काठमाडौं: बैतडी जिल्लामा २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ स्थित नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा माया घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् ।
दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी छिन् । मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् । उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जानेभन्दै निस्केका थिए । उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो ।
खोजीकार्यका क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । घाइते नेहालाई तत्काल उद्धार गरेर उपचारका लागि पठाइएको छ । अपराधमा संलग्नलाई पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान सुरू गरिने प्रहरी निरीक्षक जोशीले बताएका छन् ।
लुगा सिलाउन हिँडेका माया र नेहा कुलाउ गएका थिए । कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदै हुन् ।
नेहा घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटेर हत्या भएको गाउँलेहरूलाई बताएकी छिन् । गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटिएको थियो ।
मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको थियो । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।
स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशंका गरेका छन् । ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल साथीले लगेको बताएकी थिइन् ।
ती सशस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाएको बताएका छन् ।