November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

उत्तर कोरिया र दक्षिण कोरियाबीच क्षेप्यास्त्र हानाहान

२०७९ कार्तिक १८

210

उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रक्षेपण गरेको छ । यो उत्तर कोरियाले यस वर्ष परीक्षण गरेको सातौं क्षेप्यास्त्र हो । बिहीबार गरिएको आईसीबीएम क्षेप्यास्त्र करिब १ हजार ९ सय २० किलोमिटरको उचाइसम्म पुगेर असफल भएको दक्षिण कोरियाली सेनाको दाबी छ । दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको सैन्य अभ्यासबीच उत्तर कोरियाले गरेको यो प्रक्षेपणलाई चासोका साथ हेरिएको छ । चुनावी अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र भड्काउपूर्ण कार्यको संज्ञा दिँदै आएको छ ।

यसका साथै प्योङयाङले दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गरेको छ । ती क्षेप्यास्त्र प्रक्षेपणलाई लिएर जापान सरकारले देशको उत्तरी भूभागमा रहेका स्थानीयलाई घरमै बस्न आग्रह गरेको थियो । जापानी रक्षामन्त्री यासुकाजु हामादाले उत्तर कोरियाले गरेको उक्त क्षेप्यास्त्र परीक्षणको भर्त्सना गरेका छन् । उक्त क्षेप्यास्त्र आफ्नो देशको आकाशको बाटो हुँदै नगए पनि जापानी समुद्री क्षेत्रमा खसेको उनको भनाइ छ ।

उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्कातर्फ प्रहार गरेका दर्जनौं क्षेप्यास्त्र दुवै देशका तटस्थित पानीमा खसेका थिए । कोरिया विभाजन भए यता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन् । पछिल्लो घटनाक्रम सँगै उक्त क्षेत्रमा दुई देशबीचको तनाव निकै बढेको आँकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरियाले त्यसको जवाफ दिएको हो । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार मात्रै २३ वटा विभिन्न क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । त्यसको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तरमा उत्तर कोरियाली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको हो । त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले गरिरहेका सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहार गरेको जनाएको छ । त्यस्ता सैन्य अभ्यासले कोरियाली द्वीपमा उत्तेजना बढाउने उत्तर कोरियाको दाबी छ ।

दक्षिण कोरियाली सेनाले भने आफ्नो भूमिमाथि उत्तर कोरियाले अतिक्रमणको प्रयास गरेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएको छ । उसले उत्तर कोरियातर्फ हावाबाट जमिनमा प्रहार गर्न मिल्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ । अधिकारीहरूका अनुसार त्यो क्षेप्यास्त्र उत्तर कोरियाले दक्षिणतर्फ प्रहार गरेकै जति दूरीमा नर्दन लिमिट लाइन ९एनएलएल० भन्दा अगाडि खसेको थियो । उक्त सीमारेखाले उत्तर र दक्षिण कोरियाबीचको समुद्रको मध्यबिन्दुलाई जनाउँछ । तर उत्तर कोरियाले भने उक्त सीमा अस्वीकार गर्दै आएको छ । उत्तर कोरियाले मंगलबार एक चेतावनी जारी गर्दै संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिए दक्षिण कोरिया र अमेरिकाले इतिहासकै सबैभन्दा डरलाग्दो मूल्य चुकाउनुपर्ने बताएको थियो ।