September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गुणस्तरहीन औषधिदेखि अस्पतालमा बिरामीले बेड नपाएका विषय राष्ट्रियसभामा उठान

२०७९ माघ १०

380

काठमाडौँ  ।  राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराए ।

बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गरिन् ।

अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य तुलसाकुमारी दाहालले आगामी शैक्षिक सत्रमा विद्यालयका पाठ्यपुस्तक अभाव हुन नदिन समयमै छपाइ कार्य गर्न तथा काठमाडौँको फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न समयमै ध्यान पुर्‍याउन आवश्यक रहेको बताए ।

सदस्य भगवतीकुमारी न्यौपानेले उपत्यकामा रहेका सरकारी अस्पतालमा भर्ना भएका बिरामीले बेड पाउन कठिन भएकाले अस्पतालको स्तरोन्नति र उपचार सेवालाई सर्वसुलभ र सहज गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने भनाइ राखिन् ।

सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा उठेको विषयलाई मन्त्रीले जवाफ नदिएर यसको मान्यतालाई कमजोर तुल्याउने काम भएको बताउँदै सदनमा उठेको विषयमा मन्त्रीको जवाफ अनिवार्य होस् भने ।

अर्का सदस्य शारदादेवी भट्टले तराई मधेसमा चलेको शीतलहरबाट ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएकाले बिरामीलाई औषधि र विपन्नलाई लत्ताकपडा उपलब्ध गराउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।