काठमाडौंः सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनी स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिएका हुन् ।
रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ । हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर यकीन गर्न बाँकी रहेको रेन्जर भण्डारीले बताएका छन् ।
वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने रेन्जर भण्डारीले बताए । केही दिन अघिदेखि सो क्षेत्रमा २०–२५ वटा हात्ती समूहमा घुमिरहेको देखेको स्थानीयले बताएका छन् ।