काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४ः२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल पनि १ः१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे तर, पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होसले भने पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा गोल गरेका थिए । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १ः१ गोलको बराबरीमा ल्याएका थिए ।
पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
त्यस्तै अर्जेन्टिना पनि सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति नै भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४ः३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २ः२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके ।त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।
खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन् । खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २ः० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २ः१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २ः२ गोलको बराबरीमा सकिएको थियो । अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।