काठमाडौंः समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक २ की सुत्केरीको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्याधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।
पाँचथर अस्पतालका प्रमुख डा.बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्याधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन ।