September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संसदीय समितिको निर्देशन कार्यान्वयन नभएको गुनासो

२०७९ माघ ७

325

काठमाडौंः राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पटक–पटक गरिएका निर्णय र निर्देशनको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ । समितिको शुक्रबारको बैठकमा ‘वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङकन प्रतिवेदन’ सम्बन्धमा छलफल गर्दै समितिका सभापति दिलकुमारी रावल थापाले समितिको निर्देशन केही कार्यान्वयनमा आएको तथा अधिकांश कार्यान्वयन नभएको बताइन् ।

उनका अनुसार समितिले हालसम्म राष्ट्रिय सभामा चार वार्षिक प्रतिवेदन पेस भएको तर ती प्रतिवेदन उपर सभामा छलफल नै भएको छैन । निय्मावलीमै वार्षिक प्रतिवेदनको पुरक अनुगमन मूल्यांकन तयार गरेपछि मात्रै छलफल हुने प्रावधानले गर्दा प्रतिवेदनमाथि छलफल हुन नसकेको हो । समितिले विसं २०७५ मा पहिलो निर्देशनका रुपमा प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुरुप कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । निर्देशन हालसम्म पनि कार्यान्वनयमा नआएको समितिले उल्लेख गरेको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा विसं २०७५ फागुन १० गते पेस भएको थियो । विसं २०७८ असोज १९ गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त विधेयक फिर्ता लिने निर्णय भएको थियो । कर्मचारी समायोजनका लागि प्रदेश तहमा सिर्जना भएको २२ हजार दुई ९७ दरबन्दीमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम १३ हजार आठ सय २१ कर्मचारी समायोजन भएका छन् । कर्मचारी समायोजनका लागि स्थानीय तहमा सिर्जना भएको ६७ हजार सात सय १९ दरवन्दीमा ५१ हजार चार सय ५७ कर्मचारी समायोजन भएको समितिको अनुगमन तथा मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश र स्थानीय तहबीच समन्वय गरेर बजेट व्यवस्थापन गर्न, नगरको फोहर व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजना बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालगायतका विषयमा समितिले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमार्फत विभिन्न निकायलाई गरेको निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको समितिले जनाएको छ ।

बैठकमा सभापति थापाले समितिले अहिलेसम्म पेस गरेका वार्षिक प्रतिवेदनको सरकारका सम्बन्धित निकायलाई समितिबाट जारी गरेको निर्देशनको कार्यान्वयनको अवस्था कस्तो छ भनेर मूल्यांकन समितिमा समेटेको बताइन् । प्रतिवेदनमा समितिका निर्णय कार्यान्वयनको अवस्था र आगामी गर्नुपर्ने विषयबारे छलफल गरेर पूर्ण प्रतिवेदन तयार गरिने उनले उल्लेख गरिन् । समिति आफैंले दिएका निर्णय निर्देशन आफैंमा सही र तथ्यसम्मत छन् कि छैनन् भनेर सम्बन्धित निकायबाट लिखितरुपमा निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिएको र सोही आधारबाट वार्षिक प्रतिवेदन अनुगमन मूल्यांकन प्रतिवेदन बनाइने उनले बताइन् ।