काठमाडौंः राज्यले जबर्जस्ती विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीकाका स्थानीयहरुले विरोध जनाइरहेका छन् । ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउँदा राज्यले औपनिवेशिक लादेको र करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेर त्यहाँका रैथाने समुदायलाई विस्थापित पार्न खोजिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।
६ सय भन्दा बढी घरधुरीमा रहेका आदिवासी तामाङ समुदायहरु २ सय रोपनीभन्दा बढी जमिन अतिक्रमण हुने भएपछि आफ्नो थातथलो बचाउन भन्दै विद्रोहमा उत्रिएका छन् । तैपनि राज्यले भने प्रहरी नै परिचालन गरेर हतियार देखाइ स्थानीय जनतालाई त्रसित बनाएर जबर्जस्ती जग्गा अधिग्रहणका लागि जग्गा नाप्ने काम गरिरहेको छ । जनताका माग र मुद्धालाई बेवास्ता गरेर एकलौटी ढंगले हतियार सहितका प्रहरी नै परिचालन गरेर राज्यले दमन गरेरै अघि बढ्नाले पक्कै पनि समस्याको समाधान हुने देखिदैन । यसमा राज्यले गम्भीर ढंगले सोचविचार गरेर स्थानीय जनताको माग र मुद्धालाई सम्बोधन गरेर मात्र थप कदम चाल्नुपर्ने देखिएको छ ।