काठमाडौंः कतारमा जारी फिफा विश्वकपमा गएराति भएको समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २ः१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो । खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १ः१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २ः१ को जित दिलाए । यस जितसँगै कोरिया समूह एचको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।
त्यस्तै उरुग्वेले घानालाई पराजित गरेको छ । अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २ः० को गोल अन्तरले हराएको हो । उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए । तर खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २ः० को जित दिलाए । घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न भने असफल भएको छ ।
विश्वकप अन्तर्गत नै ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति क्यामरुनसँग १ः० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो । लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले थुप्रै गोलको अवसर गुमाएको थियो । क्यामरुनले पनि गोलको केहि अवसर खेर फालेको थियो ।
त्यस्तै स्विट्जरल्यान्ड पनि नकआउट चरणमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा सर्बियालाई ३ः२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो । रोमान्चक खेलमा शेरदान शाकिरीले २० औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा एलेक्जेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १ः१ गोलको बराबरीमा ल्याए । ३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २ः१ को अग्रता दिलाए । तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २ः२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३ः२ को जित दिलाएका थिए ।