November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मतपत्र र घोषणापत्र रातारात छाप्ने,पाठ्यपुस्तक चाहिँ कहिले ?

२०७९ कार्तिक १४

4.8K

काठमाडौं: मुलुकमा यत्तिबेला चुनावी गरमागरमी निक्कै बढिरहेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक मतपत्रहरु हरेक जिल्लामा पुर्‍याईसकेका छन् । अरु समय सहरमा बस्ने विभिन्न पार्टीका ठुलाठुला नेताहरु देखि मामुली कार्यकर्ताहरु सम्म आजकल जिल्लाजिल्लामा,नगरनगरमा,गाउँगाउँमा र आआफ्ना टोलटोलमा भोट माग्नका लागि धाइरहेका छन् । पार्टीको केन्द्रले तयार पारिदिएको घोषणापत्रलाई ठुलठुला व्यापारी,दलाल तथा व्यवसायीहरुबाट लिईएको पैसा र ५ वर्ष सम्म घुस,कमिसन एवं भ्रष्टाचारबाट जम्मा पारिएको पैसाले विभिन्न पर्चा,पम्प्लेट र पोस्टर बनाई हरेक मान्छेहरुलाई बाँडिरहेका छन् । हिसाबकिताब नै गरेर हेर्ने हो भने पनि पक्कै देशको जनसंख्या भन्दा कयौं गुणा बढी प्रती यस्ता घोषणापत्रहरु मात्रै छापिएका छन् ।

तर ठिक यसैबेला रोल्पाबाट भने एउटा कहालीलाग्दो र अहिलेको प्रणालीलाई नै खिल्ली उडाउने समाचार बाहिर आएको छ । शैक्षिक सत्र सुरु भएको ६ महिना भन्दा बढी समय बित्दा समेत त्यहाँका विद्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । पुस्तक अभावका कारण विद्यार्थीहरुले निक्कै ठूलो समस्या भोगिरहेका छन् । कतिपय विद्यालयका शिक्षकहरुले नोट लेखाएर,अनलाइनबाट डाउनलोड गरी त्यसैलाई प्रिन्ट गरेर र कतिपयले उपलब्ध पाठ्यपुस्तकको फोटोकपी गरेर पढाइरहेका छन् तर अधिकांश विद्यार्थीहरुको हातमा भने पाठ्यपुस्तक पुगेको छैन ।

पहुँचका आधारमा पाठ्यपुस्तक वितरण हुने र छपाईमा गरिने ढिलासुस्तिका कारण यस्तो समस्या भएको त्यहाँका विद्यार्थी,शिक्षक र अभिभावकहरु बताउँछन् । साथै उनीहरुले निर्वाचनका मतपत्र र राजनैतिक दलका घोषणा पत्र रातारात छपाइ हुन्छन् तर किताब छपाई प्राथमिकतामा नै नपर्ने भन्दै गुनासो समेत गरेका छन्