गर्ने एजेन्डाका साथ वैकल्पिक,स्वतन्त्र र युवा उम्मेदवार बनेका बालेन शाहले भारी मतका साथ निर्वाचन पनि जिते तर जितेर फुटपाथमा व्यापार गरेर आफ्नो जिविका चलाईरहेकाहरुलाई गरिएको यसखाले हर्कतले भने अहिलेको व्यवस्था नै गरिब,किसान,मजदुर र आम श्रमजीवी जनताहरुको पक्षमा नरहेको कुरा पछिल्ला घटनाक्रमहरुले देखाईरहेको छ।