काठमाडौंः चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता विभिन्न समस्याहरु देखिएको छ ।
कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता र ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ । बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् ।
जन्तीमा सहभागी गैंडाकोटका सविन लम्सालले भोजमा सहभागीमध्ये दुवै तिरका गरेर ३ सय जना बिरामी परेको बताए । उनले होटलले गुणस्तरहीन खाना खुवाएर बिरामी बनाएको भन्दै होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको बताए ।
यसअघि पाल्पा र तनहुँमा पनि बिहे भोजकै कारण ८० जना भन्दा बढी बिरामी भएका थिए । बारम्बार यस्ता घटनाहरु घटिरहँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागले भने यसखाले घटनालाई रोक्ने कुनै ठोस निति नै अपनाएको छैन । नेपाल गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्माचारीहरु पनि खाद्यन्न गुणस्तर अनुगमनको अवस्थाबारे प्रश्न गर्दा मौन बस्ने गर्दछन् । यसरी केही सिमित व्यक्तिहरुका फाइदाका लागि सिंगो नागरिकको नागरिकको जीवनसंग राज्यले नै खेलबाड गरिरहेको समेत पुष्टि हुन आएको छ ।