काठमाडौं: धरान १३ मा डेरा गरि बस्ने धनकुटा घर भएकी ४२ वर्षकि उषा राईलाई धरानको आमा समूहले निर्घात कुटपिट गरेपछि मृत्यु भएको छ । सिलाई बुनाईकाे पेशा गर्दै आएकी उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको उनका आफन्तले बताएका छन् । कुटपिट पछि गम्भीर घाइते भएकी उषाको विपि कोईराला स्वास्थ्य विज्ञान अस्पतालको भेन्टिलेटरमा बुधबार २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ ।
उषाको मृत्यु भए पछि उनका आफन्तहरुले कुटपिट गर्ने समूह विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको छ । उजुरी परेसंगै प्रहरीहरु पक्राउ गर्न जाँदा कुटपिट गर्नेहरु फरार भएको प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी श्रेष्ठले भने `सामूहिक रुपमा कुटपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौं । सबैले त कुटेनन् होला, कस-कसले कुटपिट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटकाे घटना एक महिना अघिको हो । कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाइ छ हामीअनुसन्धान गर्छौ।´
मृतककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपेर सामूहिक रुपमा कुटपिट गरेको जनाएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडामा लिई सिलाई बुनाईको काम गरी जीविकोपार्जन गर्दै आएकी थिइन् । त्यस्तै उनी एकल महिला समेत हुन् । उनको श्रीमानको मृत्यु भईसकेको छ । अहिले उषाको समेत मृत्यु भएपछि उनका सन्तान अभिभावकविहिन बनेका छन्।