September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कतार विश्वकपमा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा

२०७९ मंसिर १९

505

काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३ः१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १ः० गोलको अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे । पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

 

खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २ः० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३ः० को अग्रता दिलाए । २३ वर्षीय एमबाप्पेको यो ९ औं विश्वकप गोल हो । एमबाप्पेले दुई विश्वकपमा ९ गोल गरेका हुन् । त्यसपछि इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३ः१ ले विजयी भयो ।फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको हो।अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्डसँग खेल्नेछ ।

 

त्यस्तै इंग्ल्यान्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३ः० को गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २ः० को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३ः० को सहज जित दिलाए । अब इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।