September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

शिक्षिकाको लापरबाहीका कारण विद्यार्थीको मृत्यु

२०७९ पुष २४

490

काठमाडौं :  शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ। पानीको सट्टा स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् ।

छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् । उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो ।

उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको थियो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।

ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले बताउनु भयो ।