September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संवेदनशील भएर अभिव्यक्ती नदिँदा मेयर हर्क साम्पाङ विवादमा

२०७९ मंसिर २८

730

काठमाडौं: सामाजिक संजालमा विभिन्न विषयमा टिकाटिप्पणी लेख्नाले कहिले चर्चामा त कहिले विवादमा आईरहने धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई यत्तिबेला पनि विवादमा तानिएका छन् । सामाजिक संजालमा लेखिएका विवादित टिप्पणीका कारण नै उनी विवादमा तानिएका हुन् ।
मेयर राईले मंगलबार सामाजिक संजालमा `जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि !´ भन्दै टिप्पणी लेखेका थिए । उक्त टिप्पणीकै कारणले उनलाई जात तोकेर गालीको भाषा प्रयोग गरेको भन्दै सामाजिक संजालमा विभिन्न व्यक्ति तथा अभियन्ताहरुले विरोध जनाइरहेका छन् ।
निश्चित समुदायलाई नै तोकेर सार्वजनिक रुपमै विभेद गर्नु सिंगो दलितकै अपमान र कानुन विपरितको काम भएकाले स्पष्टीकरण चाहिने भन्दै दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितीकी सल्लाहकार सरु सुनार लेख्छिन् `धरानका मेयर हर्क साम्पाङले लेखेको यो स्टाटसको ” चमारे बुद्धि” भन्ने शब्द प्रती मेरो घोर आपत्ति छ , कुनै समुदाय प्रती लक्षित गरि , ती समुदायलाई अपमान, घिर्णा , सार्बजनिक रूपमा विभेद जन्य लेखाइले सिङ्गो दलित समुदाय प्रतिको अपमान हो । चमार सब्द र कुन हिसाबले तपाईले प्रयोग गर्नु भएको छ यो प्रष्ट छ । तपाईले यो लेखाइको स्पष्टीकरण दिनै पर्छ , हेक्का रहोस् तपाईलाई मेयरमा जिताउन धरानमा थुप्रै दलित समुदायले भोट दिएका छन् ।तपाईंलाई यो अधिकार कसले दियो ?? आफ्नो नाम revolution को अर्थ क्रान्ति लेख्ने सोच यति निच ?? तपाईंले कुनै समुदायलाई अपमान मात्र होईन नेपालको कानुनी बिपरितको काम गर्नु भएको छ , जातीय छुवाछूत , विभेद गर्ने चाहे त्यो प्रत्यक्ष होस् या सामाजिक संजालमा लेख्ने होस् ,फौजदारी अपराध हो । सिङ्गो समुदाय न्यायको लागि यस्ता लेख्ने विरुद्ध कानुनी उपचार खोज्न बाध्य नहोस् । स्पष्टीकरण चाहिन्छ । ´
विवादमा तानिएसंगै मेयर राईले उक्त विवादित टिप्पणीलाई सम्पादन गरेका छन् । `जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा बुद्धि !´ (सम्पादित टिप्पणी) तर आफुलाई बचाउ गर्दै उनी पुनः लेख्छन् : `गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन ! आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन ! फूल बनेर हेरौँ ! काँडा बनेर होइन !´ यससंगै उनका पक्ष र विपक्षमा यत्तिबेला सामाजिक संजाल विभाजित बनेको छ । जनताको मतले विजयी भएका कुनै पनि जनप्रतिनिधिले विभिन्न विषयहरुमा आफ्नो अभिव्यक्ती दिन शब्द चयन गरिरहँदा भने संवेदनशील बन्नुपर्ने देखिएको छ ।