September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मन्त्री नपाउँदा सत्ताबाट बाहिरियो रास्वपा,सर्वसाधारणले उठाए नैतिकताको प्रश्न

२०७९ माघ २२

565

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमति अनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि गत शुक्रबार लामिछानेले राजीनामा दिएका थिए। उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन्। रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

आजको निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ। माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए ।

तर उनलाई तत्काल मन्त्री नबनाउने भएपछि अहिले रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यत्तिबेला मन्त्री नपाएकै कारण सरकारबाट बाहिरिँदा रवि लामिछाने र रास्वपाको आलोचना समेत हुनथालेको छ । युवा र नयाँ अनुहार भएकै कारण चुनाव जितेर सरकारमा सहभागी भएर पनि उपप्रधानमन्त्री समेत भएका व्यक्तिले नागरिकता प्राप्तिको प्रक्रियामा नै गम्भीर गल्ती गरेको र अहिले फेरी मन्त्री नपाएकै कारण सरकारबाट बाहिरिएपछि नयाँ अनुहार भएपनि पुरानै नेताहरुभन्दा कुनै फरक नभएको भन्दै आलोचना बढेको हो । सर्वसाधारणहरुले पनि सामाजिक संजालमा यत्तिबेला रवि लामिछाने र उनको पार्टीको नैतिकतामा समेत प्रश्न उठाईरहेका छन् ।