काठमाडौंः कतारमा जारी फिफा विश्वकपको राउन्ड अफ १६ को खेलबाट ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४ः१ को गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १ः० गोलको अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २ः० गोलको अग्रता दिलाए ।
दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३ः० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४ः० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ होले एक गोल फर्काएपनि ब्राजिल ४ः१ ले विजयी भयो । जितसंगै अब ब्राजिलले क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरिया भने विश्वकपबाटै बाहिरिएको छ ।