काठमाडौंः जुम्लामा भारी मात्रामा हिमपात भइरहेको छ । जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ । भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । पशुवस्तुलाई समेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय गोरबहादुर बुढाले बताएका छन् । घरघरमा गेडागुडी र तातो झोलिलो पदार्थ पकाएर खाने काम भइरहेको छ उनले बताए ।
लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए । चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपात पछि बालीनाली सप्रिने बताए । अहिले पाँच इन्च हिउँ परिसकेको छ । हिमपात जारी रहेकोले जमिनमा चिस्यानको मात्रा बढ्ने उनले बताए ।हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ । जहाज पनि चल्ने सम्भावना छैन । गत असोजदेखि जुम्लामा हिउँ परेको थिएन । हिमपातले अत्याधिक चिसो बढेको छ ।