September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आजदेखि सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

२०७९ माघ २६

460

काठमाडौंः सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भए पछि आज देखी २४ सै घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ। उनका अनुसार त्यसका लागि पाइप बिछ्याउने, वितरण गर्ने, पानी वितरणको परीक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको अवस्था छ। सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको वितरण केन्द्रको ट्याङ्कीमा पानी खसाली सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ सै घण्टा नै पानी वितरण हुनेछ।

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरू जडान गरिसकिएको छ। मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरू निर्माण गरेको छ। जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो। यसअघि बोरिङबाट सिंहदरबारमा पानी वितरण गरिँदै आएको थियो। मेलम्चीबाट पानी वितरण हुने भए पछि सिंहदरबारको भूमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थितिमा फर्कने वातावरण विज्ञहरुले जनाएका छन्।