काठमाडौंः गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न काभ्रे जिल्ला समितिले केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरेको हो । उनीहरुमाथि प्रतिनिधि सभा क्षेत्र नं २ मा उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको आरोप लागेको छ ।
मधुप्रसाद आचार्य र गणेश लामा निर्वाचन प्रचारप्रसार अभियानमा एक दिन पनि नहिँडेको र उल्टै विपक्षी उम्मेदवारलाई मत मागेकाले कांग्रेस काभ्रेले उनीहरुलाई कारबाही गरी केन्द्रमा सिफारिस गरेको कांंग्रेस जिल्ला सभापति तिर्थ लामाले जानकारी दिएका छन् । निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटकालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलो र सुर्यमा मत माग्न लगाएको भन्दै दुवै केन्द्रिय सदस्य र क्षेत्रीय सभापति विरुद्ध उजुरी परेको छ ।
त्यस्तै बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिने निर्णय समेत गरिएको छ ।