काठमाडौंः हेलिकप्टर पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेकौ आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जनालाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदमराज थापाले जानकारी दिएका हुन् ।
माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।
प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।