काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार सुरु भएको उक्त बैठक शनिबार सम्पन्न भएको हो ।
बैठकले आगामी वि.स.२०८० को ज्येष्ठ १९ र २० गते राष्ट्रिय भेला गर्नका लागि करण बिसीको संयोजकत्वमा ३५ सदस्यीय राष्ट्रिय भेला आयोजक समितिको गठन गरेको छ । बैठकले संगठनका विभिन्न विभागहरु बनाएको छ भने सातै प्रदेशमा प्रदेश समिति निर्माण गर्ने गरी प्रदेश संयोजकको जिम्मेवारी पनि दिइएको छ ।
त्यस्तै बैठकले ४ महिने संगठन विस्तार अभियान चलाउने र सघंर्षको कार्यक्रम अन्तर्गत सिटिइभिटी अन्तर्गतका विद्यार्थीहरुको छात्रवृत्ति कार्यान्वयन गराउन ज्ञापनपत्र बुझाउने, अनिवार्य र निशुल्क शिक्षाको कार्यन्वयनका लागि चरणबद्ध आन्दोलन गर्ने,यातायातमा ४५ प्रतिशत छुटका आन्दोलनलाई अगाडि बढाउने लगायतका निर्णयहरु गरेको संयोजक करण बिसीले जानकारी दिएका छन् ।